पाइलटले भनिरहे– ‘मेरो जहाजको चक्का हेरिदेऊ’


दोस्रो पटकको प्रयासमा पनि एटीसीले ‘बायाँ र अगाडिको पाङ्ग्रा देख्यौं तर दाहिनेपट्टिको देखिएन’ भनेपछि क्याप्टेन आङ गेलु शेर्पाले काठमाडौं फर्किने निर्णय लिए
सुरज कुँवर
budhha-air-news-pic-3-2792021071118-1000x0काठमाडौँ — काठमाडौंबाट विराटनगर उड्ने जहाजले कोसी टप्पु वन्यजन्तु आरक्ष कटेपछि विराटनगर टावरसँग अवतरण अनुमति माग्छन् । तर, सोमबार बुद्ध एयरको एटीआर जहाजले विमानस्थलको टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई धावनमार्गमा अवतरणको अनुमति मागेन । उल्टै पाइलटले एटीसीलाई अप्रत्याशित काम अह्राए, ‘हाम्रो जहाजको चक्का खुलेको छ कि छैन हेरिदेऊ ।’ विराटनगरबाट १० माइल परै रहेको जहाजले यस्तो सोधेपछि एटीसीले नाङ्गा आँखाले जहाजका पाङ्ग्रा खुले/नखेलेको हेर्ने प्रयास गरे तर देखेनन् ।

चालकदलका चार सदस्यसहित ७७ जना सवार ‘अल्फा नोभेम्बर इन्डिया’ एटीआर जहाज दोस्रो पटक धावनमार्गमाथिबाटै उड्यो । पाइलटले चक्का खुलेको र लक भए/नभएको पक्कापक्की गर्न चाहेका थिए । तर, दोस्रो प्रयासमा पनि सफल हुन सकेनन् । त्यो जहाजको पछिपछि आइरहेको अर्को जहाज भने सजिलै अवतरण भयो । पहिलो पटक एटीसीले पाइलटलाई ‘कुनै पनि ल्यान्डिङ गियर (पाङ्ग्रा) नखुलेको र लक नभएको’ सूचना दिएका थिए । दोस्रो पटकको प्रयासमा पनि एटीसीले ‘सर, बायाँ र अगाडिको पाङ्ग्रा देख्यौं तर दाहिनेपट्टिको देखिएन’ भनेपछि जहाजका क्याप्टेन आङ गेलु शेर्पाले काठमाडौं फर्किने निर्णय लिए ।

विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज २ घण्टापछि काठमाडौंमै अवतरण [तस्बिरहरू]
विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार विराटनगरका लागि सोमबारको पहिलो फ्लाइट नै अवतरण हुन नसकेपछि ‘इमर्जेन्सी डिक्लियर’ नगरेर सामान्य उडान जस्तै फर्किएको थियो । यसको अर्थ जहाजमा कुनै पनि प्राविधिक समस्या नदेखिनु तर आपत्कालीन अवस्था आउनु हो । काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार सामान्य अवस्थामा एटीआर–७२ ले काठमाडौंबाट विराटनगर एकतर्फी उडानका लागि ४० मिनेट हाराहारी लगाउँछ । ३ शिशु, २ बालबालिका र वयस्क गरी ७३ यात्रु बोकेर बिहान ८ बजेर ३१ मिनेटमा उडेको जहाज विराटनगरबाट ७९ औं मिनेटमै फर्किएको थियो ।

बिहानको मौसम सफा भएकाले बुद्धका लागि भीएफआर (हेरेर गरिने उडान) उडान तय गरिएको थियो । फर्किंदा पनि यसले उपकरण (आईएफआर) को सहायता नलिई काठमाडौंभित्र प्रवेश गर्‍यो । जहाज काठमाडौंभित्र नपस्दै वायुसेवा कम्पनी बुद्ध र काठमाडौं विमानस्थलले यस’bout जानकारी पाइसकेका थिए । दुम्जा, धुलिखेल, साँगा हुँदै जहाज काठमाडौं उपत्यकाको आकाशमा प्रवेश गरेपछि काठमाडौं कन्ट्रोल टावरलाई फेरि भन्यो, ‘मेरो जहाजको पाङ्ग्रा हेरिदेऊ ।’ टावरमा रहेका एटीसी, बुद्ध एयरकै प्राविधिकहरूले दूरबिनको सहायताले हेरे । त्यतिबेला जहाज काठमाडौंको आकाशमा १२ हजार फिट उचाइमा थियो । विमानस्थल प्रवक्ता शेर्पाका अनुसार अप्ठ्यारोमा परेको जहाजलाई अवतरणमा प्राथमिकता दिँदै विमानस्थल एकतर्फी चलाइयो । अर्थात्, काठमाडौंबाट बाहिरका लागि हुने उडान रोकियो । तर आउने जहाजलाई सावधानीपूर्वक अवतरण गराउने क्रम जारी नै राखियो ।

बुद्धको जहाज भने काठमाडौंभित्रको आकाशमा फन्को लगाइरहेको थियो । काठमाडौंबाट १८ सय किलोग्राम इन्धन राखेर उडेको जहाजले विराटनगरबाट फर्किने इन्धन पनि यतैबाट भरेर उडेको थियो । यदि ल्यान्डिङ गियर नखुलेको भए यसले अकाशमा उडेरै इन्धन नष्ट (फ्युल–बर्न) गरी फममा आपत्कालीन अवतरण गर्ने योजना बनाएको थियो । फम चिप्लो पदार्थ हो । पाङ्ग्रा नखुलेमा फायर ट्रकको माध्यमले धावनमार्गमा फम पोखेर जहाजको बेली (जहाजमुनिको भाग) ले घर्षण गराई अवतरण गराइन्छ ।

‘ट्यांकीमा रहेको अधिकांश तेल खाली उडाएरै सक्ने । थोरै तेलमात्रै राखेर फममा अवतरण गराउँदा घर्षण हुने र आगोको झिल्का नआउने भएकाले यो आपत्कालीन विधि हो,’ प्राधिकरणका एक विज्ञ पाइलटले भने ।

आठौं पटक एटीसीले बुद्धको एटीआर जहाजलाई धावनमार्गमाथिबाट उड्न अनुमति दिए । त्यसपछि जहाजलाई चालकदलले कोटेश्वरतर्फबाट ल्याए । त्यसबेला जहाज धावनमार्गदेखि १ हजार फिट माथिबाट उत्तरतर्फ उड्यो । यो पटक चाहिँ एटीसी र धावनमार्ग आसपासमा उभिएका सुरक्षाकर्मीले जहाजको सबै पाङ्ग्रा खुलेको देखे । जहाजलाई अवतरण अनुमति दिइयो । जहाज १० बजेर २७ मिनेटमा अवतरण भयो । पार्किङ वेसम्म आइपुग्दा उक्त जहाजले १ घण्टा १६ मिनेट बिताइसकेको थियो ।

सोमबारको घटना अध्ययनका लागि नागरिक उड्डयन प्राधिकरण र बुद्ध एयरले बेग्लाबेग्लै समिति बनाएका छन् । प्राधिकरणले विज्ञ पाइलट डीआर निरौला नेतृत्वको आन्तरिक प्राविधिक छानबिन कमिटी बनाएको छ भने बुद्धले प्रमुख पाइलट रवि श्रेष्ठको नेतृत्वमा छानबिन गरिरहेको जनाएको छ । दुवै समितिले उडानको सोमबारै एफडीआर (फ्लाइट डाटा रेकर्डर) र सीभीआर (ककपिट भ्वाइस रेकर्डर) झिकेको छ । एफडीआर विश्लेषण गर्ने प्रविधि नियमनकारी निकाय प्राधिकरणसँग नभएकाले समितिले यस’bout जानकारी लिन बुद्धकै प्रविधिमा भर पर्नुपर्नेछ ।

प्रारम्भिक अनुमानअनुसार ल्यान्डिङ गियर खुलेको तर ककपिटमा रहने दुई इन्डिकेटरमध्ये एउटाले खुलेको, अर्कोले नखुलेको देखाएका कारण चालकदलले विराटनगरमा अवतरण नगरेको देखिन्छ । ‘जहाजमा ल्यान्डिङ गियरका लागि दुइटा इन्डिकेटर हुन्छन् । यो घटनामा प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेन्डरी इन्डिकेटरले संकेत ठीक देखाएको,’ बुद्धले विज्ञप्तिमार्फत जानकारी दिएको छ । उसका अनुसार पाइलटको टाउको माथि रहेको सेकेन्डरी इन्डिकेटरले ठीक संकेत दिएको अवस्थामा ल्यान्डिङ गियर खुलेकै मानिन्छ । तर, सोमबारको घटनामा क्याप्टेनले सेकेन्डरी इन्डिकेटरलाई विश्वास गरेनन् ।

एक विज्ञ पाइलटका अनुसार सोमबारको जस्तो परिस्थितिमा चालकदलले जहाज विराटनगरमा अवतरण गराउन मिल्थ्यो । ‘उडानका कमान्डर एटीआर–७२ का प्रशिक्षक पाइलट तथा प्राधिकरणमा पाइलटलाई जाँच लिने डीसीपी (डेजिग्नेटेड चेक पाइलट) पनि हुन् । तर, उनले ककपिटमै अनिवार्य रहने क्यूआरएच (क्विक रिफरेन्स ह्यान्डबुक) को पनि मद्दत लिएको देखिएन, यो अब छानबिनबाट मात्रै प्रस्ट होला,’ ती पाइलटले कान्तिपुरसँग भने ।

पाइलटहरू नै झुक्किएको घटनाले सोमबार जहाजभित्रका यात्रु त्रासमा रहे । जहाजले काठमाडौं फन्को लगाउँदा केहीले बान्ता गरेको बताएका छन् । आठौं पटक धावनमार्ग नजिकै उड्दा छेउछाउमा दमकल, एम्बुलेन्स, सुरक्षाकर्मी तैनाथ थिए । बुद्धले सोमबारै उक्त उडानमा रहेका यात्रुलाई अर्को चार्टर्ड उडानमा विराटनगर पठाएको थियो । ७३ मध्ये १२ जनाले यात्रा रद्द गरेको एक अधिकारीले बताए ।

यसैबीच, उक्त उडानमा रहेको चालकदललाई ‘बिदा’ मा पठाएको र जहाजलाई प्राविधिकहरूको निगरानीमा ह्यांगरमा राखिएको कम्पनीले जनाएको छ । सोमबार बिहानै पोखराका लागि उडेको बुद्धकै अर्को एटीआर–७२ जहाजको कार्गो कम्पार्टमेन्टमा ग्यास भरिएको संकेत ककपिटमा देखिएको थियो । उक्त जहाज पनि बीचबाटोबाटै फर्किएको थियो । गोरखा, मनकामना नपुग्दै फर्किएको यो एटीआर पनि प्राविधिकको निगरानीमा राखिएको छ ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.