जसको संसारमा ज्योति फर्कियो


रामेछापको दोरम्बाको एकै शिविरमा ३ सय ३३ जनाले फेरि आँखाको ज्योति पाए
आँखा उपचारको दोरम्बा मोडललाई कम्बोडिया, घाना, इन्डोनेसिया, तान्जानिया, उत्तर कोरिया, दक्षिणी सुडानलगायत १० मुलुकमा विस्तार गरिने
देवेन्द्र भट्टराई
thumbरामेछाप — रामेछाप सुनापती निवासी ७५ वर्षीया मैच्याङ तामाङले दुई वर्षपछि पहिलो पटक फेरि संसार देख्न पाइन् । शनिबार बिहान पट्टी खोल्नासाथ उनले सामुन्ने बसेका कान्छा छोरा ज्ञान योन्जनलाई नियालेर हेरिरहिन् । आमासँग आँखा जुधाउँदा छोरा भक्कानिए, फेरि आफूलाई चिन्न थालेकी आमालाई मायाले सुमसुम्याइरहे । घरआँगनमै शिविर आएको मौकामा ३८ वर्षे ज्ञानले आमालाई बिहीबार दोरम्बा ल्याएका थिए । शिविरमा तीन सयभन्दा बढी बिरामी आए पनि ‘जटिल र सफलताको आशा कमै गरिएका’ मध्ये मैच्याङ पनि एक थिइन् । तर चिकित्सकलाई पनि खुसी बनाउँदै उनी बोलिन्, ‘मैले मेरो छोरा चिन्यो, दोरम्बाको यो स्कुल पनि चिन्यो ।’

घाँसदाउरा गर्न जंगल जाँदा दुई वर्षअघि कागतीको काँडाले मैच्याङको एउटा आँखामा दरफर्‍याएको रहेछ । स्थानीय स्वास्थ्य चौकीमा गएर औषधिमूलो गरे पनि विस्तारै दुवै आँखा नदेख्ने भएपछि उनी घरैमा थन्किएर बसिन् । ज्ञानले आमालाई उपचारमा काठमाडौं लैजान चाहेका थिए तर मेरुदण्डको समस्याबाट कुप्रिएर हिँड्ने र गाडीमा चढ्नासाथै उँभैउँभो हुने समस्याले उनको बाटो छेक्यो । ‘जीवनमा सबैभन्दा बढी खुसी आज भएको छु, आमालाई ढाडको समस्या छँदै थियो, आँखा पनि नदेख्ने भएपछि अब म भीरबाट लडेर मर्छु भन्न थाल्नुभएको थियो,’ काठमाडौं बौद्धमा थान्का पेन्टिङ गर्दै जीवन निर्वाह गर्दै आएका ज्ञानले भने । उनी अबको केही समय आमाको रेखदेखमा गाउँमै बस्ने भएका छन् ।
दुई वर्षयता दुवै आँखा देख्न छाडेकी ७५ वर्षीया आमा मैच्याङ तामाङको मोतिबिन्दु शल्यक्रियापछि एकअर्कालाई चिनेर आमा–छोरा दुवै हर्षको आँसु निकालेर रुँदै ।

सिन्धुपाल्चोक सुकुटेका ३८ वर्षीय कृष्णबहादुर माझीले पनि आँखा देख्ने सपना देख्न छाडेका थिए । सुकुटेमा ज्यामी काम गर्दै परिवार पालिरहेका उनी चिनीरोगी थिए, तर एक वर्षयता ज्योति गुमाएपछि उनको सिंगो परिवार अन्धकारमा परेको थियो, उपचारसँगै उज्यालो फर्किएको छ । ‘मैले फेरि देख्न थालें,’ नजिकै बसेकी श्रीमती रीता माझीको गाला छुँदै कृष्णले भने, ‘अरू त सबै ठीकै छ । तर पहिला यो बूढी अलिक मोटोघाटो थियो, मैले आँखा नदेखेपछि टेन्सनले अलिक दुब्लाएछ ।’

भतौली गाउँका ८० वर्षीय रुद्रलाल तामाङ पनि दुवै आँखाको दृष्टि हराएपछि केही वर्षयता घरभित्रै बसिरहेका थिए । ‘अचम्मै भयो, मैले देख्न थालें,’ शनिबार बिहान डा. रुइतले आँखाको पट्टी खोल्नासाथै हतपत रुइतको नाक छाम्दै रुद्रलालले भने, ‘मैले डाक्टरको नाक देखें, छुन सकें । म असाध्यै खुसी छु ।’ मैच्याङ, कृष्णबहादुर, रुद्रलालसहित रामेछाप र दोलखाबाट आएका दुवै आँखा नदेख्ने मीनबहादुर तामाङ (७६), रुद्रलाल तामाङ (८०), पुतली बसेल (९०), साइँली योन्जन (८०), जगतबहादुर तामाङ (७५), हीराकाजी श्रेष्ठ (६३), गोपालबहादुर श्रेष्ठ (८०) र जमानसिंह तामाङ (७६) को उपचार जटिल मानिएको थियो, उनीहरूको दुवै आँखाको एकैसाथ शल्यक्रिया भएको छ । बिरामीको उमेर, अरू रोगको जटिलता र अन्य कारणले २/३ जनाको आँखाको दृष्टि फर्कनेमा अन्योल रहे पनि शल्यक्रिया भने सफल भएको छ ।

दोरम्बामा झन्डै ३ सय ३३ मोतिबिन्दु बिरामीको सफल आँखा उपचारपछि बिरामीहरूका माझमा चिकित्सक डा. रुइत र कोहली एन्ड रुइत फाउन्डेसनका सहसंस्थापक तेज कोहली

विपन्न एवं स्वास्थ्य पहुँचमा नपरेका जनसाधारणलाई निःशुल्क आँखा उपचारमा सघाउन स्थापित द तेज कोहली एन्ड रुइत फाउन्डेसनका तर्फबाट डा. रुइतको टोली दोरम्बा पुगेको हो । रामेछापको दोरम्बा शैलुङ–२ स्थित काकलिङ विद्यालयमा सञ्चालित शिविरमा डा. सन्दुक र उनका छोरा डा. सागरसहितको टिमले मोतिबिन्दु शल्यचिकित्सा गरेको थियो । बिहीबारदेखि शनिबारसम्म ३ सय ३३ जनाले फेरि आँखाको ज्योति पाए, आइतबारसम्म चल्ने शिविरमा थप १ सय जतिले नाम लेखाएका छन् । बिरामीले आँखा देखेपछि प्रफुल्ल डा. रुइतले भने, ‘यो मेरो जीवनले पाएको सुवर्ण मौका हो, सबैले यस्तो मौका पाउँदैनन् ।’

भौगोलिक विकटता र आर्थिक अभावले आँखा उपचारबाट वञ्चितहरूका लािग सुरु गरिएको ‘दोरम्बा मोडल’ अवलोकन गर्न फाउन्डेसनका सहसंस्थापक तेज कोहली बेलायतबाट काठमाडौं हुँदै शुक्रबारै दोरम्बा आइपुगेका थिए । ‘फाउन्डेसनमार्फत आँखाको उज्यालो दिने काममा र मोतिबिन्दु उपचारमा नेपालमा आवश्यक स्रोत उपलब्ध गराउन तयार छु,’ दोरम्बा शिविरमै पत्रकारमाझ उनले भने, ‘परोपकारी काममा अरू धेरै दाताले विविध शीर्षकमा पैसा खर्च गरेका छन्, मैले भने विपन्न तथा पहुँच नभएका नागरिकलाई आँखाको उज्यालो दिन चाहेको छु ।’

यही फाउन्डेसनबाट दुई वर्षयता बझाङ, दोलखालगायत जिल्लामा १२ हजारभन्दा बढी मोतिबिन्दु बिरामीको उपचार भइसकेको छ । फाउन्डेसनका अनुसार नेपालमा अबको एक वर्षमा मोतिबिन्दुका २५ हजार शल्यक्रिया गराउने योजना छ । आँखा उपचारको दोरम्बा मोडललाई कम्बोडिया, घाना, इन्डोनेसिया, तान्जानिया, उत्तर कोरिया, दक्षिणी सुडानलगायत १० मुलुकमा विस्तार गरिने भएको छ । जहाँ अबको ४ वर्षमा झन्डै ५ लाख मोतिबिन्दुका बिरामीले निःशुल्क उपचार पाउनेछन् ।

‘अहिले तिलगंगा अस्पतालले वार्षिक ३ लाखजति आँखाको लेन्स (इन्ट्रअकुलर लेन्स) उत्पादन गरिरहेको छ, यसमा ७० हजार लेन्स नेपालमै खपत हुन्छ,’ डा. रुइतले भने, ‘अरू लेन्स भने चीन, पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिकासहितका मुलुकमा जान्छ । लेन्सको माग र बजारलाई प्रतिस्पर्धी र सुपथ तुल्याउन यही फाउन्डेसनमार्फत थप लगानीको स्रोत खोज्न अनुरोध गर्नेछु ।’ हेटौंडामा रहेको तिलगंगाको जमिनमा लेन्स उत्पादन केन्द्र स्थापना गरेर अघि बढ्नेतर्फ योजना बनिरहेको उनले सुनाए ।

द्वन्द्वकालमा सबैभन्दा प्रभावित र निःशस्त्र नागरिकको हत्या भएको स्थलका रूपमा चिनिएको दोरम्बामा बृहत् निःशुल्क आँखा शिविर आउन सकेकामा दोरम्बा–शैलुङ गाउँपालिकाका अध्यक्ष कमानसिंह तामाङ (मोक्तान) प्रसन्न देखिए । ‘सम्पूर्ण सेवा तथा अत्याधुनिक पद्धतिको उपयोग हाम्रो तहमा उपलब्ध गर्न/गराउन सक्ने अवस्थै थिएन,’ उनले भने, ‘तिलगंगा अस्पतालसहित फाउन्डेसनको यो काम उदाहरण हुन सक्ने ठानेका छौं ।’(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.