अतुल मिश्र
काठमाडौँ — मंगलबार एपेन्डिसाइटिस तथा पेरिटोनाइटिसको शल्यक्रिया गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा बुधबार केही सुधार देखिएसँगै उनलाई भेन्टिलेटरबाट हटाइएको छ । प्रधानमन्त्री ओली उपचाररत महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले बुधबार उनको स्वास्थ्य अवस्था ’bout कुनै औपचारिक जानकारी भने दिएको छैन। तर उनको उपचारमा संलग्न चिकित्सकले कान्तिपुरलाई दिएको जानकारी अनुसार ओलीको स्वास्थ्यमा केही सुधार भने देखिएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान ९ बजे अस्पताल पुर्याइएको थियो । विशेषज्ञ चिकित्सकको टोलीले परीक्षण गर्दा उनलाई ‘एपेन्डिसाइटिस’का साथै ‘पेरिटोनाइटिस’ (पेटको संक्रमण) समेत देखिएपछि लगत्तै ‘ल्यापरोटोमी’ (पेटलाई पूरा चिरेर गरिने शल्यक्रिया) र ‘एपेन्डेक्टोमी’ (एपेन्डिसाइटिस हटाउने शल्यक्रिया) गरिएको थियो ।
सेन्टरका अनुसार शिक्षण अस्पतालका ग्यास्ट्रोइन्टेस्टाइनल तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा.रमेशसिंह भण्डारीको नेतृत्वमा शल्यक्रिया गरिएको हो । शल्यक्रियापछि सेन्टरले मंगलबार दिउँसो र साँझ गरी दुई पटक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य स्थिति स्थिर रहेको जनाएको थियो। विज्ञप्तिमा शल्यक्रियापछि प्रधानमन्त्रीको सघन कक्ष (इन्टेन्सिभ केयर युनिट) मा उपचार भइरहेको उल्लेख थियो।(कान्तिपुर )