तीर्थबहादुर थापा
शेरबहादुर देउवाले कार्यकर्ताको मनोबल उच्च तुल्याउन ‘क्लिन कांग्रेस’ मा रूपान्तरण गरिहाल्नुपर्छ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेपालमा राजनीतिक तरलता देखा परेको छ। प्रधानमन्त्री ओलीले संवैधानिक मर्यादा भंग गरेर अलोकतान्त्रिक कदम चालेपछि विभिन्न राजनीतिक दल, कानुनविद् र नागरिक अभियन्ता यो गैरसंवैधानिक कदमविरुद्ध सडकमा उत्रिएका छन्। संसद् पुनस्र्थापना र विघटनका विषयमा छलफल सुरु भएको छ। प्रधानमन्त्रीले संविधानविपरीत निरंकुश शैलीबाट संसद् विघटन गरेको घटनालाई लिएर सर्वोच्च अदालतमा दर्जनौं रिट निवेदन परेका छन्। मुद्दा विचाराधीन रहेकै अवस्थामा मध्यावधि निर्वाचन मिति पनि आगामी २०७८ वैशाख १७ र २७ गते तोकिएको छ। निर्वाचन आयोग निर्वाचन प्रक्रियातिर क्रियाशील भइसकेको छ। नेकपा प्रचण्ड–माधव समूह, जसपा र नेपाली कांग्रेस आआफ्नै समूह लिएर संसद् पुनस्र्थापनाको माग गरिरहेका छन्। सडक तात्ने क्रम जारी छ। राजावादीहरू प्रधानमन्त्री ओलीको संसद् विघटनको कदमप्रति भित्रभित्रै लड्डु फुटाइरहेका छन्। यो घटनाप्रति अन्तर्राष्ट्रिय जगत् मौन छ। कथित बुद्धिजीवीहरूको राजनीतिक पूर्वानुमान र विश्लेषणले भरपर्दो निष्कर्ष निकाल्न सकेको देखिँदैन।
नेकपाको आन्तरिक जीवनमा मौलाएको चरम गुटबन्दी र सहकर्मी नेताहरूको अवरोधका कारण यस्तो स्थिति उत्पन्न भएको हो भन्ने प्रधानमन्त्रीको कथन कति ठीक र कति बेठीक थियो, आगामी दिनले नै तय गर्ला। तथापि संसद्मा सुविधाजनक मत पाएका प्रधानमन्त्रीले जनादेश र संविधानबमोजिम पाँच वर्षसम्म सरकार चलाउन नसक्नु उनकै अकर्मण्यता हो भन्नुबाहेक अर्को कुनै मान्यता अगाडि सार्न सकिन्न।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार तीन वर्ष पुग्दानपुग्दा ओरालो लागेको छ। प्रचण्ड माधव समूहको गुटउपगुट र टकरावका कारण सरकार चलाउन नपाएको गुनासोलाई हवाला दिएर प्रधानमन्त्री ओलीले संसद् विघटनको घोषणा गरेका छन् र देशलाई मध्यावधि निर्वाचनतिर धकेलेका छन्। यस्तो स्थितिमा प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको कांग्रेसलाई ‘अवसर र चुनौती’ दुवै देखा परेको छ।
डेढ वर्षपछि आवधिक निर्वाचन हुने निश्चितै थियो। प्रचण्ड–माधव समूह र केपी ओली समूहबीच भित्रभित्रै गुम्सिरहेको आन्तरिक खिचातानी, दम्भ र अहंकारको कोकोहोलोले मध्यावधिलाई निर्धारित समयअघि नै निम्त्याएको हुँदा नेपाली लोकतन्त्रको जननी कांग्रेसले यस घटनालाई जिम्मेवारीपूर्वक ग्रहण गर्नैपर्छ।
संसद् विघटनको मुद्दा सदर वा पुनस्र्थापनामाथि बहस छलफल र फैसला गर्ने, सर्वोच्च अधिकारी न्यायालय नै हो। सर्वोच्च अदालतले गरेका निर्णयलाई सबैले स्वीकार गर्नैपर्ने हुन्छ। यस्तो स्थितिमा कांग्रेसको भूमिका महत्त्वपूर्ण हुने हुँदा ‘अवसर र चुनौती’ दुवैलाई कबुल गर्नैपर्छ। ओलीको संसद् विघटनको कदम अलोकतान्त्रिक र विधिसंगत नभएकाले कांग्रेसले त्यसउपर विरोध र भत्र्सना गर्नैपर्ने हुन्छ, गरिरहेको छ पनि। तथापि मध्यावधि निर्वाचन गर्नैपर्ने स्थितिसमेत देखा पर्यो भने कांग्रेसले सहर्ष त्यसलाई स्वीकार गर्नैपर्छ, गरिरहेको छ पनि। यी दुवै परिघटनालाई नजिकबाट नियालिरहेको कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने सन्दर्भमा कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको सौन्दर्य निर्वाचनलाई अंगीकार गरेका हुन्।
देउवाको यो ‘अवसर र चुनौती’ लाई कबुल गर्ने परिपाटीलाई ढुलमुले नीति भन्ने गरेको आरोप पनि यत्रतत्रबाट आइरहेको छ। कांग्रेस सुतेर बस्यो, प्रतिपक्षको सशक्त भूमिका निर्वाह नगरी उदासीन भएर रह्यो भन्ने गुनासो पनि नआएको होइन। गुठी प्रकरणदेखि प्रेसमाथि बन्देज गर्ने विधेयकप्रति कांग्रेसले खुलेरै विरोध गरेको हो। भ्रष्टाचार, अराजकता, बेथिति र निर्मला बलात्कार काण्डजस्ता अमानवीय क्रियाकलापका विरोधमा पनि आवाज उठाउँदै आएको हो। कांग्रेसले प्रतिपक्षका स्थानबाट ओली सरकारलाई सजग र सतर्क तुल्याउन खुलेरै प्रतिवाद गरेको हो। मुलुकमा कोरोनाको महामारी फैलिँदा होस् वा सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको पूर्ण नक्सा जारी गर्दा होस्; सरकारलाई साथ र सहयोग पनि प्रदान गरेकै हो।
कांग्रेसले विधि र पद्धति स्वीकार गर्छ। साथसाथै निर्वाचनका माध्यमबाट देखा पर्ने जनमतमाथि पनि भरोसा गर्छ। ’cause संसद् विघटन वा पुनस्र्थापनाको फैसला गर्ने सर्वोच्च निकाय न्यायालय भएकाले विधिको शासन प्रणालीलाई अस्वीकार गरेर अगाडि बढ्न सकिन्न। यसैगरी ओली सरकार अलोकप्रिय र अक्षम ठहरिएको हुँदा लोकतन्त्र सुदृढ तुल्याउन निर्वाचन र जनादेशबाहेक अर्को भरपर्दो विकल्प हुन सक्दैन।
कम्युनिस्टहरू फुटेकै कारणले कांग्रेसले आगामी आम निर्वाचनमा बहुमत प्राप्त गरूँला भन्ने भ्रम पाल्नु निरर्थक हुनेछ। जनता सचेत भइसकेका छन्। पुराना र जीर्ण भइसकेका रोगी अनुहारलाई अब पनि जनताले स्वीकार गर्नेछन् भन्ने छैन।
कांग्रेसका समापति देउवाले यी सबै स्थिति नियालिरहेका छन् र कांग्रेसको साख र छवि जोगाउन ‘पर्ख र हेर’ लाई पनि आत्मसात गरिरहेका देखिन्छन्। कांग्रेस पार्टीभित्र पनि नेकपाकै जस्तो द्वन्द्व र कलह नभएको होइन। कांग्रेसभित्र गुटको राजनीति गर्ने एउटा समूहले देउवालाई सहज भएर अगाडि बढ्न दिइरहेको छैन। विभाग गठनको कार्यदेखि क्रियाशील सदस्य वितरण गर्दासम्म र पार्टीको आन्तरिक विग्रहलाई व्यवस्थापन गर्दासम्म देउवाविरोधी समूह भागबन्डाकै सीमित घेराभित्र रहेर देउवालाई वाधा–अवरोध मात्र तयार गर्दै गइरहेको स्थितिमा केही अन्योलचाहिँ भइरहेकै देखिन्छ।
कांग्रेसको भ्रातृ र भगिनी संगठनहरूको व्यवस्थापन हुन नसकिरहेको अर्को टड्कारो यथार्थ यसैको प्रतिफल हो। नेपालको राजनीतिक इतिहासमा नेपाली जनतालाई रैतीबाट नागरिकमा रूपान्तरण गर्ने शक्ति कांग्रेस नै हो र लोकतन्त्रको पुनस्र्थापना गर्ने सन्दर्भमा ऐतिहासिक त्याग र बलिदान गर्ने पार्टी पनि कांग्रेस नै हो। नेकपाको जस्तो भ्रष्टाचार, स्वेच्छाचारिता, निरंकुशता र अधिनायकवदी चरित्रको मार्ग कांग्रेसले कहिल्यै अवलम्बन गर्दैन। यो कुरा नेपाली जनताले बुझेका छन्। तथापि देशमा अस्थिरता र अराजकता नबढोस् भनेर एकपटक नेपाली जनताले भरपर्दो बहुमतका साथ नेकपालाई ऐतिहासिक जिम्मेवारी प्रदान गरेकै हुन्। बाँदरका हातमा नरिवल भनेजस्तै नेकपाले जनमतलाई दुरूपयोग गरेका कारणले वर्तमान संकटको भुमरीमा देश र जनताले आहत हुनुपरेको छ। यो आहत र छट्पटाहटबाट देश र जनतालाई मुक्ति प्रदान गर्न सक्ने पार्टी कांग्रेस नै हो।
यिनै सन्दर्भलाई मध्यनजर गर्दै कांग्रेसले जिल्ला, नगर, गाउँ र वडावडामा पुगेर जनचेतना जगाउने र जनताका दुःखकष्ट र समस्यामाथि सम्बोधन गर्नुपर्ने स्थितिलाई ‘अवसर र चुनौती’ को कुशल व्यवस्थापनमा निर्भर गर्छ। यसैगरी कांग्रेसले आफ्नो अन्तर्राष्ट्रिय प्रतिष्ठा र ख्याति पनि बचाएर दुई ठूूला महाशक्ति छिमेकीसित असल सम्बन्ध कायम राख्दै अगाडि बढ्नुपर्ने देखिन्छ। नेकपाको जस्तो पद, पैसा र कुर्सी मोहमा फसेर आफ्नो प्रजातान्त्रिक भाइचाराको छविलाई धुमिल तुल्याउन शोभाकर देखिँदैन। कांग्रेसका त्यागी, इमानदार र कर्मठ कार्यकर्ताको यथोचित मूल्यांकन र सम्मान गरेर पार्टीलाई शुद्धीकरण गर्दै एक्काइसौं शताब्दीको उदाहरणीय कांग्रेसमा रूपान्तरण गर्नुपर्ने थप जिम्मेवारी पनि नेतृत्व पंक्तिमा रहेको छ।
कांग्रेसमा अझै पनि सामन्तवादी दास मनोवृत्तिले जरा गाडेको छ। नेतापंक्तिचाहिँ मालिक र कार्यकर्ताचाहिँ दास हुन भन्ने मानसिकताले देशभरि जरा गाडेको छ एक्काइसौं शताब्दीको कांग्रेस नेतादेखि सर्वसाधारण कार्यकर्तासम्म समान छन् र तिनलाई समान हक, अधिकार र अवसर र जिम्मेवारीबाट सम्मानित तुल्याउन अबेर गर्नु हुँदैन। पार्टीको जग कार्यकर्ता हुन्। तिनको नैतिक मनोबल उच्च तुल्याउन सम्मान, सुरक्षा र स्वाभिमानको ऊर्जा भर्न आवश्यक छ। कांग्रेसप्रति नेपाली जनताको माया, भरोसा र सम्मान नभएको होइन। यी कुरा कांग्रेसले रक्षा गर्न नसकेकै कारण जनताबाट टाढिनुपरेको हो।
कम्युनिस्टहरू फुटेकै कारणले कांग्रेसले आगामी आम निर्वाचनमा बहुमत प्राप्त गरूँला भन्ने भ्रम पाल्नु निरर्थक हुनेछ। जनता सचेत भइसकेका छन्। पुराना र जीर्ण भइसकेका रोगी अनुहारलाई अब पनि जनताले स्वीकार गर्नेछन् भन्ने छैन। देश र जनताका आधारभूत समस्या सम्बोधन गरेर कार्यान्वयनतर्फ नजाने हो भने कांग्रेस पुरानै स्थितिमा नपुग्ला भन्न सकिन्न। यसका लागि नेतृत्व पंक्तिले आफ्ना सम्पूर्ण कार्यकर्तालाई सुरक्षा, सम्मान र पहिचान प्रदान गरेर जनस्तरमा सहभागी तुल्याउन कुशल ‘प्रशिक्षण र रणनीति’ को आवश्यकता पर्छ। तसर्थ यसबेला कांग्रेसका अघिल्तिर ‘अवसर र चुनौती’ दुवै छन्।
अवसरलाई उपयोग गरेर चुनौती सामना गरेर अगाडि बढ्न पारस्परिक मेलमिलाप नै भरपर्दो अस्त्र हो। यो मेलमिलाप राष्ट्रिय मेलमिलाप पनि हो र अन्तर्राष्ट्रिय मेलमिलाप पनि। मेलमिलापका नाममा बीपी कोइरालाको नामलाई मात्र ‘क्यास’ गरेर हिँड्दा कसैले विश्वास गर्ने छैनन्। यो मेलमिलाप शीर्षस्थ व्यक्ति र नेताका आत्मतहदेखि कार्यकर्ता हुँदै जनस्तर र छिमेकी तहसम्म पुर्याउन सक्नुपर्छ, जसको प्रत्याभूति यी उपभोक्ता तहलाई गराउनै पर्दछ।
नेपाल यसबेला इतिहासको कठिन मोडमा आइपुगेको हुँदा कांग्रेसले मात्र आफ्नो जिम्मेवार दायित्व निर्वाह गर्न सक्छ। राष्ट्रको अखण्डता र स्वाधीनतालाई रक्षा गर्ने सन्दर्भमा किञ्चित हेलचेक्य्राईं गर्न मिल्दैन। पार्टीलाई लोभीपापीहरूको समूहबाट माथि उठाउन देउवाले सम्पूर्ण कांग्रेसी कार्यकर्ताको मनोबल उच्च तुल्याउन एक्काइसौं शताब्दीको ‘क्लिन कांग्रेस’ मा रूपान्तरण गर्न ढिलाइ गर्न हुन्न।(अन्नपूर्ण )