सभापति जित्न प्रतिस्पर्धीलाई प्रधानमन्त्रीको अफर


कांग्रेसका मुख्य नेताहरुको प्राथमिकता पार्टी सभापति, पहिलो पुस्ताका नेतालाई प्रधानमन्त्री दिएर भए पनि पार्टीको नेतृत्व हात पार्ने दोस्रो पुस्ताको दाउ
एक व्यक्ति एक पदको अवधारणामा हामी जानुपर्छ, शेरबहादुरजीले पार्टी र सरकारको नेतृत्व लिँदा अहिले हालत के भएको छ ?– शेखर कोइराला, कांग्रेस केन्द्रीय सदस्य
कुलचन्द्र न्यौपाने
thumb (1)काठमाडौँ — कांग्रेस नेता शेखर कोइरालाले पार्टी सभापतिमा निर्वाचित भए प्रधानमन्त्री नबन्ने सार्वजनिक रूपमै घोषणा गरेका छन् । ७१ वर्षीय कोइरालाले एक पटकभन्दा बढी नेतृत्वमा नबस्ने उद्घोष पनि गर्दै आएका छन् । उनको जस्तै सार्वजनिक घोषणा अरू नेताहरूले गरेका छैनन् तर सबैको प्राथमिकता पार्टी सभापति बन्ने नै छ । आफ्नै टिममा ‘पहिरो’ जान थालेपछि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाका लागि फेरि नेतृत्वमा आउन मुस्किल पर्ने देखिएको छ । आफ्नो टिमका मुख्य हस्ती उपसभापति विमलेन्द्र निधि बाहिरिएपछि र प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेपछि देउवा आफैं पनि ढुक्क देखिएका छैनन् ।

देउवानिकट केही नेताले वरिष्ठ नेता रामचन्द्र पौडेल वा महामन्त्री शशांक कोइरालामध्ये एक जनालाई मिलाउनुपर्ने सुझाइरहेका छन् । त्यसका लागि ‘प्रधानमन्त्री’ र ‘राष्ट्रपति’ को कार्डलाई अघि सार्न सकिने उनीहरूको भनाइ छ । जबकि अहिले देउवाका लागि पार्टी सभापतिभन्दा प्रधानमन्त्री मुख्य प्राथमिकता हो । ‘देउवाले प्रधानमन्त्री छाड्लान् भन्ने कुरा पार्टीभित्र कसैले पत्याउने कुरै छैन,’ सभापतिका आकांक्षीमध्येका एक नेताले कान्तिपुरसँग भने, ‘उहाँ त प्रधानमन्त्री बन्नकै लागि सभापति हुन खोज्नुभएको हो, प्रधानमन्त्री छाड्नेमा न पौडेललाई विश्वास छ न शशांकलाई ।’

संस्थापन पक्षको पकड समातेर बसेका देउवाका लागि चुनाव जित्ने चुनौती थपिँदो छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई उम्मेदवार को बनाउने भन्नेमै सकस छ । यो समूहमा पौडेलदेखि महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला सभापतिको मुख्य प्रतिस्पर्धी छन् । कार्यकर्ताको भावना र राज्यशक्तिको केन्द्रमा रहेका देउवासँग प्रतिस्पर्धामा उत्रन पौडेललाई कठिनाइ पर्ने तर्क शशांक, प्रकाशमान र शेखरमा छ । तीनै जनाले पौडेललाई प्रधानमन्त्री वा राष्ट्रपतिको प्रस्ताव गर्दै आएका छन् । शशांक, शेखर र प्रकाशमानबीच पनि यस्तै खालको ‘बार्गेनिङ’ छ । एकले अर्कोलाई ‘प्रधानमन्त्री’ देखाएर आफू पार्टी सभापति बन्ने दाउमा सबै लागेका छन् ।

‘पौडेल दाइले पनि अब कार्यकर्ताको भावनाअनुसार पार्टी हाँक्न सक्नुहुन्न, उहाँको व्यक्तित्वअनुसारको पद दिएर टिम व्यवस्थापन गर्न सकिन्छ,’ सिंहले भने, ‘त्यसका लागि आकांक्षीहरूबीच ‘पावर सेयरिङ’ एउटा विकल्प हो ।’ उनले आफू पार्टी सभापति भएमा पौडेललाई प्रधानमन्त्री वा राष्ट्रपतिमा अघि सार्न सकिने संकेत गरे ।

त्यस्तै संकेत गर्छन् अर्को आकांक्षी शेखर । ‘एक व्यक्ति एक पदको अवधारणामा हामी जानुपर्छ, शेरबहादुरजीले पार्टी र सरकारको नेतृत्व लिँदा अहिले हालत के भएको छ ? सरकारतिर हेर्ने पाँच मिनेट फुर्सद छैन, सम्पूर्ण ध्यान महाधिवेशनतिर छ,’ उनले भने, ‘सभापति जितेपछि फेरि उहाँको प्राथमिकता बदलिन्छ । पार्टी हेर्ने फुर्सद हुन्न । उहाँको सम्पूर्ण ध्यान कसरी प्रधानमन्त्री बन्ने, कसरी सत्ता टिकाउने भन्नेमा रहन्छ । पार्टी त अहिलेको भन्दा पनि खराब हुन्छ ।’

शेखरले एक व्यक्ति एक पद कांग्रेसमा मात्रै नभएर सबै पार्टीका लागि आवश्यक भइसकेकाले आफूले यस्तो अवधारणा सार्वजनिक रूपमै राखेको बताए । ‘मेरो कुरा तत्काल उम्मेदवार हुनका लागि मात्रै होइन, सभापति भएँ भने व्यवहारमा प्रमाणित गरेर देखाउँछु,’ उनले भने ।

तत्कालीन नेकपा र एमालेको टुटफुट र शक्ति संघर्षका कारण आगामी निर्वाचनबाट कांग्रेस पुनः सत्तामा आउने बलियो सम्भावना छ तर नेताहरू प्रधानमन्त्री छाड्न तयार हुने केका लागि हो त ? कांग्रेस नेता बलबहादुर केसीले यस्तो अवस्था आउनुका पछाडि विश्वासको संकट मुख्य कारण रहेको बताए । ‘पार्टी सभापति बन्नु भनेकै प्रधानमन्त्री बन्नु हो भन्ने आमबुझाइ छ, सभापति भएपछि उसैले टिकट बाँड्छ, संसदीय दलमा उसैले भनेको कुरा लागू हुने भएकाले कसैले विश्वास नै गर्दैनन्,’ उनले भने, ‘अहिलेको अवस्थामा म सभापति हुन्छु, तपाईं प्रधानमन्त्री बन्नुहोस् भनेर कसैले पत्याउने स्थिति नै छ । यसैले पनि हाम्रो टिम व्यवस्थापनमा पनि जटिल भइरहेको छ ।’

उपसभाति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले पनि देउवाले सरकार र आफूहरूले पार्टी चलाउनुपर्ने बताउँदै आएका छन् । निधि र श्रेष्ठ दुवैले पार्टी सभापतिको उम्मदेवार घोषणा गरिसकेका छन् । निधिको तत्कालीन प्राथमिकता प्रधानमन्त्रीभन्दा पार्टीतिरै देखिन्छ । आमनिर्वाचनपछि पनि देउवालाई प्रधानमन्त्री बनाउन तयार रहेको तर यसपटक सभापतिमा आफूलाई अघि सार्नुपर्ने निधिको आग्रह छ ।

श्रेष्ठले भारतीय जनता पार्टी (भाजपा) मा नरेन्द्र मोदी र अटलबिहारी बाजपेयी अध्यक्ष नभई प्रधानमन्त्री बनेका उदाहरण दिएर देउवाले सभापतिका लागि फेरि लोभ राख्न नहुने बताए । नरेन्द्र मोदी भाजपाको अध्यक्ष भएनन् तर दुई–दुई पटक पूर्ण कार्यकाल प्रधानमन्त्री चलाइरहेका छन् । अटल पनि पार्टी अध्यक्ष नभई प्रधानमन्त्री भएका थिए । श्रेष्ठले पार्टी सभापति नभए पनि आमनिर्वाचनपछि प्रधानमन्त्री बन्ने सम्भावना रहने भन्दै देउवालाई प्रतिस्पर्धामा नउत्रन आग्रह गरे । ‘आउने चुनावपछि पनि उहाँ (देउवा) प्रधानमन्त्री नै बन्नुभए हुन्छ, म सघाउँछु,’ उनले भने, ‘सर्वसम्मत नभए पार्टी सभापतिमा उठ्न हुन्न । टिमको उहाँपछिको दोस्रो नेता म भएकाले मलाई सघाउनुपर्छ भन्दै आएको छु ।’

पाँच पटक प्रधानमन्त्री भइसकेका देउवाका समकालीन नेता पौडेल एक पटक पनि प्रधानमन्त्री बन्न पाएका छैनन् । २०६७ सालमा भएको प्रधानमन्त्रीको निर्वाचनमा पौडेल १७ पटक पराजित भएका थिए तर उनलाई प्रधानमन्त्री बन्ने भोक अझै मरेको छैन । पार्टी सभापति नभई प्रधानमन्त्री बन्न कठिनाइ हुने अनुभवका साक्षी उनी आफैं हुन् । उनी प्रधानमन्त्रीको प्रतिस्पर्धामा रहँदा सुशील कोइराला सभापति थिए । त्रिशंकु गठबन्धन निर्माण गर्ने दिशामा पार्टी नेतृत्वकै मुख्य भूमिका रहने र त्यस्तो बेला सभापतिले नचाहेमा प्रधानमन्त्री बन्न नसकिने बुझाइ उनीभित्र गहिरो गरी गडेको छ । अहिले ज–जसले ‘प्रधानमन्त्री’ को आस देखाउने गरे पनि सभापति बन्ने व्यक्ति नै त्यस पदमा पुग्ने हो भन्ने विश्वास उनमा छ । त्यसैले उनी पार्टी सभापतिको प्रतिस्पर्धालाई प्राकृतिक ठान्दै देउवासँग आफ्नो तुलना नहुने बताउने गर्छन् ।

देउवा पाँच पटक प्रधानमन्त्री, कांग्रेस विभाजित भएका बेला कांग्रेस (प्रजातान्त्रिक) र एकीकृत भएपछि ०७२ फागुनमा नेपाली कांग्रेसको सभापति बनिसकेका छन् । पार्टी र सरकार दुवै मोर्चामा देउवा सफल देखिएका छैनन् । यसैका कारण आसन्न महाधिवेशनमा नेतृत्व पुस्तान्तरणको मुद्दा चर्कंदो छ । नेतृत्वदेखि पार्टी सदस्यसम्मका युवा जमातले देउवा र पौडेलको ‘रिटायर्ड’ चाहेका छन् । देउवा र पौडेलपछिको दोस्रो पुस्ताले पनि त्यही चाहेको छ । नेतृत्वमा अवसर नपाएको आफ्नो हकमा भने यस्तो मुद्दा उठाउनु अन्याय हुने पौडेलले बताउँदै आएका छन् ।

०५६ मा कृष्णप्रसाद भट्टराई, ०५२ र ०५८ मा शेरबहादुर देउवा पार्टी सभापति नभई प्रधानमन्त्री भएका थिए । त्यतिबेला पार्टी सभापति गिरिजाप्रसाद कोइराला थिए । पार्टी सभापति र प्रधानमन्त्री अलग–अलग व्यक्ति बन्दा शक्तिसंघर्ष चर्कने र त्यसले पार्टी र सरकार सञ्चालनमै अप्ठ्यारो पर्ने कतिपयको बुझाइ छ । आपसी शक्तिसंघर्षकै कारण देउवा ०५२ मा कित्ता परिवर्तन गरेर भट्टराई समूहतिर लागेका थिए । ०५६ मा भट्टराईविरुद्ध अविश्वास प्रस्ताव ल्याइएपछि राजीनामा दिन बाध्य भएका थिए ।

यीबाहेक कांग्रेसमा अधिकांश कालखण्ड पार्टी सभापति भएकै व्यक्ति प्रधानमन्त्री बन्ने चलन बनेको छ । ‘म सभापति बन्छु, तपाईं प्रधानमन्त्री बन्नुहोस् भन्नु नै नक्कली कुरा हो,’ संस्थापनइतर एक नेता भन्छन्, ‘पार्टी सभापति नहुञ्जेल भन्ने कुरा हो । पार्टी सभापति भएपछि कसरी प्रधानमन्त्री हुने भन्नेतिरै ध्यान जान्छ ।’(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.