काठमाडौं : नेपालले घरेलु टोली ओमानमाथि प्रभावशाली जित निकालेको छ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आइतबार भएको खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो। ओमानले दिएको एक सय २२ रनको लक्ष्य नेपालले १८.२ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पालि खेलेका थिए। ४६ बलको सामना गरेका उनले दुई छक्का र चार चौका हिर्काए। यसैगरी प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले ४० रन बनाए। यस्तै कुसल भुर्तेल र रोहितकुमार पौडेलले समान ६ रन बनाउँदा शरद भेषवाकर एक रनमा अविजित रहे। ओमानका नेस्टोर धम्बाले दुई तथा कालिमुल्लाहले एक विकेट लिए।
यसअघि अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७.१ ओभरमा अलआउट हुँदै एक सय २१ रनको योगफल खडा गरेको थियो। ओमानका लागि कप्तान जिसन मक्सुदले सर्वाधिक ४१ रन बनाए। यस्तै जतिन्दर सिंहले १३, नसिम खुसीले १२ र कलिमुल्लाहले ११ रन बनाए। ओमानले अतिरिक्त रुपमा १२ रन पाएको थियो। घरेलु टोली ओमानलाई सस्तैमा रोक्न तीव्र गतिका बलर करण केसी र लेग स्पिनर सन्दीप लामिछानेले चार÷चार विकेट लिए। करणले आठ ओभरमा एक मेडनसहित २५ रन खर्चिए। यस्तै ८.१ ओभर बलिङ गरेका सन्दीपले दुई मेडनसहित जम्मा १८ रन खर्चिएका थिए। यसैगरी शरद् भेषवाकरले पनि दुई विकेट हात पारे।
अमेरिका, ओमान र नेपाल सम्मिलित एकदिवसीय शृंखलाअन्तर्गत गत मंगलबार भएको खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भएको थियो। त्यसअघि शृंखलाको पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा अमेरिकासँग ६ विकेटले स्तब्ध बनेको थियो।
आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले आठ खेलमा ८ अंक जोडेको छ। नेपाल तालिकाको चौथो स्थानमा उक्लिएको छ। १३ खेलमा २० अंक जोडेको ओमान शीर्ष स्थानमा रहँदा १५ खेलमा १४ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ। आठ खेलमा नौ अंक जोडेको स्कटल्यान्ड तेस्रो र सात खेलमा आठ अंक जोडेको नामिबिया पाँचौं स्थानमा छन्।(अन्नपूर्ण )