कांग्रेसमा तातिँदै महाधिवेशनको माहोल


आम कार्यकर्ताले भरोसा राखे पनि युवा नेताहरूले यसै महाधिवेशनमा नेतृत्वको महत्त्वाकांक्षा राखेर अघि बढ्ने हिम्मत देखाएका छैनन् । उनीहरू वृद्ध नेताहरूकै फेर समातेर नेतृत्वको भर्‍याङ चढ्ने दाउमा छन् ।
कुलचन्द्र न्यौपाने
काठमाडौँ — केन्द्रीय कार्यालय सानेपामा ०७५ वैशाख ११ मा निर्वाचनमा हारको विषयलाई लिएर नेताहरूबीच आरोपप्रत्यारोप जारी रहेका बेला कांग्रेसका सात सदस्यले निर्वाचन समीक्षासहितको ५१ पृष्ठको कार्यदिशामूलक प्रस्ताव प्रस्तुत गरे । ती नेता थिए चन्द्र भण्डारी, धनराज गुरुङ, गगनकुमार थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, जीवन परियार र रामकृष्ण यादव ।

उमेरले डाँडा कटेका, विचारले भुत्ते भएका, सोचमा तदर्थवाद भएकाले नेतृत्व गर्दा समाजका चुनौती सामना गर्न नसक्ने उनीहरूको निष्कर्ष थियो । ‘०४८ सालमा जसरी विचार र संगठनमा ढोका बन्द भए । त्यसरी नै नेतृत्वमा रहेका पुराना मान्छेको स्वाभाविक बहिर्गमन र नयाँ मान्छेको आगमन नहुनाले एजेन्डा, विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरी जस्तो भएको छ,’ दस्तावेजमा भनिएको थियो, ‘त्यसैले अहिलेकै नेतृत्वलाई खोज्नु जनादेश र मतादेशलाई नबुझ्नु हो ।’
त्यही दस्तावेजमा प्रश्न गरिएको थियो, ‘पार्टीको चुस्त संगठन चलाउन प्रस्ट सैद्धान्तिक खाका त कोर्‍यौं तर त्यसलाई चलाउन नेतृत्व शिथिल र यथास्थितिवादी छ भने संगठनमा गतिशीलता कसरी आउँछ ?’ उनीहरूले शीघ्र महाधिवेशनको माग गर्दै नेतृत्व चयन गर्ने अन्तिम अधिकार कार्यकर्तामा निहित रहेको र त्यसको निक्र्योल महाधिवेशनले गर्ने बताएका थिए । तर शीघ्र होइन, नियमित महाधिवेशनसमेत यसबीचमा भएन ।

शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको कार्यकाल गत फागुन मध्यमै सकिएको हो । युवाको दबाब, सामाजिक सञ्जालमा भएको आलोचनाले सभापति देउवालाई छोएन । बरु, बहुमतबाट आफ्नो विरोधी खेमालाई लतार्दै अघि बढ्न सफल देखिए । आफ्नो कार्यकाल थप्दा होस् वा पहिलो पटक महाधिवेशनको तालिका ल्याउँदा, देउवाले बहुमतबाटै निर्णय गराए । यसबीचमा सात नेतासहित पार्टीका थुप्रै युवा नेताको जोस, जाँगरमा शिथिलता छायो । न उनीहरूले अघि सारेको एजेन्डालाई बोक्न नेतृत्व तयार भयो, नत नेतृत्वका लागि जबर्जस्त हस्तक्षेप गर्न सक्ने मोडमा उनीहरू पुगे । आगामी फागुन ७–१० गते हुने भनिएको महाधिवेशनबाट चयन हुने नेतृत्वको विषयमा यतिबेला ती युवाको होइन, अहिले नेतृत्वमै रहेको शीर्ष पुस्ताकै चर्चा छ । आम कार्यकर्ताले भरोसा राखे पनि युवा नेताहरूले यसै महाधिवेशनमा नेतृत्वको महत्त्वाकांक्षा राखेर अघि बढ्ने हिम्मत देखाएका छैनन् । वृद्ध नेताहरूकै फेर समातेर नेतृत्वको भर्‍याङ चढ्ने दाउमा उनीहरू छन् ।

केन्द्रीय सदस्य प्रदीप पौडेल केन्द्रीय कार्यसमितिमा रहेका एक दर्जन युवा नेताले अझै पनि आँट र साहस गरेर संगठित हुने हो भने पहिलो पुस्तालाई चौधौं महाधिवेशनबाटै सम्मानजनक विस्थापित गराउन सकिने बताउँछन् । तर, युवा नेताहरू विभाजित छन् । अर्का केन्द्रीय सदस्य एनपी सावद युवा नेताहरू स्वार्थमा विभाजित हुँदासम्म यस्तो हस्तक्षेपकारी भूमिका सम्भव नहुने बताउँछन् । ‘मुद्दा र मूल्यमा आधारित भएको भए संगठित हुन सकिन्थ्यो, तर त्यस्तो छैन । स्वार्थमा आधारित समूह छ, त्यसले युवालाई एकै ठाउँमा ल्याउन सकेको छैन,’ उनले भने, ‘तैपनि नेतृत्व तहमा युवा आउने निश्चित छ । कुन तह र चरणमा भन्ने कुरा मात्रै हो ।’

विभाजित बनाएर नेतृत्वमा टिकिरहने पहिलो पुस्ताको चलाखीबाट युवा नेताहरू जोगिन नसकेको तर्क पौडेलको छ । ‘अहिलेको नेतृत्वको बलियो सिन्डीकेट पार्टीमा छ । एक्लो प्रयासले त्यसलाई तोड्न सम्भव थिएन । आम निर्वाचनलगत्तै युवा संगठित हुन खोजिरहेका थियौं । तर स्वार्थ देखाएर विभाजित गर्ने काम नेतृत्वबाट हुन थाल्यो,’ उनले भने, ‘अहिलेको नेतृत्व परीक्षण भइसकेकाले आम जनमानसलाई अपिल गर्न सक्ने आकर्षण छैन । जनताले विश्वास गर्न सक्ने अवस्था पनि छैन । हाम्रो पुस्ता संगठित रूपमा जाने संकल्प गर्ने हो भने यसै पटक नेतृत्व परिवर्तन सम्भव छ । अब नेतृत्वसहित सबै परिवर्तन आवश्यक छ ।’ तर, नियति एउटा घटनामा जुट्ने, अर्को घटनामा पुगेर फुट्ने प्रवृत्ति युवा नेतामा देखिएको छ ।

विश्लेषक गेजा शर्मा वाग्ले युवा नेताहरूले आफ्नो एजेन्डामा पुराना पुस्ताका नेतृत्वलाई डोर्‍याउन थालेकाले नेतृत्व तहमा हस्तक्षेप हुन सक्ने आशा राख्छन् । सरकारले जारी गरेको नयाँ राजनीतिक र प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिन ल्याइएको संविधान संशोधनको विधेयक र कोभिड–१९ संक्रमणका दिशामा युवा नेताहरूको एजेन्डामा नेतृत्व आइपुगेको उनको दाबी छ ।

कांग्रेसमा पहिला सभापतिको एकल निर्णय चल्थ्यो । त्यसबाट रूपान्तरण हुँदै ‘किचन क्याबिनेट’ मा सर्‍यो । अहिले पदाधिकारी हुँदै केन्द्रीय कार्यसमितिले निर्णय गर्नुपर्ने अवस्था बनेको छ । केन्द्रीय कार्यसमितिमा पुगेपछि युवा नेताहरूको एजेन्डाले निर्णय प्रक्रियालाई प्रभावित बनाउन सुरु भएको शर्माको भनाइ छ । ‘राष्ट्रियताको मुद्दाप्रति अहिलेको नेतृत्वको चासो र प्राथमिकता त्यति थिएन । सरकारले ल्याएको विधेयक पनि भित्रैबाट रुचाइएको थिएन । यसमा मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलसहित युवा पंक्तिले पोजिसन लिइदिए । त्यसैलाई निर्णय गराउन नेतृत्वलाई कन्भिन्स गराए,’ उनले भने, ‘यो घटनाक्रमले पनि युवा नेता नेतृत्व तहमा आउने क्रम अब सुरु हुन्छ ।’ यसै पटक पहिलो तहमा युवा आउनेमा भने उनी विश्वस्त छैनन् । ‘शेरबहादुर देउवा, रामचन्द्र पौडेललाई अहिले नै चुनौती दिने अवस्थामा युवा नेता पुगिसकेका छैनन् तर यस पटक दोस्रो पोजिसन लिएर अर्को महाधिवेशनमा नेतृत्वमै आइपुग्ने निश्चित छ,’ शर्माले भने ।

पार्टीका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी सामूहिक प्रयत्न भए यसै पटक पनि युवाले नेतृत्व लिन सक्ने परिस्थिति बन्ने बताउँछन् । उनका अनुसार कांग्रेसमा मात्रै नभई लोकतान्त्रिक विचार र समूहमा आबद्ध नागरिकले युवा पुस्ताप्रति नै भरोसा राखेर अभिमत दिइरहेका छन्, लबिइङ गरिरहेका छन् । ‘हामीले पनि आफूलाई अब्बल प्रमाणित गर्नुपर्छ । सामूहिक एकतासाथ अघि बढ्नुपर्छ,’ उनले भने, ‘त्यस्तो हुन सके १४ औं महाधिवेशनमै पनि कुनै फरक कर्नरबाट युवालाई नेतृत्वका लागि अघि सार्ने सम्भावना हुन्छ ।’

पहिलो र दोस्रो पुस्तालाई छाड्ने हो भने अहिले चर्चामा रहेका युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्मा पनि महामन्त्रीभन्दा माथि प्रतिस्पर्धा गर्ने अवस्थामा देखिँदैनन् । थापा संस्थापन इतर र शर्मा संस्थापन पक्षबाट महामन्त्रीका स्वाभाविक दाबेदार छन् । थापाले पार्टीभित्रको सिन्डीकेट तोडेर नेतृत्व तहमा आउन कति कठिन छ भन्ने १३ औं महाधिवेशनमै भोगिसकेका छन् । त्यतिबेलै महामन्त्री बन्न उनले कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको तेस्रो धार समातेका थिए तर जित्न सकेनन् । यस पटक त्यही गल्ती दोर्‍याउने पक्षमा उनी छैनन् । एक्लो प्रयासले अहिलेको नेतृत्वलाई हटाउन नसकिने ठाउँमा उनी आइपुगेका छन् । नेता रिजाल पनि पहिलो पुस्ताबाट अब पार्टी चल्न नसक्ने निष्कर्षमा छन् । तर नेतृत्व फुत्काउन त्यति सजिलो नभएको उनको बुझाइ छ । रिजालको पनि पहिलो पुस्तालाई नेतृत्वबाट हटाउनेतिरभन्दा आफू महामन्त्री बन्नेतिरै ध्यान छ ।

प्रतिस्पर्धाले विवाद बढाउँदै

कोभिड–१९ संक्रमणले सिर्जित परिस्थितिले कांग्रेसको आन्तरिक विवाद केही समय मत्थर भएको थियो । असार २२ को केन्द्रीय कार्यसमितिले आगामी फागुन पहिलो सातामै महाधिवेशन गर्ने निर्णय लिएसँगै कांग्रेसभित्र महाधिवेशन केन्द्रित विवाद बल्झन थालेको छ ।

पार्टीभित्र र बाहिरका सबै खाले मुद्दालाई यति बेला महाधिवेशनको चस्माबाट हेर्ने गरिएको छ । नेकपाभित्र चर्कंदै गएको द्वन्द्वमा कांग्रेसले बनाउने विचार र लिने बाटो पनि महाधिवेशनको मुद्दाले निर्धारण गर्ने देखिन्छ । नेकपा विभाजन भइहाले कांग्रेसले आफूलाई कसरी अगाडि बढाउला भनेर पाटीभित्र अहिल्यैदेखि विभिन्न कोणबाट बहस भइराखेको छ । ‘नेकपाभित्रको शक्ति संघर्ष र पार्टीको आसन्न महाधिवेशनले हामी पनि नजानिँदो ढंगले विवादमा फस्दैछौं,’ कांग्रेसका एक नेताले भने, ‘सभापतिले चाहेको अर्को पक्ष (वरिष्ठ नेता रामचन्द्र पौडेल) ले नमान्ने, अर्को पक्षले खोजे जस्तो बाटोमा सभापति नहिँड्ने परिस्थिति खडा हुँदै छ ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीच असार १७ गते भएको गोप्य भेटवार्ताको उदाहरण दिए । उक्त भेटप्रति पौडेल पक्षले शंका गरिरहेकै छ । केन्द्रीय कार्यसमिति बैठकमै सबैभन्दा पहिला उनैले भेट’bout जानकारी गराउन माग गरेका थिए ।

रणनीति र अंकगणितमा सिपालु देउवा

पार्टीभित्रको शक्ति संघर्षका मुख्य ‘स्ट्राइकर’ सभापति देउवा र वरिष्ठ नेता पौडेल हुन् । उमेरले पौडेल ७६ र देउवा ७५ वर्ष लागे । पहिलो पटक प्रधानमन्त्री बन्दा देउवा ४९ वर्षका थिए । त्यसयता उनी चार पटक प्रधानमन्त्री बने । एकीकृत पार्टीको सभापति उनले ०७२ फागुनबाट सम्हालेका हुन् । पार्टी नेतृत्व लिन उनले कोइराला परिवारसँग २० वर्ष संघर्ष गर्नुपरेको थियो । सुशील कोइरालाको देहावसानपछि १३ औं महाधिवेशनले उनलाई सभापति बनाएको हो । त्यसअघि पार्टी विभाजन गेरर उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक) का सभापति भएका थिए । देउवा आफ्नो समूहलाई मजबुत बनाएर १४ औं महाधिवेशनबाट पनि पार्टी नेतृत्वमा आफूलाई निरन्तरता दिने कसरतमा लागेका छन् ।

सार्वजनिक रूपमा अपिल गरेर पार्टीका मतदातालाई आकर्षित गर्ने मुद्दा देउवासँग छैन । शासन सत्तामा रहँदाका थुप्रै विवादास्पद निर्णयले उनको छवि बिग्रेको छ । उनी सभापति भएका बेला स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीले नराम्रो पराजय भोग्यो । पार्टी सञ्चालनमा पनि सन्तोष गर्ने ठाउँ छैन । उनले समयमै महाधिवेशन पनि गर्न सकेनन् । सबैजसो भ्रातृसंस्था महाधिवशन गर्न नसकेर तदर्थ छन् । भविष्यमा देखाउने मुद्दाप्रति पनि आस गर्ने जमात छैन । यति हुँदाहुँदै पनि महाधिवेशनलाई आकर्षित गर्न रणनीति र अंगगणितमा उनी सिपालु छन् ।

नेकपाको आन्तरिक द्वन्द्वले विस्फोटको बाटो लिए आफूलाई सबैभन्दा बढी लाभ हुने देउवाले ठानेका छन् । त्यसबाट बन्न सक्ने समीकरणबाट असन्तुष्ट नेता र कार्यकर्तालाई व्यवस्थापन गर्न सकिने र त्यसले महाधिवेशनलाई आफूअनुकूल पार्ने उनको सोचाइ देखिन्छ । त्यसैले उनी एकैसाथ प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको समानन्तर सम्पर्कमा छन् । देउवाका एक विश्वासपात्रका अनुसार सामाजिक सञ्जाल र मिडियाले बारम्बार गरिरहने आलोचनाबाट उनी तर्सिएका छैनन् । बरु, घरेलु र बाह्य शक्ति केन्द्रले पार्न सक्ने प्रभावबाट उनी चिन्तित छन् ।

खासगरी दक्षिण भारतले पार्न सक्ने प्रभावप्रति बढी सचेत छन् । पार्टीभित्रको वैदेशिक मामिलासँग जानकार केही नेताहरूका अनुसार देउवाको पछिल्लो समय भारतसँग सम्बन्ध त्यति राम्रो छैन । संविधान जारी गर्नेक्रमदेखि चिसिएको सम्बन्ध अहिलेसम्म सुधार नभएको हो । संसद्बाट एमसीसी सम्झौता अनुमोदन गर्नका लागि देउवाले गरिरहेको लबिइङलाई पनि भारत रिझाउने उपक्रमका रूपमा जोडेर हेर्ने गरिएको छ । अमेरिकासँग राम्रो सम्बन्ध रहेको भनिएका देउवाले एमसीसी सम्झौता अनुमोदन गराउन सके पार्टीको महाधिवेशनका बेला अमेरिकामार्फत भारतलाई ‘न्युट्रल’ राख्न सकिने सोच बनाएको उनी निकट नेताहरूको दाबी छ ।

पछिल्लो पटक देउवा क्याम्प पुगेका केन्द्रीय सदस्य श्याम घिमिरेका अनुसार देउवा आफ्नो टिममा एक्ला उम्मेदवार हुन् । ‘कुनै घटनाक्रम र स्वार्थबाट उम्मेदवार बनाइयो भने फरक कुरा, नत्र संस्थापन समूहमा देउवा शतप्रतिशत उम्मेदवार हुन्,’ उनले भने । देउवा आफै उम्मेदवार हुन नचाहे पनि उनको समूहको स्वार्थले समेत देउवालाई खुट्टा टेकाउने स्थितिमा ल्याउने छ । देउवाको स्वभाव शक्ति र पदबाहिर बस्ने छैन । देउवाकै छहारीमा आफ्नो राजनीतिक भविष्य सुरक्षित देख्नेहरूको जमात ठूलो छ ।

उपसभापति विमलेन्द्र निधिले भने देउवालाई अघिल्लो महाधिवेशनमा गरेको प्रतिबद्धता सम्झाएर आफू अघि बढ्ने कसरत भित्रभित्रै गरिरहेका छन् । १३ औं महाधिवेशनमा आफूलाई सभापतिका लागि सहयोग गर्ने वचन देउवाबाट पाएको भनी निधिले अनौपचारिक तहमा आफू निकटहरूसँग सुनाउने गरेका छन् । सरकार र पार्टीमा नेतृत्वको परीक्षण भइसकेको र सार्वजनिक छविसमेत राम्रो निर्माण नभएको हुनाले यसै पटक आफूलाई सघाउनुपर्ने तर्क उनको छ । संस्थापन पक्षमा देउवापछिको नेतामा उनी पर्छन् । बेलाबखत देउवा र निधिबीच परिरहने ठाकठुकलाई समेत भावी नेतृत्वको विषयसँग जोड्ने गरिएको छ । नागरिकता विधेयक, आफ्नै पार्टीका ८ सांसदले गैरसरकारी विधेयकका रूपमा दर्ता गराएको संविधान संशोधनको विधेयकलगायत मुद्दामा सभापति देउवासँग उनका फरक अडान छन् । यिनै कारण देउवा र निधिबीच समझदारीसँगै घोचपेच पनि चल्दै आएको छ । तर निधि देउवालाई चुनौती दिएर उम्मेदवार बन्ने स्थितिमा पुगिसकेका छैनन् । ‘सकभर देउवालाई ब्याक गरेर आफू त्यो समूहबाट उम्मेदवार बन्न पाए हुन्थ्यो भने चाहना निधिमा छ,’ एक केन्द्रीय सदस्यले भने, ‘देउवा आफैं उम्मेदवार हुने अवस्थामा परिस्थिति नियालेर निर्णय लिने सोचमा हुनुहुन्छ ।’
चुनौतीको चौघेरामा पौडेल

उम्मेदवार बन्न वरिष्ठ नेता पौडेलका लागि भने चुनौती छ । पार्टीका वरिष्ठ र पाका नेताहरूको समूह देउवा इतर समूहमा बढी रहेकाले पनि पौडेललाई आफू सर्वसम्मत उम्मेदवार बन्न चुनौती छ । उनले आफ्नो समूहलाई एकढिक्का बनाइराख्न सकेका छैनन् । संस्थापन इतर पक्षमा उपगुट बढी छन् । महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहको आफ्नै समूह छ । केन्द्रीय गुटमा हावी नभएका शेखर कोइरालाले पनि सभापतिको आकांक्षा राखेर जिल्लाहरूमा समूह बनाउन थालेका छन् । सभामुख र पटकपटकको मन्त्रीमा परीक्षण भइसके पनि नेतृत्वमा परीक्षण नभएको पौडेलको मुख्य आधार छ । आफ्नो निष्कलंक छविलाई पनि उनले अघि सारेका छन् । धेरै पटक मन्त्री र सभामुख हुँदा भ्रष्टाचार र अनियमिततालाई जोडेर प्रश्न गर्ने ठाउँ आफूले नदिएको उनले बताउँदै आएका छन् ।

पौडेलका मुद्दा थुप्रै छन् तर निचोडमा एक पटक आफूलाई नेतृत्वमा परीक्षण गर्नुपर्ने तर्क छ । तर आफ्नै समूह मिलाउन उनलाई हम्मेहम्मे छ । कोइराला परिवार, त्यसपछि सिंह, पूर्वमहामन्त्री सिटौला, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, रिजालजस्ता नेताहरूको व्यवस्थापन कुन ढंगले हुन्छ, त्यसैमा उनको परीक्षण हुने देखिन्छ ।

शशांक भर्सेस शेखर
संस्थापन इतर खेमामा कोइराला परिवारबाट शशांक र शेखरमध्ये को अघि सर्ने भन्ने निक्र्योल भइसकेको छैन । बीपीका ज्येष्ठ पुत्र प्रकाश कोइरालाले दुई दाजुभाइलाई मिलाउन सहजीकरण गरिरहेका छन् । दुवैले आफूलाई छाडिदिए हुन्थ्यो भन्ने चाहना राखेका छन् । शेखरमा क्रियाशीलता र कार्यकर्तासँग भिज्न सक्ने गुण छ । शशांकको आधार र सबल पक्ष नै बीपीको छोरा हुनुमा हो । कोइराला परिवारको पछाडि कार्यकर्ताको ठूलो जमात छ । उनीहरूको चाहना कोइराला परिवार मिलेरै अघि बढोस् भन्ने छ । शेखर उमेरले पनि दबाबमा छन् । उनी अहिले ७० वर्षका छन् । उनले १५ औं महाधिवेशनबाट आफू नेतृत्व तहमा चुनाव नै नलड्ने उद्घोष गरेका छन् । उमेरको दबाबलाई समेत ख्याल गर्न चार वर्ष कान्छा शशांकलाई उनले आग्रह गर्दै आएका छन् ।

सिटौला के गर्लान् ?

पूर्वमहामन्त्री सिटौला संस्थापन इतर पक्षमा रहे पनि पौडेल पक्षसँग जोडिइसकेका छैनन् । मुद्दाका हिसाबले उनी पौडेलसँग निकट छन् । तर पौडेल र सिटौलालाई जोड्ने रसायन अहिलेसम्म फेला परेको छैन । गगन थापा र प्रदीप पौडेलले दुई नेतालाई मिलाउने प्रयास नगरेका होइनन् । १३ औं महाधिवेशनमा आफूलाई हराउन र देउवालाई जिताउन उम्मेदवार बनेको आरोप पौडेलको छ । उनले अहिले पनि सिटौलाप्रति विश्वास गर्न सकेका छैनन् । सिटौलामा पनि मौका पाएका बेला आफूलाई किनारामा धकेल्ने चिन्ता छ । आपसी अविश्वासका कारण सिटौला अहिले आफ्नै समूहलाई छुट्टै हिँडाएका छन् । आगामी महाधिवेशनमा कसैलाई सहयोग गर्छन् या आफै अघि बढ्छन् भन्नेमा उनी मौन छन् । १३ औं महाधिवेशनमा जस्तै तेस्रो धारबाट चुनाव लड्दा गगन, प्रदीपले साथ दिनेमा उनलाई आशंका छ । सिटौलाको मुख्य बल नै गगन, प्रदीप, उमाकान्त चौधरी र भीमसेनदास प्रधान हुन् । आफैं उम्मेदवार नभए आफ्नो समूहका युवा नेतालाई मुख्य भूमिकामा पुर्‍याउने सिटौलाको भूमिका रहन सक्छ ।

महाधिवेशनमा आशंका

केन्द्रीय कार्यसमितिले असार २२ गते महाधिवेशन फागुन ७–१० मै गर्ने अघिल्लो निर्णयलाई नै सदर गर्‍यो । तर अधिकांश केन्द्रीय सदस्य नै तोकिएको मितिमा महाधिवेशन हुनेमा विश्वस्त छैनन् । कोभिड–१९ को महामारी नभित्रिँदै गत पुसमै पार्टीले केन्द्र, प्रदेश र स्थानीय तहका अधिवेशनको तालिका ल्याएको थियो । तीन महिनापछि तल्ला तहका अधिवेशनको तालिका संशोधन गरे पनि केन्द्रीय महाधिवेशनको तिथि भने यथास्थितिमै राखियो । कोरोना महामारीले अधिवेशनको माहोल अघि बढाउन दिएको छैन । थप कति दिन यसले प्रभावित पार्ने हो, टुंगो छैन । सबैभन्दा ठूलो समस्या पार्टीको आन्तरिक तयारीमै छ । गत मंसिरमै सक्ने भनिएका पार्टीका संरचना समायोजन अझै टुंगिएको छैन । पार्टीका संरचनालाई नयाँ राज्य व्यवस्था अनुसार रूपान्तरण गरिसकिएको छैन । महाधिवेशनको मुखमा मात्रै कांग्रेसले संरचनाको समायोजन गर्न थालेको थियो । अझै २६ जिल्लामा समायोजन सक्नै बाँकी छ । त्यसका लागि साउन १० सम्म समय दिइएको छ ।

गतिशील नेतृत्व नहुनु र परम्परागत ढर्राबाटै पार्टी सञ्चालन गर्ने परिपाटी कायमै रहनुले पनि कांग्रेस महाधिवेशन फागुनमै हुनेमा आशंका छन् । पौडेल पक्षीय केन्द्रीय सदस्य र पूर्वमहामन्त्री सिटौलाले यस्तो आशंका बैठकमै उठाएका थिए । सिटौलाले फागुनमै अधिवेशन गराउन सके नेतृत्वलाई अभिनन्दन गर्नुपर्ने भन्दै व्यंग्यसमेत गरेका थिए । केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पछि मिति सार्नुभन्दा अहिल्यै सार्न सकिने बताएका थिए । तर वरिष्ठ नेता पौडेल मिति सार्ने पक्षमा सहमत थिएनन् । महाधिवेशन ढिला गरेको अपजस नलिन सभापति देउवाले पनि तोकिएकै मितिमा महाधिवेशन गर्न चाहेको केन्द्रीय सदस्य घिमिरेले बताए ।

देउवाले चारवर्षे कार्यकाल एक वर्ष समय बढाएर फागुनमा महाधिवेशन गर्ने निर्णय केन्द्रीय समितिबाट गराएका हुन् । पार्टी विधानमा एक वर्षभन्दा बढी कार्यकाल बढाउन नपाइने व्यवस्था छ । तर, संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थामा ५ वर्षसम्म महाधिवेशन गर्न नसक्ने विशेष परिस्थिति उत्पन्न भए ६ महिना थप्न सकिने प्रावधान छ ।

क्रियाशील सदस्यतामा लफडा

क्रियाशील सदस्यताको वितरण र नवीकरणमा हुन सक्ने मुख्य लफडाले महाधिवेशनको तालिकालाई तलमाथि पार्न सक्ने घिमिरेको दाबी छ । १३ औं महाधिवेशनमा क्रियाशील सदस्यता वितरण, नवीकरणदेखि विवाद मिलाउनेसम्मका काम सक्न करिब एक वर्ष लागेको थियो । अहिले यो कार्य सुरु भएकै छैन । पार्टी संरचना समायोजन सकिएका ४० जिल्लामा सदस्यताको फारम पुगेका छन् । तर, कोरोना भाइस संक्रमणका कारण ती फारम जिल्ला कार्यालयमै थन्किएका छन् ।

कांग्रेसको क्रियाशील सदस्यता वितरण यसकारण पनि जटिल छ कि, यसकै प्रभावमा केन्द्रीय नेतृत्व चयनमा तलमाथि हुन सक्छ । केन्द्रीय महाधिवेशनका लागि पनि क्रियाशील सदस्यता सुरुका मतदाता हुन् । क्रियाशील सदस्यताबाट आउने क्षेत्रीय प्रतिनिधिहरूले केन्द्रीय महाधिवेशनका मतदाता अर्थात् महाधिवेशन प्रतिनिधि छान्छन् । तिनै महाधिवेशन प्रतिनिधिले केन्द्रमा सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चुन्छन् ।

केन्द्रदेखि स्थानीय तहका नेताहरूसमेतको आँखा क्रियाशील सदस्यतामै गडेको हुन्छ । आ–आफ्नो शक्तिले भ्याएसम्म आफू अनुकूललाई सदस्यता दिने र प्रतिकूलका लागि नवीकरण नगराउने द्वन्द्व खडा हुन्छ । तलदेखि केन्द्रसम्म नै सदस्यताको विवाद आइपुग्छ । यो विवाद परम्परागत नै छ । कांग्रेसमा क्रियाशील सदस्यको संख्या ४ लाख ७० हजार ६ सय ५५ छ । यस पटक ५० प्रतिशत बढाउने निर्णय गरिएको छ । अघिल्लो महाधिवेशनमा पनि २ लाख २१ हजार क्रियाशील सदस्य थपिएका थिए । ‘यही सदस्यता टुंग्याउन कांग्रेसमा महाभारत छ,’ घिमिरेले भने । १३ औं महाधिवेशनमा सदस्यता छानबिन समितिका तत्कालीन संयोजक नरहरि आचार्यलाई विवाद टुंग्याउन ६ महिना लागेको थियो । अहिले १५ दिन छुट्याइएको छ ।

वरिष्ठ नेता पौडेलले महाधिवेशन फागुनपछि लान नहुने कारणमा आसन्न स्थानीय तहको निर्वाचनलाई देखाउने गरेका छन् । महाधिवेशनका बेला नेतृत्व चयनमा हुने आन्तरिक द्वन्द्वको असर स्थानीय तहको निर्वाचनमा पर्न सक्ने उनको तर्क छ । ‘स्थानीय तहका निर्वाचन नजिकै आएकाले लामो समय सार्न भने हुन्न,’ केन्द्रीय सदस्य केसीले भने, ‘निर्णय गरेर नहुनुभन्दा अहिले नै एक महिना जति सारेर भए पनि महाधिवेशन सुनिश्चित गर्नुपर्छ ।’(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.