अधिकृत, प्रअ र शिक्षककै मिलेमतोमा किर्ते


किर्ते कागजातका आधारमा अनिवार्य अवकाशपछि पनि शिक्षकले एक वर्षसम्म मासिक तलबसहित सेवासुविधा लिए
२०७७ साउनमै अवकाश पाएका शिक्षकले अनिवार्य अवकाश पाएको पत्र शिक्षा एकाइबाट चैतमा बनाए तर २०७८ भदौसम्मकै तलब बुझे
सुदीप कैनी
thumbकाठमाडौँ — शिक्षा विकास तथा समन्वय एकाइ भक्तपुरका शाखा अधिकृत खुलानाथ गौतम, भक्तपुर चाँगुनारायण–८ स्थित ठूली ब्रह्मायणी आधारभूत विद्यालयका प्रधानाध्यापक हरिबहादुर राउत र शिक्षक रामराजा बुढाथोकीको मिलेमतोमा कागजात किर्ते गरी अनिवार्य अवकाशपछि पनि शिक्षकले तलब सुविधा लिएको पाइएको छ । २०७७ साउन ४ मै अनिवार्य अवकाश भएका शिक्षक बुढाथोकीले शिक्षा कार्यालयसम्म कागजात किर्ते गरी तलबसहित सुविधा लिँदै आएको पाइएको हो । उनले स्थानीय तहको शिक्षा शाखा, शिक्षा एकाइ र शिक्षक किताबखानालाई समेत गुमराहमा राखी एक वर्षभन्दा बढीको तलब सुविधा लिएर २०७८ साउन १६ को अवकाशपत्र बनाएका हुन् । अवकाशपछि पनि तलब सुविधा लिन प्रअ राउत र शिक्षा एकाइका अधिकृत गौतमले बुढाथोकीलाई सघाएका थिए ।

राउतले २०७७ साउनमै उमेर हदका कारण अनिवार्य अवकाश पाएका बुढाथोकीले २०७८ भदौसम्म पठनपाठन गराएको विवरण शिक्षा शाखा र एकाइमा पठाएका छन् । विवरणअनुसार अवकाशपछि पनि बुढाथोकीले राज्यबाट साढे ४ लाखभन्दा बढी तलब लिएको देखिन्छ । सेवा अवधि एक वर्ष थपिँदा गत वर्ष बढेको तलबसमेत जोडिएर पेन्सन वृद्धि हुन्छ । जबकि उनले बढी तलब लिएको अवधिमा कोरोना महामारीका कारण अधिकांश समय विद्यालय बन्द थियो ।

शिक्षक संकेत नम्बर १६३१० रहेका प्राथमिक तह द्वितीय श्रेणीका शिक्षक बुढाथोकीले २०७७ चैतमा एकाइबाट २०७७ साउन ४ देखि अनिवार्य अवकाश पाएको पत्र बनाएका थिए । उक्त पत्र लिएर उनी किताबखाना पुग्दा चैतसम्म आठ महिनाको बढी तलब लिएकाले असुलउपर गर्नुपर्ने देखिएको थियो । बुढाथोकीले साउनमै अनिवार्य अवकाश पाए पनि प्रअ राउतले चैतसम्म तलब खुवाउन स्थानीय तहमा माग फाराम पठाएको खुलेको छ । त्यही आधारमा स्थानीय तहले बुढाथोकीलाई अवकाशपछि पनि तलब उपलब्ध गराउँदै आएको थियो । उनको नागरिकता, सिटरोल र शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्ममिति २०१७ साउन ४ छ । त्यस हिसाबले शिक्षक नियमावलीअनुसार उनले अवकाश पाउने २०७७ साउन ४ मै हो ।

चैतसम्मको बढी लिएको रकम फिर्ता गर्नुको सट्टा २०७८ भदौ १६ सम्म उनले तलबसुविधा लिँदै आएको शिक्षा एकाइले जनाएको छ । अवकाशपछि लिएको तलब फिर्ता गर्नुपर्ने भएपछि एकाइका अधिकृत गौतमको मिलेमतोमा बुढाथोकीले अवकाश पाउने मिति परिवर्तन गरी २०७८ साउन १६ कायम गरेको पाइएको छ । एकाइले चैतमा शिक्षकलाई अवकाश पत्र दिएर स्थानीय तहको शिक्षा शाखालाई समेत बोधार्थ पठाएको थियो तर शाखाले शिक्षकको अवकाशको ख्याल नगरी प्रअले माग फाराम बुझाएकै आधारमा तलब निकासा दिएको हो । नगरपालिकाको शिक्षा शाखाले प्रअले सदर गरेको माग फाराम र एकाइले पठाएको अवकाश पत्रलाई रुजु नगरी लापरबाहीपूर्ण तरिकाले तलब निकासा गरेको देखिन्छ । एकाइ प्रमुख रमेशप्रसाद मैनालीले किर्ते गरी शाखा अधिकृतले जारी गरेको अवकाशपत्र रद्द गरिएको जानकारी दिए । ‘के कसरी यस्तो हुन गयो, छानबिनकै क्रममा छौं,’ उनले भने ।

मन्त्रालयका अनुसार शिक्षा सचिव रामप्रसाद थपलियाले कागजात किर्ते गर्ने अधिकृत, प्रअ र शिक्षकलाई विभागीय कारबाहीको प्रक्रिया थाल्न एकाइलाई निर्देशन दिएका छन् । चाँगुनारायण शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले भूलवश अवकाशपछि पनि तलब–सुविधा गएको भए असुलउपर गरिने जनाए । ‘कहिलेकाहीँ अवकाशको पत्र आइनपुग्दा भूलवश कमीकमजोरी भएको हुन सक्छ,’ उनले भने, ‘प्रअले पठाएको माग फारामको आधारमा हामीले तबलसुविधा निकासा दिने हो, ६ महिनाअघि नै अवकाश हुने शिक्षकको ’boutमा विद्यालयलाई जानकारी गराइएको हुन्छ, प्रअले त्यसपछि माग फाराम भरेर पठाउनु हुँदैन ।’

शिक्षक बुढाथोकीले भने नागरिकता, सिटरोल र शैक्षिक प्रमाणपत्रमा फरक/फरक जन्ममिति भएकाले दुईवटा पत्र बनाउनुपर्ने बाध्यता आएको जनाए । तर, एकाइका अधिकृत गौतमले जारी गरेको दुवै पत्रमा नागरिकता, सिटरोल र शैक्षिक प्रमाणपत्रमा शिक्षक बुढाथोकीको जन्ममिति एउटै रहेको उल्लेख छ । ‘मेरो अवकाश मिति २०७७ साउन नै हुने भयो, २०७८ भदौसम्म लिएको तलब फिर्ता गर्नुपर्ने कुरा आएको छ,’ उनले भने । अधिकृत गौतमले एकाइ प्रमुख कार्यालयमा उपस्थिति भएकै दिन निमित्त प्रमुखको हैसियतले गैरकानुनी रूपमा अवकाशको पत्र बनाएको एक कर्मचारीले बताए । गैरकानुनी कार्य गरेको भेटिएपछि अधिकृत गौतमसँग रहेको एकाइको छाप शुक्रबार जफत गरिएको छ ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.