दिन्छु भनेकाले पैसा नदिएपछि धुर्मुस-सुन्तलीले बनाउन लागेको रंगशालामा कामदारलाई ज्याला दिनै हम्मे


राजेश घिमिरे

भरतपुर महानगरपालिका-१५ मा यतिखेर देशकै महत्वपूर्ण मध्येको एक परियोजना अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम चलिरहेको छ। डेढ सय बढी कामदारले रंगशालाको प्याराफिट बनाउन पिलर उठाउनेदेखि पर्खाल लगाउने काम गरिरहेका छन्। ती कामको अनुगमनमा निरन्तर खटिरहेका भेटिन्छन् धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’।

रंगशालाको प्रवेशद्वारमै बनेको नमूना रंगशालामा त केही महिनाअघि राष्ट्रिय टिमका अधिकांश खेलाडीको सहभागितामा राष्ट्रिय प्रतियोगिता नै सम्पन्न गरिएको थियो।

झट्ट हेर्दा बन्दै गरेको रंगशालाको मुख्य क्रिकेट मैदान र प्याराफिटले पनि आकार लिइसकेको देखिन्छ। यही गतिमा काम अघि बढ्दा अबको एक वर्षमा रंगशाला तयार भइसक्ने दाबी धुर्मुस-सुन्तलीको छ।

उनीहरूलाई बढ्दो आर्थिक समस्याले रंगशाला निर्माणमा समस्या आउने हो कि भन्ने चिन्ताले सताएको छ।

अहिलेसम्म रंगशालाको मैदान निर्माणको काम ८५ प्रतिशत सकिएको छ। बाँकी काम २०० ट्रिपर पाँगो माटोको अभावमा ६ महिनादेखि रोकिएको छ। धुर्मुसकाअनुसार पाँगो माटो उपलब्ध भए केही दिनमै मैदानको काम सकिन्छ।

आकार लिइसकेको रंगशालाको मध्यभागमा नेपालको राष्ट्रिय झन्डा फहराउन थालेको हप्तौं भइसक्यो। मैदानबाहेकको काम पनि ३० प्रतिशत सकिएको परियोजना व्यवस्थापक जनार्दन शर्मा देवकोटाले बताए।

स्ट्यान्ड ए र बी दुबै प्याराफिटको जग तयार भइ प्लिन्थ बिमको काम सम्पन्न भइसकेको छ, २८६ वटा पिल्लर उठिरहेको छ। साउन १ बाट सुरू भएको पिलर निर्माणको काम ६ महिनाको अवधिमा यो अवस्थामा पुगेको देवकोटाले बताए।

पुस मसान्तसम्ममा रंगशालाले ३८ करोड ५४ लाख ९७ हजार १५५ रुपैयाँ खर्च गरिसकेको छ। तर अहिलेसम्मको आम्दानी भने करिब ३१ करोड रुपैयाँमात्रै छ। पछिल्ला दिनको पनि हिसाब गर्दा रंगशालाको आम्दानीभन्दा ८ करोड रुपैयाँ बढी खर्च भएको देखिन्छ। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा रंगशाला निर्माणका लागि ३ अर्ब ५५ करोड रुपैयाँ लाग्ने उल्लेख छ।

‘रंगशाला निर्माणको गति नघटोस् भनेर हामीले महिनौंदेखि उधारोमा सामान ल्याएर काम अघि बढाइरहेका छौं,’ धुर्मुसले भने, ‘सहयोगको क्रम अपेक्षाकृत रूपमा बढ्न सकेन, उधारो बढेको बढ्यै छ।’

त्यसो त रंगशालाका लागि बोलकबोल भएर पनि उठ्न नसकेको रकम हालसम्मको कुल खर्च रकमभन्दा करिब दोब्बरले बढी छ।

‘रंगशाला निर्माणका लागि सहयोग घोषणा गर्नेलाई हरेक दिनजसो फोन गरेर सम्झाउने गरेको छौं,’ फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिना भन्छन्, ‘तर उहाँहरू आफ्ना समस्या सुनाउनुहुन्छ, केही समय पर्खनु भन्नुहुन्छ। त्यसो भनेको पनि वर्ष बित्न लागिसक्यो।’

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि गत वर्षको माघ १९ देखि २६ गतेसम्म धनधान्याचल महोत्सव आयोजना गरिएको थियो।

प्रदेश सांसद विजय सुवेदीको संयोजकत्वमा जिल्लाका सरोकारवाला सहभागी रहेको मूल समितिले महोत्सव आयोजना गरेको थियो।

यसबाट ६९ करोड रुपैयाँ बोलकबोल भएको घोषणा गरिएको थियो। तर उक्त रकमको करिब १५ प्रतिशतमात्रै रंगशालालाई प्राप्त भएको छ। पुस मसान्तसम्ममा नगदै संकलन भएको ८ करोड ८१ लाख ९३ हजार ३४७ रुपैयाँ र जिन्सी सहयोगलाई नगदमा रूपान्तरण गरिएको एक करोड ३ लाख २३ हजार ६२८ रुपैयाँ मात्रै प्राप्त भएको तिमिल्सिना बताउँछन्।

महोत्सवमा नेपाल सरकारका विभिन्न निकायले ५१ करोड १२ लाख ३० हजार ८३२ रुपैयाँ सहयोग घोषणा गरेका थिए। तिमिल्सिनाकाअनुसार त्यसमध्ये करिब २५ लाख रुपैयाँमात्रै प्राप्त भएको छ।

धान्याचलमा बागमती प्रदेश सकारले ३० करोड रुपैयाँ सहयोग घोषणा गरेकोमा अहिलेसम्म एक रुपैयाँ पनि सहयोग गरेको छैन। बागमती सरकारले अहिलेसम्म रंगशालाका लागि विनियोजित बजेटबाट ३ करोड रुपैयाँ सहयोग गरेको छ। तर त्यो रकम धान्याचलमा बोलेकोभन्दा फरक रहेको रंगशाला स्रोत बताउँछ। प्रदेशले धनधान्यचल उल्लेख नगरी २०७७ भदौ ३१ गतेको निर्णयअनुसार आर्थिक सहायता अनुदान स्वरूप भनेर उक्त रकम उपलब्ध गराएको छ।

त्यसैगरी धान्याचल समितिले प्रकाशन गरेको स्मारिकामा भरतपुर महानगरपालिकाले महोत्सवमा १६ करोड ७५ लाख रुपैयाँ बोलकबोल गरेको छ। उसले अहिलेसम्म विनियोजित बजेटबाट ८ करोड रुपैयाँ सहयोग गरेको छ। यसमध्ये ४ करोड रुपैयाँ दिँदा धनधान्याचलको कुरा उल्लेख नगरी २०७७ कात्तिक २ गतेको निर्णयअनुसार एकमुष्ट अनुदान उपलब्ध गराइएको भनिएको छ। उक्त रकम महानगरले ५० लाख, १ करोड ५० लाख र २ करोड गरी तीन किस्तामा उपलब्ध गराएको थियो। महानगरले केही दिनअघि पारित गरेको पूरक बजेटमार्फत रंगशालालाई थप ४ करोड रुपैयाँ उपलब्ध गराएको छ।

धान्याचल महायज्ञका महासचिव दिनेशकुमार चुके भने प्रदेश सरकार र महानगरबाट प्राप्त भएको रकमलाई पनि महायज्ञबाटै उठेको रकममा समावेश गर्नुपर्ने बताउँछन्।

सहयोग समितिका संयोजकले नै दिएनन् बोलेको सहयोग
रंगशाला निर्माणका लागि सहयोग गर्ने भनेर बनेको सहयोग समितिका संयोजक कृष्णकुमार डल्लाकोटीले जिल्ला समन्वय समितिकातर्फबाट २ करोड २२ लाख २२ हजार २२२ रुपैयाँ सहयोगको घोषणा गरेका थिए। जिससका प्रमुख डल्लाकोटीले अहिलेसम्म पनि सो रकम उपलब्ध गराएका छैनन्।

उक्त रकममध्ये तत्काललाई ६० लाख उपलब्ध गराउन सक्ने जिससले रंगशालालाई जानकारी गराएको छ। तर उक्त रकम पनि अहिलेसम्म प्राप्त नभएको रंगशाला स्रोतले जनायो।

महोत्सवको आर्थिक व्यवस्थापन समितिका सदस्य टीकाराम लामिछानेकाअनुसार सरकारी निकायले बोलकबोल गरेको अधिकांश सहयोग रकम यस्तै प्राविधिक कारण देखाएर अड्काइदै आएको छ।

‘धनधान्याचल हुँदा सम्मानको लोभमा सहयोग घोषणा गरिहाले अहिले पैसा माग्न जाँदा अनेक बाहना बनाएर घुमाउने गरिएको छ,’ लामिछानेले भने, ‘धनधान्याचल महोत्सवको सुत्रधार जिससले नै आलटाल गरिरहेको छ भने अन्यको त के कुरा भयो र।’

गैंडाकोट नगरपालिकाले कबोल गरेको १ करोड, जिल्ला समन्वय महासंघले दिने भनेको ७७ लाख रुपैयाँ, मनहरी गाउँपालिकाले बोलेको ५५ लाख, माडी नगरपालिकाले बोलेको ३० लाख, कालिका नगरपालिकाको १५ लाख ५५ हजार ५५५, रत्ननगर नगरपालिकाको ७ लाख र राप्ती नगरपालिकाको ४ लाख रुपैयाँ अझै प्राप्त भएको छैन।

जिसस प्रमुखकै अग्रसरतामा चितवनका स्थानीय तह र गैंडाकोट नगरपालिकामासमेत सहयोग समिति बनाइएको थियो। तर ती समितिले सहयोग अभियान सञ्चालन नै नगरेको गुनासो रंगशाला निर्माणका अभियान्ता गर्छन्।

कबोल गरेको रकम नदिने पदाधिकारीदेखि सांसदसम्म
धान्याचल सञ्चालनको जिम्मेवारीमै रहेका व्यक्तिलेसमेत घोषणा गरेको रकम सहयोग गरेका छैनन्। महोत्सव सकिएको एक वर्ष हुनै लाग्दा पनि बोलेको रकम दिन चासो नदेखाउनेमा धेरै सांसद पनि छन्।

संविधान सभा सदस्यदेखि प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाका आधा दर्जन बढी सांसदले बोलेको रकम नदिएको समितिले जनायो। उनीहरूले ५० हजारदेखि ११ लाख ५१ हजार रुपैयाँसम्म बोलेका छन्।

देशभर चर्चा कमाएका व्यापारी, निर्माण व्यवसायीदेखि अस्पताल तथा मेडिकल कलेज सञ्चालकले बोलेको रकम पनि प्राप्त हुन सकेको छैन।

स्वघोषित सहयोग रकम उपलब्ध गराइदिन आग्रह गरी टेलिफोन गर्दा कतिपयले त कबुल नै बिर्सिसकेको पनि भेटिएको छ।

लामिछाने भन्छन्, ‘कतिपयलाई त बोलकबोल गर्दा आयोजकले सम्मान गरेको भिडिओ देखाएर सम्झाउनु परेको छ।’

बोलकबोलको रकम उठाउन धान्याचल आयोजकका तर्फबाट निरन्तर खट्दै आएका लामिछानेकाअनुसार रंगशाला निर्माणका लागि सर्वसाधारणले स्वत:स्फूर्त रूपमा सहयोग गरे पनि अन्यले सम्मानकै लागि मात्र सहयोग गरेको जस्तो देखिएको छ।

‘साना र तत्कालै नगद प्राप्त सहयोग हेर्दा चितवनका प्रायः घरबाट केही न केही सहयोग आएको देखिन्छ तर ठूलो रकम सहयोगको घोषणा गर्ने अधिकांशले धेरै पटक सम्पर्क गर्दा पनि सकरात्मक प्रतिकृया दिएका छैनन्,’ उनी भन्छन्, ‘उनीहरू पैसा माग्न जाँदा कोरोना महामारी, लकडाउनलगायतका कारण देखाएर पन्छिने गर्छन्।’

निजी क्षेत्रबाट घोषणा भएर पनि प्राप्त हुन नसकेको रकम एउटै संस्थाबाट एक करोड रुपैयाँसम्म छ।

धुर्मुस सुन्तली भन्छन्: उधारो तिर्न सकिएन
फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ उधारो तिर्न नसक्दा असाध्यै पीडा भएको सुनाउँछन्। रंगशालाका लागि धमाधम सहयोगको घोषणा भइरहँदा उनले व्यवसायीसँग करोडौं रुपैयाँका निर्माण सामग्री उधारोमा ल्याएका थिए। घोषणा गरिएको उल्लेख्य सहयोग रकमका कारण व्यवसायीले सहज रूपमा सामग्री उपलब्ध गराएका थिए।

स्वघोषणा गरिएको रकम प्राप्त हुन नसक्दा फाउन्डेसनले उधारोमा ल्याएको सामानको पैसा चुक्ता गर्न सकेको छैन।

‘बिहान उठेदेखि सुत्नुअघि सम्म उधारोको विषयमा मात्रै फोन आउँछ, बोलकबोल गरिएको रकम समयमै उठ्ला भनेर एक महिना भित्रैमा तिर्छौं भनि ल्याइएको सामानको पैसा एक वर्षसम्म पनि तिर्न सकिएको छैन,’ सुन्तली भन्छिन्, ‘हामीलाई भइरहेको मानसिक तनावको कुरा गरिसाध्य छैन।’

पछिल्ला दिनमा तुरून्तै पैसा देउ भनेर धम्क्याउने, थर्काउने शैलीमा पनि फोन आउने गरेको धुर्मुस बताउँछन्।

‘उहाँहरूले त्यसरी भन्नु पनि स्वभाविकै हो। हामीले समयमै तिर्नुपर्ने हो तर उठ्नु पर्ने रहक नउठेका कारण केही समय अझै पर्खनु पर्‍यो भनेर सम्झाउने गरेका छौं,’ उनी भन्छन्, ‘सञ्चार माध्यमबाट जानकारी पाउनेका लागि हामीले धान्याचलको ६९ करोड पनि पाइसक्यौं जस्तो भएको छ, तर हामीलाई हालसम्म नगद र जिन्सीगरी करिब १० करोड रुपैयाँमात्र प्राप्त भएको वास्तविकता कमलाई थाहा छ।’

उनकाअनुसार एउटै व्यवसायीसँग साढे तीन करोड रुपैयाँसम्मको सामग्री उधारोमा ल्याइएको छ।

धुर्मुस भन्छन्, ‘यो अवस्थामा त गतिमा गइरहेको काममै ब्रेक लाग्ने हो कि भन्ने चिन्ताले सताउँछ।’

गत दसैंमा कामदारलाई ज्याला दिन नसक्दा फाउन्डेसनले अध्यक्ष कट्टेल र कर्मचारीको नाममा ऋणसमेत लिएको थियो।

चितवनको समृद्धि सहकारीबाट कर्मचारीको नाममा ३० लाख र काठमाडौंको जेष्ट आइडोलोजी सहकारी संस्थाबाट कट्टेलको नाममा ६० लाख गरी ९० लाख रुपैयाँ ऋण लिएको थियो कामदारलाई ज्यादा दिइएको थियो।

यो ऋणको ब्याज र किस्ताको चाप पनि रंगशालालाई छ।

‘रकम अभावका कारण गत पुस महिनाको तलब अझै खुवाउन सकिएको छैन,’ धुर्मुस भन्छन्, ‘मजदुरको संख्या बिस्तारै घट्दै गएको छ।’

तैपनि कामलाई भने निरन्तरता दिइरहेको धुर्मुस बताउँछन्।

‘हामीले कोरोना महामारीबीच पनि एक दिन पनि नरोकी काम अघि बढायौं, दसैं, तिहार, छठ, माघे संक्रान्ति, सार्वजनिक बिदा केही पनि नभनी निरन्तर काममा खटिँदै आएका छौं,’ उनले भने, ‘अझै पनि हरेश खाइसकेका छैनौं। हामी सबैको रंगशालालाई सहयोग गरिदिनु पर्‍यो भनेर बिन्ती गर्दै हिँडिरहेका छौं।’

गत साउन १ गते रंगशालाको जग हाल्दा १८ महिना भित्रमा निर्माण गरिसक्ने उद्घोष फाउन्डेसनले गरेको थियो। धुर्मुस आवश्यक रकम प्राप्त भए सोही अवधिमा निर्माण कार्य सकिने बताउँछन्।

‘आगामी वर्ष त मुख्य मैदानमै अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सकिन्छ,’ उनी भन्छन्, ‘तत्कालका लागि घोषित रकम मात्रै प्राप्त भए पनि धेरै काम गर्न सकिन्छ।’

‘रंगशाला बनाएर आफ्नो कर्ममा फर्किहाल्न मन छ’
सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को जोडी नेपाली हाँस्यव्यंग्य क्षेत्रको सर्वाधिक चर्चित र सफल जोडी हो। नेपालमा शक्तिशाली भूकम्पले ठूलो क्षति पुर्‍याएपछि यो जोडीले सामाजिक क्षेत्रमा हात हालेको थियो।

उनीहरूको नेतृत्वमा स्थापना भएको धुर्मुस सुन्तली फाउन्डेसनले शुभेच्छुकबाट सहयोग संकलन गरी विभिन्न ठाउँमा एकीकृत बस्ती निर्माणगरी हस्तान्तरण गरेको थियो। पछि नेपालले क्रिकेटमा एक दिवसीय खेलको मान्यता पाएसँगै स्तरीय अन्तर्राष्ट्रिय रंगशालाको माग भएपछि यो जोडीले रंगशाला निर्माणको अभियान सुरू गरेको थियो।

जनताबाट सहयोग जुटाएर रंगशाला निर्माणका लागि बुटवल, पोखरा, हेटौंडालगायतका विभिन्न स्थानमा जग्गा हेरेको फाउन्डेसनले २०७५ सालको माघ १६ गते चितवनमा रंगशाला निर्माण गर्ने घोषणा गरेको थियो।

लगत्तै निर्माणको तयारीमा होमिँदा स्थानीय केही व्यक्तिले निर्माण स्थलमा डोजर चलाएपछि माहोल भड्किएको थियो। पछि धनधान्याचल महायज्ञ गरी रंगशाला निर्माणका लागि सहयोग रकम जुटाउने निर्णय गर्दै फाउन्डेसन पुनः निर्माण कार्यमा खटेको थियो।

‘अब रंगशाला निर्माणको काम तोकिएकै समयमा सकेर आफ्नो कर्ममा फर्किहाल्न मन छ,’ फाउन्डेसनकी उपाध्यक्ष कुञ्जना घिमिरे भन्छिन्, ‘दर्शकहरूले हामीलाई कुर्नुभएको धेरै समय भइसक्यो।’

घिमिरे राष्ट्रको रंगशाला निर्माण गर्न सबैले राष्ट्रियतालाई आत्मसात गरेर सहयोग गर्ने आशा गर्छिन्।

अध्यक्ष कट्टेल सामाजिक काममा मात्रै व्यस्त रहँदा कलाकार हुँ भन्ने पनि बिर्सिन थालिसकेको बताउँछन्। दिन रात नभनी रंगशाला निर्माणमा खटिँदा आफू पक्का मजदुर भएको जस्तो लाग्ने गरेको उनी बताउँछन्।

‘तर मेरो मूख्य पेशा कलाकारिता नै हो, मैले त्यहाँ अझै धेरै काम गर्न बाँकी छ,’ उनी भन्छन्, ‘अब जतिसक्दो चाँडो रंगशाला निर्माणको काम टुंग्याएर कलाकारितामा फर्कन चाहन्छु। यसका लागि सबैको सहयोगको अपेक्षा छ।’(सेतोपाटि )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.