बयान फेर्न भद्रभलादमीले उर्दी दिएको खुलासा


स्थानीय जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा टाठाबाठा बसेर किशोरीले बयान फेर्नुपर्ने निर्णय गरेको र युवकले पनि जेलबाट फोन गरेर अब पक्का बिहे गर्छु भनेकाले किशोरी प्रभावित
मेनुका ढुंगाना
अछाम — बयान फेरेको भनेर अछाम जिल्ला अदालतबाट साढे तीन वर्ष कैद सजायको आदेश पाएकी किशोरीलाई आरोपित युवकले यौन शोषण मात्र होइन, कुटपिट पनि गरेको खुलेको छ । किशोरीमाथि ज्यादती भए पनि आरोपित जिल्लाभित्रकै भएकाले समाजका भद्रभलादमी बसेर बकपत्र फेर्न किशोरीलाई ‘उर्दी’ दिएको पनि पुष्टि भएको छ । एकातिर प्रभावशालीहरू र अर्कोतिर निरक्षर आमाछोरी भएको मुद्दामा अदालतले पनि सुविधाजनक बाटो खोज्दा पीडितलाई पीडा थपिएको छ । आइतबार जिल्ला अदालतबाट भएको फैसला’bout किशोरीलाई बिहीबारसम्म थाहा थिएन । सानैमा खुट्टा भाँचिएको र मुटुको पनि समस्या भएकाले औषधि लिन अस्पताल आएका बेला फैसला थाहा पाएपछि हतासिएकी उनलाई अहिले मंगलसेनको सुरक्षित आवास गृहमा राखिएको छ । आफूमाथि भएको धोका र अत्याचारको व्यथा बिहीबार कान्तिपुरसँग पोखेकी उनले शनिबारको भेटमा थप विवरण खोलेकी छन् । उनको भनाइलाई पुष्टि गर्दै गाउँका जनप्रतिनिधि र शिक्षकले समेत किशोरीमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन् ।

बिहेका लागि माग्न घरमै आएका बेला किशोरीलाई ‘अब तमी मेरो श्रीमती होइ’ भन्दै शारीरिक सम्बन्ध राखेको युवकले त्यही राति भागौं भनेर आधा बाटोसम्म हिँडाएको किशोरीको भनाइ छ । ‘केटो बम्मै थ्यो, मुलाई बिहे गर्ने भनेर बम्मैबाट आयाको भन्थ्यो, फोनमा पनि हाम्रो कुडा हुन्थ्यो,’ उनी भन्छिन्, ‘आफूले माया गरेको केटाले श्रीमती होइ भन्यापछि मु पनि पछि पछि लाग्या हुँ । राति नै घरबाट निस्केर गैरीटाड र विनायकको बीचको जंगलमा पुगेपछि उसले साथीहरूलाई अगाडि जाऊ भन्यो । अनि, त्यही जंगलमा शारीरिक सम्बन्ध राख्न थाल्यो । घरबाट त्यही केटासँग बिहे गर्न हिँडेकाले उसले भनेको कुरा नाइँ भन्न म पनि सक्यान् । तर उसले एकदम नराम्रो व्यवहार देखाउन थाल्यो । वीर्यसमेत मेरो शरीर र टाउकोमा फ्याँक्यो ।’

जंगलमा पनि शारीरिक सम्बन्ध राखेपछि चरित्रहीन भन्दै बिहे गरेर लैजान नसक्ने भनी दुर्व्यवहार गरेको किशोरीको भनाइ छ । फर्केर घर जान नसक्ने भन्दै सँगै लैजान रोइकराइ गर्दा लात्ती र मुक्का हानेको उनले बताइन् । ‘केटाले बिहे गर्छु भनेर ल्याएपछि मैले पनि अब मेरै श्रीमान् हो सुच्याँ । उसले जे जे भन्यो त्यही मान्दै गयाँ । त शारीरिक सम्बन्ध राखेपछि त्यही जंगलको बाटो आफ्नो घरमा जा भन्यो । मुइले म अब तमीसँग बिहे गर्न भनेर आएसक्या, फर्केर घर कसरी जाउँ ? मलाई तमीसँग लैजाओ भने,’ थप खुल्दै उनले भनिन्, ‘तु राम्री केटी होइन । तेरो चरित्र ठीक होइन भनेर मलाई मर्ने गरी कुट्यो । १०/१२ पटक मुक्का हान्यो । लात्तीले पनि हान्यो । कपाल लुछेर रोडबाट तल उछिट्यायो ।’ मध्यरातमा जंगलमा मानसिक र शारीरिक प्रताडना भोगेकी किशोरीले उजुरी गरेपछि प्रहरीले युवकलाई पक्राउ गरेको हो । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान थालिसकेको थियो । यता गाउँमा बुद्धिजीवी मानिएकाहरूको बैठक बसेर बलात्कार नै भए पनि केटालाई छुटाउने निर्णय गरेका थिए ।

अन्याय भयो भन्नेमा निरक्षर आमाछोरी थिए भने मिल्नुपर्छ भन्नेमा स्थानीय जनप्रतिनिधि, शिक्षक, कर्मचारी र गाउँका गन्यमान्य थिए । ‘जिल्लावासीकै छोरा हो । जेलमा राख्नुभन्दा छुटाइदिए राम्रो हुन्छ भन्ने कुरा सबैले बालेका हुन्,’ कमलबजार नगरपालिका–७ का वडासदस्य खम्मबहादुर भण्डारीले भने, ‘तर केटीलाई धेरै पीडा भएको रहेछ । उनले मुद्दामामिला गरिन् । त्यसपछि के भयो मलाई केही पनि थाहा छैन ।’

मिलापत्र गर भनेर समाजले नै ‘निर्णय’ गरेको र युवकले पनि थुनाबाट फोन गरेर अब पक्का बिहे गर्छु भनेकाले प्रभावित भई किशोरीले बयान फेरेको बताउँछन्, स्थानीय प्रधानाध्यापक हेमन्त खतिवडा । उनका अनुसार सिंगो गाउँ विपक्षमा उभिएर किशोरीको आत्मबल कमजोर बनाएको हो । ‘शारीरिक सम्बन्ध राखेपछि जंगलमा अलपत्र छोडेको भए पनि केटा पनि जिल्लाकै भएकाले फेरि मिल्नुपर्छ र विवाह गर्नुपर्छ भन्ने विषयमा छलफल भएको हो । किशोरीको पक्षमा बोल्ने म मात्रै थिएँ । समाजबाट गल्ती भएकै हो,’ उनी भन्छन् ।

किशोरीका तर्फबाट साक्षीका रूपमा आफू अदालत गए पनि कार्यव्यस्तताका कारण एक महिनासम्म जिल्लाबाहिर रहेको उनले बताए । ‘गाउँका पनि सबै केटाको पक्षमा देखिए । युवतीको पक्षमा बोल्ने म पनि जिल्लाबाहिर भएँ । पीडितको पक्षमा बोल्ने कोही नभएपछि प्रहरी, सरकारी वकिल र अदालत पनि बलियाको पक्षमा उभिए ।’

समाजको छलफलबाट किशोरीले बयान फेर्ने र आफूलाई थुनामुक्त गर्ने ‘निर्णय’ भएको थाहा पाएपछि ती युवकले कारागारभित्रबाट पटकपटक फोन गरे । श्रीमती नै भनेर फोन गर्न थालेपछि किशोरी फेरि झूटो मायामा परिन् । ‘ती युवकले आफू बाहिर निस्कनका लागि प्रेमको नाटक फेरि सुरु गरेछन् । युवती भने उनको फोन आउँदा, बिहे गर्छु भन्दा संसारको खुसी आफैंले पाएझैं गर्थिन्,’ उनका साक्षीले भने, ‘अन्तिम बकपत्रको दिन केटालाई अदालत ल्याइएको थियो, केटी पनि अदालतमा गइन् । उनले केटाका लागि चप्पलसमेत किनिदिएकी रहिछन् । प्रहरीकै अगाडि केटालाई दिइन् ।’

पुर्पक्षका लागि थुनामा रहेका युवकले श्रीमती होस् भन्दै पटकपटक फोन गरेपछि आफूले पत्याएको र अब उनीसँगै बिहे हुन्छ भनेर ढुक्क भएको किशोरीको भनाइ छ । ‘जेलबाट फोन गरेर म तुलाई माया गर्छु । तु मेरी श्रीमती होस् । मसँग चप्पल छैन, किनेर ल्याइदे भन्यो । जे जे भएको हो सहमतिमा भएको हो भन् । मलाई बाहिर निकाल भन्यो । मेरो गाउँका ठूलाबडाले पनि बयान फेर्न भनेका थिए,’ उनले भनिन्, ‘तर जेलमा हुँदा फोन गरेर तुलाई बिहे गर्छु भन्ने केटा त्यताबाट निस्किसकेको रहेछ । अहिलेसम्म फोन गरेन । त्यो केटा छुट्यो र मलाई जेल सजाय भयो ।’

अदालतमा अरूले पनि बयान फेर्छन्, तर त्यसका पछाडि पीडितलाई वा ललाइफकाई गर्ने, आर्थिक प्रलोभन दिने, सामाजिक तथा मानसिक यातना दिने उपक्रम पनि चल्छन् । दुर्गम गाउँकी एक अशिक्षित युवतीले बयान फेर्नुअघि त्यस्ता यन्त्रणा भोग्नुपरेको पनि हुन सक्छ भनेर न्यायमूर्तिले विवेक नपुर्‍याउँदा मुद्दा बल्झिएको कानुनविद्हरूको भनाइ छ । योजनाबद्ध झूटो बयान दिनेलाई पनि तीन महिना जेल सजायको व्यवस्था छ । तर, अछाम जिल्ला न्यायाधीश नवीनकुमार जोशीले मृत कानुन उठाएर साढे तीन वर्ष जेल सजायको आदेश दिए । उनले जुन अध्यादेशका आधारमा फैसला सुनाएका छन्, त्यो मंसिर २३ मा संसद्मा दर्ता भए २३ माघमै निष्क्रिय भइसकेको छ । उनको फैसला न्यायपरिषद्ले अध्ययन गर्ने भएको छ ।

फैसलाको विरोधमा प्रदर्शन
बलात्कार घटनामा न्याय माग्न आएकी किशोरीलाई उल्टै साढे तीन वर्ष जेल सजाय सुनाउने जिल्ला अदालत अछामको आदेशविरुद्ध माइतीघर मण्डलमा विरोध प्रदर्शन भएको छ । प्रतिरोध जनअधिकार आन्दोलन नामक अभियानमा युवा सदस्यले शनिबार विरोध जनाएका हुन् ।

नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्या घटनादेखि रुकुममा भएको दलित युवाको हत्या प्रकरणमा पनि विरोधको स्वर उचालेको यो समूहले अछाम घटनालाई न्यायालयभित्रको पितृसत्ताको रूपमा अर्थ्याउँदै विरोध जनायो ।

प्रतिरोध आन्दोलनकी सचिव अनिता पण्डितले अछाम घटनामा गरिएको फैसला पितृसत्ताको वकालत भएको बताइन् । उनले न्याय दिने संस्थाबाटै भएको व्यवहारबाट आफूहरू आक्रोशित भएको बताउँदै भनिन्, ‘पीडित किशोरीको शैक्षिक अवस्था, उनको आर्थिक हैसियत र न्याय खोज्ने क्रममा उनले सामना गर्नुपरेको दबाबजस्ता कुरामाथि विचार नगरी पीडितलाई थप पीडित बनाउने काम भयो ।’

पीडित किशोरीको सामाजिक पुँजी मजबुत हुन्थ्यो भने यस्तो फैसला नआउने बताउँदै उनले भनिन्, ‘महिला नै दोषी हुन् र महिलाले ढाँट्न सक्छन् भन्ने सोचलाई यो फैसलाले नजिर बनाउने खतरा देखेर हामी सडकमा आएका हौं ।’(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.