क्रिकेट रंगशालाको डीपीआर बन्यो, धुर्मसले मागे ‘अन्तिम सहयोग’


सरकारले १७ वर्षसम्म क्रिकेट मैदान बनाउन सकेन, कहिलेसम्म कुर्ने ?
सुवास पण्डित
६ कात्तिक, चितवन । धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा बनाउने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । तोकिएको समयभन्दा झण्डै दुई महिना ढिला गरी रंगशालाको डीपीआर तयार भएको हो । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले भोगचलन गर्दै आएको २० विगाहा ६ कठ्ठा जग्गामा बन्ने क्रिकेट रंगशाला कमलको फूल आकारको हुनेछ । नेपाली मौलिकता झल्कने रंगशाला ३० हजार जना अट्ने क्षमताको हुनेछ ।

पहिला २५ हजार दर्शक मात्र अट्ने बनाउने भनिएकोमा ५ हजार क्षमता थपेर डीपीआर तयार गरिएको छ । रंगशालामा दुई भीआईपी प्याराफिटसमेत रहनेछन् ।

‘क्रिकेट स्टेडियमसँगै फुटबल मैदान, स्वीमिङ पुल र कभर्ड हल पनि निर्माण गरिने छ । ती सबै संरचनाको डीपीआर तयार भएको छ,’ फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले भने, ‘तर निर्माणको थालनी भने क्रिकेट स्टेडियमबाट हुनेछ ।’

क्रियटिभ डिजाइन आर्किटेक प्रा.लि.को नेतृत्वमा भारतीय र अमेरिकन कन्सल्टेन्सीको सहयोगमा डीपीआर तयार गरिएको हो । तिहारलगत्तै संरचना निर्माणको काम सुरु गर्ने र दुई वर्षभित्र सम्पन्न गर्ने योजना फाउन्डेशनले बनाएको छ । कट्टेलले भने, ‘निर्माणमा जानुअघिका प्रारम्भिक चरणका कामहरु भैसकेका छन् । डीपीआर तयार भइसकेकाले अब कामले गति लिन्छ ।’

चितवनमा रंगशालाको डीपीआर प्रस्तुतीकरणका लागि आएका धुर्मस-सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलसँग अनलाइनखबरले गरेको कुराकानी-

रंगशाला निर्माणको घोषणादेखि डीपीआरसम्म आइपुग्दा कस्तो अनुभूति गर्नुभएको छ ?

सुरुमा हामी निकै उत्साही थियौं । नेपाली क्रिकेटले एकदिवसीय मान्यता पायो । तर, खेल्ने मैदान थिएन । मूलपानी क्रिकेट मैदान बनाउन थालेको १७ वर्ष बित्यो तर खेल्ने अझै भएन । जेजति सम्पत्ति छ, त्यही कीर्तिपुर मैदान मात्रै हो । त्यो पनि भरपर्दो छैन । यस्तो अवस्थामा देशका खेलाडीका लागि र अन्तर्राष्ट्रिय प्रतियोगिता र प्रतिस्पर्धा गराउन पनि रंगशाला आवश्यक देख्यौं । र, जनताको साथको अपेक्षासहित घोषणा गर्‍यौं । भरतपुर महानगरपालिकाको समन्वयमा जग्गा पनि उपलब्ध भयो ।

रंगशाला नेपाली मौलिक संस्कृति झल्कने डिजाइनमा तयार भएको छ । कमलको फूल आकारको बन्ने छ । हेर्दा आकर्षक र विश्वमा कहीँ पनि नभएको डिजाइन छ
प्राप्त जग्गा बारबेर गर्नेदेखि शिलान्यासअघिका सबै काम गर्न थाल्यौं । त्यहीबीचमा जेठ १५ गते बार भत्काइएको घटनाले हामीलाई स्तब्ध बनायो । झण्डै ५३ दिन काम रोकियो । गर्ने कि नगर्ने, अन्योल भयो । सारा घरपरिवार, पेशा छाडेर हिँड्दा पनि किन यस्तो गरिन्छ ? भन्ने पनि आयो । रंगशाला निर्माणमा आर्थिक सहयोग गर्नेहरु बेखुस भए, भड्किए । तर, हामीले हिम्मत हारेनौं ।

डीपीआर गर्ने पैसा थिएन । कतैबाट पैसा जुट्ने अवस्था नहुँदा नहुँदै पनि काम अघि बढायौं र आज रंगशालाको डीपीआर तयार भएको छ । तोकिएको समयभन्दा केही ढिला गरी डीपीआर बनायौं । सुरुमा यहाँ घटना भएपछि हामीले पैसा पठाउन पनि सकेनौं । चाडवाड र बर्खायाम पनि लाग्यो । ढिलो भएकोमा क्षमा चाहान्छौं ।

नेपाली इन्जिनियरसँग ज्ञान भए पनि अनुभव थिएन । त्यसैले भारतका विभिन्न इञ्जिनियरहरुसँग मिलेर उहाँहरुले काम गर्नुभयो । केही समय होल्ड हुन पुग्यो । तर, पनि काम भयो ।

कस्तो बन्यो त डीपीआर ?

रंगशाला नेपाली मौलिक संस्कृति झल्कने डिजाइनमा तयार भएको छ । कमलको फूल आकारको बन्ने छ । हेर्दा आकर्षक र विश्वमा कहीँ पनि नभएको डिजाइन छ । ३० हजार क्षमताको बन्ने छ । भीआइपी प्याराफिट रहनेछन् । ती पनि मौलिक हुनेछन् ।

धेरै समय कमलको फूल आकार कसरी बनाउने भन्नेमै खर्चियो । टेक्निकल्ली गाह्रो काम रहेछ त्यो । फूलका पत्ताहरु बनाउन गाह्रो हुन्छ कि भन्ने भयो । धेरै चरणमा छलफल भयो । धेरै डिजाइन बनायौं ढाका आकारको पनि बनायौं । त्यसमा पनि समय खर्च भयो । आउटलुक चित्त बुझेन । फेरि अर्को डिजाइन बनाउन समय लाग्यो ।

अन्त्यमा, कमलको फूलको परिकल्पना अनुसारकै डिजाइन तयार भएको छ । तुलनात्मक हिसावमा यसमा खर्च बढी लाग्छ नै । तैपनि अनुमानित भन्दा कम २ अर्ब ५० करोडभित्र रंगशाला बनाउन सकिने अवस्था देखिएको छ । यसमा पर्याप्त पार्किङ सुविधा हुनेछ । फुटबल मैदान, स्वीमिङ पुल, कभर्ड हल, इन्डोर प्रशिक्षण गर्न मिल्ने व्यवस्था सबै हुनेछ ।

यो पनि पढ्नुहोस
यस्तो बन्नेछ धुर्मुस सुन्तलीले बनाउने क्रिकेट रंगशाला
होचो जमिन भएकाले केही माटो फिलिङ गर्नुपर्ने अवस्था छ । माटो परीक्षण पनि निकै राम्रो देखिएको छ । प्राविधिकहरुका अनुसार प्याराफिट बनाउँदा निस्कने माटो नै पुर्न प्रयोग गर्ने कुरा छ । तिहार पछिबाट काम अघि बढ्छ । सबै जमिनको सही सुदपयोग गरेका छौं । कुनै अप्रिय घटना घट्दा सहजताका लागि पनि धेरै स्पेस छाडेका छौं । अगाडि खुल्ला ठाउँ पर्याप्त छ ।

डीपीआर तयार भएपछि कस्तो अनुभूति गर्दै हुनुहुन्छ ?

मलाई त डीपीआर बनेपछि अब रंगशाला बन्यो जस्तो भएको छ । म के विश्वास दिलाउन चाहान्छु भने अब रंगशाला बन्छ । एउटा महत्वपूर्ण काम हामीले कठिन परिस्थितिका वीचमा गरेका छौं । भरतपुर महानगरपालिकामा प्रस्तुतीकरण गर्छौं । केही सुझावहरु भए लिन्छौं ।

महानगरपालिकाका इन्जिनियरहरुले पनि हेर्नुहुन्छ । महानगरपालिकाबाट स्वीकृत गराउँछौं । त्यसअघि नै मैदानको ले-आउटको काम सुरु भैसकेको हुन्छ ।

हामी मैदानको काम गर्दै गर्छौं । संरचनाको काम डीपीआर स्वीकृत भएपछि सुरु हुन्छ । जति छिटो उहाँहरुले डीपीआर स्वीकृत गर्नुहुन्छ, त्यति छिटो काम अघि बढ्छ ।

रंगशाला निर्माणको प्रमुख पाटो आर्थिक हो । जनस्तरबाट बनाउने भनिएको रंगशालामा जनताको साथ कस्तो रहला ?

पक्कै पनि हामीले जनता र सरकारको सहयोगमा यो रंगशाला बनाउने भनेका छौं । हामी त माध्यम मात्रै हौं । क्रिकेट नेपालको राष्ट्रिय गौरवको विषय हो । यो तीन करोड नेपालीको साझा अभियान हो । यो अभियानमा हरेक नेपालीको साथ आवश्यक पर्छजस्तो लाग्छ । थोपा-थोपा मिलेर सागर बन्छ । सबैभन्दा पनि चितवन जिल्लाबाट सहयोग हुनुपर्छ । चितवन जाग्नुपर्छ ।

म अन्तिमपटक यहाँहरुसँग सहयोग माग्दैछु । यसपछि म कुनै पनि पैसा माग्ने छैन । अन्तिम पटकका लागि सहयोग गर्नुस्
हामीले चितवन देशको मध्यभाग हुन्छ भनेर नै यहाँ यति ठूलो परियोजना तयार गर्न खोजिरहेका छौं । यसको सबैभन्दा बढी लाभ चितवनले नै उठाउँछ । त्यसकारण यहाँका हरेक जनताको साथ र सहयोग आवश्यक छ । मलाई विश्वास छ त्यो प्राप्त हुन्छ ।

हामी देशका हरेक जिल्लामा समेत आर्थिक सहयोग संकलन समिति गठन गर्छौं । जनता र सरकारले चाहँदा तीन अर्ब भनेको केही हैन । विदेशमा रहेका नेपालीहरुको पनि साथ उत्तिकै रहन्छ भन्ने विश्वास छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा हामी सधैं अरु अरु देशको क्रिकेट टिमलाई सर्मथन गर्छौं । तर, अब हामीले हाम्रो देशको टिमलाई त्यहाँ पठाउनु छ । सारा नेपालीको मुखमा नेपाल नेपाल भन्ने बनाउनुछ । हामी रंगशालामार्फत सारा नेपालीलाई एक ठाउँमा जोड्ने अभियानमा लागेका छौं । पक्कै पनि आर्थिक समस्या हुँदैन । हामी तोकिएको अवधि, दुई वर्षभित्र नै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार गर्छौं ।

तीन अर्ब रुपैयाँ जनस्तरबाट जुटला त ?

तीन अर्ब हामीलाई एकैपटक चाहिने हैन । तीन अर्ब बैंकको खातामा राखेर मात्रै काम गर्ने हैन । पैसा सहयोग हुँदै जान्छ, काम पनि अघि बढ्छ । संरचनाहरु खडा हुँदै जान्छन् । जनतामा पनि विश्वास जाग्छ । अब बन्छ भन्ने हुन्छ । अहिले त दुविधा छ । त्यसैले कतिपयले सहयोग गर्ने मन हुँदाहुँदै पनि सहयोग गर्नुभएको छैन ।

मलाई त के विश्वास छ भने रंगशाला अब शतप्रतिशत बन्यो । डीपीआर बनेपछि मलाई यो साहस आएको छ । संरचना बनाउन सुरु गरेपछि सबै जनताको साथ हुन्छ । म अन्तिमपटक यहाँहरुसँग सहयोग माग्दैछु । यसपछि म कुनै पनि पैसा माग्ने छैन । अन्तिम पटकका लागि सहयोग गर्नुस् । हामीले धेरै माग्यौं । मागेर नै बस्ती बनायौं । माग्ने अरु पनि छन् ।

देशका लागि म पनि केही सहयोग गर्छु भन्ने अवसर हामी सबैका लागि खुल्ला भएको छ । यो क्रिकेट रंगशाला सहयोग गर्दैगर्दा यहाँहरुलाई पक्कै पनि आत्मसन्तुष्टि मिल्नेछ । राष्ट्रिय गौरवको परियोजनाको एक हिस्सेदारी बन्दा ।

आर्थिक संकलनका योजना के छन् ?

अब हामी छिट्टै रंगशाला निर्माणस्थलमा एउटा विशाल महायज्ञ लगाउँदैछौं । पण्डित दीनवन्धु पोखरेलले निःशुल्क रुपमा महायज्ञ लगाएर सहयोग गर्छु भन्नुभएको छ । त्यसको तयारी गर्दैछौं ।

चितवनमा अझै यो अभियानलाई ब्यापक बनाएर लैजान्छौं । हाम्रो कार्यविधि पनि तयार भएको छ । सञ्चालक समितिले निर्णय पनि गरेको छ । अब कार्यान्वनयमा जान्छौं । जिल्लास्तरीय सहयोग समिति गठन गर्न फोकल पर्सन जयराम सिग्देललाई तोकेका छौं ।

सरकारले बनाउन लागेका परियोजनाहरुको हालत दयनीय छ । मूलपानी क्रिकेट मैदान बन्न थालेको १७ वर्ष भयो अझै खेल्नयोग्य भएन । कहिलेसम्म कुर्ने ?
हरेक जिल्लामा जिल्लास्तरमा सहयोग समिति गठन हुन्छ । क्रिकेट एसोसियन (क्यान)मा पनि नयाँ पदाधिकारीहरु आउनुभएको छ । उहाँहरुसँग पनि भेट भएको छ । कुराकानी भयो । उहाँहरुले पनि साथ दिनुहुन्छ ।

गैरआवासीय नेपाली संघसँग पनि भेटघाट भयो । पूर्वअध्यक्षज्यूहरु र अहिलेका पदाधिकारीसँग पनि भेटघाट भएको छ । पूर्वअध्यक्ष जीवा लामिछाने हाम्रो सल्लाहकार पनि बन्नुभएको छ । अब एनआरएनसँग एमओयू गर्ने कुरा भएको छ ।

हामी रकम संकलनका लागि विभिन्न माध्यमहरु मार्फत जान्छौं । उठेको रकम पारदर्शी ढंगले खर्च गर्छौं। कहाँबाट कसले कति रकम दिनुभयो र कहाँ कति खर्च भयो, सबै पारदर्शी हुन्छ । सफ्टवेयर प्रणालीमार्फत त्यसको हिसाव राख्छौं । हरेक जनताको पसिनाबाट आर्जित सहयोगको दुरुपयोग एक रुपैयाँ पनि हुँदैन ।

मान्छेहरु भन्छन्, यो त सरकारको काम हो, किन हात हालेको ?

हो, पक्कै पनि सरकारको काम हो । हामीले हैन भनेका छैनौं । सरकारले बनाउन लागेका परियोजनाहरुको हालत दयनीय छ । मूलपानी क्रिकेट मैदान बन्न थालेको १७ वर्ष भयो अझै खेल्नयोग्य भएन । कहिलेसम्म कुर्ने ?

हेर्नुस्, म त तीन महिनामा एउटा सिंगो बस्ती नै बनाएर आएको मान्छे हुँ । सरकारलाई त्यही काम गर्न महाभारत हुन्छ । त्यो कामको अनुभव मसँग छ । मैले त्यसै यत्तिको ठूलो संरचना बनाउन आँट गरेको पक्कै पनि हैन ।

जब, विश्वकप क्रिकेट आउँछ अरु पनि क्रिकेट प्रतियोगिताहरु आउँछन्, हामी कोही भारतको, कोही पाकिस्तानको, कोही अस्ट्रेलियाको समर्थन गरेर उनीहरुका जर्सी लगाएर हिँड्छौं । हामी बाँडिन्छौं, विभक्त हुन्छौ । म चाहान्छु त्यस्ता प्रतियोगिताहरुमा देश उभ्याउनुपर्छ । हाम्रा गोर्खालीका सन्तान उभिनुपर्छ । हामीले आफ्नै देशको क्रिकेट जर्सी लगाउने दिन आओस् भन्ने चाहान्छु ।

क्रिकेटका माध्यमबाट हामी विश्व माझ हाम्रो देशलाई चिनाउन सक्छौं । त्यो प्रकारको क्षमता बढाउन खेलाडी उत्पादन गर्नुपर्दछ । त्यसका लागि रंगशाला चाहिन्छ । सरकारले एउटा पनि खेल मैदान नबनाउँदा, पूर्वाधार केही नहुँदा पनि हाम्रा खेलाडीले नेपाललाई एकदिवसीय मान्यता प्राप्त देश बनाए ।

हेर्नुस् हाम्रो बिडम्वना ! सरकारले एउटा पनि खेल मैदान बनाउन सकेको छैन । त्यसैले यो राष्ट्रिय गौरवको परियोजनामा सहयोग गर्न कोही पनि नछुटौं भन्न चाहन्छु । रंगशाला बन्दै गर्दा मेरो व्यक्तिगत सम्पत्ति जोड्ने हैन, यो देशको सम्पत्ति हो ।(अन्लाईनखबर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.