नरेन्द्र साउद/ रामकृष्ण अधिकारी
काठमाडौं : सरकारले भारत र चीनसँगका सबै नाका सोमबारदेखि पूर्णरूपमा बन्द गर्ने भएको छ। मन्त्रिपरिषद् बैठकले एक साताका लागि सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले बताए। उनका अनुसार नाकाबाट ढुवानीलगायत सामान आयात भने निरन्तर रहनेछ। भारतबाट हुलका हुल नेपाली घर फर्किन थालेपछि कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारको आलोचना भएको थियो। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै चार घण्टा बसेको मन्त्रिपरिषद् बैठकले नाका बन्दको निर्णय गरेको हो।
‘बहुपक्षीय क्षेत्रीय सहयोग बढाउने र संक्रमण एक देशबाट अर्काे देशमा नफैलियोस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय सरकारले लिएको हो’, बैठकपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले भने। यसो गर्दा छिमेकी मुलुकहरूको हितलाई पनि ध्यान दिइएको उनले बताए।
नाका भएका जिल्लालाई गृह मन्त्रालयले परिपत्रसमेत गरेको छ। विश्व स्वास्थ्य संगठनले नेपाल–भारत सीमा नाका बन्द गराउन नेपाललाई सुझाव दिँदै आएको थियो।
बैठकले प्रधानमन्त्री कार्यालयले व्यवस्थापन गर्ने गरी केन्द्रीय कोष खडा गर्ने निर्णय गरेको छ। कोषमा सरकारले ५० करोड राख्ने र मन्त्रीहरूले एक महिनाको तलब योगदान गर्ने एक मन्त्रीले बताए। कोषमा सहयोगका लागि सरकारले आह्वान गर्ने निर्णय भएको छ।
‘आमनागरिक र देश–विदेशबाट कोषमा स्वेच्छिक सहयोग गर्न सरकारले आह्वान गर्ने निर्णय गरेको छ’, ती मन्त्रीले भने। कोषले कोरोना नियन्त्रणका लागि आवश्यक औषधि, उपकरण खरिददेखि क्वारेन्टाइन व्यवस्थापनको काम गर्नेछ।
कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सरकारले प्रोत्साहन गर्ने भएको छ। ‘कोरोना उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीलाई उत्प्रेरणाका लागि प्रोत्साहन भत्ता शतप्रतिशतसम्म दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ’, मन्त्री डा. खतिवडाले भने।
सरकारले कोरोना संक्रमित देखिए उपचारका लागि चन्द्रागिरी नगरपालिकास्थित सशस्त्र प्रहरी अस्पताल प्रयोगमा ल्याउन तोकेको छ। कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्नेलाई सशक्त कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ।
अन्तर्राष्ट्रिय हवाई यात्री सेवामा पनि पूर्ण रोक लगाइने भएको छ। यसअघि कोरोना संक्रमित मुुलुकमा हवाई सेवा बन्द गरिएको थियो। कार्गोलगायत अत्यावश्यक वस्तु आयात–निर्यातका लागि मात्र अन्तर्राष्ट्रिय हवाई सेवा जारी राख्ने र यात्री सेवामा पूर्ण रोक लगाइएको हो। हवाई सेवालाई अत्यावश्यक सेवामा राखिएकाले आन्तरिक सेवा भने नरोक्ने निर्णय भएको मन्त्रिपरिषद् स्रोतले बतायो।
सरकारले लामो दूरीका सार्वजनिक यातायात सेवामा सोमबारदेखि रोक लगाउने निर्णय गरेको छ। उपत्यकाभित्र भने सार्वजनिक यातायात यथावत् सञ्चालन गर्न दिने र निजी यातायातका साधनमा रोक नलगाउने निर्णय गरिएको छ। ‘निजी यातायातले बदमासी गरी उपत्यका बाहिरबाट यात्रु ओसारेको पाइए कानुनी कारबाही गरिनेछ। निजी सवारी साधनले सार्वजनिक यातायातको काम गरे कारबाही गरिनेछ’, एक मन्त्रीले भने, ‘त्यस्ता सवारी साधनलाई कोरोना नियन्त्रणलगायत काममा प्रयोग गर्न सरकार बाध्य हुनेछ।’
बैठकमा संक्रमणबाट जोगिन, नियन्त्रण गर्न र आवश्यक तयारीको व्यवस्थाका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ८ मन्त्री रहेको उच्चस्तरीय समितिले काम गरिरहेको छ।
राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ता
प्रधानमन्त्री केपी ओलीले आइतबार मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। दोस्रो पटक मिर्गाैला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले १४ फागुनमा राष्ट्रपति भण्डारीसँग भेट गरेका थिए। ‘उहाँहरूबीच आइतबार बिहान भेटवार्ता भएको हो’, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने, ‘करिब एक घण्टा उहाँहरूले छलफल गर्नुभयो। नियमित भेट भएकाले समसामयिक विषयमा छलफल भएको छ।’
सरकार प्रमुखका हैसियतमा समसामयिक विषयमा राष्ट्रपतिलाई नियमित ब्रिफिङ गर्ने प्रचलन छ। भेटमा प्रधानमन्त्रीले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न, त्यसको रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेको तयारीलगायत विषयमा पनि राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए।
राष्ट्रपतिले प्रधानमन्त्रीलाई मिर्गाैला प्रत्यारोपण सफल भएकामा बधाई दिनुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गरेकी थिइन्। उनले पार्टीभित्रको एकता बचाई काम गर्न पनि सुझाएको स्रोतले बताएको छ।
संसदीय समितिमा नाकाकै कुरा
सत्तारुढ सांसदले नेपाल–भारत सीमा पूर्णरूपमा बन्द गर्न सरकारसँग माग गरेका थिए। कोरोना भित्रिन नदिन एकतर्फी रूपमा भए पनि भारतसँगका सबै नाका बन्द गर्नुपर्ने उनीहरूको माग थियो।
राज्यका नीति निर्देशक सिद्धान्तको अनुगमन तथा मूल्यांकन निर्देशक समितिको आइतबारको बैठकमा सांसद भीम रावलले भारतबाट हुलका हुल फर्किरहेको भन्दै तत्काल सीमा बन्द गर्न र विदेशबाट फर्किएका नेपालीलाई क्वारेन्टाइनमा अनिवार्य राख्ने व्यवस्था गरिनुपर्ने बताएका थिए। नेकपाकै पम्फा भुसालले सीमा क्षेत्रमा आवश्यक जाँचबिनै भारतबाट नेपाली फर्किरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन्।
बैठकमा उपस्थित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नाका बन्द गर्ने विषयमा भारत सरकारसँग वार्ता भइरहेको बताएका थिए। सांसदद्वय रावल र भुसालले एकतर्फी रूपमा नेपालले नाका बन्द गर्नुपर्ने सुझाव दिएका थिए।
समितिले विदेशीलाई पूर्ण रोक लगाउन र विदेशबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्न सरकारलाई निर्देशन दिएको छ। विदेशबाट फर्किएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्न र सीमालगायत भन्सार नाकाबाट आउनेको अनिवार्य जाँच गर्न निर्देशन दिइएको सभापति निरा जैरुले बताइन्। समितिले उपभोग्य वस्तु, औषधि, परीक्षण यन्त्र र कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न चिकित्सकको सुरक्षाको उचित व्यवस्था मिलाउन पनि सरकारलार्ई निर्देशन दिएको छ। मन्त्री भट्टले कोरोना संक्रमण रोकथाममा चिनियाँ मोडेल अपनाइने जानकारी गराएका थिए।(अन्नपूर्ण )