आदित्यमान श्रेष्ठ
संसारका अरू मुलुकको तुलनामा नेपालको राष्ट्रिय ऋणको आकार कम देखिन्छ। के तेसो भन्दैमा अरू मुलुकहरूको तुलनामा नेपाल आर्थिक दृष्टिले गतिलो अवस्थामा रहेको हो ? त्यो पनि होइन। राष्ट्रिय ऋणले देशको अर्थ व्यवस्थाको सही चित्रण गर्दैन। सो कुरा संसारका विभिन्न मुलुकको अवस्थाले देखाउँछ।
सन् २०१० मा संयुक्त राज्य अमेरिकाको संसारका सबै मुलुकभन्दा धेरै ऋण थियो। यसको टाउकोमा १४ हजार छ सय अर्ब डलर ऋणको भार थियो। यो त्यसबेला उसको राष्ट्रिय आम्दानीको ९२.७ प्रतिशत थियो। चीनको ऋण ५७ सय अर्ब डलरबराबर थियो। तर यो उसको राष्ट्रिय आम्दानीको १९.१ प्रतिशतमात्र थियो। त्यसैगरी जापानको कुल ऋण भार ५४ सय अर्ब डलरबराबर थियो। तर यो उसको राष्ट्रिय आम्दानीको २२५.९ प्रतिशत रहेको थियो। यसले के देखाउँछ भने अमेरिका, चीन र जापानमाथि जति ऋणको भार भए पनि उनीहरू संसारका सबभन्दा धनी देशमा गनिन्थे। त्यसरी नै अरू धनी देशको काँधमा पनि ऋणको भारले उनीहरूको आर्थिक अवस्था तलमाथि परेको देखिँदैन।
उदाहरणका लागि जर्मनीको ऋण ३३ सय अर्ब डलर पुगेको थियो। यो उसको राष्ट्रिय आम्दानीको ७५.३ प्रतिशत मात्र थियो। फ्रान्सले २६ सय अर्ब डलरको ऋण तिर्नुपर्ने थियो, जो उसको राष्ट्रिय आम्दानीको ८४.२ प्रतिशत देखिन्थ्यो। बेलायतको ऋणको भार २३ सय अर्ब डलर थियो जो उसको राष्ट्रिय आम्दानीको ७६.७ प्रतिशतमात्र देखिन्थ्यो। इटालीको ऋण भार दुई हजार अर्ब थियो तर यो उसको राष्ट्रिय आम्दानीको ११८.४ प्रतिशत हुन्थ्यो। तैपनि ती देश सबै विकसित र धनी नै मानिएका थिए।
संसारका दश देश जसले सबभन्दा ठूलो ऋणको भार बोकेका थिए उनीहरूमध्ये ब्राजिल, क्यानाडा र रुस पनि पर्दथे। ब्राजिलको पनि दुई हजार अर्ब डलर ऋण लागेको थियो र यो उसको राष्ट्रिय आम्दानीको ६६.८ प्रतिशत थियो। क्यानाडाले १६ सय अर्ब डलर ऋण तिर्नुपर्ने थियो। यो उसको राष्ट्रिय आम्दानीको ८१.७ प्रतिशत हुन आउँथ्यो। रुसको १५ सय अर्ब ऋण तिर्नु थियो तर यो उसको राष्ट्रिय आम्दानीको ११.१ प्रतिशतमात्र हुन आउँथ्यो।
ठूला भनिएका देशको तुलनामा नेपालको प्रतिव्यक्ति ऋणको भार कमै देखिन्छ। यो अहिले ३१२ डलर पुगेको छ। दस वर्षअगाडि सन् २००८ मा यो रकम १९७ डलर मात्र थियो। यस मानेमा नेपालले अरू देशको तुलनामा धेरै ऋण बोकेको देखिन्न।
अब यही ऋणको भारलाई अर्को दृष्टिबाट हेरौं। राष्ट्रिय आम्दानीको अनुपातमा ऋणको प्रतिशत धेरै देखिँदा पनि देशहरूको आर्थिक अवस्था राम्ररी ठम्याउन गाह्रो पर्ने रहेछ। जापान त्यो देश हो जसको राष्ट्रिय आम्दानीको सबभन्दा धेरै प्रतिशत ऋण बोकेको छ। त्यसो भन्दैमा के जापानलाई धनी मुलुक भन्न अथवा संकटापन्न देश भन्न मिल्छ ? सन् २०१८ को तथ्यांक केलाउँदा जापान नै संसारमा सबैभन्दा ठूलो ऋणको भार बोकेको देश देखापर्छ। उसको ऋण रकम ९,०८७ अर्ब डलर देखिन्छ भने यो उसको राष्ट्रिय आम्दानीको २२०.८२ प्रतिशत हुन आउँछ।
त्यसपछि ग्रीसको नम्बर आउँछ। त्यो देशको ऋण ३७९ अर्ब डलर देखिन्छ भने यो उसको राष्ट्रिय आम्दानीको १७९ प्रतिशत हुन आउँछ। ग्रीस एक प्रकारले आर्थिक संकटमा परेको देश मानिन्छ। यसै समस्यालाई लिएर लामो समयसम्म आन्दोलन पनि चलेको थियो। त्यसैगरी पोर्चुगलको पालो आउँछ जसको ऋण २६४ अर्ब डलर देखिन्छ। यो उसको राष्ट्रिय आम्दानीको १३८.०८ प्रतिशत हो। पोर्तुगल एउटा युरापेली देश भएकाले यो पनि विकसित मुलुकहरूमा नै गनिन्छ। अर्को युरोेपेली देश इटालीको ऋण सन् २०१८ मा २,४८० ऋण पुग्यो र यो उसको राष्ट्रिय आम्दानीको १३७.८१ प्रतिशत भयो।
भुटानको ऋण २.३३ अर्ब डलर रहेको छ। यो उसको राष्ट्रिय आम्दानीको ११८.६ प्रतिशत रहेको छ। तर भुटान दक्षिण एसियाको एक सुखी र उन्नतशील देशको रूपमा लिइन्छ। साइप्रसको ऋण भार २१.६४ अर्ब डलरबराबर छ र यो उसको राष्ट्रिय आम्दानीको ११५.४७ प्रतिशत हुन आउँछ। त्यसपछि बेल्जियम पर्छ जसको ऋण ४५४.१८ अर्ब डलर छ। यो उसको राष्ट्रिय आम्दानीको ११४.७८ हुन आउँछ। तर बेल्जियम धनी मुलुकमा नै गनिन्छ।
संयुक्त राज्य अमेरिकाको ऋण पहिलेभन्दा बढेर सन् २०१८ मा १९,१८० अर्ब डलर पुग्यो। यो उसको राष्ट्रिय आम्दानीको १०६ प्रतिशत हुन आउँछ। तर यसले उसको आर्थिक स्तरमा कुनै असर पारेको देखिन्न। त्यसपछि अर्को युरोपेली मुलुक स्पेन पर्छ। यसको ऋण १,२४० अर्ब डलर छ जो यसको राष्ट्रिय आम्दानीको १०५.७६ प्रतिशत हुन आउँछ। त्यसपछि सिंगापुरको राष्ट्रिय आम्दानीको १०४.७ प्रतिशत देखिन्छ। यसको ऋण २५४ अर्ब डलर छ। यति हुँदा पनि सिंगापुर एसियाको सबैभन्दा विकसित र धनी देश मानिन्छ।
नेपालको सम्बन्धमा पनि समयको गतिसँगै ऋण बढिरहेको देखिन्छ। सन् २०१० मा यसको ऋण ८.३१ अर्ब डलर थियो भने सन् २०१८ मा यो ८.७६६ अर्ब डलर पुग्यो। तर यो सन् २०१० मा नेपालको राष्ट्रिय आम्दानीको ३२ प्रतिशत थियो भने सन् २०१८ मा यो ३०.२ प्रतिशत मात्र भएको देखियो।
राष्ट्रिय आम्दानीको सबभन्दा धेरै प्रतिशत ऋण लागेका देशको जनसंख्या फरक–फरक हुने भएकाले प्रतिव्यक्ति ऋणको भार पनि फरक हुने गर्छ। यो दृष्टिबाट पनि नेपालको ऋणको भार तुलनात्मक दृष्टिबाट भारी देखिन्न। उदाहरणका लागि हरेक जापानीको टाउकोमा प्रतिव्यक्ति ऋणको भार ७१,४२१ डलर देखिन्छ। ग्रीसका नागरिकमा भने यो ऋणको भार ३५,१२० डलर देखिन्छ। हरेक पोर्चुगिजमा यो भार २५,५३८ डलरबराबर भएको छ। इटालीको हकमा त्यहाँका नागरिकको प्रतिव्यक्ति ऋण ४०,७८७ डलर देखिन्छ।
हरेक भुटानीको टाउकोमा २,९९३ डलरको भार देखिन्छ भने साइप्रसका नागरिकको २५,५५१ डलरको ऋण देखिन्छ। उता बेल्जियमका बासिन्दाको ऋण ३०,५१८ डलरबराबर छ भने संयुक्त राज्य अमेरिकाका नागरिकको ऋण ६१,२३१ डलर पुगेको देखिन्छ। यता स्पेनका नागरिकको ऋण २६,७२४ डलर पुगेको छ। सिंगापुरका नागरिकको ऋणभार पनि कम देखिन्न। यो ४५,९१५ डलरबराबर पुगेको छ।
यी देशहरूको तुलनामा नेपालको प्रतिव्यक्ति ऋणको भार कमै देखिन्छ। यो अहिले ३१२ डलर पुगेको छ। दस वर्षअगाडि सन् २००८ मा यो रकम १९७ डलर मात्र थियो। यस मानेमा नेपालले अरू देशहरूको तुलनामा धेरै ऋण बोकेको देखिन्न। (अन्नपूर्ण )