बजेट खर्च गर्नै सक्दैनन् स्वास्थ्य संस्था : ८ अर्ब ११ करोड रुपैयाँ फ्रिज


कोभिड–१९ रोकथाम तथा नियन्त्रण, अस्पताल, प्रतिष्ठान, अध्ययन केन्द्र सुधार, अनुगमन तथा मूल्यांकनलगायत ४८ कार्यक्रममा ७९ प्रतिशत मात्रै खर्च
प्रशान्त माली
thumbकाठमाडौँ — –सिंहदरबार वैद्यखानाको च्यवनप्राशको माग गत वर्ष जाडोयाममा अत्यधिक बढ्यो । रोग प्रतिरोधात्मक क्षमता बढाउन सेवन गरिने च्यवनप्राशको उत्पादन पर्याप्त मात्रामा हुन सकेन । वैद्यखानाले बजेट अभाव भएर मागअनुसार उत्पादन गर्न नसकेको भने होइन । स्वास्थ्य मन्त्रालयले गत वर्ष वैद्यखानाका लागि ३ करोड ६८ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये २ करोड ११ लाख ६८ हजार रुपैयाँ खर्चै हुन सकेन । ‘कोभिडका कारण मंसिर/पुसतिर मात्र बजेट आयो । त्यसमाथि वैद्यखानाले स्थिर नेतृत्व पाएन । स्वास्थ्य मन्त्रालयले मलाई नै पदबाट तीन पटक हटायो । तीन पटक फेरि नियुक्ति गर्‍यो,’ वैद्यखानाका तत्कालीन प्रबन्ध निर्देशक वंशदीप शर्मा
खरेलले भने ।

–ललितपुरको जावलाखेलमा हात धुन राखिएको ट्यांकीमा पानी र स्याम्पु सकिएको महिनौं बितिसक्यो । लगनखेलमा त ट्यांकी नै हटाइएको छ । अहिले राजधानीका मुख्य व्यापारिक केन्द्रमा न हात धुन साबुनपानीको व्यवस्था छ, न त सेनिटाइजरको । पहिला राखिएका स्थानमा कतै धारा बिग्रिएका छन्, कतै ट्यांकीमा पानी आउँदैन । कोभिडको जोखिम टरिसकेको छैन । मन्त्रालयले गत वर्ष कोभिड रोकथामका लागि दुइटा शीर्षकमा ६ अर्ब १५ करोड ३९ लाख रुपैयाँ विनियोजित गरेको थियो । त्यसमध्ये १ अर्ब १६ करोड ४२ लाख खर्चै हुन सकेन ।

–गत वैशाखमा अक्सिजन नपाएर धेरै कोभिड बिरामी छटपटिए, कतिले ज्यानै गुमाए । तर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले बिग्रेर थन्किएको आफ्नै प्लान्ट सञ्चालनमा ल्याउन चासो दिएन । वीर अस्पतालको प्लान्ट पनि बेलाबेला बिग्रिरह्यो । पाटन अस्पतालले पनि बिग्रिएको प्लान्ट मर्मत गरेर सञ्चालनमा ल्याउन पहल गरेन । अनुगमन तथा मूल्यांकन गर्न भने १ अर्ब ४६ करोड ५९ लाख रुपैयाँ बजेट छुट्याइएकामा १ अर्ब १४ करोड ५३ लाख फ्रिज भयो ।

स्वास्थ्य मन्त्रालयले गत वर्ष कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण, अस्पताल, प्रतिष्ठान, अध्ययन केन्द्र, तालिम, सूचना तथा सञ्चार केन्द्रको सुधार, अनुगमन तथा मूल्यांकनलगायत ४८ वटा महत्त्वाकांक्षी कार्यक्रमका लागि ३८ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर ७९ प्रतिशत अथवा ३० अर्ब ८६ करोड ९६ लाख रुपैयाँ मात्र खर्च हुन सक्यो । ८ अर्ब ११ करोड ७१ लाख ९५ हजार फ्रिज भयो । स्वास्थ्य मन्त्रालय नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख गुणराज लोहनीका अनुसार प्रायः निर्माण र सामान खरिदका लागि छुट्याएको बजेट फ्रिज हुने गर्छ । ‘यस्ता खालका बजेटमा ठेकेदारले काम गरेको आधारमा भुक्तानी दिनुपर्ने हुन्छ । तर, ढिलासुस्ती गरेपछि भुक्तानी रोकिन्छ । अनि बजेट फ्रिजमा जान्छ,’ उनले भने, ‘कतिपय बजेट कर्मचारी प्रशासनको ढिलासुस्तीका कारण पनि हुने गर्छ ।’ समयमा काम नगर्ने ठेकेदारको मूल्यांकन गरेर अर्को पटक ठेक्का नदिनेजस्ता कडा प्रावधान ल्याउन सके बजेट फ्रिज हुने क्रम केही हदसम्म कम हुने लोहनी बताउँछन् । उनले कार्यक्रमतर्फको बजेट भने यस वर्ष एकातिर कोभिड महामारी र अर्कातिर अर्थ मन्त्रालयबाट निकासमा ढिलाइ हुँदा फ्रिज भएको दाबी गरे ।

मन्त्रालयको तथ्यांकअनुसार गत वर्ष मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्स्प्लान्ट केन्द्र, सहिद गंगालाल, त्रिवि शिक्षण अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली, पाटन र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले मात्र विनियोजित बजेट पूरै खर्च गरे । स्वास्थ्य सेवा विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रलगायतले पूरा खर्च गर्न सकेनन् ।

स्वास्थ्य सेवा विभागका लागि १६ करोड ९ लाख विनियोजन गरिएकामा ८३ लाख ६० लाख, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागलाई २ करोड ४५ लाख छुट्याइएकामा ५८ लाख ३८ हजार रुपैया खर्च हुन सकेन । यस्तै, औषधि व्यवस्था विभागलाई १९ करोड ४७ लाख रुपैयाँ विनियोजन गरिएकामा १० करोड २५ लाख, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा २ करोड ३३ लाखमध्ये १४ लाख ७४ हजार, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका लागि छुट्याइएको १२ करोड ४० लाखमध्ये ३ करोड ८ लाख र कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रको २ करोड ३७ लाख रुपैयाँमध्ये र ६९ लाख ५९ हजार फ्रिज भयो ।

स्वास्थ्य विभागका महानिर्देशक डा. आरपी बिच्छाले कोभिडका कारण केही बजेट खर्च गर्न नसकिएको बताए । ‘हामीले अधिकांश बजेट खर्च गरेका छौं,’ उनले भने । वीर अस्पतालका लागि २ अर्ब ४० करोड ३३ लाख, कान्ति बाल अस्पतालमा ३८ करोड २४ लाख, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १६ करोड ६७ लाख, प्रसूति गृहलाई ४५ करोड ८७ लाख र नेपाल आँखा अस्पतालका लागि ३३ करोड रुपैयाँ विनियोजिन गरिएको थियो । वीरमा १६ करोड ८६ लाख, कान्ति बालमा १४ करोड ९१ लाख, शुक्रराज ट्रपिकलमा १ करोड ६० लाख, प्रसूति गृहमा १३ लाख १८ हजार र नेपाल आँखा अस्पतालमा १५ लाख ५९ हजार रुपैयाँ फ्रिज भयो ।

वीर अस्पतालका प्रमुख डा. भूपेन्द्रकुमार बस्नेतले आफू आउनुभन्दा अगाडिको कुरा भएकाले यस’bout भन्न नसक्ने बताए । ‘मेरो कार्यकालमा फ्रिज भएको भए मैले जवाफ दिन्थे,’ उनले भने, ‘जसको पालामा भएको हो, उहासँगै बुझ्नुस् ।’ सहिद शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल प्रमुख डा.अनुप बाँस्तोलाले पनि गत वर्ष आफू नभएकाले अस्पतालमा बजेट फ्रिज हुनुको तथ्य थाहा नभएको दाबी गरे । ‘ठेकेदारले कम मूल्यमा टेन्डर पाएका हुन्छन् । त्यसबाट बाँकी हुने रकमले खर्च हुँदैन,’ उनले भने, ‘चुस्तदुरुस्त प्रशासन नहुँदा पनि बजेट फ्रिज हुने गर्छ ।’

मन्त्रालयले नेपाल नेत्रज्योति संघका लागि ५ करोड ८० लाख, मानव अंग प्रत्यारोपण केन्द्रलाई १९ करोड ५ लाख, क्षयरोग नियन्त्रण केन्द्रलाई ६८ करोड १० लाख, एकीकृत महिला स्वास्थ्य तथा प्रजनन स्वास्थ्यका लागि ३५ करोड ७० लाख र स्वास्थ्य अनुसन्धान परिषद्लाई ११ करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यसमा नेत्रज्योति संघमा २३ लाख ७१ हजार, मानव अंगमा ३ करोड ८४ लाख, क्षयरोग नियन्त्रणमा १८ करोड ८१ लाख ४९ हजार, एकीकृत महिलामा ८ करोड ६ लाख ३५ हजार र स्वास्थ्य अनुसन्धान परिषद्मा १ करोड ८० लाख फ्रिज भयो । स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले लकडाउनका कारण फिल्डमा जान नसक्दा बजेट फ्रिज भएको बताए । ‘कोभिडका कारणले कतिपय सामान खरिदका लागि टेन्डर गर्न पाइएन,’ उनले भने ।

रकम फ्रिज गत वर्ष मात्र भएको होइन । गएका तीन आर्थिक वर्षको अवस्था हेर्दा ८० प्रतिशत हाराहारी खर्च भएको छ । स्वास्थ्य मन्त्रालयले ०७६/७७ मा ३८ अर्ब ९८ करोड ६८ लाख ३९ हजार विनियोजन गरेकामा ८ अर्ब ११ करोड ७१ लाख ८५ हजार फ्रिज भयो । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले यस विषयमा हरेक वर्ष समीक्षा हुने गरेको बताए ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.