संक्रमितलाई पाइलैपिच्छे सास्ती


संक्रमितलाई भर्ना गर्न स्थानीय तह र जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिस चाहिन्छ । यही बेला प्रहरीले घरमा सिल गरिदिन्छ,संक्रमित क्षेत्र भनेर ब्यानर र पम्प्लेट टाँसिदिन्छ । नाम, ठेगाना सार्वजनिक भएपछि संक्रमित र परिवारका सदस्यसँग समुदायको व्यवहार बदलिन्छ ।
मकर श्रेष्ठ
काठमाडौँ — भक्तपुर सूर्यविनायकका एक पुरुषलाई साउन २८ मा कोरोना संक्रमण पुष्टि भयो । मधुमेह, उच्च रक्तचापका दीर्घरोगी हुनाले कोरोनाको कुनै लक्षण नभए पनि आत्तिए । अस्पतालको आइसोलेसनमा जान वडा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी), स्वास्थ्य सेवा विभाग हुँदै मन्त्रालयका पदाधिकारीलाई गुहारे । तीन दिनपछि बल्ल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा ठाउँ पाए । संक्रमण पुष्टि भएको सोह्रौं दिनमा उनी अस्पतालबाट डिस्चार्ज भएर घर आउँदा परिवारका कोही थिएनन् । अघिल्लो दिनै संक्रमण देखिएर उनका श्रीमती, छोरा र सालो आइसोलेसन गइसकेका थिए ।

ती पुरुषलाई कोरोना पोजिटिभ देखिएको नवौं दिनमा परिवारजनको स्वाब संकलन गरिएको थियो । तेस्रो दिनमा पीसीआर रिपोर्ट पोजिटिभ आयो । उनका छोरा र सालोलाई लक्षण पनि देखिएको थियो । उनीहरूले आइसोलेसनमा जान चाहँदा स्थानीय तह र जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिस चाहिने भयो । संक्रमितलाई आइसोलेसनमा पठाउन बाँकी नै थियो । तर उनीहरूको बसेको घर छेउमा प्रहरीले कोरोना संक्रमित क्षेत्र भनेर कागज टाँसिसकेको थियो । ‘कोरोना पोजिटिभ देखिनेबित्तिकै समुदायमा सबै जना डराएका थिए । संक्रमित भएको थाहा पाएको तीन दिनसम्म पनि घरमै बसेपछि हल्ला फैलियो,’ संक्रमित महिलाले भनिन्, ‘त्यसपछि हामीलाई विभेद हुन थाल्यो ।’

संक्रमित तीन जनाले वडा र जनस्वास्थ्यले ढिलाइ गरिदिँदा आइसोलेसन सेन्टर जान तीन दिन कुर्नुपरेको थियो । ‘त्यो पनि भनसुन गर्नुपर्‍यो,’ संक्रमितका आफन्त सुमन लुइँटेलले भने, ‘टोलमा अझै कन्ट्याक्ट ट्रेसिङ भएको छैन ।’ संक्रमितलाई अस्पताल भर्ना गर्न र एम्बुलेन्सको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता, टेकु अस्पतालका निर्देशकलाई हारगुहार गरेको उनले बताए । यसअघि ईडीसीडीले संक्रमितलाई सिधै आइसोलेसनमा पठाउँथ्यो । मन्त्रालयको सिफारिसमा मात्रै आइसोलेसनमा जान पाइने व्यवस्थाले संक्रमितलाई सास्ती थपेको छ ।

लुइँटेलका अनुसार वडाले जिल्लालाई, जिल्लाले मन्त्रालयमा जानकारी गराएपछि मात्रै उनीहरूलाई आइसोलेसनमा लगियो । ‘आफूलाई संक्रमण भएपछि चिन्तामा परेकाहरूलाई व्यवस्थापन गर्ने प्रक्रिया नै झन्झटिलो रहेछ । यसले झन् पीडा थप्दो रहेछ,’ लुइँटेलले भने । संक्रमित भएको क्षेत्रमा निर्मलीकरण पनि आफ्नै खर्चमा गर्नुपरेको उनले सुनाए ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले लक्षण नभएका संक्रमितलाई पनि अस्पतालमा भर्ना गर्दा लक्षण देखिएकालाई उपचार गर्न शय्या अभाव हुने भएकाले मन्त्रालयको सहमति चाहिने व्यवस्था गर्नुपरेको बताए । ‘संक्रमितलाई झन्झट र पीडा हुने प्रावधान राखेका छैनौं,’ उनले भने, ‘भर्ना हुन स्थानीय तहको कुनै पनि सिफारिस आवश्यक पर्दैन ।’

अस्पताल गएपछि पनि कष्ट खेप्नुपर्छ । काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोटको आइसोलेसनमा बसेका प्रहरी प्रधान कार्यालयका प्रहरीले अस्पतालको सेवाको असुन्तष्टि जनाएका छन् । अस्पतालको आइसोलेसनमा रहँदा दिनहुॅ नजाँचिदिँदा उनी आत्तिएका थिए । ‘अस्पतालमा सुरुमा जाँदा चिकित्सक र नर्सले अवस्था सोधखोज गरे तर त्यसपछि वास्तै गरेनन,’ डिस्चार्ज भइसकेका उनले भने, ‘केही समस्या भयो भने फोन गर्नु है भन्थे । कहिल्यै डाक्टर आएनन् ।’ त्यहाँ लक्षण नभएका पुरुषलाई मात्रै आइसोलेसनमा राख्ने गरिन्छ ।

१४ दिन आइसोलेसनमा बसेर डिस्चार्ज हुने बेला ती प्रहरीले पीसीआर गरिदिन आग्रह गरेका थिए । तर पीसीआरको ५ हजार ५ सय र आरडीटीको १ हजार ५ सय रुपैयाँ शुल्क मागिएपछि उनी परीक्षण नगराई कार्यालय फर्के । कार्यालय प्रमुखले भने उनलाई लगत्तै टेकु अस्पतालमा पीसीआर गर्न पठाएका थिए । केएमसी अस्पतालका प्रवक्ता दीपक बस्नेतले आइसोलेसनमा भर्ना भएजति सबै खुसी भएर जाने गरेको दाबी गरे । ‘उहाँहरूलाई के कुरामा चित्त बुझेन, हामी सम्पर्क गर्छौं,’ उनले भने, ‘आइसोलेसनमा नर्स र चिकित्सकले संक्रमितको अवस्था नियमित बुझ्ने व्यवस्था गरेका छौं ।’

विदेशबाट यात्रु ल्याएपछि सोल्टी होटलको क्वारेन्टाइनमा बसेका नेपाल वायु सेवा निगमका पाइलट र एयरहोस्टेस संक्रमण देखिएपछि असार २३ मा बलम्बुको सशस्त्र प्रहरीको अस्पतालको आइसोलेसनमा लगिएको थियो । त्यहाको सुविधामा चित्त नबुझाएपछि निगमले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर उनीहरूलाई ह्याम्स अस्पतालमा सार्‍यो । ‘बलम्बुमा जति समय बस्यौं एक वर्ष बसेजस्तै भयो,’ एक संक्रमितले भने । २४ घण्टाभन्दा बढी अस्पताल बस्दा स्वास्थ्य’bout बुझ्न कोही नआएको उनीहरूको आरोप थियो । ह्याम्समा शुल्क महँगो भएको भन्दै सोल्टी होटलमै आइसोलेसन बनाएर लगिएको थियो । ‘दिनकै ४० हजार बिल आएको भन्दै सोल्टी लगिएको थियो,’ एक संक्रमितले भने । सशस्त्र प्रहरी अस्पताल प्रशासनले भने संक्रमित सबैलाई समान व्यवहार गरेको जनाएको छ । ‘हाम्रोमा जे सुविधा छ त्यही प्रयोग गर्ने हो,’ अस्पतालका एक चिकित्सकले भने, ‘अरू सबैले चित्त बुझाएका छन् । उहाँहरूलाई हामीले चित्त बुझाउन सकेनौं । उहाँहरूको लागि छुट्टै खाना र बेड व्यवस्था गर्न सक्ने अवस्था पनि थिएन ।’

कुरुवा नै संक्रमितको स्याहारमा

भरतपुरको चितवन मेडिकल कलेजमा एक महिलाको मुटुको शल्यक्रिया भयो । शल्यक्रिया गर्नुअघि पीसीआर गरिएको थियो । शल्यक्रिया भएको २४ घण्टापछि रिपोर्ट आयो कोरोना पोजिटिभ । उनलाई कोरोना संक्रमितका लागि छुट्याइएको आईसीयूमा सिफ्ट गरियो । संक्रमित महिलाका आफन्तले सोचे– अब उपचार अस्पतालले गर्छ । शुल्क तिर्नु पर्दैन । उनको सम्पर्कमा आएका सबैको पीसीआर हुन्छ ।

उनीहरूको सोचाइ गलत सावित भयो । बिरामीको स्याहार कुरुवाले नै गर्नुपर्ने भयो । ‘आमा जस्तैजस्तै अरू संक्रमितहरू पनि भएको ठाउँमा सामान्य मास्क लगाएर हामी बाध्यताले जानुपर्ने भयो,’ संक्रमितकी छोरीले भनिन्, ‘नजाऊँ भने आमाको उपचार भइरहेको हुन्छ । जाऊँ भने कोरोना संक्रमितहरू हुन्छन् ।’ त्यही कक्षमा कुरुवाले बाहिर लगाएको लुगामाथि गाउन मात्रै लगाएर जानुपर्ने अवस्था छ । ‘संक्रमित आमाको पिसाब पनि मैले नै फ्याँक्नुपर्छ । खाना खुवाउने, आमाको अनुहार धोइदिने पनि मैले गर्नुपर्छर्,’ उनले भनिन्, ‘आईसीयूमा सरसफाइ गर्नसमेत कोही आउँदैन ।’ अस्पतालमा संक्रमित र अन्य समस्याले भर्ना भएका बिरामी छन् । उनीहरूका कुरुवाको भेट क्यान्टिन र फार्मेसीमा बारम्बार भइरहन्छ । मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले संक्रमित राखिएको आईसीयूमा कुरुवालाई रोक्न नसकिएको स्विकारे । ‘हामीले सबैलाई रोक्न सकेका छैनौं । जबरजस्ती गइरहेका छन्,’ उनले भने, ‘क्यान्टिन र फार्मेसी संक्रमित र अन्य रोगका बिरामीका लागि फरक गरेका छौं । संक्रमित र अन्य रोगका लागि प्रवेश गर्ने ठाउँ नै फरक बनाएका छौं ।’

दुर्व्यवहारको गुनासो

संक्रमित भएकै कारण हेपाइमा परेको चन्द्रागिरीका एक पशु चिकित्सकको गुनासो छ । जनप्रतिनिधिले मध्यरातमा घरबाट उठाएर लगे पनि अस्पतालमा शय्या खाली नभएपछि फर्काई घरमै राखेर पीडा दिएको पाइएको ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत लीलाविक्रम थापाले बताए । ‘स्थानीयको विरोधपछि हामीले भोलिपल्ट उहाँलाई आइसोलेसनमा पठायौं,’ उनले भने । काठमाडौं चन्द्रागिरि नगरपालिकाका ८ का वडा अध्यक्ष सन्तोष खड्का र स्थानीय बासिन्दा मिलेर अमरावती हाउजिङमा बसेका उनलाई राति नै एम्बुलेन्स बोलाएर बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पठाएका थिए । उनलाई दुर्व्यवहार नगरेको वडाध्यक्ष खड्काले दाबी गरे ।

बयोधा अस्पतालकी ल्याब टेक्निसियनलाई अरूलाई कोरोना सारेको आरोप टोलबासीले लगाए । उनीपछि परिवारका सदस्य, काकाको घरमा भाडामा बस्ने र वडाकै दुई युवासहित १२ जनालाई कोरोना सक्रमण पुष्टि भएको थियो । ‘यतिसम्म कि मलाई संक्रमण देखिएपछि घरअगाडिको बाटो प्रहरीले बन्द गरेको थियो,’ उनले भनिन्, ‘गर्भवती भाउजूलाई गाह्रो हँॅदा अस्पताल लैजान न एम्बुलेन्स आयो न त आफन्त नै । औषधि ल्याइदिनेसमेत कोही भएन ।’

दुईथरी रिपोर्टले झन्झट

ललितपुर लुभुका संक्रमित एक पुरुषले त दुईथरी रिपोर्ट आउँदा अनेक झन्झट बेहोरे । ती पुरुषको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रिपोर्ट नेगेटिभ र पाटनमा पोजिटिभ आयो । असार २१ गते दिउँसो १२ बजे ती पुरुषले टेकुस्थित शुक्रराज ट्रपिकलमा स्वाब दिएका थिए, अपराह्न ४ बजेतिर पाटनमा । टेकुमा भोलिपल्टै रिपोर्ट नेगेटिभ आएको थाहा पाउँदा उनी खुसी थिए तर तेस्रो दिन पाटन अस्पतालको रिपोर्टले उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसमा पुर्‍यायो । पाटनको रिपोर्टलाई विश्वास नगरेर आइसोलेसन नजाने भन्दै अड्डी कसेर एक दिन त उनी घरमै बसे । तर टोल छिमेकको दबाब थेग्न सेकनन् । ‘आइसोलसनमा ५ दिनमा दुईपटक पीसीआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएँ,’ उनले भने । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले स्वाब सही तरिकाले ननिकाल्दा रिपोर्ट फरक पर्न सक्ने उनले बताए । ‘नाक र मुखबाट नै स्वाब लिएको छ भने रिपोर्ट सही आउन सक्छ । मुखबाट मात्रै लिएको छ भने रिपोर्ट फरक पर्न सक्छ,’ उनले भने ।

लुभुका यी युवाको फरक ल्याबमा फरक रिपोर्ट आएको थियो । तर प्रतिनिधिसभाका सांसद यज्ञबहादुर बोगटीको एउटै ल्याबबाट एक दिनअघि नेगेटिभ आयो भने अर्को दिन पोजिटिभ । नेकपाका महासचिव विष्णु पौडेलका पीएसओलाई पोजिटिभ देखिएपछि बोगटी र उनका पीएले साउन ३० मा स्वाब दिएका थिए । पीएको ३१ गते नै कोरोना पोजिटिभ रिपोर्ट आयो भने बोगटीको नेगेटिभ । ‘नेगेटिभ आएपछि म आफन्त र परिवारसँग घुलमिल भएँ तर भोलिपल्ट तपाईंको रिपोर्ट पोजिटिभ छ भनेर पो खबर आयो,’ उनले भने । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी गुप्ताले रिपोर्ट तयार हुनेबित्तिकै ‘अटोमेटिक’ म्यासेज जाने भएकाले कहिलेकाहीँ गलत हुने बताए । ‘मोबाइलमा एसएमएस गलत गए पनि रिपोर्ट जे हो त्यही निकालेर ईडीसीडीमा पठाउँछौं,’ उनले भने, ‘केहीको त एसएमएस सच्याउँछौं । होइन भने ईडीसीडीले फोन गरेर जानकारी दिन्छ ।’

निगरानीबिनाको होम आइसोलेसन

संक्रमणका कुनै लक्षण तथा चिह्न नभएका र सामान्य लक्षण भएका संक्रमितलाई आफ्नै घरमा आइसोलेसनमा बस्न दिने मापदण्ड बनेको छ । यसका आधारमा साउन दोस्रो सातादेखि घरमै आइसोलेसन राख्न थालिएको हो । स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार होम आइसोलेसनमा राखिएका संक्रमितको स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी (नर्स वा प्यारामेडिक्स) ले दिनमा दुईपटक फोन वा एसएमएस गर्नुपर्ने हुन्छ । संक्रमितको स्वास्थ्य अवस्था बुझेर अभिलेखसमेत राख्नुपर्ने हुन्छ । होम आइसोलेसनमा ५० जना संक्रमित बराबर १ जना स्वास्थ्यकर्मीको व्यवस्था पर्ने मापदण्ड छ । ‘स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले हामीलाई फोन गर्ने त कागजमा मात्रै होला । हामीले फोन गर्दा पनि राम्रो रेस्पोन्स हुँदैन,’ घरमै आइसोलेसन बसेर कोरोनामुक्त भइसकेका संसद् सचिवालयका सहसचिव रोजनाथ पाण्डेले भने, ‘कन्ट्याक्ट ट्रेसिङ गर्दिनुस् भनेर कतिपटक फोन गरेँ । स्थानीय तहबाट नभएपछि मैले ईडीसीडीको टिमलाई बोलाएर ११ औं दिनमा परिवारका सदस्यको पीसीआर गराएँ ।’

एक सिमेन्ट कम्पनीकी कर्मचारी लक्षणसहित कोरोना देखिएपछि स्वास्थ्य मन्त्रालय, विभाग, ईडीसीडीका पदाधिकारीलाई गुहार्दा पनि सुनुवाइ नभएपछि घरमै बसे । ‘मलाई गाह्रो भयो अस्पताल जाने व्यवस्था गर्दिनु भन्दा हिँड्दै अस्पताल जानुस् न भन्छन्,’ सिनामंगलमा कोठामा बस्ने ती संक्रमितले भने, ‘जति फोन गरे पनि वास्ता नगरेपछि कोठामै बसेर बेसार, अदुवा र कागती पानी खाइरहेको छु ।’ सुरुमा लक्षण देखिए पनि अहिले निको भइसकेको उनले बताए । उनलाई कोरोना देखिएपछि सम्पर्कमा हुनेको कन्ट्याक्ट ट्रेसिङ भएको छैन । होम आइसोलेसनमा बस्नलाई पनि छुट्टै बाथरुम भएको, प्रसस्त मात्रामा उज्यालो छिर्ने, भेन्टिलेसन भएको कोठा हुनुपर्छ । स्वास्थ्य मन्त्रालयका अनुसार होम आइसोलेसनमा बस्ने ६ हजार ४ सय ४५ जना छन् ।

कन्ट्याक्ट ट्रेसिङको पिरलो

कालिमाटीका सइ र प्रहरी जवानलाई जेठ ७ मा कोरोना पुष्टि भयो । उनीहरू त्यही दिन बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भए । तर उनीहरूसँग सम्पर्कमा आएकालाई पीसीआर गर्दा गाह्रै पर्‍यो । बानेश्वरमा कोठा भएका सइले आमालाई केही दिनअघि ललितपुरको महालक्ष्मी नगरपालिकाको सानागाउँमा बहिनीको घरमा छाडेका थिए । उनी संक्रमित भएको समाचार आएपछि सानागाउँका बासिन्दाले ती प्रहरीकी बहिनीको घर घेराउ गरे । वडा अध्यक्ष, नगर प्रमुखले संक्रमितका आफन्तको तत्काल पीसीआर गरिदिन भन्दै सातदोबाटोका प्रहरीलाई समेत दबाब दिए । ‘म संक्रमित भएको थाहा पाएपछि मेरा बहिनी, ज्वाइँ र आमालाई यतिसम्म सताए कि कुरा नगरौं,’ ती प्रहरीले भने, ‘मूल गेटमा गाउँलेले ताल्चासमेत लगाइदिए ।’

बयोधा अस्पतालको ल्याबमा काम गर्ने कर्मचारी संक्रमित भएपछि महिना दिनअघि भेट्नेले समेत पीसीआर गराइदिन दबाब दिएका थिए । काठमाडौं उपत्यकामा दिनमा ३ सय ५० हाराहारी संक्रमित फेला परे पनि कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी नभएपछि काठमाडौं मेयर फोरमले संक्रमितको सम्पर्कमा रहेका २८ हजार जनाको पीसीआर गर्ने निर्णय गरिसकेको छ । उनीहरूको योजना सफल पार्न ईडीसीडीले हरेक स्थानीय तहमा एक जना प्रतिनिधि पठाएको छ । ‘हामीले तीनै जिल्लाका स्थानीय तहका मेयरहरूसँग बसेर योजना बनाएका छौं,’ ईडीसीडीका निर्देशक डा. वासुदेव पाण्डेले भने, ‘अब कन्ट्याक्ट ट्रेसिङमा समस्या हुँदैन ।’ स्थानीय तहमा खटिएका प्रतिनिधिले ईडीसीडीमा हरेक साँझमा आफ्नो क्षेत्रको अवस्था जानकारी गराउनुपर्ने व्यवस्था मिलाइएको उनले बताए ।

संक्रमितलाई एम्बुलेन्स र प्रहरीदेखि डर

समुदायले दुर्व्यवहार गर्ने डरले संक्रमितहरू सुटुक्कै अस्पताल जान चाहन्छन् । घरमा हुलका हुल प्रहरी र साइरन बजाउँदै आउने एम्बुलेन्सबाट पनि संक्रमित त्रसित हुने गरेका छन् ।

पीसीआर गराउँदा पोजिटिभ देखिए त्यसको जानकारी ईडीसीडीलाई दिइन्छ । ईडीसीडीले अस्पताल लैजानुपर्ने संक्रमितको नाम, ठेगाना र फोन नम्बर नेपाल एम्बुलेन्स सेवा १०२ र जिल्ला जनस्वास्थ्य कार्यालयलाई पठाउँछ । यसकै आधारमा प्रहरी र एम्बुलेन्स संक्रमितको घरमा पुग्छन् । प्रहरीले घर सिल गर्छ भने एम्बुलेन्सले संक्रमितलाई आइसोलेसन लैजान्छ । यही कारण कुन घरमा को संक्रमित भनेर हल्ला चल्छ । ‘संक्रमित भएलगत्तै र निको भएपछि पनि समुदायले छिःछि र दुरदुर गर्ने भएकाले एम्बुलेन्स चढ्न घरदेखि अलि टाढा बोलाउँछन्,’ १०२ एम्बुलेन्सका चालक धर्म रिमालले भने ।

कुनै घरमा संक्रमित भेटिँदा उसका परिवार र आफन्तलाई समेत दुर्व्यवहार गरेको समेत पाइएको ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकारी उत्तमकुमार कोइरालाले बताए । काठमाडौंको माछापोखरीमा एक परिवारका दम्पतीलाई कोरोना देखिएपछि अरू सदस्यलाई पसलमा जानसमेत दिइएन । चितवनका एक चिकित्सक कोरोना पुष्टि भएपछि घरमै आइसोलेसनमा बसेका थिए । तर टोलबासीले संक्रमितको घर भनेर ब्यानर टाँसिदिए । काठमाडौंको धुम्बाराहीमा होम आइसोलेसनमा बसेका चिकित्सकलाई २१ दिनपछि पनि पीसीआर रिपोर्ट नभएको भन्दै घरबाट बाहिर निस्कन दिइएन । सामाखुसीमा ज्योतिष पेसा गर्ने एक पुरुषले कोरोना देखिएर निको भएपछि पनि समुदायबाट दुर्व्यवहार भएपछि कोठा छाड्नुपर्‍यो । चन्द्रागिरि नगरपालिका १२, हरियाली बस्तीमा कोरोना नेगेटिभ आएपछि पनि घरबेटीले निकालेर पठाए । चाबहिलमा रेस्टुरेन्ट व्यवसाय गर्ने श्रीमान्श्रीमतीलाई कोरोना देखियो । घरमै आइसोलेसन बसेर उनीहरूले संक्रमण जिते तर घरबेटीले कोठा छाड्न बाध्य बनाए ।

समुदायका सदस्यले दुर्व्यवहार गरेपछि घरबाट निस्केर रात नै पुलमुनि काटेको दृष्टान्त पनि छ । ‘दुर्व्यवहारकै कारण घरबाट निस्केर पुलमुनि बसेकालाई हामीले उद्धार गरेर अस्पतालको आइसोलेसनमा पठायौं,’ ईडीसीडीका निर्देशक डा. वासुदेव पाण्डेले बताए ।

सरकारी कमजोरीले दुर्व्यवहार

भक्तपुरमा भदौ ६ मा ५० जना संक्रमित देखिए । तीमध्ये ३ जना पहिल्यै निको भएका थिए । ४७ जनाको भने नाम, ठेगाना र मोबाइल नम्बर नै सार्वजनिक भयो । फेसबुक म्यासेन्जरबाट एकपछि अर्को व्यक्ति हुँदै संक्रमितको नाम सार्वजनिक भएको थियो । ‘म संक्रमित भएको कुरा मेरो टोलमा मात्रै होइन वडाभरि थाहा भयो,’ कौशलटारका संक्रमितले भने, ‘मेरो नाम सार्वजनिक गर्ने वा नगर्ने अधिकार मलाई मात्रै छ । यो विवरण कहाँबाट सार्वजनिक भयो ? छानबिन होस् ।’ प्रहरीले कोरोना संक्रमित क्षेत्र भनेर ब्यानर, पर्चा टाँस्ने गरेको छ । यसले पनि संक्रमित र उसको परिवारलाई थप पीडा दिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले यसरी ब्यानर पर्चा नटाँस्न बारम्बार आग्रह गरिसकेको बताए । ‘यो कार्यले संक्रमितको मनोबल कमजोर हुन्छ । उसको परिवारलाई दुर्व्यवहार हुन्छ । यस्तो गलत काम नगरिदिन आग्रह गर्छु,’ उनले भने ।

ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले संक्रमितलाई भेदभाव गर्दा झन् रोग फैलने सम्भावना हुने बताए । ‘कोरोना लागेको मान्छेलाई समुदायले विभेद गर्ने घटना हुँदा पीसीआर पनि गर्न मान्दैनन् । संक्रमित भए पनि अरूसँग घुलमिल भइरहेका हुन्छन्,’ उनले भने, ‘रोग भनेको जसलाई जतिखेर पनि लाग्न सक्छ । विभेद गर्नेले पहिला आफूलाई बिरामीको ठाउँमा राखेर हेर्नुपर्ने हुन्छ ।’( कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.