नजिक-नजिक भन्दाभन्दै अझै टाढा


साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शनको सूक्ष्म विश्लेषण आवश्यक
हिमेश
thumbमाले, माल्दिभ्स — जो जित्यो, त्यही राजा । पहिला जित्नेकै चर्चा । दक्षिण एसियाली फुटबलको राजा हो, भारत । कम्तीमा साफ च्याम्पियनसिपमा भारतको दादागिरी चल्छ । यसपल्ट पनि यस्तै भयो, साफ च्याम्पियनसिप भारतकै नाममा लेखियो । र, भन्न कर लाग्छ, उपाधिका लागि भारत जत्तिको हकदार अरू कोही रहेनन् । ‘वास्तविक विजेता’ रह्यो ।एकपछि अर्को आरोप खेपेर भारत माल्दिभ्स आएको थियो र अब यहाँबाट फर्कंदा भारतीय फुटबलले तिनै आलोचकलाई केही उत्तर दिने प्रयास गरेको छ । भारतले यसपल्टको साफ च्याम्पियनसिपमा राम्रो सुरुआत लिन सकेन । सुरुआती दुई खेलमा बंगलादेश र श्रीलंकासँग बराबरी खेलेको थियो । त्यतिबेला लागेको थियो, भारतीय फुटबललाई मन पराउने जत्ति यो खेलका पण्डित भएका छन् र यिनीहरूको एकसूत्रीय माग थियो, अब प्रशिक्षक इगोर स्टिमेकलाई बर्खास्त गर्नुपर्छ । विशेषतः सामाजिक सञ्जालमा उनको चर्को विरोध भइरहेको थियो । यी विश्वकप खेलेका पूर्वखेलाडी आफैं दबाबमा देखिन्थे ।

तर उनले भने पनि, ‘के टिम बनाउने र यही टिमले कसरी खेल्ने भन्ने निर्णय सामाजिक सञ्जालबाट गर्ने हो ? होइन, पक्कै होइन ।’ यी अनुभवी प्रशिक्षकले दाबी पनि गरे, ‘मलाई कति बेला कसरी खेल्नुपर्छ, राम्रोसँग थाहा छ, कसैले आएर सिकाउनु पर्दैन ।’ यो भनाइमा अलिकति घमण्डीपन देखिन्छ । तर उनले यो दाबी के ठोके, भारतीय टिमले राम्रो खेल्यो नै । दुई बराबरीपछि भारतका लागि बाँकी तीनै खेल फाइनल जस्तै थिए, पराजित भयो कि प्रतियोगिताबाट बाहिरिने डर हुन्थ्यो ।

भारतले नेपालसँग बराबरी खेलेको भए पनि गाह्रो हुन्थ्यो, माल्दिभ्सविरुद्ध त जितबाहेक अन्य नतिजा सोच्न सकिने स्थिति नै थिएन । ठीक यही बेला भारतले राम्रो खेल्यो, ढंगले खेल्यो । विशेषतः माल्दिभ्सविरुद्ध भारतको प्रदर्शन तारिफ गर्न योग्य थियो । खुबै ‘प्रेसर म्याच’ थियो र यसमै टिमले मालेको नेसनल स्टेडियममा गज्जब खेल्यो । भारतले यति राम्रो खेलेको र त्यसलाई आफ्नै आँखाले देख्न पाएको यो नै पहिलोपल्ट थियो, यतातिरका फुटबल पत्रकारका लागि ।

फुटबलमा आज गरेको लगानीको प्रतिफल आजै देखिए कति मीठो हुन्थ्यो होला । तर जति बेला लगानीको लामै समयपछि बिस्तारै त्यसको प्रतिफल देखा पर्न थाल्छ, त्यो अझ गज्जब हुन्छ । अझ मीठो हुन्छ । भारतीय फुटबल ठ्याक्कै यही स्थितिमा छ, अब । फाइनल खेलपछि टिमका सहायक प्रशिक्षक सन्मुघम वेंकटेश मैदानमा भेटिए । खुबै भलाद्मी छन्, यी प्रशिक्षक । बोल्न अगाडि मुसुक्क हाँस्छन्, अनि बिस्तारै बोल्छन् ।

यिनै वेंकटेश मान्छन्, भारतीय फुटबलमा जे जति लगानी भएको छ, त्यसले बिस्तारै आफ्नो रङ देखाउन थालेको छ । उनले भने, ‘साफ च्याम्पियनसिप जितेकामा हामी खुसी छौं । यसपल्ट पहिलो रोजाइको भारतीय टिम मैदानमा उत्रेको थियो र यही टिमको प्रदर्शनमा हामी खुसी छौं । भारतीय फुटबलमा पछिल्लो समय धेरै लगानी भएको छ । इन्डियन सुपर लिगमै पैसाको खोलो बग्छ । त्यसको प्रतिफल देखिने भनेको अन्त्यमा राष्ट्रिय टिममै हो । मुख्य कुरा भनेको भारतीय फुटबल सही दिशामा छ । यसमै हामी बढी खुसी छौं, यसपल्टको साफ च्याम्पियनसिपले हामीलाई यस्तै महसुस गर्ने अवसर दिएको छ ।’

नेपालकै दृष्टिकोणबाट भन्ने हो भने भारतीय फुटबल अब त्यहाँ पुगेको छ, जहाँ उसलाई छुन अब गाह्रो हुनेछ । एकाध नतिजा राम्रा होलान्, केही खराब पनि होलान्, तर अब भारतीय फुटबलले सम्भवतः एउटा दिशा लिएको छ, जहाँबाट उसले ठूल्ठूला सपना बुन्न सक्छ । अब भारतलाई हराउन पुरानै गनगनले मात्र पुग्ने छैन । जस्तो, भारतविरुद्ध खेल्दा गोर्खाली पारा चाहिन्छ, भारतविरुद्ध खेल्दा नेपाल जहिल्यै राम्रो गर्छ, अब यस्ता तर्क नगरे हुन्छ ।

सुनीलमा पक्कै केही छ

भारत र माल्दिभ्सबीचको खेलअगाडि धेरैले यसलाई ‘सुनील क्षेत्री भर्सेस अली अस्फाक’ को संज्ञा पनि दिए । पछिल्लो पुस्तामा दक्षिण एसियाली फुटबलले पाएका यी दुई सबैभन्दा ठूला स्टार हुन् । माल्दिभ्समा सबैले चिन्ने एक्लो कोही छ भने तिनी अस्फाक हुन् । अझ माल्दिभ्समा अस्फाक नचिन्ने कोही छैनन् । मालेका गल्लीगल्लीमा उनको तस्बिर भित्तातिर देख्न सकिन्छ । पछिल्लो साफ च्याम्पियनसिपमा उनी माल्दिभ्स टिममै परेनन् ।

यसपल्ट उनकै नेतृत्वमा माल्दिभ्स मैदानमा उत्रेको थियो । माल्दिभ्स फाइनल भने पुग्न सकेन । प्रतियोगिताकै क्रममा अस्फाकले आफू यति किन मन पराइन्छ भनेर मैदानमै सिद्ध गरे । खुबै खटेर खेल्ने खेलाडी हुन् । सायद सुनील अलि फरक छन् । उनी खेलमा पूर्णतः छाउने खालका खेलाडी होइनन् । जति बेला चाहियो, भारतका लागि ठ्याक्कै गोल निकाल्ने खेलाडी हुन् । पुरानो फुटबलका भाषामा भन्दा अवसरवादी खेलाडी, अचेलको भाषामा भन्दा ‘राइट टाइम राइट प्लेस’ मा बस्ने खेलाडी हुन्, उनी ।

‘सुनील क्षेत्री भर्सेस अली अस्फाक’ को भिडन्तमा जित सुनीललै भयो । एक प्रकारले भन्दा यसपल्टको साफ च्याम्पियनसिप उनकै नाममा रह्यो । नेपालविरुद्ध उनले दुई गोल गरे । माल्दिभ्सविरुद्ध एकै खेलमा दुई गोल गरे । भारतीय मुख्य प्रशिक्षक स्टिमेक मान्छन्, यसपल्टको साफ च्याम्पियनसिपमा सुनील पूर्णतः छाए, किन भन्दा उनमा पक्कै केही छ । हुन्न थियो त, कसरी एकपछि अर्को गोल निस्कन्थ्यो ? भारतका लागि उनले गरेको गोल संख्या नै ८० पुगिसकेको छ ।

सुनीललाई लिएर सबैभन्दा सटीक शब्द नेपाली मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीकै मुखबाट सुनियो । उनी भन्थे, ‘कोही कसैले सुनील कस्ता खेलाडी हुन् भनेर किन भनिरहनु पर्‍यो र ? उनको खेल तथ्यांकले नै सबथोक बोल्छ । हाम्रो काम भनेको उनले राम्रो खेलेको हेर्ने हो र मज्जा लिने हो ।’ हो नै । फाइनलपछि यिनै सुनील पनि नेसनल स्टेडियमको मैदानमा भेटिए । कुराकानीका लागि सायद तयार थिएनन् । खालि भने, ‘राम्रै निस्क्यो, यसपल्टको साफ च्याम्पियनसिप ।’

अहिलेसम्मकै उत्कृष्ट प्रतियोगिता

माल्दिभ्सले खेलकुदका केही ठूला प्रतियोगिताको आतिथ्य अहिलेसम्म गरेको छैन । फुटबलकै ठूला प्रतियोगिता पनि माल्दिभ्समा कमै भएका छन् । यस्तो साफ च्याम्पियनसिप २०२१ उसले आयोजना गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो खेल महोत्सव थियो । त्यसैले होला, पूरा मालेलाई साफ च्याम्पियनसिपमय बनाइएको थियो । प्रतियोगिताका क्रममा माल्दिभ्सले जुन–जुन दिन फुटबल खेल्यो, त्यस दिन पूरा मालेमा जे जति भेटिए, अधिकांश टिमको जर्सीमा थिए ।

विशेषतः महिला फुटबल समर्थकको उत्साह खुबै उत्साहबर्द्धक थियो । माल्दिभ्स टिमको समर्थनमा उत्रेका दर्शक वास्तवमै ‘१२ औं खेलाडी’ थिए । माल्दिभ्सका समर्थक आफ्नो टिमको खेल हेर्न पूरा रात टिकटको लाइनमा बसे । माल्दिभ्सले खेल्ने दिनको अघिल्लो रात मालेको सोसियल सेन्टरमा निकै लामा लामा लाइन देखिन्थे, टिकट किन्नेको । त्यसैले माल्दिभ्सका प्रशिक्षक अली सुजेनले भनेका थिए, ‘हामीले अरू कसैका लागि नखेले पनि यिनै समर्थकका लागि खेल्नुपर्छ । यी समर्थक माल्दिभ्सको फुटबललाई खुबै मन पराउँछन् ।’

राउन्ड रोबिनका आधारमा चलेको प्रतियोगिता यसअघिका संस्करणभन्दा फरक थियो र यसले पस्केको फुटबल यसअघिका प्रतियोगितामा भन्दा राम्रो पनि रह्यो । यसअघिका साफ च्याम्पियनसिपमा सहभागी टिमबीच स्तर र प्रदर्शनका आधारमा राम्रै फरक देखिन्थ्यो । एकपक्षीय खेल हुन्थे र गोल गरेको टिमले दोहोर्‍याएर गोल गरिरहन्थे । सायद यसपल्ट भारत बाँकी टिमको तुलनामा केही अगाडि थियो, तर सहभागी टिमले राम्रै चुनौती पेस गरे, जित्ने त एउटै टिम रह्यो, तर हार्नेले शिर झुकाउनु पनि परेन । सबैभन्दा पुछारमा रहेको टिम रह्यो, श्रीलंका । श्रीलंकाका प्रशिक्षक हुन्, समिर एल्गिच । उनी एउटा प्रश्नको कम्तीमा तीन उत्तर दिन माहिर थिए । बोल्न थालेपछि रोकिन गाह्रो हुन्थ्यो । तर उनले यही क्रममा प्रतियोगिताको भने सटीक विश्लेषण गरे । उनी भन्थे, ‘सायद दक्षिण एसियाले अब ठीक ढंगले फुटबल खेल्न सुरु गरेको छ । फुटबल अचेल निकै प्राविधिक भएको छ र यो खेल खेल्ने तरिका यही हो । कम्तीमा दक्षिण एसियाली फुटबल त्यसतर्फ अग्रसर देखिएको छ ।’

माल्दिभ्स समर्थकको उत्साह जहाँ प्रशंसायोग्य थियो, जहाँ प्रतियोगिता आफैंमा उम्दा रह्यो, त्यहीं स्थानीय आयोजकका रूपमा माल्दिभ्स फुटबल संघ र यसका पदाधिकारी र सहयोगीको काम भने उत्तिकै निराशाजनक थियो । एउटा फुटबल प्रतियोगिता कसरी सञ्चालन गर्नुपर्छ, विदेशीको आतिथ्य के कसरी गर्नुपर्छ, यिनले सिकेकै रहेनछन् । उनीहरूको बिनातर्कको आफ्नै जिद्दी हुन्थ्यो र त्यसमै अल्झेर बसिरहन्थे । साफ च्याम्पियनसिप खेल्न जति पनि विदेशी टिम आए, सबैको मुखमा गुनासा नै बढी थिए ।

धेरैले विश्वास नगर्न सक्छन्, आयोजकले खेल अगाडि र खेल पछाडि न त प्लेयर लिस्ट दिन सक्यो, न त फाइनल रिपोर्ट नै । हुँदाहुँदा विदेशी टिमले एक जना ‘लियाजन अफिसर’ पनि पाएनन् । नेसनल स्टेडियम आफैंमा गतिलो थिएन । दक्षिण एसियाली फुटबल महासंघ आफैं स्थानीय आयोजकको कामबाट दिक्क देखिन्थ्यो । एउटा ठूलो प्रतियोगितामा हुँदा जे जति साना–साना कुरामा ध्यान दिनुपर्छ, ती केही पनि थिएनन् । तर हो, एउटा तथ्य मान्नुपर्छ, मैदानमा देखिएको फुटबल भने यसपल्ट राम्रो रह्यो ।

नेपालले तोडेको ‘जिंक’

अब रह्यो, प्रतियोगितामा नेपालको प्रदर्शन । यसको सूक्ष्मभन्दा सूक्ष्म विश्लेषण आवश्यक छ । अहिले तत्काल पूरा प्रतियोगितामा टिकेर नेपालले गरेको प्रदर्शनलाई छोटकरीमा विश्लेषण गर्दा एउटा निचोड भने निकाल्न सकिन्छ, अब साफ च्याम्पियनसिप नेपालका लागि खालि अशुभ र अल्छिन प्रतियोगिता रहेन, नेपालले फाइनल पुगेर एउटा ‘जिंक’ तोड्ने काम गरेको छ । खेलकुदमा यो ‘जिंक’ शब्द खुबै प्रयोग हुन्छ । प्रतियोगितामा खराब खेलेको इतिहास छ भने त्यो शृंखलाबद्ध रूपमा कायम रहन्छ, तोड्नै सकिन्न ।

सन् १९९३ देखि साफ च्याम्पियनसिप सुरु भएको मान्ने हो भने समग्रमा नेपालको प्रदर्शन अधिकांश समय निराशाजनक रह्यो । सन् १९९७ बाट साफ च्याम्पियनसिपले आफ्नो अहिलेको नाम पाएको हो र यो काठमाडौंमै भएको थियो । तर त्यसमा नेपालको प्रदर्शन निकै निराशाजनक रह्यो र टिम आफैं चुत्था सावित भयो । सुरुमा भनिएको थियो, उपाधि जित्ने टिम नेपाल नै हो, तर प्रतियोगिता सकिँदा नेपालको प्रदर्शन सर्वथा बिर्सनलायक रह्यो ।

नेपालले केही अवसरमा सेमिफाइनल नखेलेको पनि होइन । अधिकांश समय नेपालको चुनौती लिग चरणका सुरुआती दुई खेलपछि नै सकिन्थ्यो । तेस्रो खेलसम्म आइपुग्दा नेपालका लागि त्यसले तेर्साउने चुनौती खालि अनौपचारिक मात्र हुन्थ्यो । विशेषतः सन् २०११, २०१३ र २०१८ का संस्करणमा नेपालले सेमिफाइनल पुग्दासम्म राम्रो त गरेको थियो, तर निर्णायक मोडमा टिम चुकेकै हुन्थ्यो । विशेषतः फुटबल पत्रकारहरू निराश भएर आफू आफूमा मुखामुख भएर भन्थे, ‘अब अर्कोपल्ट राम्रो हुन्छ ।’

यो अर्कोपल्ट राम्रो गर्ने काम भने कहिल्यै भएकै थिएन, तर यसपल्ट भएको छ । नेपाल पहिलोपल्ट साफ च्याम्पियनसिपकै इतिहासमा फाइनल पुगेको छ । नेपालले यसअघि सात अवसरमा फरक प्रतियोगिताका फाइनल खेल्यो, तर यत्तिको ठूलो फाइनल खेलेको यो नै सबैभन्दा ठूलो अवसर थियो । अबदेखि नेपालले साफ च्याम्पियनसिप खेल्दा ‘हामी फाइनल पुगेका थिएनौं’ भन्ने मानसिकताले खेल्नुपर्ने छैन । एकपल्ट फाइनल नपुगेको ‘जिंक’ तोडेपछि फेरि दोहोर्‍याएर तोड्न पहिला जस्तो पक्कै गाह्रो हुने छैन ।

नेपालका लागि साफ च्याम्पियनसिपको सबैभन्दा ठूलो उपलब्धि भन्नु नै यही हो । प्रतियोगिता सुरु हुनुअगाडि सम्भवतः फाइनल भारत र माल्दिभ्सबीच हुने अनुमान गरिएको थियो । माल्दिभ्स आयोजक त थियो नै, डिफेन्डिङ च्याम्पियन पनि थियो । यही माल्दिभ्सलाई नेपालले उसकै भूमिमा यसपल्ट हरायो । यसअघि जहिल्यै खराब सुरुआत लिने नेपालले यसपल्ट सुरुआती दुई खेल जितेको थियो । यही दुई जितपछि सबैले भन्न सुरु गरेका थिए, अब फाइनल खेल्ने पालो नेपालको । फाइनलपछि हाम्रा प्रशिक्षक अल्मुताइरी चारैतर्फ अन्तर्वार्ता दिनमा व्यस्त रहे । एकपल्ट फाइनल खेल के सकिएको थियो, उनीमाथि ‘टेक्निकल एरिया’ मा बस्न नपाउने गरेर गरिएको निर्णय आफैं समाप्त भएको थियो । अल्मुताइरी आफैं खुसी देखिन्थे र लगातार भनिरहेका थिए, ‘मेरो मुखमा यो हाँसो किन छ, थाहा छ ? हाँसो किन भन्दा टिमको प्रदर्शनमा म खुसी छु । नेपाली खेलाडीले अब घर फर्कंदा शिर निहुर्‍याउनुपर्ने छैन, ठाडो गर्न सक्छन् ।’

समग्रमा नेपाली फुटबलको अवस्था, ठूलो प्रतियोगिताको उपाधिका लागि ‘नजिक नजिक’ पुगिएको अनुभव हुन्छ, तर यो अझै धेरै टाढा छ । अल्मुताइरी भन्छन्, ‘कम्तीमा हामी सही दिशामा छौं । यहाँबाट नेपाली फुटबलले गति लिन सक्छ, यो रोकिन्नुहुन्न । हामी पनि धेरै अगाडि जान सक्छौं । हाम्रा खेलाडी निकै प्रतिभाशाली छन् । हाम्रा समर्थक उत्तिकै हौसला बढाउने खालका छन् । अबका प्रशिक्षक को हुने हो, के हुने हो, त्यो गौण विषय हो । हामी रोकिनुहुन्न । हाम्रो उद्देश्य अगाडि बढ्ने नै हुनुपर्छ ।’

अन्त्यमा भन्नै पर्छ, साफ च्याम्पियनसिपको फाइनल पुग्नु आफैंमा नेपाली फुटबलका लागि उपलब्धि हो । यो किन पनि हो भन्दा नेपाल यसअघि दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको फाइनल पुगेकै थिएन । यो उपलब्धिलाई बेकार जान दिन हुन्न । पछिल्लो एक वर्ष, प्रशिक्षकदेखि खेलाडी, अनि अखिल नेपाल फुटबल संघ (एन्फा) आफैंले धेरै मिहिनेत गरेका छन् । नत्र सुरुआती १२ संस्करणका साफमा फाइनल पुग्न नसकेको नेपाल एकाएक यसपल्ट ठाउँको ठाउँ त्यसै फाइनल पुग्ने थिएन ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.