खेलाँचीले कोरोना जोखिम, भारतबाट फर्किने ५ प्रतिशतमा संक्रमण


भारतबाट फर्किरहेका ५ प्रतिशत नेपालीमा कोरोना संक्रमण देखिएको छ। कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिएका नेपालीको एन्टिजेन परीक्षण गर्दा यो अवस्था देखिएको हो। दुवै नाकामा शनिबारसम्म ९ हजार जनाको परीक्षण गरिएकामा ४ सय १७ जनामा कोरोना पुष्टि भएको हो। तर, मुख्य नाकामा परीक्षण चलिरहे पनि खुला सीमाबाट आउजाउ रोकिएको छैन। प्रदेश १ का खुला ठाउँ हुँदै आवागमन चलिरहेकै छ। जसकारण कोरोनाको जोखिम झन्–झन् बढेको नियामक निकायकै पदाधिकारी स्वीकार गर्छन्। भारतमा दिनदिनै कोरोना संक्रमण बढिरहेका बेला नयाँ वर्ष र चैते दसँै मनाउन नेपाली घर फर्किनुले सुदूरपश्चिम प्रदेश उच्च जोखिममा परेको छ। प्रदेश १ मा त किनमेलकै लागि नेपाल–भारत आउजाउ चलिरहेको छ।

गौरीफन्टाबाट दैनिक १५ सय र गड्डाचौकीबाट दैनिक १ हजार जना नेपाली स्वदेश फर्किरहेका छन्। गौरीफन्टास्थित हेल्थ डेस्क प्रमुख गणेशबहादुर साउदले शनिबार अपराह्नसम्म ३ सय ६९ जनामा कोरोना पोजिटिभ देखिएको बताए। ‘हामीले चैत १७ गतेयता भारतबाट फर्केका ७ हजार जनाको एन्टिजेन परीक्षण गरेका छौं। तीमध्ये ३ सय ६९ जनामा कोरोना पोजिटिभ देखिएको छ’, हेल्थ डेस्क प्रमुख साउदले भने। साउदले शनिबार साँझ ५ बजेसम्म एकै दिन ५४ जनामा पोजिटिभ देखिएको बताए। ‘शनिबार ४ सय ८३ जनाको परीक्षण गर्दा ५४ जनामा पोजिटिभ देखिएको हो। हेल्थ डेस्क राखेपछि, एकै दिनमा यती धेरै जनामा कोरोना देखिएको यो अहिलेसम्मकै बढी हो’, साउदले भने। उनले यस्तै अवस्था रह्यो भने कोरोना फेरि समुदायस्तरमा फैलिन सक्ने बताए।

गड्डाचौकीमा शुक्रबारसम्म २ हजार १ सय ७७ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ४८ जनामा पोजिटिभ देखिएको छ। शनिबार एकै दिन १० जनामा पोजिटिभ देखिएको कञ्चनपुरका कोभिड फोकल पर्सन सिद्धराज भट्टले बताए। ‘अहिले भारतबाट फर्किनेको संख्या बढेको छ, नमुनाका रूपमा गरिएको परीक्षणमा एन्टिजेन पोजिटिभ बढेको छ’, उनले भने।

खचाखच आइसोलेसन
कोरोना भाइरस संक्रमण पुनः बढेसँगै स्थानीय तहले आइसोलेसन ब्युँताएका छन्। कैलालीको धनगढी उपमहानगरपालिकाले जडीबुटी प्रशोधन केन्द्रको नयाँ भवनमा आइसोलेसन बनाएको छ। त्यहाँ शनिबारसम्म ३ सय ३० भन्दा संक्रमितलाई राखिएको छ।

‘सीमा क्षेत्रमा रहेको हेल्थ डेस्कले पोजेटिभ भनी प्रमाणित गरेका नेपालीलाई हामीले आइसोलेसनमा व्यवस्थापन गरिरहेका छौं’, आइसोलेसन सेन्टरका इन्चार्ज गजेन्द्रबहादुर सिंहले भने, ‘अहिलेसम्म तीन सयभन्दा बढी आउँदै जाँदै गरेका छन्। शनिबार मात्रै आइसोलेसनमा एक सयको संख्यामा पोजेटिभहरू पुगेका छन्।’

धनगढी उपमहानगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय, सामाजिक विकास मन्त्रालयले उक्त आइसोलेसनको व्यवस्था गरेको हो। ‘लक्षण नदेखिएका व्यक्तिलाई हामीले घरमा आइसोलसनमा बस्छु भनेपछि निजी सवारी साधनमा घर पठाइदिएका छौँ’, जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने, ‘आफँै साधनको व्यवस्थापन गर्न नसक्नेलाई १० दिनसम्म बसाएर पीसीआर गरेर मात्रै सार्वजनिक यातायातमा पठाउने गरिएको छ।’

नाकामा भारतबाट फर्केका नेपालीको एन्टिजेन परीक्षण गरेर पोजेटिभ भएकाहरूलाई एम्बुलेन्समा राखेर आइसोलेसनमा ल्याउने व्यवस्था गरिएको छ। ‘सीमा क्षेत्रमा रहेको हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गरिन्छ, त्यसपछि पोजेटिभ देखिएकाहरूलाई आइसोलेसनमा पठाइन्छ’, स्वास्थ्य कार्यालय प्रमुख धामीले भने।

स्वास्थ्यकर्मीले एन्टिजेन परीक्षणपछि पीसीआर पोजेटिभको पनि ९० प्रतिशत सम्भावना रहने बताएका छन्। एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएकाहरूलाई १० दिनपछि पीसीआर गरेर मात्रै नेगेटिभ आएर घर पठाउने व्यवस्था गरिए पनि, सबैको हकमा त्यो लागू हुन सकेको छैन।

आफैँ घरमा आइसोलेसनमा बस्छु भन्नेलाई घर जान दिइन थालेपछि र घरमा अनुगमन गर्ने निकाय नभएकाले पनि समुदायमा संक्रमणको खतरा बढेको हो।

खुला सीमाले बढी जोखिम
मोरङको रानी नाकाबाट दायाँ–बायाँ चार किलोमिटर क्षेत्र खुला सीमा छ। ती क्षेत्रमा सशस्त्र प्रहरी खटिए पनि भारत आवतजावत गर्नेको लर्को देख्न सकिन्छ। भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिनदिनै बढिरहेका बेला स्वास्थ्य जाँचबिनै नेपाल प्रवेश गर्नेको संख्या बढेको सुरक्षाकर्मी बताउँछन्।

‘हामी लाठी बोकेर बसेका १–२ जनाले कता छेक्नु र ?, यता छेक्यो उताबाट कुद्छन्, उता दैडियो यताबाट छिर्छन्’, विराटनगरको सीमामा खटिएका एक सुरक्षाकर्मीले भने, ‘यो रोक्न सक्ने सम्भावना नै छैन २–४ जना खटाएर।’

मुख्य नाकाको गेटमा ताला लगाइए पनि खुला स्थानबाट आउने–जाने नेपाली र सुरक्षाकर्मीबीच हरेक दिन लुकामारी चल्छ। सीमामा पर्याप्त सुरक्षा सावधानी अपनाउने सरकारी प्रतिबद्धता भए पनि कार्यान्वयन नहुँदा खुला रूपमा प्रवेश गर्नेको लर्को घटेको छैन। दैनिक कति आउजाउ हुन्छ भन्ने रिपोर्टसमेत सरकारी निकायले राख्न छाडेका छन्।

स्वास्थ्यकर्मीका अनुसार नाकामा परीक्षण नगरी भित्रिनेहरूका कारण कोरोना संक्रमणको जोखिम उच्च भएको छ। मोरङको ६३ किलोमिटरमा रहेका २६ नाकाबाट नेपाल प्रवेश गर्नेको लर्को दिनहुँ लाग्ने गरेको र तिनीहरू नै बढी संक्रमित हुने गरेको सामाजिक विकास मन्त्रालयकी प्रवक्ता जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशीले बताइन्।

प्रदेश १ को तराईका जिल्लामा संक्रमित बढ्नुको मुख्य कारण नाकाबाट नेपाल प्रवेश गर्नेलाई व्यवस्थित नगरिनु र ‘चोरबाटो’लाई रोक्न नसक्नु रहेको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली बताए। ‘सिमाना व्यवस्थापनको कुरा प्रदेश सरकार हुँदै संघीय सरकारको हो’, मेयर पराजुलीले भने, ‘सिमाना कडाइ नगरेकैले पहिले पनि विराटनगर कोरोनाको हटस्पट बन्यो र अहिले पनि त्यस्तै अवस्था होलाजस्तो छ।’

प्रदेश १ मा दैनिक २० जनासम्म संक्रमित भेटिन थालेका छन्। संक्रमितको संख्या बढे पनि नाकामा पर्याप्त चेकजाँचसहित स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन भने संघीय, प्रदेश र स्थानीय सरकारले चासो देखाएको पाइँदैन। यसअघि नाकामा ज्वरो परीक्षण तथा नाम, ठेगाना टिपेर प्रवेश दिने गरेको भए पनि अहिले खुलेआम आवतजावत हुने गरेको छ। केही नाकामा शंकास्पदको एन्टिजेन परीक्षण गर्न थालिए पनि कतिपय नाकामा हेल्थ डेस्कसमेत छैन।

भारतबाट नेपाल भित्रिएका केहीमा कोरोना संक्रमण देखिहाले संक्रमितलाई सुरक्षित रूपमा आइसोलेसनमा पठाउने वा निगरानीमा राख्ने सवालमा भने अझै प्रभावकारी व्यवस्था हुन सकेको छैन। स्वास्थ्यमा समस्या आएर परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएका मात्रै आफँैले खोज्दै अस्पताल पुग्ने गरेका छन्।

प्रदेश १ को कोभिड जोखिम व्यवस्थापन समितिले अत्यावश्यक कामबाहेक भारततर्फ नजान आग्रह गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए। ‘सीमा नाकामा हेल्थ डेक्स राख्न हामीले स्थानीय तहलाई भनिसकेका छौं’, प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘केही दिनभित्र स्वास्थ्यकर्मीसहितको हेल्थ डेक्स रहनेछ। त्यसपछि स्वास्थ्य परीक्षण गरेर आवतजावत गरिनेछ।’ स्थानीय तहले भने यसमा चासो दिएको पाइँदैन।

विराटनगर–१६ स्थित भारततर्फ आउजाउ गर्ने विराटनगर जुट मिलको दक्षिण गेटमा काँडा राखेर छेकबार लगाई प्रहरी खटाइएको छ। दरैयातर्फ जाने सडकमा र दरैयास्थित चोरबाटोमा पनि सुरक्षाकर्मीले बाँसको छेकबार लगाएका छन्। तर, सीमावर्ती भारतीय बजार जोगबनीमा किनमेल गर्न र भारततर्फबाट आउजाउ गर्नेहरूले खुला सीमाको फाइदा उठाउँदै जताततै दशगजा क्षेत्रबाट सीमा वारपार गरिरहेका छन्।(अन्नपूर्ण )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.