अमेरिका : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महाभियोग प्रक्रियाबाट सफाइ पाएका छन्। ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा बुधबार भएको मतदानमार्फत् उनले राष्ट्रपति पदबाट हट्न नपर्नेगरी उन्मुक्ति पाएका हुन्। बीबीसीका अनुसार शक्तिको दुरूपयोग गरिएको भन्ने अभियोगमा ट्रम्पको पक्षमा ५२-४८ मत परेको थियो भने अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगमा उनले आफ्नो पक्षमा ५३-४७ मत पाएका थिए।
विपक्षी डेमोक्र्याटहरूले डिसेम्बर महिनामा आफ्ना सम्भावित राष्ट्रपति पदका उम्मेद्वारलाई बदनाम गर्ने उद्देश्यले युक्रेनलाई दबाब दिएको भन्दै उनीमाथि अभियोग लगाएका थिए।
आउँदो नोभेम्बर महिनामा ट्रम्प महाभियोग सामना गरेर चुनावमा जाने पहिलो राष्ट्रपति हुनेछन्। रिपब्लिकन बहुमत रहेको माथिल्लो सदनमा महाभियोग पारित हुन दुई तिहाइ मत आवश्यक थियो। बुधबारको ऐतिहासिक मतदानमा सिनेटले युक्रेनसँगको ट्रम्पको लेनदेन र संवादका बिषयसँग जोडिएका अभियोगबाट छुटकारा दिएको हो।
डेमोक्र्याटहरूको बहुमत रहेको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले भने गत १८ डिसेम्बरमा महाभियोग पारित गरेको थियो।
अमेरिकामा महाभियोग
राष्ट्रपति डोनल्ड ट्रम्पभन्दा पहिले अमेरिकी इतिहासमा तीनजना राष्ट्रपतिले महाभियोग प्रक्रिया सामना गरेका थिए। यद्यपि कुनै पनि राष्ट्रपतिले महाभियोगको पक्षमा मतदान भएर पराजित हुनुपरेको थिएन। रिचर्ड निक्सनले भने महाभियोगको चर्चापछि राजीनामा दिएका थिए।
महाभियोग सदनमार्फत राष्ट्रपतिलाई हटाउने संवैधानिक माध्यम हो। डेमोक्र्याटिक पार्टीका तर्फबाट सन् १८६८ मा राष्ट्रपति बनेका एन्ड्रु जोन्सन एक मतले महाभियोगबाट बचेका थिए। उनले अमेरिकी गृहयुद्ध र दक्षिणी राज्यहरूलाई केन्द्रमा पुनः एकीकरण गर्ने र पुनः निर्माण अभियानका क्रममा अमेरिकी संसद् (कंग्रेस) मा द्वन्द्वको सामना गर्नुपरेको थियो। कंग्रेसले दक्षिणी राज्यका प्रतिनिधिद्वारा मतदान गरी निर्माण गरेका जातीवादी कानुन ‘ब्लाक कोड’सहित जोनन्नको पहलमा निर्माण भएका सबै कानुनमाथि ‘भिटो’ शक्ति लगाएको थियो।
उक्त राजनीतिक संकटमा जोन्सनले आफ्ना युद्धमन्त्रीलाई नै बर्खास्त गरेका थिए, जसका कारण उनीमाथि महाभियोगका लागि संसद्मा प्रस्ताव गरिएको थियो। यो नै अमेरिकी इतिहासमा राष्ट्रपतिमाथि गरिएको पहिलो महाभियोग प्रस्ताव थियो।
सन् १८६८ को फेब्रुअरी २४ मा त्यहाँको हाउस अफ रिप्रिजेन्टिेटिभ (अमेरिकी संसद्को तल्लो सदन) ले महाभियोगको प्रस्तावमा मतदान गरेको थियो। यो राष्ट्रपतिद्वारा अमेरिकी सिनेटले नियुक्त गरेको व्यक्तिलाई हटाउने प्रयासपछि उक्त विवाद भएको थियो। एक महिनाको सुनुवाइपछि सिनेटले मे महिनामा गरेको महाभियोगप्रस्ताव पारितका लागि मतदानमा दुई तिहाइ पुग्न एक मत नपुगेपछि जोन्सनको राष्ट्रपति पद जोगिएको थियो।
उनी दोस्रो कार्यकालका लागि पार्टीका तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बन्न विफल भएका थिए। त्यसैगरी रिपब्लिकन राष्ट्रपति निक्सनले १९७२ मा भएको निर्वाचन अभियानमा पुनःनिर्वाचित हुनका लागि वासिङटनस्थित वाटरगेट भवनमा भएको चोरी काण्डमा उनको दलले नै चोर पठाएको खोजी पत्रकारिताको समाचार आएको थियो। त्यस भवनमा डेमोक्र्याटिक पार्टीको मुख्यालय थियो। उनले उक्त घटनालाई अनुसन्धान गर्न रोक लगाएपछि अमेरिकी अदालतले उनको कार्यालयमा भएको वार्तालापको गोप्य रेकर्डमा चोरीका लागि उनी र उनका वरिष्ठ सल्लाहकार संलग्नता भएको प्रमाण अदालतले चोरसँग लिएको वयानमा उपलब्ध भएपछि उनीमाथि महाभियोग लगाउने पक्का भएको थियो। तर प्रस्तावको पक्षमा आवश्यक मत पुग्नसक्ने अवस्थामा अन्तिममा आएर उनले अगस्ट ९ मा राजीनामा दिएका थिए।
सन् १९९९ मा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति बनेका बिल क्लिन्टनले आफूभन्दा झण्डै आधा उमेरकी मोनिका लेवेन्स्कीसँग यौनसम्बन्ध राखेको’bout झूटो वयान दिएको आरोप लागेको थियो। तर क्लिन्टनको दलले उनीविरुद्ध लागेको आरोपमा सशक्त प्रतिवाद गरेपछि क्लिन्टनविरुद्धको आरोपको पुष्टि हुन सकेको थिएन। क्लिन्टनले पूरा कार्यकाल काम गरी सन् २००१ मा राष्ट्रपतिबाट बिदा भएका थिए। – (अन्नपूर्णस )