कोरोना प्रकोप : इटालीमा एकैदिन ४७५ को मृत्यु, विश्‍वभर स‌ंक्रमितको संख्या २ लाख बढी


रोम — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट बुधबार इटालीमा हलिेसम्मकै बढी ४७५ जनाको मृत्यु भएको छ । इटालीको सिभिल प्रोटेक्सन एजेन्सीका अनुसार पछिल्लो चौबिस घण्टामा मात्रै ४७५ जनाको मृत्यु र थप चार हजार २ सय ७ जनामा संक्रमण देखिएको हो । बिहीबार बिहानसम्म इटालीमा मात्रै कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ। त्यस्तै संक्रमितको संख्या भने ३५ हजार ७ सय १३ रहेको छ। संक्रमितमध्ये करिब ४ हजार निको भएको एजेन्सीले जनाएको छ।

त्यस्तै बुधबार चीनमा भने भाइरसको संक्रमण कम हुँदै गएको छ। बुधबार चीनमा थप ८ जनाको मृत्यु भएको छ भने थप ३४ जनामा संक्रमण देखिएको छ। तर संक्रमितमध्ये ३४ जना नै बाहिरबाट आएका नागरिक भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ। संक्रमितमध्ये २१ जना बेइजिङका रहेका छन्। बिहीबार बिहानसम्म चीनमा मृतकको संख्या ३ हजार २ सय ४५ पुगेको छ भने संक्रमितको संख्या ८० हजार ९ सय २८ पुगेको छ।
त्यस्तै बिहीबारसम्म कोभिड–१९ को संक्रमणबाट इरानमा एक हजार एक सय ३५, स्पेनमा ६३८, फ्रान्समा २६४, अमेरिकामा १५५, बेलायतमा १०४, दक्षिण कोरियामा ९१, नेदरल्यान्ड्समा ५८, जापानमा ३२, जर्मनीमा २८, इन्डोनेसियामा १९ र फिलिपिन्समा १७ जनाको मृत्यु भएको छ।

कोरोना रोक्न ‘लकडाउन’
चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न विश्वका कैयौं देशले ‘लकडाउन’ अर्थात् देशलाई पूर्णरूपमा बन्द गराइरहेका छन् । तीव्रगतिमा संक्रमण फैलन थालेपछि सर्वप्रथम चीनले नै ‘लकडाउन’ सुरु गरेको थियो । डिसेम्बार अन्तिममा हुबेई प्रान्तको वुहानबाट संक्रमण फैलिएसँगै चीनले कलकारखाना र विद्यालय बन्द, यातायात प्रतिबन्ध, आवतजावतमा रोक र सबै जनतालाई घरमै बस्न उर्दी जारी गरेको थियो । चिनियाँ नव वर्ष मनाएर फर्किन लागेका सबैलाई वुहान प्रवेशमा निषेध गरिएको थियो भने बिदा लम्ब्याइएको थियो ।
अत्यावश्यकबाहेक घरबाहिर जान दिइएको थिएन । लगभग सबैलाई एक प्रकारले घरमै बस्न बाध्य बनाइएको थियो । यस्तो प्रयासले चीनमा कोरोना संक्रमित संख्या नियन्त्रण उन्मुख छ ।

चीनपछि संक्रमण दर ह्वात्तै बढेको दक्षिण कोरियाले पनि केही निश्चित क्षेत्रलाई ‘लकडाउन’ गरेको थियो । दक्षिण कोरियाको कदमले संक्रमण थप फैलन पाएन । चीन र दक्षिण कोरियाले चालेका कदम पछ्याउँदै संक्रमण नफैलियोस् भनेर युरोपले पनि यात्रा प्रतिबन्ध र शैक्षिक संस्था बन्द गराएका छन् । ग्रोसरी स्टोर, फार्मेसी र ग्यास स्टेसनबाहेक अन्य सबै क्षेत्र बन्द गरिएका छन् । तथापि, चीन र युरोपका ‘लकडाउन’ मा केही फरक भने छन् । युरोपमा सार्वजनिक सवारीसाधन र कलकारखाना सञ्चालनमा छन् । बैंक र हुलाक सेवा चलिरहेका छन् तर रेस्टुरेन्ट, क्याफे र बार पूर्णरूपमा बन्द छन् ।

इटाली, स्पेन र फिलिपिन्सलगायत राष्ट्रले ‘लकडाउन’ गरिसकेका छन् । इटाली र स्पेनमा नागरिकलाई घरबाहिर ननस्किन भनिएको छ, भीडभाड हुने सबै क्षेत्र बन्द गरिएका छन् भने सबै रेस्टुरेन्ट, जिमहल, क्लब बन्द गर्न भनिएका छन् । सबै सार्वजनिक कार्यक्रम स्थगित गरिएका छन् । देशबाहिर जान र भित्रन रोकिएको छ र सबै सीमानाका बन्द गराइएको छ । सरकारी निर्देशन अवज्ञा नहोस् भनेर लाखौं सुरक्षाकर्मी सडकमा खटाइएका छन् । उल्लंघन गर्नेलाई कडा सजायको चेतावनी दिइएको छ । इटाली र स्पेनकै बाटो फ्रान्स र जर्मनीले पनि पछ्याएका छन् ।

अत्यावश्यकबाहेक सबै क्षेत्र बन्द गरिएका छन् र सडक सुनसान छन् । फ्रान्सले हिँडडुलमा गरेको प्रतिबन्ध उल्लंघन गरे कडा सजाय हुने बताएको छ र यसको अनुगमनका लागि १ लाख सुरक्षाकर्मी खटाएको छ ।

फिलिपिन्सले ५ करोड ७० लाख जनतालाई क्वारेन्टाइनमा बस्न भनेको छ । उसले अत्यावश्यक सामग्री बेच्नेबाहेकका सबै पसल बन्द गर्न र बाँच्नका लागि आवश्यक सामान किन्नबाहेक घरबाहिर ननिस्कन भनेको छ । अमेरिकाले आपत्काल घोषणा गर्दै भाइरस संक्रमण थप नफैलियोस् भनेर अर्बौं डलर लगानीको घोषणा गरिसकेको छ । सबै ५० वटै प्रान्तमा भाइरस संक्रमित भेटिएपछि अमेरिकाले थप कदम चाल्ने अपेक्षा गरिएको छ ।

युरोपका अन्य राष्ट्रले पनि आंशिक रूपमा यात्रा प्रतिबन्ध, शैक्षिक संस्था बन्द र भीडभाड हुने सबै क्षेत्र बन्द गराएको छ । अत्यावश्यकबाहेक बाहिर ननिस्कन र सरकारी निकायले जारी गर्ने स्वास्थ्यसम्बन्धी चेतनामूलक सन्देशबमोजिम गर्न पनि भनेका छन् । विदेश भ्रमणबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा बस्न भनिएको छ । युरोप र अमेरिकाबाहेक एसियाली राष्ट्रले पनि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आंशिक वा पूर्ण प्रतिबन्धको सहारा लिइरहेका छन् ।
नर्सिङका विद्यार्थीलाई थप अधिकार
संक्रमण बढ्दै गएपछि अस्ट्रेलिया सरकारले नर्सिङ अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीलाई काम गर्न पाउने’bout यस अघि लगाएको सीमालाई हटाउने निर्णय गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले बुधबार दुई सातामा ४० घण्टा मात्र काम गर्न पाउने नियमलाई तत्कालका लागि हटाइएको जनाएका हुन् । अस्ट्रेलियामा हाल २० हजार अन्तर्राष्ट्रिय विद्यार्थी नर्सिङ अध्ययन गरिरहेका छन् । पछिल्लो निर्णयले नर्सिङ होम, सामुदायिक केयर, अस्पताल तथा अन्य स्वास्थ्य क्षेत्रमा काम गर्ने विद्यार्थीले सुविधा पाउनेछन् । यद्यपि यस’bout आवश्यकताअनुसार अनुगमन र परिमार्जन हुने प्रधानमन्त्री मरिसनले बताएका छन् ।

सरकारको पछिल्लो निर्णयअनुसार उनीहरूलाई तोकिएको भन्दा बढी समय काम गर्न दिइने छ । धेरै संख्यामा नेपाली विद्यार्थीसमेत नर्सिङ अध्ययन गरिरहेकाले परिवर्तित नियमले प्रत्यक्ष लाभान्वित हुने छन् । विद्यार्थी परामर्शको क्षेत्रमा काम गरिरहेका सञ्जीव पाण्डेले यो सुविधाले विद्यार्थीलाई थप आम्दानीको अवसर हुने भए पनि यसमा चुनौती पनि रहेको बताए । ‘सरकारले नर्सिङ अध्ययनरत विद्यार्थीलाई माया गरेर नभई स्वास्थ्य क्षेत्रमा काम गर्ने कामदारको आवश्यकता पूरा गर्न पछिल्लो सुविधा दिएको हो,’ पाण्डे बताउँछन् । कोभिड–१९ संक्रमणबाट सजग हुँदै अवसरको सदुपयोग गर्न उनले सल्लाह दिएका छन् ।

अस्ट्रेलिया सरकारले ठूला डिपार्टमेन्ट स्टोरमा काम गरिरहेका विद्यार्थीलाई यसअघि नै तोकिएको समयभन्दा बढी काम गर्ने अधिकार दिइसकेको छ । यसबाहेक प्रधानमन्त्री मरिसनले बुधबारदेखि नै लागू हुने गरी आफ्ना नागरिकलाई विदेश यात्रामा प्रतिबन्ध लगाएका छन् भने विदेश रहेका नागरिकलाई यथाशक्य घर फर्कन आग्रह गरेका छन् । अस्ट्रेलियामा हालसम्म ६ सय ३६ जना संक्रमित पुगेका छन् भने ६ जनाले ज्यान गुमाएका छन् ।

संक्रमित दुई लाख नाघे
कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बुधबार नै २ लाख नाघेको छ । चीनबाट फैलिएको संक्रमण विश्वका १ सय ७० देशमा पुगेको छ भने मृतक संख्या ८ हजार ९ सय ६७ पुगेको। बिहीबार बिहानसम्म संक्रमितको स‌ंख्या २ लाख १९ हजार भन्दा बढी रहेको छ। संक्रमितमध्ये ८५ हजार भन्दा बढी निको भएर घर फर्किएका छन् भने एक लाखभन्दा बढी उपचाररत छन् ।

अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई आग्रह
चीनबाहिर सबैभन्दा बढी प्रभावित इटालीको उत्तरी क्षेत्र लम्बार्डीले अवकाश प्राप्त सबै स्वास्थ्यकर्मीलाई कोरोना भाइरसविरुद्धको लडाइँमा सहभागी हुन आग्रह गरेको छ । लम्बार्डीबाटै इटालीमा संक्रमण फैलिएको थियो ।

भाइरसका कारण विकराल अवस्था भएको भन्दै हालसालै अवकाश भएका स्वास्थ्यकर्मीलाई सेवामा फर्कन बुधबार आग्रह गरिएको हो । इटालीमा मृतकमध्ये ६५ प्रतिशत लम्बार्डी क्षेत्रकै छन् । उक्त क्षेत्रका अस्पतालमा संक्रमितको भीड लागेकाले विद्यमान स्वास्थ्यकर्मीले मात्र सेवा पुर्‍याउन नसकेपछि पूर्वकर्मचारीलाई पनि पुनः सेवामा फर्कन आग्रह गरिएको छ ।

संक्रमितकै सेवामा रहेका स्वास्थ्यकर्मी नै बिरामी पर्न थालेपछि सरकारको आह्वान आएको हो । ‘म पछिल्लो दुई वर्षभित्र अवकाश प्राप्त गरेका सबै चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई यस्तो आपत्कालीन अवस्थामा सहयोगको आग्रह गर्दछु,’ लम्बार्डीका गभर्नर एट्टिलियो फोन्तानाले बुधबार पत्रकार सम्मेलनमा बताए । उनले लम्बार्डीमा अस्थायी अस्पताल सञ्चालन गर्ने तयारी भइरहेको भन्दै सबै निजी स्वास्थ्यकर्मीलाई पनि सहयोगका लागि आह्वान गरेका छन् ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.