सार्वजनिक शौचालयको बिजोग


निर्माण र व्यवस्थापनका लागि महानगरसँग छैन उचित कार्ययोजना
प्रशान्त माली
thumbकाठमाडौँ — संघीय राजधानी काठमाडौंमा सार्वजनिक शौचालयको बिजोग कसैबाट लुकेको समस्या होइन । नवनिर्वाचित जनप्रतिनिधिले पहिलो बैठकमै यो विषयलाई प्राथमिकता दिएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल र वडाध्यक्षहरूसहित गत सोमबार बसेको पहिलो बैठकले पहिलो चरणमा होटल–रेस्टुरेन्टमा सर्वसाधारणका लागि शौचालय सुविधा उपलब्ध गराउन साताभित्र सञ्चालकसँग सम्झौता गर्ने निर्णय गर्‍यो । त्यसयता विस्तारै व्यावसायिक प्रतिष्ठानहरूले यो योजनामा सघाउन चासो देखाउन थालेका छन् । महानगरमा सार्वजनिक शौचालय नभएका होइनन्, पुराना र जीर्ण छन् । कतिपय आवश्यक ठाउँमा शौचालय छैनन् । यसले सर्वसाधारणदेखि विदेशी पर्यटकसम्मलाई सास्ती छ । झो छें टोलकी रूपा शाक्यले शौचालय नहुँदा पुरुषलाई भन्दा बढी महिला समस्यामा पर्ने गरेको बताइन् । ‘शौचालय भनेको ठाउँमा छैनन्, भएका पनि महिलामैत्री छैनन्,’ उनले भनिन् ।

राजधानीका सार्वजनिक शौचालय २७ वर्ष पुराना र जीर्ण छन् । रत्नपार्क, भृकुण्टीमण्डप, पुरानो बसपार्क क्षेत्रका शौचालय जेनतेन सञ्चालनमा छन् । खुलामञ्च, वीर अस्पताल अगाडिको शौचालय जीर्ण भएर भत्काएपछि पुनर्निर्माण भएको छैन । न्युरोड गेट, सुन्धारा, भोटाहिटी आकाशे पुलको शौचालय नाम मात्रैको छ । महानगरपालिकाका पूर्वप्रमुख केशव स्थापितको पालामा सार्वजनिक–निजी साझेदारी मोडेलमा विष्णुमती किनारमा बनेका ८ वटा शौचालयमध्ये अहिले कुनै पनि सञ्चालनमा छैनन् । कोटेश्वर, कलंकी, चाबहिल क्षेत्रको शौचालय पनि सडक विस्तारका क्रममा भत्काइएपछि बनाइएन । काठमाडौंमा भएका ५६ वटा शौचालयमध्ये आधा मात्र सञ्चालनमा छन् ।

महानगरपालिकाका अनुसार ०५४ मा सार्वजनिक शौचालयको प्रयोगकर्ता ३० लाखबाट बढेर अहिले करिब ६० लाख नाघिसके । राजधानीमा एकातिर सार्वजनिक शौचालयको संख्या घट्दै छ अर्कोतिर माग बढिरहेको छ । महानगरपालिकाले ०७६ मा नयाँ ४२ वटा शौचालय निर्माणको योजना बनायो । तर, जनप्रतिनिधिले जग्गा खोज्दैमा ३ वर्ष बिताए । अहिले सञ्चालनमा रहेका सीमित शौचालय पनि व्यवस्थापन अभावका कारण लथालिंग छन् । रत्नपार्कस्थित वाटिकाको शौचालयमा दिसा गर्न मिल्दैन । भोटाहिटीको शौचालयको ढोका जाम छ । हात धुन साबुनको व्यवस्था छैन । वरिपरि दुर्गन्ध छ । बल्खुमा भने पुलमुनि अस्थायी रूपमा बनाइएको छ ।

नवनिर्वाचित जनप्रतिनिधिहरू अहिले भएका शौचालय व्यवस्थापन गर्नतर्फ लागेका छन् । महानगरभित्र खुला स्थान कम भएकाले होटल रेस्टुरेन्ट, बिजनेस कम्प्लेक्स, सरकारी निकाय, स्वास्थ्य, शौक्षिक संस्थासँग समन्वय गरेर शौचालय सुविधा उपलब्ध गराउन सकेमा केही हदसम्म समस्या समाधान हुने निष्कर्षमा महानगरपालिका पुगेको हो । काठमाडौं–१५ का वडाध्यक्ष ईश्वरमान डंगोलले होटल/रेस्टुरेन्टसँग सम्झौता गर्न मस्यौदाको काम भइरहेको बताए । ‘यो निर्णय कार्यान्वयनमा आएमा तत्कालका लागि समस्या समाधान हुन्छ,’ उनले भने, ‘दीर्घकालीन समाधान गर्न भएका शौचालय सुधार गर्छौं ।’

महानगरले शौचालयको टेन्डर आह्वान गर्दा आम्दानी गर्ने किसिमले ‘मोटो’ शुल्क तोक्ने गरेको उनले बताए । ‘पैसा तिर्नुपर्दा व्यवसायीले शौचालय सञ्चालन गर्नुपर्ने जग्गामा अन्य व्यवसाय पनि गर्दा लथालिंग हुने गरेको हो,’ उनले भने, ‘अब विशुद्ध शौचालय मात्र चलाउने किसिमले मापदण्ड तोक्छौं ।’ महानगरले रत्नपार्कस्थित शौचालयबाट वार्षिक ४७ लाख रुपैयाँ, खुलामञ्चको शौचालयबाट ०७३ देखि वार्षिक २५ लाख ९९ हजार ९ सय ९२ रुपैयाँ, कोटेश्वरस्थित शौचालयबाट १ लाख २० हजार र शंखपार्कस्थित शौचालयबाट ७९ हजार ९ सय ५० र रत्नपार्कस्थित अर्को शौचालयबाट ७ लाख रुपैयाँ उठाउँदै आएको थियो । अहिले सबैको ठेक्का अवधि भने सकिइसकेको छ ।

सरसफाइ विशेषज्ञ प्रकाश अमात्य भन्छन्, ‘शौचालय निर्माण ठूलो योजना होइन, भएकालाई व्यवस्थापन गरेर निरन्तर चलाउनु मुख्य चुनौती हो ।’ महानगरले बढी पेट्रोल पम्प सञ्चालकलाई कडाइ गर्नुपर्ने उनले बताए । ‘पम्पहरूले सार्वजनिक शौचालय पनि चलाउनुपर्ने मापदण्डमै छ,’ उनले भने ।

नेपाल आयल निगम बिक्रेता विनियमावली, ०६५ को दफा ७ मा भने बिक्रेताको सर्वसाधारणलाई लक्षित गरेर बिक्रीस्थलमा कार्यालय, बिक्रीकक्ष, पिउने पानी वा ट्युबवेलसँगै शौचालयको व्यवस्था हुनुपर्ने मापदण्ड छ । एक हजार लिटरको पानी ट्यांकी पनि राख्नुपर्ने कानुनी व्यवस्था छ । तर, पम्प सञ्चालकले उक्त प्रावधानमा अटेर गरेको देखिन्छ । कुपन्डोल–त्रिपुरेश्वर–कालीमाटी–सोल्टीमोड–कलंकी राजधानीको भीड हुने क्षेत्र हुन् । झन्डै ५ किमिको खण्डमा ४ वटा पेट्रोल पम्प भए पनि सर्वसाधारण लक्षित शौचालय छैन । उपत्यकामा मात्र १ सय ३५ वटा पम्प छन् । महानगरसँग शौचालय सञ्चालनसम्बन्धी प्रस्ट नीति छैन । आवश्यक कार्यविधि बनाउन ०७६ मा तत्कालीन उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । तर, कार्यदलले कार्यविधिको मस्यौदा तयार पारे पनि त्यसलाई अन्तिम रूप भने दिन सकेन । खड्गीले आफू संयोजक भए पनि अल्पमतमा परेकाले काम गर्न नसकेको दाबी गरिन् । ‘महानगरले जग्गा उपलब्ध गराउने र बैंकले लगानी गर्ने योजनामा बैंकका सीईओहरूसँग पनि छलफल भइसकेको थियो,’ उनले भनिन् ।

महानगरले तयार पारेको कार्यविधिको मस्यौदामा शौचालयको मापदण्डमा १५ वटा सूचक तोकिएको छ । ऐना, प्रकाश, बिजुली बत्ती, डस्टबिन, बेसिन, पानी ट्यांकी, टायल, पेन्टिङ, प्यान, भेन्टिलेसन र महिनावारी हुँदा प्रयोग गरिने प्याडलाई अनिवार्य गरेको छ । मलमूत्र व्यवस्थापन गर्न बायोग्यास प्लान्ट र महिला/पुरुष नेमप्लेट, अपांगता भएका, बालबालिका मैत्री र ज्येष्ठ नागरिकका लागि निःशुल्क, आवश्यकता हेरेर नुहाउने कक्ष र सकेसम्म भुइँतलामा बनाउन उपयुक्त हुने उल्लेख छ । त्यस्तै स्मार्ट इ–ट्वाइलेट, शौचालयमा पानीको ट्यांकीको साथसाथै फोहोर संकलन गर्ने ट्यांकी राख्नुपर्ने व्यवस्था छ । आर्थिक परदर्शी र शौचालयको प्रयोगकर्ताको संख्या पत्ता लगाउन र शौचालयबाहेक अन्य प्रयोजन गरेमा ठेक्का रद्द हुने र जरिवाना हुने व्यवस्था गरिएको छ ।

काठमाडौं–१५ का वडाध्यक्ष डंगोलले कार्यविधिलाई अन्तिम रूप दिन धेरै छलफल बाँकी नरहेकाले एक दुई चरणमै टुंग्याउने दाबी गरे । शौचालय निर्माण गर्न स्थानीय तहमा बजेटको भने अभाव छैन । शौचालय बनाउन बढीमा २५ देखि ३० लाख रुपैयाँ भए पुग्ने काठमाडौं महानगरका सूचना अधिकारी वसन्त आचार्यले बताए । ‘तर, उपयुक्त स्थानको अभाव मात्र हो । ग्यास निकाल्न ६० प्रतिशत लगानी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र गर्छ,’ उनले भने । स्वयम्भूमा र त्रिपुरेश्वरमा भने ‘एरोसान’ नामक संस्थासँगको सहयोगमा आधुनिक शौचालय निर्माण गरिएको छ । पर्यटकलाई समेत लक्षित गरेर बनाइएको शौचालय अपांगता भएका, ज्येष्ठ नागरिक र बालबालिकामैत्री पनि छन् ।

अहिले महानगरमा शौचालय बनाउन चालु वर्षका लागि ५ करोड, १८ र १३ वडाका लागि एक करोड र ६० लाख रुपैयाँ बजेट छ । आर्थिक वर्ष सकिन लाग्यो, टेन्डर आह्वान भएको छैन । काठमाडौं महानपा– १८ वडाध्यक्ष न्हुच्छेकाजी डंगोलले भने निर्वाचनले गर्दा टेन्डरमा जान ढिलाइ भएको दाबी गरे । ‘अब हामी चाँडै नै टेन्डर गर्छौं,’ उनले भने । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक ३ सय मिटरमा एउटा र सार्वजनिक स्थानमा ५० जना बराबर एक शौचालय हुनुपर्ने मापदण्ड तोकेको छ ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.