कुवेत : रक्त क्यान्सरको कारणले अल्पायुमै ज्यान गुमाएकी कुवेतका लागि नेपाली श्रम सहचारी विपना ज्ञवालीको पार्थिव शरीर आइतबार (आज) विहान नेपाल पुग्ने भएको छ । कुवेतको जजिरा एयरलाइन्समार्फत शव ल्याउने तयारी भएको नेपाली दूतावास श्रोतले बतायो ।
करिव २८ वर्षकी ज्ञवाली गुल्मीको चिदिकाकी हुन् । अविवाहित रहेकी ज्ञवाली लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेकी थिइन् । तर अघिल्लो बुधबारदेखि उनलाई रोगले गम्भीर रूपमा च्यापेको थियोे । स्वास्थ्यमा सुधार नभएपछि शुरूमा उनले नेपाली दूतावास नजिकै रहेको मुभारक अल काबीर अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) परिक्षण गराएकी थिइन् । परीक्षणमा रिपोर्ट नेगेटिभ आएपनि उनलाई राहत भएन ।
त्यसपछि उनलाई मुवारक अस्पतालले शेखÞ अल वर्दिस क्यान्सर अस्पतालमा रिफर गरेर पठायो । कुवेतमा दाइ निरञ्जन ज्ञवाली र दिदी सपना ज्ञवालीसहित परिवारका सदस्य भएपनि उनको बसाइ एक्लै थियोे । तीन महिना अघि उनीसंगै कुवेत गएकी उनकी आमा गत शुक्रबार बिहान मात्र नेपाल फर्केकी हुन् । छोरीको आईसीयुमा भर्ना भएपनि उपचारमा अपेक्षित सफलता नभएपछि आमा पनि बस्न नसकेर नेपाल फर्केकी थिइन् । आमा नेपाल फर्केकै समय ज्ञवालीको निधन भएको थियो ।
लकडाउनको समयमा भएको प्रतिस्पर्धामा श्रम सहचारीमा छनोट भएकी ज्ञवाली तत्कालीन श्रम सहचारी ज्ञानेन्द्र शर्मा फर्केको दिन नै कार्यस्थल कुवेत पुगेकी थिइन् ।(NiremUpdate)