सिन्धुपाल्चोक सधैं पहिरोको धरापमा


वर्षा हुनासाथ कति बेला कुन बस्ती र बजार पहिरोले थिच्छ, बाढीले बगाउँछ भन्ने चिन्ता जिल्लावासीमा सुरू हुन्छ तर जोखिम न्यूनीकरणका लागि राज्यका तर्फबाट प्रभावकारी पहल हुन सकेको छैन ।
ऋषिराम पौड्याल
thumbकाठमाडौँ — सिन्धुपाल्चोक बाढीपहिरो र भूकम्पका घटनाबाट आक्रान्त बनेको छ । पछिल्लो दशकका हरेक वर्षात् दुःख, पीडा र त्रासमा गुज्रने गरेको छ । वर्षा हुनासाथ कति बेला कुन बस्ती र बजार पहिरोले थिच्छ, बाढीले बगाउँछ भन्ने चिन्ता जिल्लावासीमा सुरु हुन्छ । पहाडी भूभागमा पहिरो गएर सुनकोसी, इन्द्रावती, मेलम्ची, भोटेकोसी र ठाडा खोलानालामा जुनसुकै बेला बाढी आउन सक्छ । जोखिम न्यूनीकरणका लागि राज्यका तर्फबाट प्रभावकारी पहल भने हुन सकेको छैन । सिन्धुपाल्चोकमा भूकम्पका कारण सर्वाधिक धनजन क्षति भएको थियो । विज्ञहरूले त्यतिबेलै जोखिमयुक्त स्थान पहिचान गर्नुपर्ने सुझाव दिए पनि सरकारी निकायबाट खासै चासो दिइएन । भूकम्पका बेला जिल्लाको हिमाली भेगका डाँडामा जताततै पहिरो गएको थियो । जताततै जमिनमा धाँजा फाटेकाले वर्षात्मा तिनै स्थानमा पानी पसेर पहिरो गएको अनुमान स्थानीयले गरेका छन् ।

२०७२ पछि लगातार पहिरो गएकाले भूकम्पकै असर रहेको अनुमान विज्ञहरूको पनि छ । भूगर्भविद् नरेन्द्र खनाल भूकम्पका बेला मेलम्चीघ्याङको उत्तरतर्फ चार वटाभन्दा बढी पहिरो गएकाले त्यसको खतरा रहिरहेको बताउँछन् । यसपालिको पहिरो पनि सोही स्थानमा गएको हो । खनालले भूकम्पका कारण गएको पहिरोलाई बर्सेनि अनुगमन गरेर त्यसले पार्ने असर अनुमान लगाउन सकिने बताए ।

सिन्धुपाल्चोकमा गत वर्ष बाढीपहिरोले सर्वाधिक क्षति गरेको थियो । त्यतिबेलाका पीडितको बसोबासको व्यवस्थापन अझै हुन सकेको छैन । सरकारले विदेशी सहयोग जुटाउन बागलुङ र सिन्धुपाल्चोकलाई विपद् जोखिम संकटकाल क्षेत्र घोषणा गरे पनि त्यसअनुरूप काम देखिएको छैन । त्यतिबेला संघीय र प्रदेश सरकारले बाढीपहिरो नियन्त्रणका लागि थप संरचना निर्माण, विस्थापितको पुनःस्थापना, बस्ती स्थानान्तरण जस्ता विषयमा प्राथमिकता दिने जनाएका थिए । तर चालु वर्षमा बाढीपहिरो नियन्त्रणको कुनै पनि विशेष कार्यक्रम बनेन । विगतमा जसरी भूसंरक्षणका कार्यक्रम बन्थ्यो अहिले पनि त्यसैलाई निरन्तरता दिइएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय सिन्धुपाल्चोकका प्रमुख दिवाकर मास्के वार्षिक कार्यक्रम परम्परागत ढंगकै स्वीकृत भएको बताउँछन् । उनले भने, ‘सानातिना छरिएका योजना छन् । गत सालको पहिरोलाई प्राथमिकता दिएर ठूलो कार्यक्रम चालु वर्षका लागि स्वीकृत भएको छैन ।’

जोखिमका कुन–कुन बस्ती स्थानान्तरण गर्नुपर्ने, कुन ठाउँमा राख्नेलगायत विषयमा अहिलेसम्म निर्णय हुन सकेको छैन । कतिपय स्थानीय तहले अझै त्यसको तथ्यांक उपलब्ध गराएका छैनन् । जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकका सदस्य सचिव तथा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार गत वर्ष विस्थापित भएकाहरूको विषयमा यकिन तथ्यांक नै संकलन भइनसकेको बताए ।

स्थानीय प्रशासनको तथ्यांकअनुसार गत वर्षको बाढीपहिरोमा ३ सय ९० परिवार विस्थापत भएका थिए । उनीहरू गत वर्ष जसरी बसे, अहिले पनि त्यही अवस्थामा छन् । जोखिममा परेको बस्तीका विषयमा स्थानान्तरण गर्ने विषयमा कुनै निर्णय नभएको खनालले बताए । उनले भने, ‘विस्थापितका लागि अस्थायी टहरा बनाउने काम सुरु गर्न लागे पनि वर्षात्ले समस्या पारेको छ ।’

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलका अनुसार सिन्धुपाल्चोकमा लाभग्राहीको सूची तयार नभएकाले अस्थायी आवास रकम पठाउन सकिएको छैन । उनले एक–दुई दिनमा उक्त रकम पठाउने जानकारी दिए । वाग्मती प्रदेशले सिन्धुपाल्चोकका पीडितलाई प्रतिपरिवार आवास निर्माणका लागि २–२ लाख दिने घोषणा गरेको थियो । तर त्यो रकमसमेत निकासा भएन । वाग्मती प्रदेशका तत्कालीन सामाजिक विकासमन्त्री युवराज दुलाल संघीय सरकारले रकम उपलब्ध गराउने भनेपछि दोहोरो पर्ने भएकाले प्रदेशले नदिएको बताए । प्राधिकरणले यो वर्ष वर्षात् धेरै हुने अनुमान गरेको छ । तर जिल्लामा थप सतर्कता देखिएको छैन । जुरेपहिरो, लिदी, घुमथाङ, जम्बुलगायतका बाढीपहिरो पीडित अझै टहरामा छन् ।

कार्यान्वयनमा समस्यै–समस्या

सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठनमार्फत मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि स्वीकृत गरेर लागू गरेको छ । उक्त कार्यविधि गत पुस अन्तिम साता गृहमन्त्रीको अध्यक्षतामा रहेको विपद् जोखिम कार्यकारी समितिले स्वीकृत गरेको थियो । तर जोखिमगत सालबाट सरकारले बाढीपहिरो नियन्त्रणका लागि तयार गर्ने नीति, योजना र रकम खर्च तोकिएको समयमा पूरा नहुने समस्यामा सुधार आउन सकेको छैन । प्राधिकरणका सीईओ पोखरेलले यकिन तथ्यांक नभए पनि करिब तीन हजार परिवारलाई तत्काल निजी आवास आवश्यक रहेको अनुमान गरिएको बताए ।

कार्यविधिमा जिल्ला विपद् व्यवस्थपान कोषमा रकम जम्मा गर्ने व्यवस्था भए पनि स्थानीय तहबाट तोकिएको समयमा तथ्यांक आएकाले काम गर्न कठिन भएको छ । प्राधिकरणले गत माघमा स्थानीय तहहरूलाई लाभग्राहीको यथार्थ लगत पठाउन पत्र पठाएका थिए । अघिल्लो वर्षात्का पीडितलाई व्यवस्थापन नगर्दै अर्को वर्षात् सुरु भए पनि सरकारी संयन्त्रले प्रभावकारी ढंगले काम गर्न सकेको छैन । प्रभावकारी संयन्त्र र कार्यान्वयनमा देखिएको ढिलासुस्तीका कारण विपद् जोखिम प्राधिकरणले आफूसँग भएको करोडौं रुपैंयाँ परिचालन गर्न सकेको छैन ।

बाढीपहिरोबाट क्षतिग्रस्त, आवास, पुल, विद्यालय, सडकलगायतका संरचना निर्माणका लागि सरकारको प्रस्ताव गरेअनुसार विश्व बैंकले ५० मिलियन अमेरिकी डलर अर्थात् करिब ६ अर्ब नेपाली रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सहयोग रकममध्ये ३ अर्ब सरकारलाई प्राप्त भइसकेको छ । त्यो पनि सबै परिचलान हुन सकेको छैन । प्राधिकरणका सीईओ पोखरेलका अनुसार तत्काल अस्थायी बसोबासका लागि बनाउने संरचनाका लागि प्रतिपरिवार ५० हजार उपलब्ध गराउन सकिने व्यवस्था छ । वर्षात् नजिकिएपछि मात्र जिल्लामा रकम पठाउन सुरु गरिएको छ । रकम अपुग भएपछि प्रधानमन्त्रीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले एकमुष्ट थप ५० करोड उपलब्ध गराउने निर्णय गरेको छ । प्राधिकरणका सीईओ पोखरेलले १४ जिल्लामा अस्थायी आवास निर्माणका लगि करिब १४ करोड विनियोजन गरिसकेको जानकारी दिए ।

कहाँ चुक्यो नेतृत्व ?

पञ्चायत, बहुदल र गणतन्त्र सबै व्यवस्थामा सिन्धुपाल्चोकका नेताले मन्त्री पद पाएका छन् । मन्त्री नबनेका बेला पनि नीति निर्माण र बजेट विनियोजनमा पहुँच राख्ने नेताहरू छन् । तीसको दशकमा सिन्धुपाल्चोक प्रवेश गरेका पशुपतिशमशेर राणाले पञ्चायतको अन्तिमसम्म पटक–पटक मन्त्री बन्ने अवसर पाए । हाल राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष रहेका उनले २०४६ पछि पनि जिल्लाबाट तीन पटक चुनाव जिते । दुई पटक मन्त्री बने । उनले पञ्चायतकालमै जलस्रोत, शिक्षा, ऊर्जा, स्थानीय विकास, सञ्चार, परराष्ट्र, यातायातलगायत महत्त्वपूर्ण मन्त्रालय सम्हालेका थिए ।

एमाले नेता अमृतकुमार बोहराले २०४८ सालदेखि २०५१ सम्म दुई पटक जिल्लाबाट निर्वाचन जिते । उनी स्थानीय विकासमन्त्री पनि बने । माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटा वन, सञ्चारमन्त्री भए । अहिले सभामुख छन् । उनले २०६४ देखि लगातार निर्वाचन जितेका छन् । मन्त्री नभए पनि उनी पार्टीमा प्रभावशाली हैसियत राख्छन् । कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत स्वास्थ्य राज्यमन्त्री र सञ्चारमन्त्री बने । उनी मन्त्री नहुँदा पनि केन्द्रीय तहमा प्रभाव राख्न सक्ने नेताका रूपमा चिनिन्छन् । २०७४ निर्वाचनपछि एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङ दोस्रो पटक मन्त्री भएका छन् । उनले जिल्लाबाट दोस्रो पटक निर्वाचन जितेका हुन् ।

माओवादीबाट एमालेतिर लागेका दावा तामाङ खेलकुद मन्त्री भए भने पूर्वराप्रपा र हाल कांग्रेस प्रवेश गरेका विष्णुविक्रम थापा गृह राज्यमन्त्री बनेका थिए ।थापाले २०५१ सालमा राप्रपाबाट निर्वाचन जितेका थिए । एमाले केन्द्रीय सदस्य अरुण नेपाल र माओवादीका केन्द्रीय सदस्य युवराज दुलाल वाग्मती प्रदेश मन्त्री भए । एमाले नेता सरेश नेपाल वाग्मती प्रदेशमा मन्त्री छन् । नेत्रविक्रम थापा पञ्चायतकालमा मन्त्री भएका थिए । यति धेरै राजनीतिक नेता उपल्लो तहमा पुगे पनि उनीहरूको ध्यान विपत् रोकथाम र न्यूनीकरणमा नगएको स्थानीयको गुनासो छ । यो विषयमा नेताहरूले एकै थलोमा बसेर वा एकल ढंगले प्रभावकारी प्रयास गरेको पाइँदैन ।

पूर्वमन्त्री तथा राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा कल्पना नगरिएका ठूला बाढीपहिरो नियन्त्रणमा राजनीतिक नेतृत्वले भूमिका निर्वाह गरेन भन्न नमिल्ने बताउँछन् । उनले २०३९ सालको गुन्साको पहिरो आफू मन्त्री भएका बेला नियन्त्रण गरेको सुनाए । नियन्त्रण गर्न सक्ने ठाउँमा राजनीतिक नेतृत्वको ध्यान जानुपर्ने भनाइ उनको छ । ‘बसोबास कस्तो ठाउँमा गर्ने हो, त्यसको मापदण्ड बनाउनुपर्छ,’ उनले भने । एमाले नेता एवं वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपाल जिल्लाको भौगोलिक अवस्थाका कारण उत्पन्न समस्याका कारण बर्सेनि बाढीपहिरोले दुःख दिएको बताउँछन् ।

नागरिकको सुरक्षाका लागि आवास क्षेत्र कुन स्थानलाई बनाउने जनचेतनाको खाँचो रहेको उनले बताए । तटीय क्षेत्रको सुरक्षाका लागि राज्यको योजनाले प्राथमिकता पाउनुपर्ने भन्दै उनले भने, ‘कतिपय अवस्थामा सीमित स्रोतका कारण पनि प्रभावकारी काम हुन सकेको छैन ।’

कहिले कति क्षति ?

बाढीपहिरो २०३९ साउन १५

स्थान : गोल्चे–फलामसाँघु

मृत्यु : ९७ जना

बगाएका घर : २२

पहिरो २०३९ साउन १९

स्थान : गुन्सा

मृत्यु : १७ जना

क्षति : ७० घर

बाढीपहिरो २०५३ साल

स्थान : तातोपानी, लार्चा

मृत्यु : ५४ जना

बाढीपहिरो २०७१ साउन १७

स्थान : जुरे

मृत्यु : डाँडै खसेर सुनकोसी १३ घण्टा थुनिँदा १४५ जनाको मृत्यु

पहिरो २०७१ भदौ ९

मृत्यु : ४ जना

विस्थापित : १२ परिवार

पहिरो २०७१ भदौ ११

स्थान : साविक महांकाल गाविस–६

मृत्यु : एकै परिवारका ४ जना

भूकम्प २०७२ साल

मृत्यु : ३५ सय, ८० हजारभन्दा बढी घर पूर्णरूपमा क्षति

भोटेकोसी बाढी २०७३ असार

क्षति : चीनको सीमा क्षेत्र लिपिङ, तातोपानीका ८० घर बगायो

बाढीपहिरो २०७७ असार २५

स्थान : बाह्रबिसे नगरपालिका–५ जम्बु

मृत्यु : २ जनाको मृत्यु, १७ बेपत्ता

१४ घर बगायो

पहिरो २०७७ साउन १९

स्थान : मेलम्ची र बरुवा

मृत्यु : ११ जना

पहिरो २०७७ साउन ३०

स्थान : जुगल गापा, लिदी

मृत्यु : ३७ जना

बेपत्ता : २ जना

पहिरो २०७७ भदौ २८

स्थान : बाह्रबिसे–७, भीरखर्क र नागपुजे

मृत्यु : १५ जना

क्षति : ३० घर

बेपत्ता : १६ जना

विस्थापित : ४८ परिवार (कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.