पोखरा विमानस्थल हतारमा किन हस्तान्तरण ?


कृष्णमणि बराल
pokhara-airport_20220328084932पोखरा : चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको साँचो आफ्ना समकक्षी डा. नारायण खड्कालाई हस्तान्तरण गरे। के अब यो विमानस्थल सञ्चालनको अवस्थामा पुग्यो त ? होइन। अझै धेरै काम बाँकी छन्। डेकोरेसन, फिनिसिङका कामसहित केही भेइकल, फायर भेइकल आउन बाँकी रहेको आयोजना प्रमुख विनेश मुनंकर्मी बताउँछन्। यस्तै, दुई बोडिङ ब्रिजमध्ये एउटा जडान गरिएको छैन। यसबाहेक डाँडा कटान, ल्यान्डफिल साइट स्थानान्तरण, वर्षाको पानी नियन्त्रण गर्न नहर तथा ढलको व्यवस्थापन, नेपाल आयल निगमको डिपो निर्माण बाँकी छन्। यी काम अझै सुरु नभएकाले विमानस्थल निर्माण सम्पन्न भए पनि सञ्चालनमा ढिलाइ हुने देखिएको छ।

राष्ट्रिय गौरवको यो आयोजनाको काम सुरु भएसँगै विमानस्थल सञ्चालनमा अवरोधका रूपमा रहेका विषयको पहिचान गरी संघ, प्रदेश र स्थानीय सरकार अघि बढ्नुपर्ने थियो। तीनै तहका सरकारको अदूरदर्शिताले विमानस्थल समयमै सञ्चालन हुन नसक्नु ठूलो कमजोरी रहेको नागरिक समाज पोखराका पूर्वसंयोजक विष्णुहरि अधिकारी बताउँछन्। तीनै तह समस्या समाधानमा लाग्नुपर्ने अधिकारीको भनाइ छ।

मुख्य समस्या ल्यान्डफिल साइट
विमानस्थल सञ्चालनको मुख्य अवरोधका रूपमा तीन किलोमिटरभित्रै रहेको ल्यान्डफिल साइट रहेको आयोजनाले जनाएको छ। पोखरा महानगरपालिकालाई पटक–पटक सार्न अनुरोध गर्दा पनि नयाँ ल्यान्डफिल साइट बनाउन जमिन यकिन भइनसकेको आयोजना प्रमुख मुनंकर्मीको भनाइ छ।

विमानस्थल सञ्चालन गर्नुभन्दा ६ महिनाअघि ल्यान्डफिल साइट सार्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको चरामा विद्यावारिधि गरेका डा. हेमसागर बराल बताउँछन्। जसकारण फ्याँकिएका फोहोर खाने बानी परेका गिद्ध, चीललगायत पन्छीलाई नयाँ क्षेत्रमा जाने बानी पर्छ। उनका अनुसार पोखरा विश्वमै दुर्लभ मानिएका गिद्ध, महाचिलको उपयुक्त वासस्थान हो। विमानस्थलबाट तीन किलोमिटर क्षेत्रभित्रै सेतो गिद्ध, डंगर, सानो खैरो गिद्धलगायतको वासस्थान छ। त्यसकारण बेलैमा ल्यान्डफिल साइट सार्ने, माछापुच्छे« गाउँपालिकाको घाचोकमा सिनोको व्यवस्थापनलगायत काम गर्न सके हवाई उडानमा अवरोध रोक्न सकिने बरालको भनाइ छ।

नयाँ ल्यान्डफिल साइट बनाउन पोखरा महानगरपालिकाले वडा नम्बर १६ र २० को बीचमा पर्ने पस्मराङ छनोटसमेत गरेको थियो। स्थानीयवासीले पानीको मूल भएको क्षेत्र भन्दै विरोध गरे। नयाँ विकल्पका रूपमा ३३ नम्बर वडा उपयुक्त देखिएकाले थप अध्ययन गरेर तुरुन्त काम सुरु गरिने पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपाली बताउँछन्। ल्यान्डफिल साइटकै कारण विमानस्थल सञ्चालनमा अवरोध नआउने गरी तत्काल अस्थायी रूपमा भए पनि नयाँ विकल्प खोजी गरिने पनि प्रवक्ता नेपालीको भनाइ छ।

रिठ्ठेपानी डाँडा अर्को अवरोध
विमानस्थल सञ्चालनअघि विमानस्थलनजिकै पूर्वतर्फ रहेको रिठ्ठेपानीको डाँडा कटान गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। अन्तर्राष्ट्रिय जहाज उडान र अवतरणका लागि यो डाँडा बाधकका रूपमा देखिएको हो। यस डाँडाको रूख कटानअघि वातावरणीय प्रभाव मूल्यांकन नभएकाले पूरक वातावरणीय प्रभाव मूल्यांकनको काम सकेर हालै वन मन्त्रालयमा पेस गरे पनि अझै स्वीकृत भएको छैन।

निजीतर्फको डाँडा भने कटान भइरहेको छ। अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि यो डाँडा ४० मिटरसम्म कटान गर्नुपर्ने भए पनि सरकारी वनतर्फको रूख कटानको बाटो खुलेको छैन। क्यालिब्रेसन फ्लाइटका लागि १४ मिटर डाँडा तत्काल कटान गर्नुपर्ने मुनंकर्मी बताउँछन्। १४ मिटर डाँडा एक महिनाभित्र काट्न सकिने उनको भनाइ छ। वर्षायाम सुरु हुन लागेकाले जेठभित्र काम सक्नुपर्ने चुनौती रहेको उनी बताउँछन्।

रूख कटानका लागि वन तथा वातावरण मन्त्रालयले प्रतिवेदन स्वीकृत गरी वन कटान आदेश दिनुपर्छ। वन विभागबाट स्वीकृतपत्र आएपछि डिभिजन वन कार्यालय कास्कीलाई कटान गर्न आदेश दिनेछ। विभागले सोझै आदेश पनि दिन सक्छ। सरकारी वन क्षेत्रका रूख काट्दा आयोजनाले विभागका नाममा जति डाँडा पर्छ त्यसको सट्टा भर्ना दिनुपर्छ। सट्टा भर्ना दिएको जमिनमा पाँच वर्षसम्म बिरुवा हुर्काएर मात्र हस्तान्तरण गर्नुपर्ने कानुनी प्रावधान छ। सरकारी वन क्षेत्रमा साल, चिलाउने, कटुस, रावपार्टलगायत साना ठूला ६ सय रूखको जंगल रहेको डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी शालिकराम पराजुली बताउँछन्।

सुरु भएन इन्धन भण्डारण कक्षको काम
विमानस्थलमा नेपाल आयल निगमले बनाउने भनिएको इन्धन भण्डारण कक्षको काम पनि सुरु भएको छैन। यद्यपि, इन्धन भण्डारण कक्ष तयार नभए पनि विमानस्थल सञ्चालनमा समस्या नआउने अधिकारी बताउँछन्। अहिले सञ्चालनमा रहेको विमानस्थलबाटै इन्धन लगेर व्यवस्थापन गरिने निगमले जनाएको पोखरा विमानस्थल प्रमुख विक्रमराज गौतमको भनाइ छ।

ढल र नहर व्यवस्थापन अर्को चुनौती
देशमै धेरै पानी पर्ने सहर पोखरामा ढल र नहरको व्यवस्थापन अर्को चुनौती छ। वर्षायाममा पृथ्वी राजमार्ग हुँदै आउने भल विमानस्थल परिसर हुँदै बग्ने सिँचाइको नहरमा मिसिन्छ। विमानस्थलको पूर्वतर्फको किनार गत असारमा ठूलो पानी पर्दा बाढीले कटान गरेको क्षेत्र ।

गत वर्षायाममा ठूलो वर्षा हुँदा सिँचाइ नहरमा भल मिसिँदा नहर भत्केर बगेको पानीले विमानस्थलनजिकै पूर्वतफर्कको विजयपुर खोलाको डिल भत्कायो। यही अवस्था रहे विमानस्थललाई नै क्षति पुग्न सक्ने स्थानीयवासी हेमन्त ढकाल बताउँछन्। यसैले वर्षाको भलपानी र सेती नहरको पानीको पनि उचित व्यवस्थापन आयोजनाले गर्नुपर्ने देखिन्छ।

रुटको समस्या
विमानस्थल सञ्चालन गर्न हवाई रुट पनि समस्याका रूपमा देखिएको छ। पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाललाई थप हवाई रुट दिन भारतीय समकक्षी ज्योतिरादित्य सिंधियासँग प्रस्ताव गरेको बताएका छन्। विमानस्थल हस्तान्तरणका लागि आयोजित कार्यक्रममा मन्त्री आलेले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न रुटको समस्या भने नहुने दाबी गरे।

आयोजनाका अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेसमक्ष डाँडा कटान, ल्यान्डफिल साइट बेलैमा अन्यत्र सार्नुपर्नेलगायत विषय द्रुतमार्गमा गर्ने बाटो खोलीदिन अनुरोध गरेका थिए। गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई पनि यी विषय सल्टाउन अनुरोध गरिरहेको जनाइएको छ।

यो आयोजना बनाउन जग्गा अधिग्रहण गरेको ४६ वर्ष भयो। सरकारले सन् २०२१ जुलाई १० भित्र सम्पन्न गर्ने गरी २०७३ वैशाख १ मा विमानस्थल शिलान्यास गरेको थियो। कोरोनाका कारण सामान आयात प्रभावित र कामदार अभाव भएपछि एक वर्ष म्याद थपिएको थियो। आगामी जुलाई १० भित्र बाँकी काम सकिने गरी अघि बढेको आयोजना प्रमुख मुनकर्मी बताउँछन्। चीनको झन्डै २२ अर्ब सहुलियतपूर्ण ऋण छ।

नागरिक उड्डयन प्राधिकरण र चिनियाँ ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच सन् २०१४ को मे ३१ मा ठेक्का सम्झौता भएको थियो। नेपाल र चीनको एक्जिम बैंकबीच २०१६ मार्च २१ मा ऋण सम्झौता भएको हो। सरकारले प्राधिकरणसँग २०१६ जुन ५ मा ऋण सम्झौता गर्‍यो। एक्जिम बैंकले २०१७ मे ३१ देखि ऋण प्रवाह गरेको थियो। यसरी सन् २०१७ जुलाई ११ मा काम सुरु भएको थियो।
२०३२ सालमा पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण गर्न सुरु भएको थियो। ३८ सय ९९ रोपनी विमानस्थलको रहेको आयोजनाले जनाएको छ। अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ)को मापदण्डभित्र रहेर फोरडी मोडलमा विमानस्थल बनिरहेको छ। यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन्।

जग्गा अधिग्रहण सुरु
२०३२ साल
प्राधिकरण र चिनियाँ कम्पनीबीच ठेक्का सम्झौता
२०७१ जेठ १७
नेपाल र चीनको एक्जिम बैंकबीच ऋण सम्झौता
२०७२ चैत ८
विमानस्थल शिलान्यास
२०७३ वैशाख १
नेपाल सरकार र प्राधिकरणबीच ऋण सम्झौता
२०७३ जेठ २३
एक्जिम बैंकबाट ऋण प्रवाह
२०७४ जेठ १७
काम सुरु
२०७४ असार २७
सम्झौताअनुसार काम सम्पन्न गर्नुपर्ने अवधि
२०७८ असार २६
कोरोनाका कारण म्याद थप
१ वर्ष
सम्पन्न गर्ने लक्ष्य
२०७९ असार २६
लगानी
२२ अर्ब ऋण
विमानस्थलले ओगटेको जमिन
३८९९ रोपनी

स्रोत : नागरिक उड्डयन प्राधिकरण (अन्नपूर्ण )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.