काठमाडौँ — ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टरअगाडि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले कालो झण्डा देखाएको छ । स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्दै प्रदर्शनमा उत्रिएको अनेरास्ववियूले त्यही बेला मन्त्री कार्की क्वार्टरबाट निस्किएपछि कालो झण्डा देखाएको हो ।आन्दोलनरत विद्यार्थीहरुले मन्त्रीको गाडी रोकेर कालोझण्डा देखाएका थिए भने कतिपयले मन्त्री गाडीमै कालोझण्डा प्रहार गरेका थिए ।
एमालेले संविधान र वर्तमान कानुनबमोजिम नै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउदै आएको छ भने सत्ता गठबन्धनले जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको छ । जेठमा स्थानीय निर्वाचन गर्दा वर्तमान स्थानीय तहको निर्वाचन ऐनमा संशोधन गर्नुपर्ने हुन्छ । गठबन्धन र सरकार भने ऐन संशोधनको तयारीमा जुटेका छन् ।