कांग्रेसमा आकांक्षीको दौडधुप


भापतिका आकांक्षी संस्थापनपक्षबाट– देउवा र विमलेन्द्र निधि
इतरपक्षबाट– रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला र सुजाता कोइराला
congress-flagकाठमाडौँ — आसन्न महाधिवेशनबाट नेतृत्व लिनका लागि कांग्रेसमा नेताहरूको दौडधुप सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो उम्मेदवारी घोषणा गरेर तयारी अघि बढाएपछि संस्थापनइतर पक्षका आकांक्षीले पनि समर्थन खोज्न थालेका छन् । संस्थापनइतर पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला मुख्य आकांक्षी छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने अहिलेसम्म मौन छन् । १३ औं महाधिवेशनमा तेस्रो धारको प्रतिनिधित्व गरेर सभापतिको उम्मेदवार बनेका सिटौला यसपटक फेरि उठ्ने वा अन्य नेतालाई सहयोग गर्ने भन्नेमा प्रस्ट भएका छैनन् । उनीनिकट एक केन्द्रीय सदस्यका अनुसार उनी अहिले आफूनिकट र संस्थापनइतर पक्षका नेताहरूसँग परामर्शमा छन् ।

महाधिवेशन नजिकिँदै गर्दा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता पनि सक्रिय भएकी छन् । आफ्नै निवासमा सोमबार पौडेल र सिटौलालाई लन्चसहित बोलाएकी सुजाताले संस्थापनइतर पक्षमा एउटै उम्मेदवारमा सहमति नभए आफैं पनि सभापतिका लागि अघि बढ्ने बताएकी छन् । उनले पुरानो संस्थापन पक्ष एक ठाउँमा उभिएर अघि बढ्न सकेमा मात्रै सभापति शेरबहादुर देउवालाई पराजित गर्न सकिने बताएकी थिइन् । पौडेल र सिटौला १३ औं महाधिवेशनमा एउटै समूहका प्रतिस्पर्धी भएका थिए । सिटौलाको उम्मेदवारीका कारण त्यतिबेला पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गरेका थिएनन् । दोस्रो चरणमा सिटौलाले देउवालाई सहयोग गरेका थिए । यसपटक सिटौला देउवा र पौडेल दुवैतिर छैनन् । सिटौलाको भूमिकाले ठूलो अर्थ राख्ने भएकाले सुजाताले दुवै नेतालाई राखेर संस्थापन पक्षमा एउटै उम्मेदवार बनाउन दबाब दिएकी हुन् ।

संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी दिने घोषणा गरेपछि इतर पक्षमा आकांक्षीहरू पछि हट्ने संकेत देखाएका छैनन् । निधिले सभापतिमा प्रतिस्पर्धा गर्दा १३ औं महाधिवेशनमा जस्तै पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याउने सम्भावना रहन्छ । त्यस्तो हुँदा संस्थापनइतर पक्षका आकांक्षीलाई आफू दोस्रो हुन सक्ने विश्वास छ । पहिलो चरणमा ५१ प्रतिशत मत नआएमा दोस्रो चरणमा पहिलो र दोस्रो मत ल्याउनेबीच पुनः प्रतिस्पर्धा हुन्छ ।

सभापतिका आकांक्षी शेखरले बिहान र पूर्वमहामन्त्री सिंहले साँझ पौडेललाई भेटेरै सहयोग र समर्थनको आग्रह गरेका छन् । शेखरले लामो समय शासकीय अनुभव लिएका पौडेललाई प्रधानमन्त्रीको प्रस्तावसमेत गरेका थिए । ‘म दोहोर्‍याएर सभापति पनि हुन्नँ, प्रधानमन्त्री पनि हुन्नँ । तपाईंसँग लामो शासकीय अनुभव छ । प्रधानमन्त्री हुनुहोस् र पार्टी सभापतिमा मलाई सहयोग गर्नुहोस्,’ पौडेलभन्दा ६ वर्ष कम उमेरका शेखरले पौडेलसँग भनेका थिए ।

दुई वर्षअघिदेखि नै शेखरले सभापतिका लागि तयारी गर्दै आएका छन् । पौडेलले भने एकपटकका लागि आफूलाई छाडिदिन आग्रह गरेका थिए । उनले संस्थापनइतर पक्ष मिलेर जान नसक्दाको लाभ देउवालाई हुने भन्दै आफ्नो नाममा सहमति जुटाउन सहज हुने संकेत गरेका थिए । साँझ पुगेका सिंहले पनि पौडलसँग शेखरले जस्तै आग्रह गरे । आफूलाई पार्टी सभापतिमा सहयोग गर्न आग्रह गर्दै उनले पौडेललाई आगामी निर्वाचनपछि प्रधानमन्त्रीका लागि तयार रहन भने । पौडेलले पनि संस्थापनइतर पक्ष एक हुनुपर्ने बताउँदै त्यसका लागि आफूलाई सहयोग गर्दा सहज हुने भनाइ राखेका थिए ।

चन्द्र भण्डारी, गगन थापा, दीपक गिरी, गुरु घिमिरे, बद्री पाण्डे, प्रदीप पौडेललगायत एक दर्जन संस्थापनइतर पक्षमा रहेका युवा नेताले चारै जना आकांक्षीलाई भेटेर मिल्न आग्रह गरेका छन् । उनीहरूले सभापतिमा मिलेर उम्मेदवारी दिन र पदाधिकारीमा युवालाई राख्न आग्रह गरेका छन् ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.