भोका नागरिकभन्दा सहरी सुन्दरताको चिन्ता !


काठमाडौंलाई मागिखाने सहरका रुपमा चिनाउने प्रयास नहोस् । विदेशमा नेपालीले कसरी आँखा जुधाउने ?’ भन्दै मेयर शाक्यले खाना बाँडिएकोमा आपत्ति जनाइरहँदा बुधबार साढे १२ समेत बजेको थिएन, यता खुलामञ्चमा रेशम बुढाथोकीको पेट खाली नै थियो, जो अरुनजिकै ह्वीलचियरमै खाना कुरिरहेका थिए ।
गोकर्ण गौतम
काठमाडौँ — बुधबार बिहान साढे १० बजे वीर अस्पतालतिरको खुलामञ्चको गेट छेवैमा भेटिए, रेशम बुढाथोकी । ह्वीलचियरमा रहेका उनले तौलियाले खुट्टा छोपेका थिए । ह्वीलचियरमै ब्याग उनिएको थियो । टाउकोमा टोपी अनि मुखमा मास्क थियो । ९ बजे खुलामञ्च आइपुग्नुपर्ने तर जाडो भएकाले उठ्नासाथ कोठाबाट निस्कन सकेनन् ।

घाम कुर्दाकुर्दै ढिला भइहाल्यो । अब उनी साढे १२ बजेसम्म भोकै बस्नुपर्ने भयो । ‘हाम्रो सानो प्रयास’ ले निःशुल्क खाना बाँडेर गइसकेछ । बुढाथोकी भन्दै थिए, ‘वीर अस्पतालका कुरुवा र मजस्ता छुटेकालाई खुवाउन फेरि साढे १२ बजेतिर आउँछन् । उनीहरूलाई नै कुरिबस्छु ।’ कोठामा मट्टीतेल र दाल नभएकाले खुलामञ्चमा खान आउनुपरेको पीडा उनले पोखे ।

सिन्धुपाल्चोकका बुढाथोकीले दुवै खुट्टाका घुँडामुनिको भाग गुमाएको १२ वर्ष बित्यो । दाहिने हातको दुई औंला छैनन् । रगत बाक्लो हुने समस्याले बरोबर सताउँछ । कहिलेकाहीं बोली नै रोकिन्छ, अस्पताल पुगिहाल्नुपर्छ । ज्यान जोगाउनकै लागि ६२ वर्षका बुढाथोकी जमलमा एक्लै बस्छन् ताकि केही हुनासाथ ह्वीलचियर आफैं गुडाएर वीर अस्पताल पुग्न सकियोस् । उनले यो दुःख प्रधानमन्त्री केपी शर्मा ओलीसामु पनि पोखिसकेका रहेछन् । ओलीसँग उनको पहिलो भेट लगभग चार वर्षअगाडि ट्रमा सेन्टरमा भएको थियो ।

स्वयंसेवीले बाँड्ने खाना खान बुधबार खुलामञ्चमा ह्वीलचियरमा पुगेका रेशम बुढाथोकी

त्यहाँ उनीजस्ता अन्य अशक्त र असहाय व्यक्ति पनि थिए । ‘त्यतिबेला मैले केपी ओलीको हात समाएर भत्ता बढाउनुपर्‍यो भनेको थिएँ, उनले मलाई धाप मार्दै ५ हजार पुर्‍याउँछु भनेका थिए तर अहिलेसम्म भएन,’ उनले भने । त्यसपछि दुई वर्षअगाडि भृकुटीमण्डपको चियापानमा पनि ओलीलाई भेटेर विपन्नता र अपांगताको सम्पूर्ण कागज बुझाएका रहेछन् । ‘त्यतिबेला पनि म बुझेर हुनेसम्म गर्छु भनेका थिए, मैले फोन नम्बर पनि दिएको थिएँ तर वास्तै गरेनन् ।’ बुढाथोकीको कमाइ भन्नु भत्ताबापतको ३ हजार रुपैयाँ मात्र हो । कोठाभाडा, औषधिमूलो, चामल, नुनतेल सबै आफैंले गर्नुपर्छ । ‘कहिलेकाहीँ कसै–कसैले सहयोग गर्छन्, त्यसैबाट भरथेग हुन्छ । अहिले बिहान यहाँ खुलामञ्चमा खान आउन थाल्या छु, अलि सजिलो भएको छ,’ यति भनेपछि उनलाई बोल्न गाह्रो भएछ, खल्तीबाट ‘हल्स’ चकलेट झिकेर मुखमा हाले ।

केही दिनयता उनको चिन्ता झन् बढेको छ । उनले पनि थाहा पाइसकेका छन्, काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना बाँड्न रोक्दै छ । त्यसैले बिहान कोठाबाट निस्कने बेला ‘आज बाँड्न रोक्यो भने त भोकै परिन्छ’ भन्ने भयले सताउँछ । ‘यहाँ खान नपाए भोकै हुने कति छन्, कति । कोही सात दिन, दस दिनमा खान पाइयो दाइ भन्छन् मलाई । पहिले पो काम गरेर खान्थे, अहिले त कामै पाउँदैनन् । अनि के खानु ? खाना बाँड्न रोक्यो भने यहाँ आउने आधा त भोकै मर्छन् होला,’ उनले रिसाउँदै भने, ‘सरकार आफैंले खुवाउनुपर्ने, खुवाएन । अरूले खुवाइरहँदा किन रोक्नुपर्ने ? मेयरसँग मानवता छैन ?’ बुढाथोकीसँग कुरा गरिरहँदा सोलुखुम्बुका यम राई नजिकै आए । धन्न, उनले बिहान खान भ्याएछन् । खाएपछि नाम्लो बोकेर एक घण्टा रत्नपार्क, वीर अस्पताल ’round र जमलतिर घुमेछन् तर भारी बोक्नै पाएनन्, कमाइ नभएपछि रन्थनिँदै खुलामञ्च आएको उनले सुनाए । ‘जे पाए पनि गर्थें तर केही पाइन्न । घर बनाएको ठाउँमा पनि इन्डियनलाई मात्र काम दिन्छन्,’ निराश हुँदै उनले भने, ‘यहाँ आएर भात खान्छु अनि दिनभर काम खोज्छु ।’

ज्यामी काम गर्ने दोलखाकी पम्फा थापा पनि चैत १५ गतेदेखि यहीँ खाना खाइरहेकी छन् । आफूसँगै दुई साना छोरी पाल्नुपर्ने जिम्मेवारी छ उनलाई । तर नाम्लो बोकेर चारतिर डुल्दा पनि कमाइ नहुने उनले दुखेसो पोखिन् । ‘लकडाउन लागेपछि त हामीलाई दशा लाग्यो, अहिले लकडाउन खुल्यो भन्छन् तर कालीमाटीमा तरकारी बोक्नसमेत पाइन्न,’ ४२ वर्षीया थापाले भनिन् । काम नपाउँदा पनि खुलामञ्चमा खान पाइरहेकी थिइन् तर यहाँ पनि खान बाँड्न नपाउने सुनेपछि उनको मन अत्तालिएको छ, सँगै महानगरपालिकासँग रिस बढेको छ । ‘कि हामीलाई काम दिनुपर्‍यो, नत्र हाम्रो बालबच्चालाई पालिदिनुपर्‍यो । आफू केही नगर्ने, अरूले हामीलाई खुवाउँदा पनि रिस गर्ने ?’ ठूलो स्वरमा उनले भनिन्, ‘जो खाना बाड्न दिन्नँ भनेर आउँछ, त्यसैसँग भिड्छौं हामी ।’

पम्फाहरूले यस्तो पीडा पोखेको केही मिनेटमै खुलामञ्चबाट नजिकै रहेको राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘कोही नगरबासी भोकै बस्नु पर्दैन तर खुलामञ्चसहित खुला ठाउँमा खाना बाँड्न रोक्नुपर्‍यो । काठमाडौंलाई मागिखाने सहरका रूपमा चिनाउने प्रयास नहोस् ।’ उनको ज्यादा चिन्ताचाहिँ त्यसरी खाना वितरण गर्दा ‘महानगरको सुन्दरता ह्रास भयो, लाज मान्नुपर्ने अवस्था आयो’ भन्नेतिर थियो ।

महानगरले शुक्रबार खुलामञ्चमा हठात् नगरप्रहरी पठाएर निःशुल्क खाना वितरणमा रोक्ने प्रयास गरेको थियो । त्यसपछि सोमबार सईको कमान्डमा आएका दस नगर प्रहरीले फेरि बिथोल्न खोजे । कोरोनाको सबल व्यवस्थापनमा फेल भएको महानगरले कोरोनाकै कारण रोजगारी गुमाएर बिहान–बेलुका छाक टार्न नसकेका विपन्न नागरिकलाई अभियन्ताहरूले निःशुल्क खाना खुवाउँदा अवरोध गरेपछि चौतर्फी विरोध भयो । ‘सञ्चार माध्यम र सामाजिक सञ्जालमा फैलिएको त्यही भ्रम निवारण गर्ने’ भन्दै सोमबार महानगरले पत्रकार सम्मेलन गरेको थियो । जहाँ मेयर शाक्यले भने, ‘खुलामञ्चमा खाना खुवाएर इज्जत बढ्दैन, सबैले देख्ने ठाउँमा होइन, सुरक्षित ठाउँमा खुवाउनुपर्छ ।’ मेयरलाई अहिले यसो भने पनि चैत ११ गते लकडाउन भएलगत्तै स्वतन्त्र अभियन्ताहरूले खुलामञ्चसहित राजधानीका विभिन्न स्थानमा निःशुल्क खाना खुवाउन थालेका थिए ।

खाना वितरण रोक्नका लागि जनस्तरबाटै व्यापक गुनासो आएको मेयर शाक्यले जिकिर गरे । तर उनले कसले, कहाँ, कसरी यस्तो गुनासो गर्‍यो र एक्कासि रोक्नुपर्ने स्थिति आइलाग्यो भन्ने प्रश्नको जवाफ भने दिएनन् । बरु लकडाउनका दौरान महानगरले ३२ वटै वडामार्फत ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नाराका साथ बेरोजगार, अशक्त र असहायलाई खाना खुवाएको दाबी गरे । त्यस अवधिमा महानगरले १ लाख ५० हजारभन्दा बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाएको शाक्यको दाबी छ । ‘तर निःशुल्क खुवाउनभन्दा श्रम गर्न लगाउनुपर्छ, श्रमप्रतिको सम्मानमा जागृत गराउनुपर्छ, अल्छी बनाउनु हुन्न । सीप र सामर्थ्यको आधारमा जीवन निर्वाहका लागि पारिश्रमिक दिने जिम्मा हाम्रो हो,’ उनले भने । यसका लागि ‘महानगरको कार्यपालिका बैठकले जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७’ पारित गरेको उनले बताए ।

मेयर मात्र होइन महानगरका वडाध्यक्षहरूले पनि खुला ठाउँमा खाना बाँड्दा महानगरको प्रतिष्ठामा आँच आएको बताए । वडा नम्बर १० का अध्यक्ष रामकुमार केसीले भने, ‘काठमाडौंको मुटुमै खुला रूपले खाना बाँड्दा गरिमा गुमेको छ । भीड जम्मा गरेर खाना खुवाउनु उचित होइन ।’ त्यस्तै वडा १६ का अध्यक्ष मुकुन्द रिजालले व्यक्तिगत र राजनीतिक स्वार्थका लागि काठमाडौंलाई मागिखाने सहरका रूपमा चिनाउन खोजिएको आरोप लगाए ।

सुरक्षा विधि अपनाएर स्वस्थकर खाना खुवाउन पार्टी प्यालेसको व्यवस्था गरिदिने र त्यसको भाडा महानगरले तिरिदिने मेयर शाक्यले आश्वासन दिए । तर लकडाउनयता निरन्तर निःशुल्क खाना वितरण गरिरहेको ‘हाम्रो सानो प्रयास’ का अभियन्ता पुकार बम भने पाँच महिनादेखि समन्वयका लागि महानगरसँग आग्रह गरे पनि सुनुवाइ नभएको बताउँछन् । ‘नागरिकलाई खाना, छाना र नानाको व्यवस्था गर्नुपर्ने प्रधान दायित्व राज्यकै हो । हामीले समन्वयका लागि पटक–पटक भन्यौं तर महानगरले सुन्दै सुनेन,’ बम भन्छन्, ‘अहिले हटाइदिनुस् मात्र भनिरहेका छन्, प्रभावकारी विकल्प छैन । घरमै खान पुग्यो भने सडकमा आएर कसले खान्छ ? यत्ति त बुझिदिनुपर्‍यो नि ।’ विपन्न नागरिकको पीडा महसुस गरेर नभई भ्रष्टाचार र लाज लुकाउन महानगरले एक्कासि निःशुल्क खाना वितरण रोक्न खोजेको उनको आरोप छ । यद्यपि उनले महानगरले पार्टी प्यालेसको प्रबन्ध गरिदिए त्यहीं खाना खुवाउने बताए ।

काठमाडौंको सौन्दर्यप्रति निकै संवेदनशील देखिएका मेयर शाक्यले त यतिसम्म भन्न भ्याए, ‘खुलामञ्चमा खाना बाँडेर विपन्नता देखाएकाले काठमाडौंको ऐतिहासिक र साँस्कृतिक सहरको परिचय धुमिल भएको छ । यस्तै भइराख्ने हो भने विदेशमा बस्ने नेपालीले त्यहाँका मान्छेसँग कसरी आँखामा आँखा जुधाएर कुरा गर्न सक्छन् ?’ मेयरले यसो भनिसक्दा पनि साढे १२ बजेको थिएन, यता खुलामञ्चमा रेशम बुढाथोकीको पेट खाली नै थियो, ह्वीलचियरमै खाना कुरिरहेका थिए ।(कन्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.