काठमाडौंको फोहोर बन्चरेडाँडामा‚ सिसडोल ल्यान्डफिल साइट बन्द गरिने


१५ दिनभित्र फोहोर उठाइसकिने‚ साउन १ देखि फोहोर वर्गीकरण
गोविन्द पोखरेल
thumbकाठमाडौँ — काठमाडौं उपत्यकाको फोहोर फाल्न थालिएको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट १७ वर्षपछि बन्द गर्ने प्रक्रिया सुरु भएको छ । मंगलबारदेखि सिसडोल ल्यान्डफिल साइटको ‘पोस्ट क्लोजर’ का लागि प्रक्रिया सुरु गरिएको हो । २०६२ जेठ २२ गतेदेखि सिसडोलमा २ वर्षका लागि भन्दै उपत्यकाको फोहोर विसर्जन गर्न थालिएको थियो । पहिलो पटक गत जेठ १० गते प्रहरीको सुरक्षामा बञ्चरेडाँडाको सेल १ मा फोहोर विसर्जन गरिएको थियो । मंगलबार फोहोर लिएर गएका ट्रकलाई स्थानीय बासिन्दाले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेर सडक खुलाएको थियो । वर्षाका कारण बिग्रिएको बाटो निर्माण गरेर अपराह्न फोहोर विसर्जन गरिएको थियो । महानगरकी वातावरण शाखाकी प्रमुख सरिता राईले मंगलबार १ सय ५७ ट्रक (१२ सय मेट्रिक टन) फोहोर विसर्जन गरिएको जानकारी दिइन् ।

बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका उपसंयोजक सन्नोत उप्रेतीले महानगर र सरकारले स्थानीयलाई दमन गरेर फोहोर जबर्जस्ती विसर्जन गरेको बताए । ‘विगतका तीनवटा मन्त्रिपरिषद् बैठकले हाम्रो माग सम्बोधन गर्ने भनेको छ । फागुन २६ गतेको निर्णयले फोहोर र मान्छे सँगै बस्न नसक्ने, सिसडोल र बञ्चरेको समस्या एउटै प्याकेजमा समाधान गर्ने निर्णय पनि गरेको छ,’ उप्रेतीले भने, ‘अति प्रभावित ४ वटा गाउँका मानिसलाई स्थानान्तरण गर्ने वा अधिग्रहण गर्ने निर्णय गरेको छ । हामीले फोहोरलाई उद्योगमा लैजाऔं भनेका छौं । तर हाम्रो माग सुनुवाइ नै भएको छैन ।’

वातावरण महाशाखा प्रमुख राईले प्रभावित क्षेत्रका बासिन्दाको सबै माग मंगलबारको बैठकले सम्बोधन गरिसकेको बताइन् । ‘राजधानीमा फोहोरको मात्रा बढ्दै गएपछि फोहोर फाल्ने सहमति भइसकेको छ । सरकारले सहमति गरेको छ, स्थानीय तह सहमत भएका छन्, अब किन आन्दोलन गर्नुपर्‍यो र ?’ उनले भनिन् । उपत्यकाको फोहोर विसर्जन हुन अझै १५ दिन लाग्ने महानगरले जनाएको छ । उपत्यकाका सडकमा ४ हजार टन फोहोर थुप्रिएको छ । ‘टेकुको ट्रान्सफर स्टेसनमा पनि लामो समयदेखि फोहोर जम्मा भएको छ,’ प्रमुख राईले भनिन्, ‘पहिले एक सातामा उठाइसक्थ्यौं, अहिले वर्षाले सडक बिग्रिएकाले समय लाग्छ ।’

१७ वर्षमा सिसडोलमा ४ सय १९ रोपनी जग्गा अधिग्रहण गरेर फोहोर विसर्जन गरिँदै आएको थियो । महानगरपालिकाले हरेक वर्ष कम्तीमा १० करोड रुपैयाँ विभिन्न शीर्षकमा प्रभावित क्षेत्रमा खर्च गर्दै आएको छ ।

बञ्चरेडाँडामा काठमाडौं र ललितपुर महानगरपालिकासहित १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुनेछ । बञ्चरेडाँडा ल्यान्डफिल निर्माणका लागि सरकारले १ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरेको थियो । यसका लागि २०७६ वैशाख २२ मा एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी लुम्बिनी कोसी एन्ड न्यौपाने जेभीलाई ठेक्का दिइएको थियो । तर निर्धारित समयभन्दा दुई वर्ष नाघिसक्दा पनि ल्यान्डफिल साइट पूर्णरूपमा निर्माण सम्पन्न भएको छैन ।

नुवाकोट र धादिङको सिमानामा रहेको बञ्चरेडाँडा सिसडोलभन्दा दुई किलोमिटर टाढा छ । बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न सर्तसहित २०७८ भदौ २५ गते सहरी विकास तथा भवन निर्माण विभागले सेल वान प्रयोग गर्न सकिने आशयको पत्र काठमाडौं महानगरपालिकालाई पठाएको थियो । त्यहीबमोजिम महानगरपालिकाले बञ्चरेडाँडामा फोहोर विसर्जन थालेको हो । सेल १ मा फोहोर विसर्जन गर्न सञ्चालन निर्देशिका बनाउनुपर्ने भए पनि विकल्पै नभएपछि अहिले त्यत्तिकै विसर्जन गर्न थालिएको हो । सेल १ को क्षमता १३ हजार मेट्रिक टन छ । सञ्चालन निर्देशिका बनाउन इन्जिनियर सुनील लम्सालको संयोजकत्वमा विज्ञ समिति बनाइएको छ ।

गत फागुन १९ गते सहरी विकासमन्त्री रामकुमारी झाँक्री बञ्चरेडाँडा भ्रमणका क्रममा महानगरले फोहोर विसर्जन गर्न सक्ने अभिव्यक्ति दिएपछि माग पूरा नभएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए । १० दिनसम्म प्रदर्शन गरेपछि सरकारले फागुन २६ गते स्थानीयको माग सम्बोधन गर्ने निर्णय गरेको थियो । स्थानीयले बञ्चरेडाँडाले पनि सिसडोलको जस्तै नियति भोग्नुपर्ने शंका व्यक्त गरेका छन् ।

सिसडोलमा विज्ञ टोली

नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट) को विज्ञ टोलीले मंगलबार सिसडोल क्षेत्रको रासायनिक र भौतिक वातावरण अध्ययन गरेको छ । नास्टका प्रविधि संकाय प्रमुख रवीन्द्र ढकाल, वैज्ञानिक टिस्टा प्रसाईं जोशी, अनुसन्धानकर्ताहरू सुनीता श्रेष्ठ, सौरभ भट्टराई, अनिता पन्थीलगायतको टोलीले सिसडोल आसपासको लिचेड (फोहोर रसाएर निस्कने तरल पदार्थ) र गन्ध हटाउनका प्रयोग गर्न सकिने सम्भावित रसायनको अवस्थाको अध्ययन गरेको हो ।

लिचेड मिसिनुअघि, मिसिएको स्थान र मिसिने स्थानभन्दा ९२० मिटर पर गरी ३ फरक बिन्दुबाट पानीको नमुना संकलन गरिएको प्रमुख बालेन्द्र शाहले जानकारी दिए । ‘संकलित नमुनाको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्त मात्रामा लिचेड मिसिएको देखिएको छ । स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदूषणको मात्रा उच्च छ,’ प्रमुख शाहले उल्लेख गरेका छन्, ‘यसबाट सो स्थानमा जलसम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको छ ।’ सिसडोलबाट निस्कने गन्धलाई कसरी कम गराउन वा हटाउन सकिन्छ भन्ने सम्बन्धमा महानगरले सुझाव मागेपछि आफूहरू सिसडोल पुगेको वैज्ञानिक टिस्टा प्रसाईं जोशीले बताइन् ।

मंगलबार नै अमृता पौडेलको नेतृत्वमा सिसडोल पुगेको टोलीले गन्धरहित बनाउन चाहिने जीवातुको मात्रा र छर्ने विधि निर्क्योल गरेको महानगरले जनाएको छ । यसका लागि प्रारम्भिक काम तीन दिनभित्र सुरु गर्ने तयारी छ ।

काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी वर्गीकरण गरेको फोहोर मात्र उठाउने भएको छ । प्रमुख शाहले कुहिने र नकुहिने फोहोर छट्याएर राख्न महानगरवासीलाई अपिल गरेका छन् । कुहिने फोहोरलाई तत्काल टेकुस्थित ट्रान्सफर स्टेसनमा कम्पोस्टिङ गरेर मल बनाउने र अन्य दीर्घकालीन उपाय खोज्ने तयारी महानगरले गरिरहेको छ । यस विषयमा प्रविधिकहरूसँग छलफल, परामर्श लिने काम भइरहेको जनाइएको छ ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.