कांग्रेस प्रदेश नेतृत्वमा आकांक्षीको लहर


प्रदेश अधिवेशनको नतिजाबाट त्यसको एक सातापछि हुने केन्द्रीय महाधिवेशनको परिणाम आकलन गर्न सकिने भएकाले आफूपक्षीयलाई जिताउन शीर्ष नेताहरु सक्रिय
कलेन्द्र सेजुवाल
thumbकाठमाडौँ — कांग्रेसको मंसिर १६–१७ मा हुने प्रदेश अधिवेशनमा आफूपक्षीयलाई जिताउन शीर्ष नेताहरू सक्रिय हुन थालेका छन् । प्रदेश अधिवेशनको नतिजाबाट त्यसको एक सातापछि हुने केन्द्रीय महाधिवेशनको परिणाम आकलन गर्न सकिने भएकाले उनीहरूको सक्रियता बढेको हो । पार्टीको विधानले प्रदेश कार्यसमितिलाई बलियो हैसियत दिएका कारण आकांक्षी पनि धेरै देखिएका छन् । प्रदेश १ मा संस्थापन समूहले केन्द्रीय सदस्यद्वय भीष्मराज आङ्दम्बे वा अमृत अर्याललाई अघि सार्न खोजेको छ । संस्थापनइतर समूहबाट केन्द्रीय सदस्य गुरुराज घिमिरे र प्रदेशसभा संसदीय दलका नेता राजीव कोइरालामध्ये एक जना उम्मेदवार बन्ने सम्भावना छ । उनीहरू दुवै जना नेता शेखर कोइरालानिकट मानिन्छन् । संस्थापन समूहको पहिलो रोजाइ आङ्दम्बे भए पनि उनले आरक्षित कोटाबाट सहमहामन्त्री लड्न खोजिरहेका छन् । प्रदेश १ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको पनि प्रभाव रहेको छ ।

प्रदेश २ मा सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधि समूहबीच प्रतिस्पर्धा हुने देखिन्छ । संस्थापन समूहमा रहेका नेतामध्ये चन्द्रमोहन यादव, प्रदीप गिरी, रामसरोज यादव निधितिर र आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव देउवातिर छन् । संस्थापनइतर समूहको नेतृत्व केन्द्रीय सदस्य अमरेशकुमार सिंहले गरेका छन् । उनी नेत्री सुजाता कोइरालानिकट मानिन्छन् । प्रदेश २ मा नेतृत्वका लागि निधिले प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका रामसरोज यादवलाई अघि सार्न चाहेका छन् । देउवा समूहले रौतहट जिल्ला सभापति कृष्ण यादवलाई र पौडेल समूहले पर्साका जिल्ला सभापति अजय द्विवेदीलाई अघि सार्न खोजेका छन् । प्रदेश २ का रौतहटबाहेक जिल्लामा कात्तिक २७ मा मात्रै वडा अधिवेशन हुँदै छ । त्यसैले कसको अवस्था के हुने भन्ने अहिल्यै स्पष्ट भइसकेको छैन ।

वाग्मती प्रदेशमा देउवा समूहबाट प्रदेशसभा संसदीय दलका नेता मकवानपुरका जिल्ला सभापति इन्द्र बानियाँ आकांक्षी छन् । पौडेल समूहबाट काभ्रेका पूर्वजिल्ला सभापति मधु आचार्य, धादिङका पूर्वसभापति रामनाथ अधिकारी र नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसी चर्चामा छन् । सिटौला समूहबाट भीमसेनदास प्रधान आकांक्षी छन् । उक्त समूहका नेता हरिहर अधिकारीले देउवा–सिटौला समूहबीच काठमाडौं जिल्लामा देउवा समूहलाई र प्रदेशमा सिटौला समूहलाई सहयोग गर्न प्रयास भइरहेको बताए । अधिक मतभार रहेको काठमाडौंमा पकड जमाएका नेता प्रकाशमान सिंहको प्रभाव पनि वाग्मतीको उम्मेदवारीमा पर्ने देखिएको छ ।

गण्डकीमा पूर्वकानुनमन्त्री यज्ञबहादुर थापा र तनहुँका पूर्वसभापति रघुनाथ पौडेल आकांक्षी छन् । १२ औं महाधिवेशनमा केन्द्रीय सदस्य भइसकेका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको पनि चर्चा छ । देउवा समूहबाट केन्द्रीय सदस्य अर्जुन जोशी दाबेदार छन् । गण्डकीमा संस्थापनइतर समूह बलियो भए पनि वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाको समीकरण कसरी बन्छ भन्नेले धेरै हदसम्म प्रभाव पार्ने आकलन छ ।

लुम्बिनीमा देउवा समूहबाट पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल र रूपन्देहीका नेता भरत शाह आकांक्षी छन् । संस्थापनइतर समूहबाट रोल्पाका जिल्ला सभापति अमरसिंह पुन र दाङका महासमिति सदस्य भरत शर्माले नेतृत्वमा आकांक्षा देखाएका छन् । पुन नेता शेखर कोइरालानिकट र शर्मा वरिष्ठ नेता पौडेलनिकट हुन् ।

कर्णालीमा देउवा समूहले जुम्लाका पूर्वसांसद ललितजंग शाही, कालीकोटका पूर्वजिल्ला सभापति कालीबहादुर सहकारी र जाजरकोटका पूर्वसभासद राजीवविक्रम शाहमध्ये एक जनालाई अघि सार्न खोजेको छ । शाही पौडेल समूह छाडेर देउवातिर लागेका भए पनि गृहजिल्ला जुम्लामा प्रदेशसभा क्षेत्रीय प्रतिनिधिमा देउवा समूहका एक जना पनि आउन सकेनन् । त्यसैले देउवा समूहभित्र उनलाई प्रदेश सभापतिको उम्मेदवार बनाउन नहुने दबाब छ । संस्थापनइतर समूहबाट केन्द्रीय सदस्य हृदयराम थानी र तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाही आकांक्षी छन् ।

मुख्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पिछडिएको क्षेत्रबाट सहमहामन्त्री लड्ने तयारी गरेपछि देउवा समूहले थानी वा शाहीसँग भिड्ने बलियो उम्मेदवारको खोजी गरिरहेको छ । कर्णालीमा दुई निर्वाचन क्षेत्र भएको सुर्खेत र दैलेखको परिणामले कुन समूहको अवस्था के हो भन्ने निर्क्योल गर्नेछ । सुर्खेतमा वडा अधिवेशनसमेत हुन सकेको छैन भने दैलेखमा प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन बाँकी छ ।

सभापति देउवाको गृहप्रदेश सुदूरपश्चिममा इतर समूहबाट डोटीका प्रदेश सांसद भरत खड्का आकांक्षी देखिन्छन् । देउवा समूहबाट भने आकांक्षीको सूची लामो छ । पूर्वमन्त्री एवं केन्द्रीय सदस्य वीरबहादुर बलायर, पूर्वराज्यमन्त्री गोविन्द शाह, कैलालीका जिल्ला सभापति नरनारायण शाह, कञ्चनपुरका पूर्वसभापति बहादुर थापालगायतको नाम चर्चामा छ ।

प्रभावशाली संरचना

कांग्रेसको विधानअनुसार प्रदेश नेतृत्वका लागि प्रदेश अधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधिले भोट हाल्न पाउँछन् । उम्मेदवार बन्न पनि दुईमध्ये एक तहको प्रतिनिधि बन्नुपर्ने प्रावधान छ । नयाँ विधानमा प्रदेश कार्यसमितिलाई जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिबीच आवश्यक समन्वय गर्ने निर्देशन दिने, तीनवटै तहका निर्वाचनमा प्रदेशभित्र पार्टीका सबै निकायलाई परिचालन गर्ने, समन्वय गर्ने र आवश्यकताअनुसार निर्देशन दिने अधिकार दिइएको छ ।

विधानको धारा ३२ मा प्रदेश कार्यसमितिलाई विभिन्न तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम केन्द्रीय समितिमा सिफारिस गर्ने र निर्णय गर्ने अधिकार दिइएको छ । उक्त धारामा नगरपालिका, उपमहानगरपालिका र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखको उम्मेदवारी निर्णय गर्ने अधिकार दिइएको छ ।

महानगरपालिका प्रमुख तथा उपप्रमुख र प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको उम्मेदवारीका हकमा तल्लो तहबाट सिफारिस भइआएका नाममा रायसमेत दिएर केन्द्रमा सिफारिस गर्ने जिम्मेवारी दिइएको छ ।

युवा नेता नैनसिंह महर पार्टी विधानअनुसार समयमै प्रदेश संरचना नबन्दा केन्द्रीयस्तरका नेताहरूले प्रदेशमा जान रुचि नदेखाएको बताउँछन् । ‘संघीयताको मर्मअनुसार शक्तिशाली प्रदेश संरचनाको व्यवस्था त गरियो, तर त्यसलाई अभ्यासमा ल्याउने काम भएन,’ उनले भने, ‘यसले गर्दा प्रदेशमा गयो भने राजनीतिक भविष्य के हुन्छ भन्ने जोखिम देखिएको हुन सक्छ ।’

केन्द्रीय नेताहरूको ध्यान आफू कसरी नेतृत्वमा स्थापित हुने र त्यसका लागि बलियो समीकरण कसरी निर्माण गर्ने भन्नेमै देखिन्छ । त्यसैले प्रदेश तहको नेतृत्वमा आफ्नो समूहबाट कसलाई उम्मेदवार बनाउने भन्ने छलफलले ठोस आकार लिन सकेको छैन । प्रदेशबाट एक महिलासहित ३ जना केन्द्रीय समितिमा निर्वाचित हुने प्रावधान छ । त्यसैले अधिकांश आकांक्षीको दाउ सकेसम्म प्रदेश सभापति बन्ने नभए प्रदेशबाट केन्द्रीय सदस्य हुने देखिन्छ । लुम्बिनी प्रदेशमा कांग्रेसको राजनीति’bout जानकार पत्रकार मेघराज ओली मर्यादाक्रममा केन्द्रीय सदस्य माथि भए पनि अधिकारको हिसाबले प्रदेश नेतृत्व आकर्षक रहेको बताउँछन् ।

कांग्रेसमा अहिलेसम्म १३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । जुम्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न भएर जिल्ला अधिवेशन हुन बाँकी छ । ६३ जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन अझै हुन सकेको छैन । यी जिल्लामा प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनका प्रतिनिधि छनोट भएपछि मात्र कुन प्रदेशमा कसको अवस्था बलियो हुन्छ भन्ने स्पष्ट हुनेछ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सातवटै प्रदेश अधिवेशन सम्पन्न भएपछि मात्र महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवारी तय हुने बताउँछन् । ‘धेरै जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभा अधिवेशन हुन सकेका छैनन्, ती अधिवेशनबाट प्रतिनिधि छानिएर आउँछन्, तिनै प्रतिनिधिले प्रदेश र केन्द्रमा मतदान गर्छन्,’ उनले भने, ‘त्यसैले प्रदेश तहको अधिवेशनले धेरै हदसम्म केन्द्रीय महाधिवेशनको परिणामलाई संकेत गर्नेछ ।’(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.