देवेन्द्र भट्टराई
काठमाडौँ — बंगालादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार दिउँसो काठमाडौं उत्रनासाथै भक्तपुर दरबार क्षेत्रको भ्रमणमा निस्कनेछन् । विमान बंगालादेशको विशेष उडानबाट मंगलबार दिउासो १२:४५ मा काठमाडौं उत्रने राष्ट्रपति हमिदको विमानस्थलमा हुने गार्ड अफ अनरमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जाने भएकी छिन् ।
राष्ट्रपति हमिदलाई रिसिभ गर्न परराष्ट्र मन्त्रालयका शिष्टाचार महापालसहितका विशिष्ट पदाधिकारी विमानस्थल पुग्नेछन्।
राष्ट्रपति भण्डारीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउन लागेका राष्ट्रपति हमिदको इच्छाअनुसार मंगलबार अपरान्ह ३ बजे भक्तपुर दरबार क्षेत्रको भ्रमणमा लगिने भएको छ। ४ दर्जनभन्दा बढीको प्रतिनिधिमण्डल लिएर आउने राष्ट्रपतिले राष्ट्रपति, प्रधानमन्त्री शिष्टाचार भेटघाटबाहेक बिहिबार पोखरा र शुक्रबार चन्द्रागिरी केबल कारको अवलोकन भ्रमण गर्ने भएका छन्।
बंगालादेशका १९ औं राष्ट्रपति हमिद यसअघि बंगालादेशको नेशनल पार्लियामेन्टमा सभामुख थिए। ७५ वर्षिय राष्ट्रपति सन् १९७१ को बंगालादेश स्वतन्त्रता आन्दोलनदेखि सक्रिय राजनीतिमा रहीआएका थिए।(कान्तिपुर )