‘सिमेन्ट कारखानाको कालो धुवाँबाट नेपालमै बनाउन सकिन्छ मल’


वार्षिक साढे ६ लाख मेट्रिकटन युरिया मल उत्पादनको सम्भावना छ : विज्ञ
नवीन ढुंगाना
२३ भदौ, काठमाडौं । देशभर रासायनिक मलको अभाव चुलिएको बेला नेपालमै मल कारखाना खोल्ने बहस पनि चुलिएको छ । मल कारखानाको अध्ययन गर्न कृषि मन्त्रालयले सचिवको नेतृत्वमा उच्चस्तरीय समितिसमेत गठन गरेको छ । भारतबाट पाइपलाइनमार्फत प्राकृतिक ग्यास ल्याएर मल कारखाना चलाउने कुरा एकथरीले गरेका छन् । तर नेपाली ऊर्जा विज्ञ भने ८ ठूला नेपाली सिमेन्ट कारखानाबाट निस्किने कालो धुवाँ र स्वदेशी बिजुलीबाटै नेपाललाई पुग्ने युरिया मल उत्पादन गर्न सकिने दाबी गर्छन् ।

नेपालमा मल कारखाना खोल्ने’bout ३६ वर्षअघि सन् १९८४ मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले ९ महिना लगाएर अध्ययन प्रतिवेदन तयार गरेको थियो । प्रतिवेदनले दुईवटा विधिमार्फत युरिया उत्पादन गर्न सकिने सिफारिस गरेको त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ अन्तर्गतको ऊर्जा अध्ययन केन्द्रका प्राध्यापक डा.जगन्नाथ श्रेष्ठले बताए ।

सरकारको अभिलेखमा नरहेको ५ सयभन्दा बढी पेजको उक्त प्रतिवेदनले हेटौँडा सिमेन्ट कारखानाको धुवाँ, भारतबाट आयात गरिने कोइला, खोलाको पानी, वायुमण्डलको हावा र बिजुलीबाट नेपालमा मल कारखाना सञ्चालन गर्न सकिने सुझाव दिएको थियो । ३६ वर्षपछि प्राविधिक छरितोपन बढेको, नेपालमा बिजुली प्रसस्त मात्रामा उत्पादन भएको र कालो धुवाँको लागि सिमेन्ट कारखानाको संख्या पनि यथेष्ट भएकाले झन् अनुकूल रहेको श्रेष्ठ बताउँछन् ।

जाइका प्रतिवेदनको सार

सन् १९८४ मा जापानी टोली अध्ययनका लागि नेपाल आएको थियो । १९८४ को अन्त्यतिर दिइएको जाइकाको प्रतिवेदनमा सन् १९८८ को जनवरीमा नेपालमा रासायनिक मलको कारखाना बनाउन सुरु गरियो भने ०९१ को जुलाईमा उत्पादन थाल्न सकिने उल्लेख थियो । हेटौंडा सिमेन्टको वरिपरिको क्षेत्रमा कारखाना सञ्चालन गर्न सकिने प्रतिवेदनमा भनिएको थियो । प्रतिवेदनअनुसार तत्कालीन समयमा उक्त कारखानाका लागि ७६.१ मेगावाट बिजुलीको आवश्यकता पर्दथ्यो ।

यस्तै, औद्योगिक पानी ४८ हजार टन, वायुमण्डलको हावा (अट्मोसफेरिक) हावा १९ हजार क्युबिक मिटर, फ्ल्यु ग्यास (सिमेन्ट प्लान्टबाट बाहिर निस्कने कालो धुवाँ) ३२ हजार ४५९ क्युबिक मिटर आवश्यक पर्दथ्यो । प्रतिदिन २७५ टन कोइला खपत हुने कारखानाबाट ६ हजार ६० मलको बोरा उत्पादन गर्न सकिन्थ्यो । यसरी एउटा सिमेन्ट उद्योगबाट हरेक दिन २७५ टन युरिया मल उत्पादन गर्न सकिने प्रतिवेदनमा उल्लेख थियो ।

तत्कालीन समयमा एउटा सिमेन्ट उद्योगमा युरिया मल प्लान्ट बनाउन २ अर्ब २६ करोड ९२ लाख रुपैयाँ लागत पर्ने अनुमान गरिएको थियो । एक अमेरिकी डलरको नेपाली विनिमय दर १५ रुपैयाँ ६५ पैसा हुँदा जाइकाले १४५ मिलियन डलर खर्चमा आयोजना बनाउन सकिने अध्ययनमा उल्लेख गरेको थियो । आयोजनाको कुल खर्चमा ३० प्रतिशत कच्चा पदार्थ नेपालमै उपलब्ध हुन्थ्यो भने मेसिनरीसहितको सामान बाहिबाट आयात गर्न ७० प्रतिशत रकम खर्च हुने उल्लेख थियो ।

प्रतिवेदनको प्रतिकूलता

जाइकाले मल कारखाना खोल्न प्रतिवेदन बुझाएका बेला नेपालमा १२२ मेगावाट मात्रै बिजुली उत्पादन हुन्थ्यो । प्रतिवेदनले एउटा आयोजनाका लागि ७६.१ मेगावट बिजुली चाहिने भनेको थियो, जुन सम्भव थिएन । तर २५० मेगावाटको सप्तगण्डकी जलविद्युत परियोजना बनाउने प्रक्रिया अगाडि बढाइएकाले त्यहाँबाट बिजुली प्राप्त गर्न सकिने प्रस्ताव प्रतिवेदनमा थियो ।

नेपालमा तत्कालीन समयमा प्राकृतिक ग्यासको सम्भावना नभएका कारण बिजुलीबाट नै मल उत्पादन गर्नुको विकल्प नभएको जाइकाको ठहर थियो । जाइकाले कच्चा पदार्थको उपलब्धताको आधारमा मल उत्पादन हुने रासायनिक कम्पोजिसन सहितको दुई विधि औंल्याएको थियो ।

पहिलो विधिः वायुमण्डलको हावा, हाइड्रो कार्बन (प्राकृतिक ग्यास) र पानी अमोनिया प्लान्टमा प्रशोधनपछि प्लान्टबाट एमोनिया र कार्बनडाइअक्साइड युरिया प्लान्टमा पठाइन्छ । युरिया प्लान्टको प्रशोधनपछि युरिया मल बन्छ । यो विधिमा कोइला र बिजुलीको काम प्राकृतिक ग्यासले गर्छ ।

दोस्रोे विधिः यो विधिमा बिजुली र सिमेन्ट उद्योगको कालो मुस्लो धुवाँबाट युरिया मल बनाउन सकिन्छ । यस विधिमार्फत नेपाली उद्योगले नै हरेक दिन २७५ टन युरिया मल उत्पादन गर्न सक्ने ऊर्जाविद् डा.जगन्नाथ श्रेष्ठ बताउँछन् ।

मल उत्पादनको यो विधिमा पहिलो चरणमा तीनवटा प्लान्ट रहन्छन् । पहिलो प्लान्ट इलोक्ट्रोलाइसिसमा पानी दिँदा हाइड्रोजन र अक्सिजन छुट्टिन्छ । त्यसपछि एमोनिया प्लान्टमा हाइड्रोजन पठाइन्छ । यहाँबाट निस्किएको अक्सिजन प्रशोधन गरेर ठूलो परिमाणमा बिक्री गर्न सकिन्छ । वायुमण्डलको हावा नाइट्रोजन प्लान्टमा पठाइन्छ र त्यहाँबाट शुद्ध नाइट्रोजन निकालेर एमोनिया प्लान्टमा पठाइन्छ । नाइट्रोजन र हाइड्रोजन प्लान्टमा पठाइएपछि त्यो एमोनिया बन्छ र त्यसलाई युरिया प्लान्टमा पठाइन्छ ।

यस्तै, तेस्रो कार्बनडाइअक्साइड प्लान्टमा सिमेन्ट उद्योगबाट निस्कने कालो धुवाँ पठाइन्छ । त्यहँँबाट फिल्टर गरेर शुद्ध कार्बनडाइअक्साइड युरिया प्लान्टमा पठाइन्छ । कार्बनडाइअक्साइड र एमोनियाबाट युरिया प्लान्टमा प्रशोधनपछि युरिया मल बन्छ ।

‘एकाध वर्षमै गर्न सकिन्छ मल उत्पादन’

मल उत्पादनको मुख्य कच्चा पदार्थको रुपमा प्राकृतिक ग्यासलाई मानिएको विज्ञहरू बताउँछन् । नेपालमा नभएको उक्त ग्यासको साटोमा बिजुली र सिमेन्ट कारखानाबाट उत्पादन हुने कालो धुवाँ प्रमुख कच्चा पदार्थ हुनसक्ने प्रा. डा. श्रेष्ठको भनाइ छ ।

ऊर्जाविद डा.जगन्नाथ श्रेष्ठ
नेपालमा ६१ वटा सिमेन्ट उद्योग सञ्चालनमा रहनु र अर्को वर्षदेखि बिजुली फालाफाल हुने प्रक्षेपण नै मल कारखाना खोल्न सकिने अनुकूलता भएको उनको बुझाइ छ ।

‘६१ मध्ये ८ वटा ठूला सिमेन्ट उद्योगमा प्रतिउद्योग एक सय मेगावाट बिजुली राज्यले दिने हो भने ती उद्योगबाट दैनिक २ हजार २ सय टन युरिया मल उत्पादन हुन्छ,’ प्रा.डा. श्रेष्ठले भने ।

वर्षमा ती उद्योग ३ सय दिन मात्रै चल्छ भन्ने मान्यता राख्ने हो भने पनि ६ लाख ६० हजार मेट्रिक टन मल उत्पादन हुने र यसले वार्षिक ७ लाख मेट्रिक टनको मागलाई धान्ने उनको दाबी छ ।

जाइका प्रतिवेदनले एउटा आयोजनाका लागि कोइलासहित ७६.१ मेगावाट बिजुली चाहिने भने पनि पूर्णरुपमा बिजुलीबाट मल कारखाना चलाउन मोटामोटी एक सय मेगावाटले पुग्ने र यसबाट कोइला विस्थापित हुने प्रा. डा. श्रेष्ठको भनाइ छ ।

तर यसका लागि निजी क्षेत्रका उद्योगीसँग मिलेर विज्ञहरुसहित राज्यको पहलकदमी भने महत्वपूर्ण हुनु पर्ने उनी बताउँछन् ।(अन्लाईनखबर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.