अनिश तिवारी
सिन्धुपाल्चोक — जिल्लाको सुनकोसी गाउँपालिका-६ मा आइतबार बिहान बस दुर्घटना भएको छ । दोलखाको कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा २ ख ४४६८ नम्बरको यात्रु बस अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लामोसाँघु जिरी सडकको ६ किलोबाट खसेको हो । घटनास्थलमा रहेका प्रहरीले अहिलेसम्म १२ शव भेटिएको बतायो। ‘अहिलेसम्म १२ वटा शव भेटिएको छ, अरु खोजी कार्य भइरहेको छ,’ घटनास्थलमा रहेका जिल्ला ट्राफिक प्रहरी राधेश्याम जंगमले कान्तिपुरसँग भने। मृतकको सनाखत भएको छैन।
दुर्घटनामा घाइते भएका १५ जनालाई काभ्रेको धुलिखेल र सिन्धुपाल्चोककै सिन्धु सदावहार अस्पताल खाडीचौर पठाइएको छ।घटनास्थलमा स्थानीय, प्रहरीले उद्धार कार्य जारी राखेका छन्।
करिब ९ बजे बस दुर्घटना भएको हो। बस ६ किलो सडकबाट करिब ५ मिटर तल सडकमा खसेको छ।(कान्तिपुर )