जय आले, कुवेत
२३ डिसेम्बर २०१९ । कुवेतमा सकृय रुपमा कृयाशिल जातिय संस्था तमू प्ये ल्हु संघ कुवेतले आगामी ३ जनवरी २०२० शुक्रबारका दिन आयोजना गर्न गईरहेको तमू च्यु ल्होसार पूर्ण रुपमा तयारी अवस्थामा रहेको संघकी अध्यक्ष उमा गुरुङले जानकारी दिएकी छिन् ।
BEC एक्सचेन्ज कुवेतको प्रायोजनमा कुवेतको खैतानस्थित राजधानी प्यालेस होटलमा तमू फो ल्हो (मृग वर्ग) लाई बिदाई र तमू च्यु ल्हो (मुसा वर्ग) लाई स्वागत गर्दै नेपालदेखी पाल्ने अतिथि कलाकार सविना गुरुङको साथमा मनाईने तमू च्यु ल्होसार कार्यक्रममा सँघले तमू(गुरुङ) समुदायको मौलिक भाषा, भेष-भुषा, कला र धर्म-संस्कृतिको प्रदर्शन गरेर कुवेतवासी नेपालीहरुलाई मनोरन्जन दिनेछ भने बिगतका बर्षहरुमा पनि संघले यस्ता मौलिक कार्यक्रमहरु निरन्तर रुपमा आयोजना गर्दै आएको थियो ।
“शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ र संस्कृति हराए मानव अस्तित्व नै हराउँछ” भन्ने मूल नारालाई आत्मसाथ गर्दै स्थापना भएको प्ये ल्हु संघ कुवेत शाखाले बिगतमा पनि नेपालबाट बहुचर्चित कलाकारहरु तिलक गुरुङ र इन्दिरा गुरुङ जस्ता राष्ट्रिय कलाकारहरुको साथमा ल्होसारको आयोजना गरेको थियो भने यसपाली पनि सुमधुर स्वरकी धनि बहुचर्चित लोक दोहोरी गायिका सविना गुरुङलाई अतिथि कलाकारको रुपमा निम्ताएको छ ।
३० डिसेम्बर २०१९ को साँझ ८.०० बजे जजिरा एयरबाट कुवेत आउने कलाकार सविना गुरुङलाई कुवेत बिमानस्थलमा स्वागत गर्न तथा ल्होसार कार्यक्रममा उपस्थित जनाई कार्यक्रमको शोभा बढाई दिन सँघले कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, बुद्धिजिवि, समाजसेवी, भद्र-भलादमी, पत्रकार, कलाकार, खेलाडी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनुरोध गरेको छ ।
पुनश्चव:
कार्यक्रम : तमू च्यु ल्हाेसार
मिति : ०३ जनवरी २०२०, शुक्रबार
स्थान : राजधानी प्यालेस होटल खैतान, कुवेत
समय : बिहानको ठिक १० बजे, उप्रान्त
आयोजक : तमू प्ये ल्हु संघ शाखा, कुवेत