कफिनमाथि आँसुको भल


मलेसियाबाट एकै दिन आए २४ शव र ३ जनाको अस्तु, १० शव अझै उतै
श्रम गन्तव्य मुलुकमध्ये सबैभन्दा बढी नेपालीको मृत्यु मलेसियामा हुने गरेको छ 
होम कार्की
thumbकाठमाडौँ — प्रस्थान कक्षमा यात्रु छिर्नेबाहेक छुट्टै एउटा फलामे ढोका छ, जुन यदाकदा मात्रै खुलेको देखिन्छ । शनिबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उक्त ढोका खोलिँदा त्यहाँ २ घण्टाअघिदेखि नै भेला भइसकेका थिए मलिन अनुहार लगाएकाहरू ।यही भीडमा छुट्टै किंकर्तव्यविमूढ उभिएकी थिइन् दैलेखको दुल्लु–१३ मालिकाकी २८ वर्षीया पुष्पा शाही । साथमा थिए १३ वर्षीया छोरी र १० वर्षका छोरा । अलि पर भित्र पस्न हतारिँदै थिए उनका जेठाजु नरेन्द्रबहादुर र चार जना आफन्त । मलेसियाबाट उडेको नेपाल एयरलाइन्सको विमान बिहान ७:३० बजे अवतरण भएको थियो । वाइडबडी विमान २४ जनाको शव लिएर आएको थियो । तीमध्येको एउटा शव ३२ वर्षीय लोकबहादुर शाहीको थियो, जसका लागि १८ घण्टा कठिन यात्राको दूरी पार गर्दै पुष्पा, छोराछोरी र आफन्त आएका थिए ।

शव बुझ्न कागजी प्रक्रिया पूरा गर्दागर्दै दुई घण्टा लाग्यो । शव बुझ्ने कागजात भएपछि प्रहरीले गेट आधा मात्रै खोलेर नरेन्द्रबहादुरको साथमा रहेका आफन्तलाई भित्र पस्न दिए । पुष्पा र छोराछोरी बाहिरै उभिए । विमानस्थलभित्र शव ल्याइएका सेता बाकस खात लगाइएको थियो । भिज्न नदिन बाकसलाई प्लास्टिकले बेरिएको थियो ।

हरेक बाकसमा नाम लेखिएको थियो । भित्र पस्न दिएपछि नरेन्द्र आफ्ना भाइ ‘लोकबहादुर शाही’ नाम लेखिएको बाकस खोज्दै अगाडि बढे । शव बनेर भाइ आएको बाकस भेटियो । पाँच जना मिलेर स्ट्रेचरमा हाली बाहिर निकाले । भित्र नरेन्द्रले शव भएको बाकस पहिचान गर्नेबित्तिकै बाहिर ढोकाबाट हेरिरहेकी पुष्पाको आँखाबाट आँसुको भल छुट्न थालिसकेको थियो । छोरीले भित्र आँखा लगाइरहे पनि छोराले भने आमालाई हेरिरहे । पुष्पालाई सम्हालिन निकै गाह्रो भइरहेको थियो । नरेन्द्रले बाकसलाई बाहिर ल्याए । परिवारका तीन जना शवको टाउको राखिएको भागमा हात राखेर रुन थाले । यो दृश्य देख्ने अरूका आँखा पनि रसाइरहेका थिए । नरेन्द्रले शव लैजान ल्याइएको गाडीमा बाकस लोड गरे । गाडी पशुपति आर्यघाट पुग्यो ।

‘शवलाई कति ठाउँ घुमाउँदै गाउँ लैजाने ? आफूलाई सम्हाल्न कठिन भएकाले पशुपति आर्यघाटमै अन्त्येष्टि गरियो,’ नरेन्द्रले कान्तिपुरसँग भने, ‘अब काठमाडौं बसेर भएन, घर फर्किन्छौं ।’

सुरक्षा गार्डको काम गर्न भिसा आउँदा लोकबहादुर हाँसीखुसी घरबाट हिँडेका थिए । उनी २०७४ पुस २६ मा मलेसिया गएका थिए । नेपाली दूतावासका अनुसार गत जुलाई २० मा उनले आत्महत्या गरेका थिए । ‘वास्तविक कुरा बुझ्न सकेको छैन । सुन्नमा आएअनुसार आत्महत्या भएको भन्ने छ । विदेशको मामिला’bout पूरा कुरा बुझ्न सकेको छैन,’ नरेन्द्रले भने, ‘उनले आत्महत्या गर्नुपर्ने कारण त थियो जस्तो हामीलाई लाग्दैन । खै के हो ? के ?’ उनले कम्पनी र साथीहरूमार्फत भाइको मृत्युको कारण पत्ता लगाउन कोसिस पनि गरेका थिए । तर चित्तबुझ्दो उत्तर नपाएको उनले बताए । दाहसंस्कार सकेपछि उनीहरू साँझ ६ बजे दैलेख फर्किए ।

नेपाल एयरलाइन्सको उडान नम्बर ४१६ ले शाहीसहित सल्यानका बुद्धिराम कामी, बर्दियाका मनीराम चौधरी, बैतडीका कर्णबहादुर बुढाथोकी, जाजरकोटका सन्दीप विक, बागलुङका सुनिल बीसी, तनहुँका झापटबहादुर थापा, पाँचथरका दलबहादुर मोक्तान, ललितपुरका कृष्णकुमार राई, सुनसरीका होमबहादुर गुरुङ, बाराका रामचरित्र कानु, सिन्धुपाल्चोकका अमरबहादुर माझी, सिरहाका रूपेश पुलामी मगर, कपिलवस्तुका श्यामु थारू, ओखलढुंगाका सोमरबहादुर तामाङको शव लिएर आएको हो । त्यस्तै, झापाका शम्भु विक, मोरङकी कमलादेवी भण्डारी, झापाका लोकबन्धु लावती, नवलपरासीका मति तामाङ, पाल्पाका यमबहादुर सनारी, ओखलढुंगाका दलमान तामाङ र झापाका गोविन्द बोहराको शव पनि आइपुगेको छ ।

नवलपरासीका मोहनप्रसाद चौधरी, डडेलधुराका मीनबहादुर विष्ट र सिरहाका रोशनकुमार यादवको भने अस्तु मात्रै आएको थियो । परिवारको सहमतिमा मलेसियामा नै काजकिरिया गरेपछि तीन जनाको अस्तुमात्रै पठाइएको थियो । तीन महिनाको अवधिमा उनीहरूको मृत्यु भएको हो । तनहुँको शुक्लागण्डकी–६ का बमबहादुर थापाले शव पर्खेर बस्नुपर्दा परिवारलाई निकै कठिन भएको बताए । उनका दाजु झापटबहादुरको जेठ १९ मा मृत्यु भएको थियो । ‘सबैभन्दा कठिन नै शव कुर्नु रहेछ,’ उनले भने ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार निषेधाज्ञाको समयमा अन्तर्राष्ट्रिय उडान रोकिएकाले समयमा नै शव पठाउन नसकिएको हो । लामो समयसम्म सरकारले नेपाल एयरलाइन्सको विमान नपठाइदिएकाले मलेसियामा मृतक कामदारको शव रोकिएको थियो । दूतावासका अनुसार अझै १० जनाको शव पठाउन बाँकी छ । कोरोनाबाट मात्रै मृत्यु भएका ३५ जनाको शव भने स्वदेश आउन पाएन ।

वैदेशिक रोजगार बोर्डले घरसम्म निःशुल्क रूपमा शव लैजाने प्रबन्ध मिलाएको थियो । ‘गाउँमै रीतिरिवाजअनुसार दाहसंस्कार गर्ने सहमति भयो । हामी गाउँमा नै लिएर जाँदै छौं,’ होमबहादुर गुरुङको शव बुझ्न सुनसरीबाट आएका आफन्त किरणले भने ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले पछिल्लो समयमा आत्महत्या गर्ने बढिरहेको बताए । ‘आत्महत्या गर्ने दर बढ्यो । यसले हामीलाई गम्भीर बनाएको छ,’ उनले भने, ‘पारिवारिक तनावका कारण आत्महत्या गर्नेको संख्या बढिरहेको छ ।’ त्यसबाहेक औद्योगिक दुर्घटना, सडक दुर्घटना र दीर्घरोगले मर्ने पनि बढेका छन् । गत आर्थिक वर्षमा मात्रै २ सय ८१ जना नेपालीको मृत्यु भइसकेको छ । प्रमुख श्रम गन्तव्य मुलुकमध्ये सबैभन्दा बढी नेपाली कामदारको मृत्यु मलेसियामा हुने गरेको छ । पछिल्लो एक दशकमा मात्रै ३ हजार जनाको मृत्यु भइसकेको छ ।

राजदूत पाण्डेका अनुसार हृदयघात र रोगको सिकारबाट मृत्यु भइरहे पनि पछिल्लो समय आत्महत्याको दर चिन्ताजनक ढंगले बढेको छ । अन्तर्राष्ट्रिय संस्था मोइसको दुई वर्षअघि प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार श्रम गन्तव्य मुलुकमा प्रतिकूल वातावरणमा काम गर्नुपर्ने र स्वास्थ्य सेवामा सीमित पहुँच हुने गरेकाले कामदारको मृत्यु भइरहेको छ ।

‘कामदारहरू जोखिमपूर्ण पेसामा काम गर्न बाध्य छन्, जसले गर्दा उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने तथा अंगभंग र मृत्युको जोखिम पनि उत्तिकै छ,’ प्रतिवेदनमा उल्लेख छ । असमान तापक्रम, कीटनाशक औषधि तथा रासायनिक पदार्थको प्रयोगबाट हुने प्रतिकूल वातावरणीय प्रभाव, अधिकतम शारीरिक परिश्रम, पेसागत सुरक्षाको अनिश्चितता, कार्यस्थलमा हुने हिंसा, बेचबिखन र बाध्यकारी श्रमका कारण मृत्युदर बढिरहेको मोइसको निष्कर्ष छ । यसका साथै अनुभव र सूचनाको कमीले कामदार सडक दुर्घटनामा पर्नु पनि प्रमुख समस्याका रूपमा छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पछिल्लो प्रतिवेदनअनुसार वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका प्रायःजसो श्रमिकको मृत्युका कारण स्पष्ट रूपमा खुल्दैन । वैदेशिक रोजगार र स्वास्थ्य क्षेत्रबीचको सम्बन्धलाई अझ ध्यान दिनु जरुरी रहेको मन्त्रालयले जनाएको छ । मलेसियामा मृत्यु भएका सबैले क्षतिपूर्ति पाउने अवस्था भने अझै छैन । तोकिएबमोजिम कामको सन्दर्भमा मृत्यु भएका कामदारका परिवारले आजीवन रूपमा दैनिक तलबको ६० प्रतिशतसम्म रकम पाउँछन् । हाल मलेसियामा एक लाख ७० हजार नेपाली वैधानिक रूपमा कार्यरत छन् ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.