बेइजिङ — कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १३२ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार बुधबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १३२ जनाले ज्यान गुमाएका छन् भने झन्डै ६ हजारमा यसकाे संक्रमण देखिएकाे छ ।
त्यस्तै बुधबार बिहानसम्म चीनमा मात्रै ५ हजार ९ सय ७४ जनामा कोरोना भाइरसको पुष्टि भएको छ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार बिहान कोरोना भाइरसको संक्रमण एकअर्कामा सर्ने बताएको छ। एक विज्ञप्ति जारी गर्दै आयोगले हाछ्युँ गर्दा वा खोक्दा निस्कने थुक र र्यालको छिटाबाट कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने जानकारी दिएको हो।
कोरोना संक्रमणको केन्द्र वुहानमा रहेका नेपाली भन्छन्- ‘हाम्रो उद्धार गर्नुपर्यो’
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा पनि फैलिएको छ। चीन बाहेकका विभिन्न देशमा ७०भन्दा बढी व्यक्तिमा यसको संक्रमण देखिएको छ। चीनबाहिर भने अहिलेसम्म कोरोनाभाइरसको संक्रमणबाट कसैको मृत्यु भएको छैन।
यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले वुहानमा रहेका आफ्ना नागरिकको जतिसक्दो चाँडो उद्धार गर्ने बताएका छन्। वुहानसहित हुबेई प्रान्तमा झन्डै ६ सय अस्ट्रेलियाली नागरिक रहेका छन्।
कहाँ कति संक्रमित?
चीन – १३२ मृत्यु, ५९७४ संक्रमित
थाइल्यान्ड – १४ जना संक्रमित
हङकङ, ताइवान – ८/८ जना संक्रमित
मलेसिया – ७ जना संक्रमित
अस्ट्रेलिया, अमेरिका, मकाओ, सिंगापुर – ५/५ जना संक्रमित
जापान – ६ जना संक्रमित
फ्रान्स, जर्मनी,दक्षिण कोरिया – ४/४ जना संक्रमित
भियतनाम, क्यानडा – २/२ जना संक्रमित
नेपाल, कम्बोडिया, श्रीलंका, – १/१ जना संक्रमित
(कान्तिपुर )