भारतबाट आउनेभन्दा जाने तेब्बर


शिवराज भट्ट
धनगढी : यति बेला भारतबाट स्वदेश फर्किने नेपालीको तुलनामा उतै जानेको संख्या झन्डै तीन गुणा बढी देखिएको छ। कञ्चनपुरको डोके बजार प्रहरी चौकीको तथ्यांक छ– भदौ १३ गतेपछि एक सातामा भारतबाट ६ सय २८ जना नेपाल फर्किएका छन्। भारत पस्नेको संख्या भने त्यही अवधिमा १ हजार ५ सय ५२ छ। ‘अहिले नेपाल आउनेभन्दा भारत पस्नेको संख्या बढी छ’, डोके बजार चौकीका प्रहरी नायब निरीक्षक भूपाल थापाले भने, ‘नेपालमा रोजगारी नै पाइएन भन्छन्। कोरोनाको डर पनि लाग्दैन भन्छन्।’ कैलालीको त्रिनगर नाका भएर दैनिक २ सय ५० जना भारत जान थालेका छन्। भारतीय पक्षले उनीहरूको आधारकार्ड भए जान दिने गरेको छ। आधारकार्ड नभएकाहरू पनि आफ्ना ‘मालिक’ नाकामै आउन थालेपछि भारत पस्न सजिलो भएको छ।

कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाका बुद्धि साउद फेरि भारत पसेका छन्। गुजरातको एक अपार्टमेन्टमा काम गर्ने साउद लकडाउन हुने हल्ला चलिरहेकै बेला गत फागुन २० गते स्वदेश फर्केका थिए। ‘६ महिना नुनतेलकै लागि समस्या भयो। नेपालमा केही काम पाइएन। घरमा २ छोरी, श्रीमती, आमा र २ भाइ छन्। उनीहरूलाई पाल्नु परेन ? घरको कमाउने व्यक्ति मै हुँ’, आक्रोशित देखिएका उनले भने, ‘आउने बेला पनि यही सोध्छन्, जाने बेला पनि।’

यस्तै, सुर्खेतको लेकबेसीका रणबहादुर राईसहित १५ जनाको समूह पनि गौरीफन्टा नाकामा लाइनमा थियो। ‘सिमला जान लागेको, त्यहाँ अहिले जानेबित्तिकै काम पाइँदो रहेछ’, राईले भने।

भारतको सिमला स्याउको पकेट क्षेत्र हो। अहिले त्यहाँ स्याउ टिप्ने समय हो। कर्णाली र सुदूरपश्चिम प्रदेशका बासिन्दा सिमलामा स्याउ टिप्न अन्य महिला र बालबालिकालाई लिएरै जान थालेका छन्।

राई लकडाउनका बेला चैत पहिलो हप्ता नेपाल फर्किएका थिए। ‘पेट पाल्न कोरोना पचाइन्छ’, उनले भने। भोकले मर्नुभन्दा जोगिएर बसे कोरोनाबाट नमरिने उनको भनाइ छ।

कञ्चनपुरको पुनर्बास–१ ढक्काका सुरेश साउद पनि गौरीफन्टा नाकामै भेटिए। ‘ श्राद्ध गरियो। पितृहरूबाट आशीर्वाद मागियो। अब परिवार पाल्नकै लागि भारत जान लागेको’, साउदले भने, ‘हाम्रो देशमा काम पाइने भए भारत जानु के रहर थियो र ? काम पाइँदैन अनि भारत जानुको विकल्प छैन।’

उनीसहित पाँच जनालाई लिन दिल्लीका व्यवसायीले गाडी नै पठाएका रहेछन्। पाँचै जना दिल्लीमा सुरक्षा गार्डमा काम गर्छन्। ‘मालिकले पारिपट्टि (भारत) गाडी पठाइदिनुभएको छ। अब कोरोनाबाट बच्दै काम गरिन्छ’, उनले भने, ‘काम गर्नु नि पर्छ, कहिलेसम्म घरभित्रै सुतिराख्नु त ? ’

कैलालीको जानकी गाउँपालिका–५ पथरैयाका भरतसिंह विक नयाँदिल्लीमा एक रेस्टुरेन्टमा काम गर्थे। भारतमा लकडाउन भएपछि रेस्टुरेन्ट सञ्चालकले घर पठाइदिए। मालिकले बोलाएकाले उतै जान लागेको उनले सुनाए।

‘मुगल रेस्टुरेन्टमा गार्ड थिएँ। त्यति बेला लकडाउन हुने भनेपछि चार पाँच दिनअघि नै आइहालें’, उनले भने, ‘घरमा नुनतेल त चाहियो। नेपालमा सबैतिर बन्द छ। भारतमा सबै होटल, कलकारखाना, व्यापार व्यवसाय खुलिसक्यो।’ सुदूरपश्चिम प्रदेशको साढे २५ लाख जनसंख्याको ३० प्रतिशत जनसंख्या कामका लागि भारत आउजाउ गर्ने गरेको गैरसरकारी संस्था दाबी गर्छन्।(अन्नपूर्ण )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.