विकृति हटाएर संस्कृति चिनौं


डा.गोविन्द टण्डन
हुने र नहुने, धनी र गरिब, सम्पन्नता र विपन्नताको धाँजो झन्झन् फराकिलो बन्दै जानु कुनै पनि दृष्टिकोणले सुखद होइन । यो सृष्टि धार्मिक–आध्यात्मिक दृष्टिकोणले हेर्दा ईश्वरको कृपाप्रसाद हो, लीलाभूमि हो। जो जति जीवात्मा यहाँ छन्, ती सबै त्यही क्रीडाभूमिमा तोकिएको समयावधिभित्र आआफ्नो नाटकको मञ्चन गर्छन् र समय आइपुगेपछि बिदा हुन्छन्। यसैगरी यो संसार चलेको छ। जति बुझ्यो झन् गहिरो, बुझ्न खोज्यो झन् नबुझेजस्तो गर्दागर्दै मानिसको छोटो आयु अनायाश समाप्त हुन्छ। नबुझेर जीवनलाई बर्बाद पार्नेहरू त कति हुन् कति ! पाएको मनुष्यरूपी अमूल्य जीवनलाई कसरी सार्थक र दिव्य बनाउने त्यसको खोजीमा थोरै मानिस मात्र लाग्न सकेका छन्। जो लागेका थिए र छन्, तिनैले वेद दिए, जिन्द अवेस्ता दिए, उपनिषद् दिए, गीता दिए, पुराण दिए, कुरान दिए, बाइबल दिए, धम्मपद दिए, गुरुग्रन्थसाहेव दिए। यस्तै–यस्तै अनेक धार्मिक–आध्यात्मिक असल शास्त्रहरू दिए। कति पढ्यौं, कति पढन पाएनौं, त्यसलाई व्यवहारमा ल्यायौं/ल्याएनौं, त्यो त टाढाको कुरा भयो।

यसैगरी मानिसको जीवनयात्रा चलेको छ। चल्दै रहनेछ। पूर्णतत्वको यथार्थको पत्तो नलाग्ने भए पनि खोजी, अध्ययन र अनुसन्धान चल्दै जानेछ। अनुमान र शंका पनि थामिने छैन। यही असीमितताको बोधले नै आएको हो, ‘नेति नेति’ अर्थात् ‘यो होइन, यो होइन’, ‘यो होइन, त्यो होइन‘, ‘अन्यत्र होइन, अन्यत्र होइन’। आत्माको ज्ञान प्राप्त गर्ने मार्गलाई नै ‘नेति नेति’ भनिएको हो। ईश्वर पञ्चभूत होइन, इन्द्रिय होइन, मन, बुद्धि, अहंकार होइन। ऊ त सबै तत्वहरूको पनि अतीत हो। ऊ सबै हो। विश्व ब्रह्माण्डकै सृष्टि, स्थिति, संहार ईश्वरको क्रीडा हो। ईश्वर जाँचिने विषय होइन, अनुभूत र अनुभव गरिने विषय हो।

संसारमा जति पनि प्राणी छन्, ती सबै ईश्वरकै अंश हुन्। ईश्वरकै सन्तति हुन्। अझ पर जाने हो भने ईश्वरस्वरूपै हुन्। हरेक प्राणीमा आत्मा छ। आत्मा नै ब्रह्म हो। आत्मा नै ईश्वर हो। आत्मा नै परमात्माको स्वरूप हो। व्यष्टिरूपमा आत्मा हो। समष्टि स्वरूपमा परमात्मा। संसारमा बाँच्न पाउने हक अधिकार जति मानिसलाई छ, त्यति नै पशु, प्राणी, जीवात्माहरूको पनि छ। यसैले यो संसार मानिसको मात्र होइन, सबै पशु प्राणी, जीवात्माहरूको पनि हो। यो विश्व ब्रह्माण्डको समुचित व्यवस्थापनमा सबै जीव, वनस्पति र प्राणीहरूको योगदान रहेको छ। त्यो जैविक विविधताको रहस्य बुझ्न नसक्दा अनेक किसिमका समस्या विश्वमा देखिरहेका छन्। पाल्नुपर्ने, विस्तार गर्नुपर्ने, बढाउनुपर्ने विविध प्रकारका वनस्पति, रूख, बिरुवा थिए। तिनलाई बढाउनेभन्दा अनेक बहानामा विनाश गर्न मानिस व्यस्त छ।

वनस्पति, उद्यान, बागबगैंचा एवं पार्कहरूको महत्व बुझ्न नसक्दा मानिस सुँगुर, बंगुर, हाँस, कुखुराजस्ता पशुपालनमा लागेको छ। संसारका कतिपय देशमा मांसाहारका लागि भनेर व्यापक रूपमा ऊँट, भेडा, बाख्रा, गाईभैंसीको फार्मिङ गरिरहेका छन्। पशुपालन र उनीहरूप्रति हुने गरेको निर्दयताले व्यापक रूपमा एकातिर मानवता हराउँदै जान थालेको अनुभव जोकसैले गरेको हुनुपर्छ भने अर्कोतिर त्यसले वातावरणलाई यति जर्जर र दूषित तुल्याइसकेको छ कि के भन्ने ? मनुष्य हुनुको प्रमुख गुण करुणामा ह्रास, दया, मायाजस्ता मानवीय गुणमा स्खलन, रोगव्याधिमा वृद्धिलगायतका कारण विश्वमा त्राहिमामको अवस्था सृजना गरेको तर्फ अब कसरी सचेत र सतर्क हुने भन्नेमा आम बहस र चर्चा हुन थालेको छ।

कृषि प्रणालीभित्रै पशुपक्षीपालनलाई भित्र्याएर सरकारसमेत यसको प्रवद्र्धनमा लागेको उदाहरण पहिले अनेक थिए। अहिले कृषिभित्र पशुपक्षीलाई पार्न हुन्न बरु यो त वातावरण संवद्र्धनभित्र पार्नुपर्छ भन्ने चलनले स्थान लिँदै छ। यसले के नै फरक पर्छ भन्ने जिज्ञासा आउन सक्छ। पशुपक्षी पनि कृषिभित्रै पर्दा उत्पादित अन्नहरू मानिसको आहारलाई भन्दा पनि पशुपक्षीको आहारमा अधिकतम रूपले प्रयोग हुँदा पनि चुपचाप बस्नुपर्ने स्थिति विश्वव्यापी बनेको सन्दर्भमा हेर्नुपर्ने हुन्छ।

संसारमा उत्पादित अन्नको करिब–करिब ७० प्रतिशत प्रतिशत अन्न पशुपक्षीको आहारका लागि प्रयोग भइरहेको छ। यसले वनस्पतिको विनाश तुल्याउन सहयोग पुग्नेदेखि लिएर मानिसका लागि चाहिने जीवन आधारस्वरूपको पानीको भयंकर दुरुपयोग भएर मानिसका लागि पानी उपलब्ध नहुने काकाकूलको स्थिति विश्वभर बढ्दै गइरहेको छ। पशुपालनबाट मिथेन ग्यासजस्तो डरलाग्दो ग्यास उत्सर्जन बढ्दै गएर ओजोन तहमा प्वाल पर्नेसम्मको स्थिति पैदा भएकोमा वैज्ञानिकहरू चिन्तित छन्। त्यसको प्रत्यक्ष असर हिमालको हिउँ पग्लिनुमा तथा मौसममा प्रतिकूल प्रभाव बढ्दै गई मानिसको स्वास्थ्यमा विभिन्न किसिमको असर पर्दै गई खतराको अनेक अस्वाभाविक तत्व देखिँदै गएको चिन्ता स्वास्थ्य क्षेत्रमा छ।

स्वभावैले शाकाहारी प्राणी मानिसलाई बलजफ्ती मांसाहारी बनाएर प्रोटिनको नाउँमा अप्राकृतिक प्रोटिनस्वरूपका मांसाहार ग्रहण गर्न सिकाएर अनेक प्रकारका रोगले ग्रस्त बन्न विवश छ। विश्वलाई त्रस्त बनाएका म्याडकाउ डिजिज, स्वायन फ्लु, वडस् फ्यु, एभियन इनफ्लुएन्जालगायत अनेकथरी रोग मासुकै कारण फैलिएका हुन्। सामान्य मानिसलाई सताइरहेका मुटु, किडनी, कलेजोसम्बन्धी कैयौं रोग माछामासु चाहे सेतो होस्, चाहे रातोकै कारणबाट मानिस आक्रान्त छन्। मानिसलाई चाहिने प्राकृतिक प्रोटिन अनेक प्रकारका उपलब्ध अन्न, सागपात, फलफूल र दूध, दही आदि परिकारबाट प्राप्त हुन्छ।

विजयादशमी, वडादसैं जे भनौं, यसको धार्मिक, आध्यात्मिक महत्त्व बुझेर अग्रजहरूप्रति आदर–सम्मान गर्ने साथै आफूभन्दा उमेरले कान्छा, नाताले कान्छाहरूलाई आशीर्वाद र शुभेक्षा प्रकट गरी मनाऔं।
मानिसलाई रोगव्याधिबाट बच्न चाहिने आहार भनेको यिनै सात्विक आहारहरूको सन्तुलित ग्रहण हो। यसलाई बुझ्न नसक्दा र अहिलेको उपभोक्तावादी विश्वबजार विषलाई पनि अमृत भनेर कसैले भन्यो भने त्यसलाई प्रयोग गर्न नहिच्किचाउने जमाना भएकाले मानिस अलमलमा परेको देखिन्छ। नभए जाँडरक्सी, बियर मनुष्यको शारीरिक, मानसिक स्वास्थ्यका लागि अमृत होइन, विषै हो त्यो कुरालाई जान्दाजान्दै पनि मानिस बत्तीमा किरा झुम्मिएर आफ्नो प्राण त्याग्न तयार भएजस्तो जानीनजानी किन अमूल्य जीवनलाई खेर फालिरहेका छन् ? यस्तो विपरीत स्थिति देख्दा दया लागेर आउँछ।

यसैगरी प्राणीहरूमध्येको सर्वोत्कृष्ट भनिने मानिसमध्ये अधिकांशले धर्म, संस्कृति, कूल परम्परा, रीतिस्थितिको नाउँमा पशुपक्षीप्रति गर्ने गरेको व्यवहार हेर्दा लाग्छ– सबै मानिस कहाँ सर्वोत्कृष्ट प्राणी हुन् र ? स्वार्थी मानिस आफ्नो स्वार्थसिद्ध गराउनु छ भने अबोध, निरीह पशुप्राणीलाई काट्न, मार्न, हत्या गर्न सधैं तयार हुन्छ अनेक रीतिथितिको नाउँमा। आफ्नो मात्र स्वार्थ हेर्ने प्रवृत्तिले विश्वमा वातावरणीय असन्तुलन र जैविक विविधतापूर्ण संसार जताततै तहसनहसको स्थितिमा गइरहेकोमा थोरै मानिस मात्र जानकार छन्।

मानिसको स्वादे जिब्रो र पापी पेटका कारण दिनहुँ करोडौं पशुपक्षी विनाअपराध काटिइरहेका छन् र मारिइरहेका छन्। मानिसको भोजनका लागि अनेकौं विकल्प हुँदाहुँदै पनि स्वाद र लतका कारण अनावश्यक रूपमा पशुपक्षीको पालन गरेर अन्न, पानी, वनस्पतिका साथै समय, श्रम र मेहनत यसरी समाप्त पारिरहेका छन् कि के भन्ने ?

अनेक देशमा भोकमरीले गाँजेर रोग, शोक र पीडाले मानिसहरू छट्पटाइरहेका छन्। तर हुनेखाने र सम्पन्न मुलुकदेखि गरिब र विकासोन्मुख देशहरू पनि मानिसका पीडा र छट्पटाहटलाई भन्दा पशुपक्षी पालनमा प्रत्येक दिन करोडौं टन अन्न खुवाएर, पानी सकेर, वनस्पतिको विनाश गरेर जैविक विविधताको खिल्ली उडाइरहेका छन्। नेपालको चुरेलगायतका वनजंगल विनष्ट हुनुको कारणमध्येमा यो पनि पर्छ। घरघरमा पालेका बोका, खसी, बाख्रालगायतका पशुपालनका लागि चाहिने हरियोपरियो त्यही चुरे र हरिया डाँडाकाँडाको दोहनले धानिरहेका छन्। अझ चुरेले सरहदपारिका बस्तीहरूलाई पनि घाँसपात, दाउरा पुर्‍याउनुपर्ने स्थिति कति दर्दनाक छ !

यस्तै प्रकारको लतले चाडपर्व भन्यो कि पशुहरूको दशा र काल सुरु भयो अब भन्नुपर्ने स्थिति जताततै छ। नेपालमा पनि यही अवस्था छ। चाहे विजयादशमी भनौं, चाहे बुद्धपूर्णिमा ! भैरव, भीमसेन एवं देवीका मन्दिरमा त वर्षभरि निश्चित तिथिपर्वमा विभिन्न बहानामा काटमार, पशुबलिलाई मानौं यही नै हो धर्म भनेजस्तो गरी मानिसहरू तँछाडमछाड गरिरहेका हुन्छन्।

हामी एक्काइसौं शताब्दीमा छौं। बाहिरी रूप र भौतिक प्रगति हेर्दा हिजो कल्पनामा सीमित ठानिएका कतिपय विषयमा समुन्नतिको पराकाष्ठामा पुगिसक्यो। शिक्षा क्षेत्रमा धेरै उन्नति र प्रगति भएको छ। विश्वविद्यालयहरू असंख्य खोलिएका छन्। पैसा हुनेलाई संसारको कुनै पनि ठाउँमा पढ्न अब कुनै गाह्रो छैन। स्थलमार्ग, जलमार्ग र हवाईमार्गमा चल्ने साधनहरूले विश्व नै एउटा सानो गाउँ हो कि जस्तो भइसकेको छ। कुनै बेला कल्पनासम्म पनि गर्न नसकिने या हिँडेर पुग्न वर्षौंवर्ष लाग्ने ठाउँ अहिले केही घण्टामा पुग्न सकिने भइसकेको छ। सञ्चार क्षेत्रको द्रुततर प्रगतिले एक किसिमले भन्ने हो भने संसारकै हालखबर क्षणभरमा बुझ्न सकिने, जान्न सकिने स्थिति आइसकेको छ।

कुनै बेला आकाशवाणीका भरमा लाइनमा कुरेर सन्देश दिनुपर्ने र जवाफ पाउन दुईचार दिन कुर्नुपर्ने वा त्यही आकाशवाणी गर्न पनि दुईचार दिनको यात्रा तय गर्नुपर्ने अवस्थामा नयाँनयाँ आविष्कारहरूले हातहातमा मोबाइल फोन, आइप्याड र काखमा ल्यापटप ल्याइदिइसक्यो। एक किसिमले भन्ने हो भने विश्व’boutमा जान्न चाहने हो भने सबै हातकै मोबाइलमा आइसक्यो। अझ दिनानुदिन यस क्षेत्रमा अनेकौं तरक्की हुँदै छन्। स्वास्थ्य क्षेत्रमा पनि अहिलेको संसारले धेरै प्रगति गरेको छ। मानिसको आयु पनि बढ्दै गएको छ। अन्तरिक्षका अनेक ग्रहमा जाने कुरा विश्वका विकसित मुलुकहरू परिकल्पना गर्न थालिसके।

कुनै दिन मंगल ग्रहको घडेरी बिक्रीको सूचना पत्रपत्रिकामा निक्लिए आश्चर्य मान्नुनपर्ने स्थिति आइसक्यो। यस्तो चिताउँदै नचिताएका अनगिन्ती साधनहरूले ल्याइदिएको खुसीमा पनि मानिस साँच्चै भन्ने हो भने शान्त र सन्तुष्ट छैन। झन्झन् अनेकथरी आकांक्षा र लोभमा मानिस पर्दो छ। हुने र नहुने, धनी र गरिब, सम्पन्नता र विपन्नताको धाँजो झन्झन् फराकिलो बन्दै जानु कुनै पनि दृष्टिकोणले सुखद होइन। त्यसले हरेक मानिसको मनमा जन्माउने राग, द्वेष, विकृति र विसंगतिले अनेक किसिमका हाँगाबिँगा फैलाउने छन्, जुन सबैका लागि कष्टकर हुन्छ। बाहिरी उन्नति र प्रगति त भयो तर हृदयमा मानवता र करुणा नभइदिनाले मानिसदेखि मानिस डराउनुपर्ने अनौठो समय जताततै आइरहेका छन्। यस्तो भयावह अवस्था ल्याउनमा अनेक कारकतत्व हुन सक्छन्। तर हामीले प्राणी जगत्माथि गरिरहेको अत्याचार र शोषण पनि कम जिम्मेवार छैन भन्नेतिर सबैले सोच्नुपर्ने बेला आएको छ।

विजयादशमीको कत्रो महत्त्व छ जीवनको साधनापथमा। तर साधना र आध्यात्मिक पक्ष बिर्सिएर मानिस केवल यसको बाहिरी र बोक्रे कुरामा अल्मलिएको देख्दा चिन्ताका साथै खिन्नता लागेर आउँछ। कहाँ जग्जननी महादुर्गा, महालक्ष्मी, महासरस्वतीको पूजन, निदिध्यासन गरेर, साधना गरेर जीवनलाई रूपान्तरण गर्ने महान् अवसर ! कहाँ पशुबलिको निकृष्टता ! पूजाकै अवमूल्यन कतै गर्दै त छैनौं भन्ने अवस्था छ। बलिको अनेक अर्थ हुन्छ– उपहार, अर्पण, कोसेली आदि। आफूमा भएको पशुता (काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य) लाई देवीका नाउँमा बलि चढाएर गुणवान् र असलमा रूपान्तरण हुने पर्व हो विजयादशमी। तर, त्यसलाई बिर्सेर पशुबलि गर्नेतर अल्मलियो मानिस।

असत्यमाथि सत्यको विजय त असत्यबाट सत्यमा रूपान्तरण भएपछि न हुने कुरा हो ! तर त्यसलाई मानिसले बिर्संदै गएको छ। कसैलाई मारेर, काटेर धर्म हुने भए अधर्म भनेको के होला ? घरआँगनमै आइसकेको विजयादशमी, वडादसैं जे भनौं, यसको धार्मिक, आध्यात्मिक महत्त्व बुझेर अग्रजहरूप्रति आदर–सम्मान गर्ने साथै आफूभन्दा उमेरले कान्छा, नाताले कान्छाहरूलाई आशीर्वाद र शुभेक्षा प्रकट गरी मनाउने धार्मिक, आध्यात्मिक, सामाजिक, पारिवारिक महत्त्वको यो पर्वलाई साँच्चै मनमोहक र हरेकका लागि उदाहरणीय कसरी बनाउन सकिन्छ, सबैले आआफ्नो तह र तप्काबाट प्रयत्न गरी हिंसारहित बनाउन भरमग्दुर प्रयत्न गरे विश्वकै कल्याणमा हामीले योगदान दिइरहेका हुनेछौं।(अन्नपूर्ण )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.