आर्थिक संकटमा किन फस्यो श्रीलंका ?


कागज किन्न नसक्दा विद्यार्थीको परीक्षा रोकियो, इन्धनको लाइनमा ज्यान गुमाउँदै सर्वसाधारण
कोलम्बो — कोरोना भाइरसको महामारीसँगै ओरालो लागेको श्रीलंकाको अर्थतन्त्र गहिरो संकटमा फसेको छ । इतिहासकै ठूलो वित्तीय समस्याको सामना गरिरहेको श्रीलंकाले प्रश्नपत्र छाप्ने कागज आयात गर्न नसक्दा विद्यार्थीहरूको परीक्षासमेत गर्न नसकेको समाचार सार्वजनिक भएका छन् । जसका कारण लाखौं विद्यार्थीको भविष्य अन्योलमा परेको छ । शिक्षा निकायहरूले कागज किन्न नसकिएका कारण सोमबारदेखि सुरु हुने परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको जनाएका छन् । ‘आवश्यक कागज तथा मसी किन्नका लागि विदेशी मुद्रा नहुँदा विद्यालयले परीक्षा लिन असमर्थ भएका छन्,’ पश्चिमी प्रान्तको शिक्षा विभागले भनेको छ । योसँगै ४५ लाख विद्यार्थीको भविष्यमाथि अन्योल सिर्जना भएको छ । त्यस्तै, विदेशी मुद्राको अभावका कारण खाद्यान्न, इन्धन र औषधिको चरम अभाव भएको छ । जसका कारण २ करोड २० लाख जनताको जीवनस्तर दिनानुदिन निकै कष्टकर बन्दै गएको छ । दैनिक उपभोग्य सामान किन्न मानिसहरू घण्टौं लाममा लाग्न बाध्य भएका छन् ।

पछिल्लो ४ सातायता इन्धन किन्नका लागि मानिसहरू घण्टौं पर्खन बाध्य छन् । आइतबार इन्धनका लागि पालो पर्खिरहेका दुई जनाको अचानक ढलेर मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । ‘मृतकमध्ये एक जना मधुमेह र मुटुका रोगी थिए भने अर्का ४ घण्टाभन्दा लामो समय लाममा बस्न बाध्य भएका थिए,’ प्रहरी प्रवक्ता नलिन थाल्दुवाले भने । कतिपय सामग्रीको अभाव भएपछि सरकारले कोटा निर्धारण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

किन गहिरियो संकट ?

विदेशी मुद्राका लागि श्रीलंकाको मुख्य स्रोत पर्यटन सन् २०१९ मा भएको आतंकवादी आक्रमणका कारण केही सुस्तायो । त्यसका साथै सोही वर्षको अन्त्यबाट विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को संक्रमण रोक्न लगाइएको प्रतिबन्धले पर्यटन क्षेत्र थला पर्‍यो । देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशतभन्दा बढी योगदान पुर्‍याउने पर्यटन क्षेत्र ठप्पप्राय: भएपछि २ लाख ५० हजार जनाले रोजगारी गुमाइसकेको बताइएको छ ।

श्रीलंकाको अर्थतन्त्रका लागि सबैभन्दा ठूलो समस्या विदेशी ऋणको भार हो । चीनलगायत देशबाट ऋण लिएर विभिन्न परियोजना निर्माण गरेको श्रीलंकाको अर्थतन्त्र आतंकवादी हमला र कोभिड–१९ को महामारीसँगै संकटमा पर्‍यो ।

यसअघि राष्ट्रपति गोटावया राजापाक्षले गत जनवरीमा चीनलाई तिर्नुपर्ने एक करोड डलर ऋणको समयसीमा बढाइदिन आग्रह गरेका थिए । तर त्यस’bout चिनियाँ पक्षले भने कुनै जवाफ दिइसकेको छैन । विदेशी मुद्रा सञ्चितिमा परेको दबाब घटाउन केही महिनाअघि सरकारले गाडी र मलको आयातमा रोक लगाएको थियो । जसका कारण चियालगायत अन्य उत्पादनमा नकारात्मक प्रभाव पर्‍यो ।

पछिल्लो समय रुसले युक्रेनमाथि गरेको आक्रमणले पनि श्रीलंकाको अर्थतन्त्रमाथि थप समस्या ल्यायो । रुसी आक्रमणसँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अकासिएको छ । ऊर्जाका लागि जलविद्युत्सँगै कोइला र डिजेल प्लान्टमा निर्भर श्रीलंकामा यसवर्ष वर्षा कम भयो । जसका कारण विद्युत्को उत्पादन घटेपछि कोइला र डिजेलको आयात बढ्यो । तर पछिल्ला दिनमा डिजेल तथा कोइला किन्न नसकेर प्लान्ट बन्द भएपछि लोडसेडिङका कारण उद्योग व्यवसायसमेत प्रभावित भएका छन् ।

पर्यटन तथा उत्पादनमूलक क्षेत्र धराशायी भएपछि कतिपय परियोजना बनाउन लिएको ऋणको वार्षिक किस्ता तिर्न मुस्किल भयो । श्रीलंकामाथि चीनको मात्रै ५ अर्ब डलरभन्दा बढी ऋण छ । आर्थिक संकट गहिरिन थालेपछि गतवर्ष श्रीलंकाले चीनसँग थप एक अर्ब डलर ऋण लिएको थियो ।

यस वर्षभित्र श्रीलंकाले ६ अर्ब ९ करोड डलर घरेलु तथा विदेशी ऋण भुक्तान गर्नुपर्नेछ । एकतिहाइभन्दा बढी ऋण निजी कम्पनीहरूको छ । चीन र जापानको भने करिब २२ प्रतिशत ऋण रहेको जनाइएको छ । तर श्रीलंकासँग हाल २ अर्ब ३ करोड डलरमात्र सञ्चित छ ।

अर्थतन्त्र ओरालो लाग्दै गए पनि श्रीलंकाले आफ्नो मुद्रालाई अमेरिकी डलरको तुलनामा १५ प्रतिशत अवमूल्यन गर्‍यो । मुद्रा अवमूल्यन भएपछि आयातित वस्तुको भाउ निकै महँगिएको छ । राजधानी कोलम्बोलगायत मुख्य सहरमा राजनीतिक दल र नागरिक समूहहरूले सरकारविरोधी प्रदर्शनहरू चर्काएका छन् । देशमा आर्थिक संकटकालका लागि जिम्मेवार भन्दै उनीहरूले राजापाक्षको राजीनामा माग गरेका छन् ।

कुनै उपाय नलागेपछि राजापाक्ष सरकारले दुई दिनअघि अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) सँग सहयोगका लागि आग्रह गरेको छ । अब आईएमएफले आवश्यक प्रक्रिया पूरा गरेर श्रीलंकाली अर्थतन्त्र सुधार्न सहयोग गर्ने भए पनि त्यो निकै ढिला भइसकेकाले लामो समयसम्म जनताको जनजीवन निकै कठिन बन्नेछ ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.