एमाले विभाजन : ‘पर्खेर हेर्दै’ जनप्रतिनिधि


विगतमा नेपाल–खनाल समूहमा खुलेर लागेका नेताहरु अचानक पार्टी फुट्दा स्तब्ध
thumbकाठमाडौँ — नेकपा एमाले फुटको असर देशका सातै प्रदेशमा देखिएको छ । अधिकांश प्रदेशमा केपी शर्मा ओली पक्ष हावी देखिएको छ । कतिपय स्थानमा विगतमा माधवकुमार नेपालको समर्थनमा रहेका नेताहरू नयाँ पार्टीको पनि पक्षमा नखुलिसकेकाले फुटको स्पष्ट चित्र आउन केही दिन लाग्ने देखिएको छ । अहिलेकै अवस्थामा भने प्रदेश २ मा नेपाल पक्ष बलियो देखिएको छ भने लुम्बिनीमा सबभन्दा कमजोर । फुटलगत्तै अधिकांश प्रदेशमा एमाले मुख्यबाट सानो दलमा रूपान्तरित हुन पुगेको छ । लुम्बिनी प्रदेशसभामा एमालेका ३७ मध्ये २ जना मात्र नेपाल समूहमा खुलेका छन् । पार्टी दर्ता र सरकारमा सहभागिता सुनिश्चित भए थप २ जना थपिने नेपाल समूहको दाबी छ । ओली समूहमा खुलेका, त्यहाँ असन्तुष्टहरूसँग नेपाल समूहका प्रदेश र केन्द्रीयस्तरका नेताले छलफल गरिरहेका छन् ।

प्रदेशसभा सदस्य विष्णु पन्थी र पाल्पाकी समानुपातिक सदस्य रमा घर्ती नेपाल पक्षमा यसअघि नै खुलेका थिए । छलफल चलिरहेकाले अहिले नै ठ्याक्कै कति जना भन्ने टुंगो नलागेको नेपाल पक्षले जनाएको छ ।

नेकपा हुँदा प्रदेशसभामा नेपाल पक्षका झन्डै एक दर्जन प्रदेश सांसद थिए । मन्त्री हुने प्रलोभनले धेरैजना ओली पक्ष (प्रदेशमा शंकर पोखरेल) तर्फ लागेका थिए । तीमध्ये भोजप्रसाद श्रेष्ठ तीन महिना प्रदेशको मन्त्री नै बने । गुल्मीका कमल श्रेष्ठ, बर्दियाका कुलप्रसाद पोखरेल, कविराम थारू, पश्चिम नवलपरासीकी भगवती भण्डारी, दाङकी धमकली चौधरी, अमर डाँगी नेपाल समूहमा थिए । डाँगी वैशाख २२ मै प्रदेशसभा सदस्यबाट राजीनामा दिएर अहिले माओवादीका मुख्यमन्त्री कुलप्रसाद केसीको राजनीतिक सल्लाहकार भएका छन् । नेकपा विघटनसँगै अधिकांश ओली समूहमा लागेका थिए । वामदेव गौतम पक्षका मानिने बाँकेका बाबुराम गौतम अहिले मौन छन् ।

कर्णाली प्रदेशमा एकीकृत अवस्थामा बलियो रहेको नेपाल समूहले पार्टी विभाजनपछि आफ्नो सम्पूर्ण शक्ति लिन सकेको छैन । नेपाल समूहका केही नेताले धारणा बनाइनसकेको बताएका छन् । दसौं महाधिवेशनमा निर्वाचित १० जिल्ला अध्यक्षमध्ये ७ जना नेपाल समूहमा थिए । नेपाल समूहमा रहेका मुगु, जुम्ला र रुकुमका अध्यक्षमात्र नेकपा एमाले (समाजवादी) मा खुलेका छन् । बिगतमा नेपाल समूहमा रहेका सुर्खेतका ध्रुवकुमार शाही, जाजरकोटका करवीर शाही र हुम्लाका दल रावल संस्थापनमै छन् ।

सुर्खेतका शाही संघीय र अन्य दुई प्रदेश सांसद हुन् । नेपाल समूहमा रहेका डोल्पाका जिल्ला अध्यक्ष दत्तबहादुर रोकायाको मृत्यु भइसकेको छ । केही महिनाअघिसम्म नेपाल समूहमा रहेका सुर्खेतका जिल्ला अध्यक्ष शाहीले पार्टीभित्र समूह छुट्टिए पनि विभाजनपछि भने एमालेमै रहेको बताए ।

नेपाल समूहमा रहेका प्रदेशसभा सदस्य पनि केही ओलीतिर छन् भने केही तटस्थ बसेका छन् । एमालेबाट निर्वाचित २० सांसदमध्ये नेपाल समूहमा ९ र ओली समूहमा ११ जना थिए । तीमध्ये ४ जनालाई एमालेले यसअघि नै पार्टीबाट निष्कासन गरिसकेको छ । १६ सांसदमध्ये मुगुका चन्द्रबहादुर शाही र रुकुम पश्चिमकी देवी ओलीलाई एमाले समाजवादीको केन्द्रीय कमिटीमा राखिएको छ । शाहीले तटस्थ रहेको बताए ।

नेपाल समूहमा रहेका सांसद जाजरकोटका करवीर शाही (जिल्ला अध्यक्षसमेत) र सुर्खेतकी पद्मा खड्का संस्थापनमै छन् । कर्णाली प्रदेशसभामा एमालेमा स्पष्टत: १४ सांसद देखिएका छन् । पार्टीले सांसद पदबाट हटाए पनि कर्णाली प्रदेश सरकारमा मन्त्री रहेका दैलेखका अम्मरबहादुर थापाले ‘हिजो नेपाल समूहमा लाग्दा जनप्रतिनिधिमूलक पद जान्छ भन्ने डरले चुपचाप बसेकाहरू अब खुलेर एमाले समाजवादीतर्फ लाग्ने’ बताए । ‘हामी पार्टी निर्माणमा लागिसकेका छौं, हाम्रो हिजोको शक्ति थप बढेर जान्छ,’ उनले भने, ‘कर्णालीमा एमालेभन्दा एमाले समाजवादीको अवस्था मजबुत हुनेछ ।’

सुदूरपश्चिम प्रदेशसभामा रहेका २४ जना (सभामुखबाहेक) एमाले सांसदहरूमध्ये यसअघि १७ जना नेपाल–खनाल समूहको समर्थनमा खुलेका थिए । तर बुधबार नेपाल–खनाल समूहले विधिवत् रूपमा अलग पार्टी दर्ता गराएपछि प्रदेश सांसदहरू दोधारमा छन् । अधिकांशले मुख खोलेका छैनन् ।

खुलेका सांसदहरू यसअघि भीम रावलको नेतृत्वमा गोलबन्द थिए । तर, पार्टी विभाजन भएको अवस्था र नेता रावलले एमालेमै रहने संकेत गरेपछि प्रदेश सांसदहरू अन्योलमा परेका हुन् । उनीहरुले बोल्नुको साटो आपसमा अनुकूलताको समीक्षा गरिरहेका छन् ।

संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह भीम रावल जता लाग्छन् उतै लाग्ने मनस्थितिमा देखिएका छन् । तर, आन्तरिक मामिला तथा कानुनमन्त्री भने माधव नेपाल नेतृत्वको पार्टीमा लाग्ने संकेत गरेका छन् । मन्त्री पूर्णा जोशीले भनिन्, ‘पार्टी केपी ओलीले फुटाउनुभएको हो । अर्को पक्षलाई पार्टीभित्र बस्नै पाइँदैन भन्नेजस्तो व्यवहार गरिएकाले अर्को पार्टी दर्ता गर्नु रहर नभई बाध्यात्मक कदम हो ।’

प्रकाशबहादुर शाह, हर्कबहादुर कुँवर, अर्चना गहतराज, प्रकाश रावलले भीम रावलले लिने निर्णयका आधारमा आफूहरूले निर्णय लिने संकेत गरेका छन् । कुँवरले भने, ‘हिजोदेखि भीम रावलकै नेतृत्वमा गोलबन्द भयौं, उहाँसँग सल्लाह नगरी निर्णय गर्ने कुरा भएन ।’

केहीले भने नेपाल नेतृत्वकै पार्टीमा रहने इच्छा भए पनि निर्णय लिन सल्लाह भइरहेको बताएका छन् । यसअघि नेपाल–खनाल समूहमा खुलेर लागेकी पूर्वमन्त्री माया भट्टले जिल्ला तहका नेता–कार्यकर्ताको सुझावका आधारमा निर्णय लिने बताइन् । ‘ओली पक्षले अन्याय गर्‍यो भनेर जिल्लामा बेग्लै समिति क्रियाशील छ, अहिले एकाएक एक्लै निर्णय गर्ने कुरा हुन्न,’ उनले भनिन् । एमाले संसदीय दलकी प्रमुख सचेतक दुर्गाकुमारी कामीले छलफल भइरहेको बताइन् ।

सांसदहरू पठानसिंह बोहरा, नेपालु चौधरी, लीलाधर भट्ट, ग्याल्बोसिंह बोहरा, बलदेव रेग्मी, रतनबहादुर थापा र माया तामाङ सुरुदेखि नै ओली पक्षमा खुलेका थिए ।

सुदूरपश्चिममा माओवादी केन्द्रको नेतृत्वमा नेपाल पक्षका ३ सांसद प्रदेश सरकारमा मन्त्री छन् । पार्टी विभाजन भएकाले एमालेमै फर्किने अवस्थामा उनीहरूको मन्त्री पद जाने निश्चित छ भने नेपाल नेतृत्वको पार्टीमा रहँदा पद कायमै हुन सक्ने देखिएको छ ।

प्रदेश २ मा दोस्रो ठूलो शक्ति रहेको तत्कालीन नेकपा अहिले छिन्नभिन्न भएर चौथो दल बनेको छ । दल विभाजन अध्यादेश आएसँगै नेपालको पार्टी भने प्रदेश २ मा कम्युनिस्ट दलहरूमध्ये ठूलो देखिएको छ ।

एमालेतिर लागेपछि माओवादीले ३ जनालाई निष्कासन गर्दा प्रदेशसभा सदस्य १ सय ४ जना छन् । चुनावमा नेकपा एमालेले प्रदेश २ मा २१ र माओवादी केन्द्रले ११ सिट जितेको थियो । एकीकृत बनेपछि नेकपा दोस्रो ठूलो दल थियो ।

माओवादी र एमाले छुट्टाछुट्टै भएपछि भने अहिले नेपालको पक्षमा १३ र ओलीको पक्षमा ८ जना सांसद छन् । नेपाल पक्षमा अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेंची लुंगेली, शत्रुधन महतो, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा र हसिमा खातनु छन् ।

ओलीतर्फ अनिताकुमारी यादव, किशोरी साह कामत, जगतारेन देवी सुडिन, मनोजकुमार सिंह, लगनलाल चौधरी, शारदादेवी थापा, सत्य नारायण मण्डल र त्रिलोकी प्रसाद हुन् । प्रदेश १ मा अधिकांश नेता संस्थापनमै रहने भएका छन् । मुख्यमन्त्री शेरधन राईसहित ३६ जना सांसद नेकपा एमाले पक्षमा छन् । त्यस्तै नेपाल पक्षमा ७ जना देखिएका छन् भने अरू सात खुलेका छैनन् । हाल उनीहरूले ‘तटस्थ’ रहेको बताएका छन् ।

नेपाल पक्षमा राजेन्द्रकुमार राई, राजन राई, होमकुमारी साँवा, सुनिताकुमार चौधरी, सरिता थापा, कृष्णकुमारी राई र गणेशकुमार काम्बाङ देखिएका छन् । खिनु लङ्बा लिम्बू, सावित्राकुमारी रेग्मी, लीलाबल्लभ अधिकारी, उपेन्द्रप्रसाद घिमिरे, यशोदा अधिकारी, बलबहादुर साम्सोहाङ, जीवन घिमिरे तटस्थ छन् ।

गण्डकीमा पार्टी विभाजनप्रति नेताहरू तत्कालै प्रतिक्रिया दिन हतारिएका छैनन् । खनाल–नेपाल समूहले संगठन विस्तार गर्ने क्रममा गण्डकी प्रदेश भेला गरेर प्रदेश सांसद इन्द्रलाल सापकोटालाई बागलुङको अध्यक्ष तोकेको थियो । बुधबार उनी दोधारमा देखिए । पार्टीभित्रको गलत प्रवृत्तिविरुद्ध लडाइँ लडे पनि विभाजनमा गएर कहीं नपुगिने उनले बताए । ‘अहिलेको अवस्थामा पार्टी विभाजन अनिवार्य आवश्यकता थिएन,’ उनले भने, ‘गलत प्रवृत्ति सच्याउनुपर्छ भन्नेमा अझै पनि दृढ छु तर एकतामै रहेर हल खोज्नुपर्छ ।’

त्यस्तै वाग्मतीमा ओली पक्ष नै बलियो देखिएको छ । प्रदेशसभामा एमालेका ५५ सांसद छन् । तीमध्ये २२ जना माधव नेपाल पक्षका छन् । विगतमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई बुधबार एमालेले मुख्यमन्त्री बनाएपछि गुटमा फेरबदलमा आउन सक्ने देखिएको छ ।

(घनश्याम गौतम (रूपन्देही), कलेन्द्र सेजुवाल (सुर्खेत), अर्जुन शाह (धनगढी), लालप्रसाद शर्मा (गण्डकी), प्रताप विष्ट (वाग्मती), अजित तिवारी (जनकपुर) र देवनारायण साह (मोरङ)(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.