महानगर प्रमुखको परिणाम आफ्नो पक्षमा पार्न सत्तारुढ गठबन्धनले राज्यको पूर्ण शक्ति लगाइरहेको छ
घनश्याम खड्का, रमेशकुमार पौडेल
चितवन — भरतपुर यतिखेर अपेक्षाकृत शान्त तर बेचैन छ । गृहमन्त्रीको उछलकुद, कांग्रेसका केन्द्रीय नेताको दौडधुप, प्रधानमन्त्रीको बासै बस्ने गरी भएको आगमन र मेयर प्रत्याशी रेनु दाहालका पिता पुष्पकमलको धम्कीपूर्ण अभिव्यक्तिले भरतपुर ‘महाभारत हुनुअघिको कुरुक्षेत्र जस्तो’ तातेको छ । दसैंतिहारअघिको चियापान कार्यक्रममा भरतपुर आएका बखत दाहालले संकेत गरेका पनि थिए, ‘चितवन कुरुक्षेत्र बन्दै छ ।’ नभन्दै, उनले गठबन्धनको २२ मा आयोजित आमसभामा त्यसको झल्को दिए र भने, ‘हँसिया हतौडामा भोट नहाले देश दुर्घटनामा पर्छ ।’
उनले यसो भनेर धम्क्याएपछि त्यसको इपिसेन्टरमा परेको चितवन क्रुद्ध भयो । दाहालपुत्रीलाई फेरि पनि मेयर बनाउने पार्टीको निर्णय मन नपरे पनि आमरूपमा मौन बसेका कांग्रेस कार्यकर्ताको ठूलो जमातले खुलेरै सामाजिक सञ्जालमा गठबन्धनको विरोध गर्यो । तर, हालका गतिविधिले भरतपुरको माहोल सोचेभन्दा फरक रहेको संकेत गर्छ । असन्तुष्ट पक्षधर सामाजिक सञ्जालभन्दा बाहिर नआउनु, सुरुदेखि नै गठबन्धनको विरोध गरेका चितवनका कांग्रेस नेताहरू रेनुकै पक्षमा मत माग्न निस्कनुले केही हदसम्म आन्तरिक मतभेद हल भएको पुष्टि गर्छ ।
प्रधानमन्त्री देउवाले बासै बसेर वडा तहसम्मका कार्यकर्तालाई भेटी गठबन्धनको सीमा ननाघ्न निर्देशन दिए र भोलिपल्ट सम्बोधनका क्रममा रेनुको कामको तारिफ गर्दै भने, ‘कांग्रेसले यत्तिको मान्छेलाई नजिताएर हुन्छ ?’ लगत्तै, गठबन्धनबाट कांग्रेसले मेयर नपाए केन्द्रीय सदस्य नरहन पनि सक्छु भनेका टेकप्रसाद गुरुङ आफ्नो पुरानो थलो भरतपुर–१९ शारदानगरमा रेनुलाई भोट माग्न हिँडेको नयाँ दृश्य देखियो ।
त्यस्तै, गठबन्धनको विपक्षमा उग्र असन्तुष्टि व्यक्त गर्दै आएका कांग्रेसका निवर्तमान सभापति जितनारायण श्रेष्ठले २२ गते आमसभामै तीन सय असी डिग्रीले फरक वक्तव्य दिए, ‘हामी रेनु र उहाँको टोलीलाई जिताउन भोलिबाटै फिल्डमा उत्रन्छौं ।’ शुक्रबारदेखि नै उनी वडावडामा गठबन्धनको विवाद मिलाउन खटिए पनि ।
विपक्षी एमाले पनि चुनावी रणनीतिमा बढी नै होमिएको छ । दाहालको धम्कीपछि असन्तुष्ट कांग्रेसजनको अनपेक्षित व्यवहारबाट एमाले सशंकित देखिन्छ । त्यसलाई चिर्न उसले आइतबार बृहत् आमसभा गर्यो नारायणगढमा, जसलाई सम्बोधन गर्न अध्यक्ष ओली भरतपुर उत्रिए । दाहालको धम्कीपछि भनेजति उद्वेलित हुन नसकेको चितवनलाई उनले कोट्याए र कसैको धम्कीबाट नडराउन कांग्रेसजनलाई आश्वस्त पारे । ‘धम्क्याउँदै आएकाहरूको अहिले पनि धम्क्याउने बानी गएको रहेनछ,’ दाहालतिर सोझिएको उनको बोली थियो, ‘बानी भए पनि अब धम्क्याएर काम चल्दैन । जमाना बदलिसक्यो, जनताले बुझिसके । म तपाईंहरूलाई भन्न चाहन्छु, कसैले धम्क्याउँदैमा दुर्घटना हुँदैन, बरु घटना हुन्छ । त्यो के भने, गठबन्धनले नराम्रोसँग हार्छ ।’
स्थानीय चुनावको घोषणा भएदेखि नै तरंगित भरतपुर मतदानको दिन नजिकिँदै गर्दा नयाँ–नयाँ आशंका र अनुमानबाट गुज्रिरहेको छ, जहाँ सत्तारूढ गठबन्धनले परिणाम आफ्नो पक्षमा पार्न राज्यको पूर्ण शक्ति लगाइरहेको छ । उम्मेदवारी दिएर फिर्ता हुने समय रहुन्जेल वैशाख १६ सम्म दुई दिन गृहमन्त्री बालकृष्ण खाँणले चितवनमा बसेर बागी उम्मेदवार जगन्नाथ पौडेललाई मनाउने भरमग्दुर प्रयास गरे । त्यतिले पनि नभएपछि प्रधानमन्त्री देउवा आमसभाको अघिल्लो दिन नै भरतपुर आए । पौडेल पक्षधर चितवनका मतदाताले आफ्नो अडान नछाड्ने जस्तो देखेपछि दाहालले हँसिया हतौडामा भोट हाल्दिन भनेर अड्डी कसे देश दुर्घटनामा पर्ने भनेर धम्की दिए ।
‘पञ्चायतकालमा सरकार समर्थक उम्मेदवारलाई जिताउन लागेजस्तो गरी राज्य लागेको छ,’ स्वतन्त्र उम्मेदवारी दिएका पौडेल भन्छन्, ‘यो अन्यायपूर्ण भयो ।’ उनी कांग्रेसजनसँग मत माग्न हिँड्न छाडेका छैनन् । तर, कांग्रेसकै प्रभावशाली नेताहरूले उनलाई एक्ल्याउन हरसम्भव प्रयास गरेको देखिन्छ । निर्वाचन आयोगले पौडेललाई लक्षित गरी शनिबार स्वतन्त्र उम्मेदवारले दलको झन्डा बोक्न नपाउने आदेश जारी गर्दै अटेर गरे कारबाही गर्ने चेतावनीसमेत दियो । यति गर्दा पनि पौडेलले उम्मेदवारी फिर्ता नलिने र चुनावी प्रचार कायमै राख्ने भएका छन् ।
यी सब परिघटनाले चुनावका दिनसम्म भरतपुरको रणनीतिक लडाइँको मार्गचित्र स्पष्ट तय गरेको छ– गठबन्धनले असन्तुष्ट मत जगन्नाथकोमा जान नदिने, जगन्नाथले कांग्रेसको मत सकेसम्म आफूतिर तान्ने प्रयास जारी राख्ने र यी दुवैको कमजोर कडीमा आफू हाबी हुन एमालेले प्रयास गर्ने । यसको छनक रेनु र एमाले उम्मेदवार विजय सुवेदी एकै पटक एकै क्षेत्रको चुनावी प्रचारमा खटिएबाट देख्न सकिन्छ ।
शनिबार दुवै उम्मेदवारले कांग्रेस बहुल मतदाता भएको क्षेत्र पश्चिम चितवनको हरैया, शारदानगर, चनौली, दिव्यनगर इत्यादिमा घरदैलो र कोणसभा गरे ।
आइतबार एमालेको आमसभा बजारमै रह्यो । रेनु पनि बिहानदेखि बजारमै केन्द्रित भएर महिला, युवा र पेसागत संगठनहरूलाई छुट्टाछुट्टै सम्बोधन गरिने र बजारमै घरदैलोमा पनि सामेल भइन् । दिनभरिको थकानपूर्ण भेटघाटपछि उनी साँझ ६ बजे गठबन्धननिकट चिकित्सकको कार्यक्रममा पुगिन् र तीन सयभन्दा बढी डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीसँग अन्तरक्रिया गरिन् । ‘लोकतन्त्रविरोधी र संविधानविरोधीलाई वडास्तरबाटै परास्त गर्ने मौका हो,’ रेनु भन्छिन्, ‘अघिल्लो पटक भएको विकासले मतदातामा राम्रो प्रभाव पारेको छ, अब जितेर एसियाली मापदण्डको सहर बनाउनेछु ।’
एमाले उम्मेदवार सुवेदीको भने जुलुस र कोणसभामा मात्रै होइन, व्यक्तिगत रूपमा पनि फोनहरू गरेर योजना सुनाउने रणनीति छ । उनी दिनहुँजसो घरदैलोमा भेट्न नपाएका मतदातालाई फोनै गरेर आफू गुरुयोजना बनाएर अघि बढ्न लागेको सुनाउँछन् र मत माग्छन् । शान्त स्वभावका उनी अरू उम्मेदवारझैं विपक्षीको विरोध गरिहाल्दैनन् । बरु, आफूले जितेपछि गर्ने योजना सुनाउनमा समय खर्चन्छन् ।
‘मेयरले गुरुयोजनाबिनै काम गरेकाले कुनै विकास हुन सकेन,’ उनी भन्छन्, ‘मैले जितेपछि गुरुयोजना बनाएरै व्यवस्थित विकासका काम अघि बढाउनेछु ।’
जहाँ, जसलाई भेटे पनि उनी नारायणीमा थप पुल बनाउनेदेखि विमानस्थल सार्ने र पार्कहरू बनाउनेजस्ता व्यवस्थित सहरीकरणका योजना छन् । उज्यालो भएदेखि राति अबेरसम्म मतदातालाई फकाउँदा रेनु र विजय दुवैको घाँटी सुकेको छ । अनुहार कैयौं दिनको अनिँदो देखिन्छ । रूपचन्द्र विष्टको थाहा दर्शनका पक्षपाती बौद्धदर्शन पढिरहेका विजय थकानका बीच पनि मुस्कुराउन छाड्दैनन् । रेनुको अनुहारमा भने एकतमासको गम्भीरता छाइरहेको देखिन्छ, जो चुनाव नजिकिँदै गर्दा झन् बढी सम्प्रेष्य हुँदै आएको छ ।(कान्तिपुर )