राधा खनाल
काठमाडौं : विवादमा मुछिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिएका छन्। हमालले आइतबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट कांग्रेसको नाममा मन्त्री बनेको भन्दै चोतर्फि आलोचना भएपछि उनले राजीनामा दिएका हुन्। राजीना बुझाउनु अगाडि हमालले अन्नपूर्णसँग भने, ‘म राजीनामा दिने पक्षमा गएँ। त्यत्तिकै विवादमा किन पर्ने भनेर मैले मेरो स्वविवेक प्रयोग गरेँ। आज गएर प्रधानमन्त्रीलाई राजीनामा बुझाउँछु।’
राजनीतिक योगदान भएरपनि प्रधानन्यायाधीशसँग जोडेर विवाद झिकिएपछि राजीनामा दिन बाध्य भएको हमालको गुनासो छ।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा संसद् नै नभएका गजेन्द्र हमाल नियुक्त गरेका थिए। गैह्र सांसद हमाललाई मन्त्री बनाएपछि कांग्रेसभित्रै असन्तुष्ट बढेको छ। (अन्नपूर्ण )