चुनावमा नेता गाउँ पस्दै, युवा देश छाड्दै


‘चुनाव कुर्दा चुलो बल्दैन, राजनीतिले खान दिँदैन, भारत नपसी सुखै छैन’
ठाकुरसिंह थारू, भवानी भट्ट
thumbनेपालगन्ज, कञ्चनपुर — निर्वाचन नजिकिएसँगै नेताहरू धमाधम गाउँ पस्दैछन् । पार्टी प्रवेशदेखि प्रशिक्षणसम्मका गतिविधि दिनहुँजसो हुन थालेका छन् । तर, ठूलो संख्यामा रहेका युवा मतदातालाई यो माहोलले तान्न सकेको छैन । रोजीरोटीका लागि हरेक दिन भारत पस्ने सयौंको संख्यामा युवाको लर्को छ । चुनावी चहलपहलले रोक्न नसकेका युवाको लस्कर लुम्बिनी र सुदूरपश्चिम प्रदेशका नाकामा दिनहुँ देख्न सकिन्छ । जुम्ला पातारासी गाउँपालिका–३ का १८ वर्षीय धनलाल रावतको समूह त्यहीमध्येको एक हो, जसलाई चुनावको लहरले छोएको छैन । उनीहरू नेपालगन्ज नाका हुँदै कामको खोजीमा भारतको मनाली सहर हिँडेका छन् । तरकारी खेतीको सिजन भएकाले त्यता सहजै काम पाइने भन्दै उनीहरू आफ्नो प्रतिनिधि छनोट गर्नुपर्ने मतदान छाडेर भारत जाँदै छन् ।

आफूसँगै गाउँका आधा दर्जन युवाले निर्वाचनको मुखमा गाउँ छोडेको रावतले बताए । उनीहरूलाई भोटभन्दा पनि परिवार पाल्नकै चिन्ता छ । ‘राजनीतिले खान दिँदैन । भोट हालेर हामी जनताले के नै पाएका छौं र ?’ नेपालगन्ज नाका भएर भारत जाँदै गरेका रावतले भने, ‘हामीलाई रोजगारी आवश्यक छ ।’

गएको स्थानीय निर्वाचनमा भने आफूले भोट हालेको उनले सुनाए । ‘चुनावका बेला रोजगारी दिने, स्मार्ट सिटी बनाउने नारा दलहरूका लागि नयाँ होइन,’ उनले भने, ‘चुनाव सकिएपछि प्रतिबद्धता बिर्सिन्छन् ।’ बेरोजगारी समस्याले राजनीतिप्रति वितृष्णा बढ्दै गएको उनले बताए ।

‘चुनावका बेला भनेजस्तै जितेका नेताहरूले गाउँमै रोजगारी दिएको भए हामीजस्ता युवा भारत किन जानुपर्थ्यो ?’ उनको आक्रोश थियो ।

दलहरू स्थानीय तहको निर्वाचनमा होमिइरहेका बेला लुम्बिनी र कर्णाली प्रदेशका सयौं युवा कामको खोजीमा दैनिक भारत पसिरहेका छन् । सीमास्थित इलाका प्रहरी कार्यालयका अनुसार दैनिक एक सय बढी नेपाली भारत पसिरहेका छन् । प्यूठान नगरपालिका–८ बिजुबारका ४० वर्षीय रामबहादुर परियार पनि साथीभाइसहित भारत पसिरहेका भेटिए । उनको समूह राजस्थानतर्फ गएको हो । ‘भोट हाल्न कुरेर बसे रोजगारी नपाउने डर छ । कामको खोजीमा राजस्थान हिँडेका हौं,’ परियारले भने, ‘असारमा खेतीपातीका बेला घर फर्किन्छौं ।’ भारत जाने अधिकांश युवाले राजनीतिप्रति वितृष्णा रहेको सुनाए । नेताहरूले गाउँघरको विकासका साथै रोजगारीका अवसर सिर्जना नगरेको उनीहरूको गुनासो छ । निर्वाचनको मुखमा घर छोड्नेहरूमा कर्णाली प्रदेशका कालीकोट, जुम्ला, हुम्ला, डोल्पा, सल्यान, सुर्खेत, दैलेख, रुकुमका युवाहरू छन् । त्यस्तै, लुम्बिनी प्रदेशका बर्दिया, बाँकेलगायतका युवाहरू पनि कामको खोजीमा भारत पसिरहेका छन् । भारततर्फ हिँडेका युवाहरू भारतको कालापहाड, चण्डीगढ, सिमला, गुजरात, दिल्ली, पन्जाव, राजस्थानलगायत सहरमा काम खोज्न जाने बताउँछन् ।

बर्दियाको मधुवन–६ तारातालका ३० वर्षीय गजेन्द्रबहादुर रानाले काम खोज्न पन्जाब हिँडेको बताए । ‘सामान्य ज्याला–मजदुरीको काम पनि गाउँमा पाइँदैन,’ सीमानाकामा भेटिएका उनले भने, ‘भोट दिनका लागि कुरेर घरमै बस्ने हो भने परिवार कसले पालिदिन्छ ?’ यो सिजनमा भारतको कालापहाड, चण्डीगढ, सिमलामा तरकारी खेती हुने गरेकाले नेपालीहरूलाई काम पाउन सहज हुने उनले सुनाए । बर्दियाको बारबर्दिया–९ का ३५ वर्षीय ज्ञानेन्द्र विकले भने, ‘भारत जाँदै छौं । तीन/चार महिना काम गरेर घर फर्किन्छौं ।’

सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहका असई मीनबहादुर विष्टले नेपालीहरू कामको खोजीमा भारत जाने क्रम नरोकिएको बताए । ‘दैनिक एक सय जनाभन्दा बढी भारत पसिरहेका छन्,’ उनले भने । ‘बेरोजगारीको समस्या नेताहरूले बुझिदिएको भए भोट हाल्न छोडेर परदेश जाने रहर कसैको हुँदैन,’ बर्दिया मधुवन–७ का ३७ वर्षीया रिता राना भन्छिन् । कर्णाली र लुम्बिनी प्रदेशका युवाहरू खेतीको काम सकेपछि काम खोज्न भारत जाने गरेको परम्परा झैं बनिसकेको छ ।

‘चुनावभन्दा भोक ठूलो’

कञ्चनपुरको वेदकोट–१० का सुरेन्द्र शाह बिहीबार साँझ गड्डाचौकी नाकामा निकै हतारमा देखिए । उनी नाकामा बनबासासम्म जाने गाडीका खोजीमा थिए । अबेर नाकामा भेटिएका उनी दिल्ली जाने बस छुट्ने हो कि भन्ने हतारमा थिए । कोरोना संक्रमण सुरु हुनुअघि घर आएका उनी खर्च चलाउन समस्या हुन थालेपछि फेरि फर्कन लागेका थिए । लामो समय होटलमा काम गरेका उनलाई अहिले फेरि त्यहीं काम पाउने आस छैन । ‘अब दिल्लीमै गएर काम खोज्नुपर्ला, पहिलेको काम त पाइन्छ, पाइँदैन निश्चित छैन,’ उनले भने, ‘घर खर्च चलाउन पनि भारत नगई सुख छैन ।’

अबको डेढ महिनापछि स्थानीय तहको निर्वाचन घोषणा भएको छ । गाउँमा राजनीतिक दलका नेतादेखि कार्यकर्ताको दौडधुप बढेको छ । वडा कमिटीदेखि टोल कमिटी विस्तार भइरहेका छन् । दलहरूले पार्टी प्रवेशलाई तीव्रता पनि दिएका छन् । संविधान निर्माणपछि पहिलो पटक स्थानीय तहको निर्वाचनका लागि घर आएका शाहलाई त्यतिबेला स्थानीयस्तरमा रोजगारी सहज होला भन्ने निकै आस थियो । नाराले निकै हौस्याएको थियो । ‘मतदानभन्दा पनि पेट पाल्नु ठूलो हो, चुनावभन्दा भोकको पीर ठूलो छ,’ उनले भने । राजनीतिक व्यवस्था परिवर्तनपछि स्वदेशमै रोजगारी पाइने अपेक्षा पूरा नहुँदा मन खिन्न रहेको उनले बताए । शाहले दुई छोरासहित ४ जनाको परिवारको गुजारा भारतकै रोजगारीका भरमा चलाएका थिए । कोरोना संक्रमणका कारण २ वर्ष घरमा बस्नुपर्दा निकै समस्या भएको उनी बताउँछन् ।

कञ्चनपुरकै कृष्णपुर–५ गुलरियाका प्रेम विक पनि गड्डाचौकी नाका भएर कामको खोजीमा दिल्ली हिँडे । जमिनका नाममा घडेरी मात्रै भएका उनलाई परिवार पाल्न निकै समस्या छ । भारत नगई चुलो बल्दैन । ‘नेताहरू गाउँमा आउन थालेका छन्, पार्टी प्रवेश पनि चलिरहेको छ,’ विकले भने, ‘भोट हाल्नकै लागि घरमा बसेर गुजारा चल्दैन ।’ उनी पनि सानैदेखि रोजगारीका लागि भारत पसेका हुन् । ६ महिना/वर्ष दिनमा घर आउने उनी कोरोना संक्रमणका कारण नियमित आउजाउ गर्न सकेका छैनन् । महेन्द्रनगरबाट दिल्ली र देहरादूनसम्म सञ्चालित मैत्रीबसमा समेत ठूलो संख्यामा नेपालीहरू भारततर्फ जाने गरेका छन् । यहाँबाट आधा दर्जन मैत्रीबसहरू सञ्चालनमा छन् । राजनीतिक व्यवस्था परिवर्तनपछि पनि स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिले रोजगारमूलक कार्यक्रमहरू ल्याउन नसक्दा मतदातालाई झनै निराश बनाएको छ । अझ कामको खोजीमा भारत पस्नेहरू नेताप्रति झनै रुष्ट छन् ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.