मातृभूमि छोडेर नसुध्रिएका ‘हे-नारानहरू’ !


विष्णु सुवेदी
उपेन्द्र महतो, जीवा लामिछाने, शेष घलेहरूले नेतृत्व गर्दा एनआरएनएको जुन उचाइ र ओज थियो, त्यसमा धेरै खिया लाइसकेको छ। एयरपोर्टदेखि होटेलसम्म लफडा, कुटाकुट, बहिष्कार, नाराबाजी, लाठीचार्जसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) सम्मेलन सकिएको छ। यसपटकको एनआरएनए सम्मेलनमा काठमाडौंमा देखिएको जात्रा कतिसम्म लाजमर्दो थियो ? तल प्रस्तुत केही घटनाक्रमले देखाउँछ।

पहिलो घटना एयरपोर्टबाटै सुरु गरौं।

एनआरएनए सम्मेलनमा भाग लिन आएका केही गैरआवासीय नेपालीले असोज २६ गते एयरपोर्टमा अभद्र व्यवहार र तोडफोड गरेपछि अध्यागमन विभागका प्रमुख अधिकृत दीर्घनारायण पौडेलले जारी गरेको विज्ञप्तिको अन्तिम लाइन यस्तो लेखिएको छ-

‘नेपाली मूलका विदेशी नागरिकबाट पटकपटक अध्यागमन कार्यालयका कर्मचारीसँग अभद्र व्यवहार हुने गरेकोमा अबउप्रान्त यस किसिमको व्यवहार नहोस् भन्ने कुरा अनुरोधसमेत गर्दछु। ’

मातृभूमि फर्केका आफ्ना गैरआवासीय दाजुभाइविरुद्ध विज्ञप्ति निकाल्न अध्यागमन अधिकृतलाई पनि मन थिएन होला, तर यो बाध्यता उनीहरूले उत्पन्न गरिदिए। एकछिन लाइनमा बस्नुपरेपछि ‘यही हो नेपालको सिस्टम’ भन्दै उनीहरूले हंगामा गर्न खोजे। त्यहाँ हप्कीखप्की मात्रै गरेनन्, तोडफोड गर्न थाले। अनि प्रहरीले स्थिति नियन्त्रणमा लियो र एकजनालाई हिरासतमा राख्यो।

असोज २८ गते हायात होटेलमा सम्मेलन प्रारम्भ भयो। एनआरएनएका संस्थापक अध्यक्ष तथा संरक्षक उपेन्द्र महतोले ‘राजनीतिक हस्तक्षेप र चलखेल बढेको’ भन्दै उद्घाटन सम्मेलन नै बहिष्कार गरे। यसले नै एनआरएनका स्वतन्त्र र स्वाभिमान सदस्यहरूलाई निराश तुल्याएको थियो।

असोज २८ गते राति मतदाता नामावलीको सूची सार्वजनिक भयो। विदेश नै नगएका केही मानिसलाई पनि एनआरएनको सूची राखेर फर्जी मतदाता बनाइएको भन्दै निर्वाचन समितिमा मात्र होइन, परराष्ट्र मन्त्रालयमा उजुरी पर्‍यो। त्यही विषयलाई लिएर राति अबेरसम्म विवाद भयो। यो सबै दृश्य देखेपछि अरू पूर्वअध्यक्षहरूले सम्मेलन स्थल छाडेका थिए।

असोज २९ गते उम्मेदवारी दर्तापछि मतदाता नामावली विवाद र भोटिङ मेसिनमा पनि गडबड गर्न खोजिएको भन्दै मतदान रोकियो। असोज ३० बिहान कागजी प्रक्रियाबाटै मतदान सुरु भयो तर मतगणनाका क्रममा फेरि तनाव भयो। भित्र मतगणना सुरु नहुँदै दुई पक्षबीच होटेलपरिसरमा कुटाकुट हुने स्थिति आएपछि प्रहरीले लाठीचार्ज गर्‍यो। बिहान मात्र मतगणना गरेर नतिजा घोषणा गरियो।

माथि उल्लिखित यी घटनाक्रमले एनआरएनप्रति जुन खालको आम आस्था र आकर्षण थियो, त्यसमा अब धब्बा लागेको छ। रहर वा बाध्यताले मातृभूति छाडेर बाहिर कर्म गरिरहेका गैरआवासीय नेपालीहरूको हकहितका लागि सामाजिक संस्थाका रूपमा क्रियाशील रहँदै आएको एनआरएनएमा यसपटक राजनीतिक रङ पोतिएको छ। पहिलोपटक दलीय प्यानल बनाएर उम्मेदवारहरू चुनावी मैदानमा प्रस्तुत भए।

विदेशमा अनुशासनमा बस्न सिकेका ‘एनआरएन’ हरूले मातृभूति फर्किंदा यस्तै खालका हेपाहा व्यवहार र कमसल चरित्र देखाउन छाडेनन् भने आगामी सम्मेलन विदेशतिरै गर्नुपर्ने अवस्था पनि आउन सक्छ।
कसको प्यानलले जित्यो ? अर्थात् कुमार पन्तले जिते कि कुल आचार्यले ? त्यो त्यति महत्वपूर्ण प्रश्न होइन। चुनावी अंक गणितमा सय÷डेढ सयको अन्तर ठूलो कुरा होइन। मातृभूमि छाडेर विदेशमा कर्म गर्नेहरू किन यति अराजक र अनुशासनहीन भएका होलान् ? अहिले चिन्ता गर्नुपर्ने र चिन्ता गरिएको अहम पक्ष यो हो।

यसपटक धमिलिएको छवि सच्चाएर एनआरएनलाई सबैले अपनत्व महसुस गर्ने साझा सामाजिक संस्थाका रूपमा विकास गर्ने सबैभन्दा ठूलो चुनौती नयाँ नेतृत्व हो। कुनै राजनीतिक कित्ताविशेषको आशीर्वादमा विजयी भएको भनेर प्रचार गरिएको यो टिमले त्यो दिशामा कति स्वतन्त्र भएर काम गर्न सक्छ ? यो अब आगामी दिनले बताउनेछ।

एनआरएनएले नेपालको विकासमा उत्पात केही गर्ने होइन, खासै गरेका पनि छैनन्। यता मेसो नमिलेपछि उनीहरू आआफ्नो दुनो सोझ्याउन उता लागेका हुन्, जहाँ छन् त्यहाँ इज्जतका साथ टिके अनि स्थापित भए भने त्यसमै हामी यता बस्नेले खुसी मान्नुपर्छ। अरू धेरै अपेक्षा केही छैन।

उनीहरूको पैसा वा लगानीभन्दा पनि मातृभूमिप्रति सच्चा सद्भाव र माया भए पुग्छ तर अब मुलुकले भने उनीहरूप्रति कति सद्भाव र माया देखाउने भन्ने विषयमा बहस हुन थालेको छ। विदेशमा अनुशासनमा बस्न सिकेका ‘एनआरएन’ हरूले मातृभूति फर्किंदा यस्तै खालको हेपाहा व्यवहार र कमसल चरित्र देखाउन छाडेनन् भने आगामी सम्मेलन विदेशतिरै गर्नुपर्ने अवस्था पनि आउन सक्छ।

एनआरएनएको यसपटकको सम्मेलनमा देखिएको जात्रालाई लिएर विदेशमा रहेका सबै नेपालीलाई एउटै बास्केटमा राख्नु ठीक हुँदैन। काठमाडौं आएका केही ‘कार्यकर्ता एनआरएन’ ले मात्र यस्तो छवि र चरित्र देखाएका हुन्। विदेशमा रहेका गैरआवासीय नेपाली सबै खराब छैनन् र उनीहरूलाई एनआरएनको राजनीतिप्रति खासै मतलब पनि छैन। आआफ्नो पेसा व्यवसाय तथा जीवन गुजारा चलाएर शान र इज्जतका साथ त्यहाँ बस्ने थुप्रै नेपाली छन्। उनीहरूको भावनालाई अब एनआरएनएले कति प्रतिनिधित्व गर्न सक्छ ? यो पनि बहसको विषय भएको छ। ’cause यो नेपालका राजनीतिक दलहरूको गोटीजस्तै भइसकेको छ।

मातृभूमि छोडेर विदेशमा रहेका कयौं नेपाली यतिबेला एनआरएन चुनावी जात्राका दृश्य देखेर दिक्क मानेका होलान्। यति लाजभर्दो र अराजक दृश्य सम्भवतः दलको भ्रातृ संस्थाको चुनावमा पनि देखिएको थिएन। एनआरएनमा विस्तारै घुस्दै आएको दलीय राजनीति यसपटक लाजै लाग्ने गरी उदांग भएको छ। एनआरएनएलाई आफ्नो कब्जामा राख्ने र त्यहाँको जित-हारलाई आफ्नो प्रतिष्ठा ठान्ने दलहरूको हस्तक्षेपकारी रबैयाका कारण चुनावमा यस्तो जात्रा भएको हो। एनआरएनजस्तो सामाजिक संस्थालाई पनि आफ्नै भ्रातृ संस्थाजस्तै दलीय छायामा राख्न खोज्ने पार्टीहरूको सोचाइ र शैली जति खराब छ, त्योभन्दा खत्तम मानसिकता एनआरएनका केही नेताहरूमा देखियो, जसले एनआरएनलाई दलका केही नेताहरूको सनक र निगाहको सिकार बनाउन खोजे। चुनावका लागि टिकट माग्न र लाइन मिलाउन उम्मेदवारहरू नेताका घरदैलोसम्म पुगे।

यसपटक एनआरएन चुनाव राजनीतिक चुनावभन्दा पनि खर्चियो र भड्किलो भयो। काठमाडौंका तारे होटेलमा एक साता अनेक रमिता देखियो। उम्मेदवारलाई आफ्ना मतदाता रिझाउन र मनाउन धौधौ पर्‍यो। होटल र रेस्टुराँमा महँगा रक्सीको छेलोखेलो चल्यो। दलीय हस्तक्षेप र शक्तिको प्रयोगसँगै आर्थिक चलखेल पनि भयो।

‘अब एनआरएनए भन्न पनि लाज भइसक्यो, यस्तो जात्रा हुन्छ भन्ने थाहा भएको भए त भोट हाल्न पनि आउने थिएन, न्युजिल्यान्डबाट काठमाडौं आइपुगेका एकजना गैरआवासीय प्रतिनिधिले चियागफमा यस्तो निराशा व्यक्त गरे। उनी भोट हाल्न पनि गएनन्। यो भनाइ उनको मात्रै होइन, एनआरएनएमा भाग लिने आएका तर राजनीतिमा खासै चासो नभएका थुप्रै प्रतिनिधिहरूको भावना पनि हो यो।

सम्मेलनमा भाग लिन आउँदा एयरपोर्टदेखि, होटेल, सम्मेलन स्थल र फर्किने बेलामा उनीहरूले जेजस्ता चरित्र र व्यवहार प्रदर्शन गरे, त्यसले एनआरएनएप्रतिको आम दृष्टिकोण नै बदलिएको छ। पहिले जुन खालको सद्भाव र सम्मान भाव थियो, अब त्यो अवस्था रहेन। विदेशमा रहेका सबै नेपालीको हित चिताउने साझा संस्थाभन्दा दलहरूको स्वार्थमा चल्ने र चलखेल गर्ने राजनीतिक अखडा बन्ने खतरा बढेको छ। उपेन्द्र महतो, जीवा लामिछाने, शेष घलेहरूले नेतृत्व गर्दा एनआरएनएको जुन उचाइ र ओज थियो, त्यसमा धेरै खिया लागिसकेको छ।

एनआरएनए सम्मेलन आम चासोको विषय नै थिएन र होइन। पहिले-पहिले धेरैलाई थाहा पनि हुने थिएन कहिले सम्मेलन हुन्थ्यो र सकिन्थ्यो भन्ने कुरा। थाहा हुन आवश्यक पनि थिएन। तर यसपटक पनि एनआरएनए सम्मेलन दुनियाँ हँसाउने जात्रा नै बन्यो। चुनावी जात्राका दृश्यले सामाजिक सञ्जाल तरंगित भए। ‘एनआरएन’ को नाम नै फेरेर सामाजिक सञ्जालमा ‘हे-नारान’ भनेर सम्बोधन गर्न थालियो। ‘हे-नारान’ छवि बनाएर कर्मभूमितिर फर्किंदै गरेका उनीहरू छिटै सच्चिएर साँच्चिकै ‘एनआरएन’ होऊन्। अहिलेलाई यही शुभकामना !(अन्नपूर्ण )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.