रोइरहन्छ दिलमायाको दिल


भरत खड्का
‘अभिभावक बित्नुभयो, झुप्रो छाड्न भनियो, अब हामी कहाँ जाऔं ?’
Udayapur-(4)_20210627003017उदयपुर : ओखलढुंगाबाट २० वर्षअघि ठूलो सपनाको पोको बोकेर बालबहादुर र दिलमायाको जोडी मधेस झरेको थियो। सन्तानको सुन्दर भविष्य अनि गतिलो शिक्षा–दीक्षाको चाहनाले उनीहरूलाई बसाइँ हिँडाएको थियो। पहाडमा पाखो पखेरोबाहेक केही थिएन। साथमा त्यो सपना पूरा गर्ने सम्पत्ति पनि त थिएन। करिब ३ वर्ष उदयपुरका ठाउँ–ठाउँमा अनेकखाले ज्याला मजदुरी गरे। अन्ततः १७ वर्षअघि काम र सहाराको खोजीमा उदयपुरको कटारी, बरमझिया गाउँका शिवहरि दाहालको परिवारसँग ठोक्किन पुगे। उनीहरूले उनको खेतीपाती धानिदिने, बदलामा दाहाल परिवारले आफ्नो सानो जग्गामा झुप्रो बनाएर ज्यान ओत्याउन दिने समझदारी भयो।

त्यतिबेला ४८ वर्षका थिए बालबहादुर। दिलमाया थिइन् भर्खर ३९ वर्षकी। गाउँमा श्रम गरेका उनीहरूलाई काम गरिखान गाह्रो थिएन। त्यसपछि उनीहरूका शरीर सञ्चालन भए त्यही जमिनमा पसिना बगाउन।

जसोतसो गुजारा चल्दै गयो। दाहाल परिवारले दिएको एउटा कुनाको जग्गामा झुपडी बनाएका थिए। त्यहीं खान्थे, बस्थे।

करिब ६ महिनाअघि बालबहादुर बिरामले थलिए। ठूलो अस्पतालमा उपचार गर्न जाने औकात थिएन। गाउँकै स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले प्रेसर र ग्याष्ट्रिक भनेका थिए। त्यसैको दबाई त खाए। तर, दुःखको कुरा त्यही रोगले केही पहिला उनलाई टपक्कै टिपेर लग्यो।

जब उनी बिरामी परे, दिलमाया पनि खट्न नसक्ने हुँदै गइन्, जग्गाधनी निर्जला दाहालले गएको दसैं सकिए लगत्तै जग्गा खाली गरिदिन सूचित गरिन्। ‘अंश मिलाउनुपर्ने भयो’ भन्दै उनले हट्न भनेकी थिइन्।

बालबहादुरको काजकिरिया सकेपछि बेसहारा बनेकी दिलमायाको जीवनमा अर्को जटिलता थपिएको छ, ‘अब कहाँ जाऔं ?’ गहँभरि आँसु पार्दै उनले भनिन्, ‘१७ वर्षदेखि अर्काको जमिन खनजोतमा मेरो बुढोको जीवन बित्यो। तर, सानो झुप्रोसम्म बनाउने जमिन किन्न सकिएन।’

जग्गाधनी निर्जलाले जग्गा देवरकोतिर परेकाले छाडिदिन आग्रह गरिएको बताइन्। ‘अंशबन्डाका क्रममा त्यो जग्गा देवर विष्णुहरिको भागतिर पर्‍यो। त्यही भएर छाडिदिन भनेकी हुँ।’

छोरो बेपत्ता, छोरीहरूको बिजोग
अर्काको गुलामी कति गर्ने भनेर पैसा कमाउने अभिलाषाले उनीहरूका छोरा १२ वर्षअघि भारतको कोइलाखानी पसेका थिए। त्यतिबेला उनी १८ वर्षका थिए। त्यसयता उनी न फर्किएर आए, न सम्पर्कमै छन्। दिलमायाको दिलमा यो अर्को चोट बनेर बसेको छ।

‘श्रीमान् पनि बित्नुभयो। छोरो बेपत्ता छ। यी दुई छोरी लिएर म कहाँ जाऊँ ?’ आँसु पुछ्दै उनले भनिन्, ‘ओखलढुंगाबाट झरेदेखि उहाँहरूकै जग्गा खनजोत गरिदिएर बसेका हौं, अब यो उमेरमा कहाँ जाऊँ, के गरौँ, गरिब हुनु पनि केही रहेनछ।’

‘घरको अभिभावकले छोडेर जानुभयो,’ उनले भनिन्, ‘छोरोले कमाएर पैसा ल्याउला अनि थोरै जग्गा कतै किनेर भए पनि घर बनाउला भन्ने सपना बुनेका थियौं, त्यो पनि पूरा हुन सकेन।’

दिलमायालाई थपिएको अर्को अभिभारा हो छोरीहरूको शिक्षा। भन्छिन्, ‘श्रीमान्को उपचार त गर्न सकिएन, दुई छोरीलाई कसरी पढाउनु ? कहाँ कसरी जग्गा किनेर घर बनाउनु ?’ एकैचोटि धेरैखाले बज्रपात भएको छ उनको जिन्दगीमा।

आर्थिक समस्याकै कारण जेठी छोरी २० वर्षीय भगवतीले कक्षा ११ पढ्दा पढ्दै विद्यालय छाडिन्। ‘पढ्ने चाहना त कति थियो कति’, भगवतीले भनिन्, ‘विद्यालयको शुल्क र किताब–कापी किन्ने पैसा नहुँदा पढाइलाई पूर्णविराम लगाउनु पर्‍यो। कुनै उपाय भए अझै अघि बढाउने धोको छ।’

भावुक मुद्रमा देखिएकी भगवतीले भनिन्, ‘पढ्ने र जागिर खाने चाहना कसको हुँदैन होला र तर के गर्नु आफूले सोचे र ताके जस्तो नहुँदो रहेछ घरले समेत धान्नु पर्दो रहेछ।’ आफू पढ्न नपाए पनि बहिनी कुमारीलाई पढउने उनको ठूलो धोको छ। त्यसैले होटलमा भाँडा माझ्दै पढिरहेकी बहिनीलाई उनले त्यहाँबाट छुटाएर ल्याइन्।

‘आफूले केही काम गरेर पढाउन सकिन्छ कि भनेर होटलबाट त झिकेर ल्याएनी,’ भगवतीले भनिन्, ‘काम नै पाइएन, अब कसरी पढाउनु र ?’ बिरामी बुवाको उपचार गर्दा छिमेकीले १८ हजार सहयोग गरेको सुनाउँदै उनले भनिन्, ‘जग्गा कतै भए सानो घर बनाउन सहयोग गर्छौं भन्नुभएको छ, कतै जग्गा मिलाउन सकिएको छैन।’

त्यही छाप्रो पनि चुहिने
पानी रोकिने छाँटकाँट थिएन, आकाशमा लगातार गड्याङ र गुडुङआवाज आइरहेको थियो। छरछिमेक घरभित्रै बसिरहेका थिए। आँगनमा त्रिपाल टागिँएको एउटा घरमुनि ५/६ जना ओत लागेर बसेका थिए।

यो दृश्य कटारी नगरपालिका–५ वरमझियाकी ५६ वर्षीया दिलमाया थापामगरको घरको हो। ६५ वर्षीय श्रीमान् बालबहादुरको मृत्युपछि जेठी छोरी भगवतीले बुवाको शव बोकेर घाटमा पुर्‍याएको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैको मन त्यसतर्पm केन्द्रित भयो।

छिमेकी पत्रकार रेणु पराजुलीले सामाजिक सञ्जालमा पहिलो पोष्ट गर्दै लेखेकी छिन्, ‘मरेपछि लासलाई काँध दिन छोरा चाहिन्छ भन्ने मानसिकता बोक्नेहरूलाई यो उदाहरण।’ सामाजिक सञ्जालमा धेरैले दुवै छोरीलाई बहादुरको संज्ञा दिँदै सकेको सहयोग गर्नसमेत अपिल गरेका छन्।

आफ्नो जातीय संस्कारअनुसार सातौं दिनमै काजकिरिया सम्पन्न गर्दा दिलमाया र उनका दुई छोरीको अनुहार निकै भावुक थियो। १७ वर्षदेखि सुकुम्बासी जीवन बिताउँदै आएका उनको परिवारको दुई छाकको गर्जो टार्ने अभिभावक साथमा नहुनुको पीडा छदै थियो, उत्तिकै पीडा चुहिने घर र शैक्षिक क्षेत्र बन्द गर्नुपर्ने बाध्यता थपियो।

घरको अवस्थालाई चित्रण गर्दै दिलमाया भन्छिन्, ‘जब आकाशमा मेघ गर्जिन सुरु गर्छ तब निन्द्रा, भोक, तिर्खा सबै हराउँछ। भएका दुई छोरी च्यापेर एउटा कुनामा बस्छु, अनि सम्झन्छु मेरा भाग्यमा यहीँ लेखेको रहेछ।’ छानो चुहेर घरभित्र पानी जमेको दृश्य देखाउँदै उनी भन्छिन्, ‘मेरा लागि पानी नपरेकै जाति, कम्तीमा यो दूरदर्शा त खेप्नुपर्दैन थियो।’

नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने गरी प्रक्रिया अघि बढाएकाले आयोगसँग समन्वय गरी चाँडै निकास निकाल्ने बताए। उनले भने, ‘नगर क्षेत्रमा थुप्रै जग्गा ऐलानी छन्। सुकुम्बासी, अव्यवस्थित पनि उत्तिकै छन्। त्यसैले लगत संकलनका आधारमा त्यस्ता व्यक्तिको हातहातमा पुर्जा पुर्‍याउँछौं।’

उपमेयर भीमकुमारी राउतले बालबहादुरको नाम लगत संकलनमा परेकाले नगरपालिकाले सुकुम्बासी व्यवस्थापन गर्ने क्रममा समेटिने बताइन्। उनले भनिन्, ‘नगरपालिकाको प्रक्रिया लम्बिन सक्छ। सकेसम्म जसको जग्गामा उहाँहरू बस्नुभएको छ, त्यसका लागि प्रयास गर्छौं। भएन भने विकल्प खोज्नु पर्ला।’(अन्नपूर्ण )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.