गोपाल शर्मा
दाङ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २१ जना नेता, कार्यकर्ता दाङबाट पक्राउ परेका छन् । नेपाल-भारत सीमा नाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका वडा नं ४ को ग्रेटाखोलास्थित जंगलमा पार्टीको आन्तरिक तयारी बैठक गर्दै गर्दा दाङ प्रहरीले नियन्त्रण लिएको प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिए।
बैठक भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले बिहीबार राति १ बजेतिर पक्राउ गरेको हो । पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड ईञ्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको नेकपाले जनाएको छ। वीरजंग विप्लवका दाई हुन्।
एनसेलको कार्यालय र टावरमा बम आक्रमणपछि सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको छ। सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत प्रतिबन्ध लगाएको स्पष्ट पारेको छ। विप्लव समूहका गतिविधि आपराधिक भएको दाबी गर्दै सरकारले उसका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
संगठित अपराध निवारण ऐन २०७० को दफा ७ को उपदफा २ मा भनिएको छ, ‘कुनै प्रकारको हातहतियार, बम, विस्फोटक पदार्थ वा अन्य कुनै उपकरण वा वस्तु प्रयोग गरी नेपालको सार्वभौमसत्ता, प्रादेशिक अखण्डता वा नेपाल वा यसको कुनै भागको सुरक्षा वा शान्ति र व्यवस्थामा खलल पार्ने वा विदेशस्थित नेपाली कूटनीतिक नियोग वा त्यसको सम्पत्ति वा नेपालस्थित विदेशी नियोग वा अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्थाको आवासीय कार्यालय वा त्यसको सम्पत्ति वा कुनै सार्वजनिक वा निजी पूर्वाधार, संरचना वा विकास परियोजनाको संरचना वा त्यसको हाता वा शिक्षण संस्था, स्वास्थ्य संस्था वा यातायात संस्थाजस्ता सर्वसाधारणलाई सार्वजनिक सेवा प्रदान गर्ने सेवा प्रदायकको भवन, साधन, उपकरण, यन्त्र ध्वस्त गरी क्षति पुर्याउने वा तोडफोड गर्ने वा सोको योजना बनाउने वा त्यस्तो स्थानमा मानिसको जिउज्यान जाने, अंगभंग हुने वा चोटपटक पुर्याई घाइते तुल्याउने काम वा आगो लगाउने वा दैनिक उपभोग्य वस्तुमा वा सार्वजनिक स्थानमा विषालु पदार्थ प्रयोग गरी मानिसको जिउज्यान जाने वा अंगभंग हुने वा अन्य क्षति पुर्याउने कामलाई विध्वंसात्मक कार्य मानिनेछ।’(अन्नपूर्ण )