काठमाडौं : सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने संसद् सचिवालयकी महिलाका श्रीमान-श्रीमतिले सम्बन्ध विच्छेद गरेका छन्। बिहीबार रोशनी शाही (भिडियो र पत्रमा आफैं पहिचान खुलाएकाले नाम उल्लेख गरिएकोले) र उनका श्रीमान चित्रजंग शाहीबीच सम्बन्ध विच्छेद भएको हो। सम्बन्ध विच्छेदमा श्रीमान्-श्रीमती दुबैले हस्ताक्षर गरेको पत्र चित्र जंगले फेशबुकमार्फत सार्वजनिक गरेका छन् ।
सार्वजनिक गरिएको पत्रमा ‘प्रीय जनहरु, थुप्रै उतार चढावका बीच हाम्रा साथ साथ २८ वर्ष दिनहरु विते। समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन्। तथापी खुशी साथ अलग बस्ने निर्णय गरेका छौं। कानुनी प्रक्रिया निरन्तरताका साथ’उल्लेख गरिएको छ ।
संसद सचिवालयमा कार्यरत शाहीले सभामुख महराले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन्। हाम्रा कुरा अनलाइनसँगको भिडियो अन्तर्वार्तामा ती महिलाले महराले लामो समयदेखि आफूमाथि दुर्व्यवहार गर्दै आएको दाबी गरेकी थिइन्। तर २४ घण्टा नबित्दै उनले बयान फेरेकी छन् ।
नागरिक खबरको १६ मिनेट लामो भिडियोमा ती महिलाको परिचय लुकाइएको छैन। बरु अन्तर्वार्ताकारले ती महिलालाई सोध्छन्- तपाईँसँगको यो कुराकानी प्रशारण गर्दा हुन्छ ? रोशनी नाम भएकी ती महिलाले एकछिन सोचेर जवाफ दिन्छिन्- ‘हुन्छ।’
अघिल्लो दिनको भिडियोमा आफैंले भनेका धेरै कुरालाई उनले काटेकी छन्। जस्तो उनले अघिल्लो दिन भनेकी छन्- महराले रक्सीको नशामा आफूलाई बलात्कार गरे। त्यसपछि कुटपीट गरे। जुत्ताको तलुवा र फुटेको चस्मा देखाउँदै उनी त्यसलाई महराको भएको बताउँछिन्। तर दोस्रो दिनको भिडियोमा उनी जुत्ताको तलुवा र चस्मा आफ्नै श्रीमानको भएको दाबी गर्छिन्।
अघिल्लो दिन महराबाट ‘यतिसम्म होला भन्ने नचिताएको’ बताउने उनी मंगलबारको भिडियोमा महरा बाबुसमान रहेको र उनले यस्तो गर्नै नसक्ने बताउँछिन्। ‘उहाँ (महरा) मेरो बाउ समानको मान्छे हो। उहाँमाथि लागेको आरोपमा कुनै सत्यता छैन। मैले रिस उठेको बेलामा के के भने यी सब निराधार हुन्’, उनले भनेकी छन्, ‘कोही पनि भ्रममा नपर्नु होला। मैले रिस उठ्दा भनेका के के कुरालाई पत्रकारले बंगाएर लेखिदिएछन्।’
अघिल्लो दिन प्रहरीलाई फोन गरेर घटना’bout बताएपछि महरा आफ्नो कोठाबाट निस्केको बताउने उनी पछिल्लो भिडियोमा महरा आफ्नो कोठामा आउँदै नआएको र महरासँग लामो समयदेखि आफ्नो भेट पनि नभएको बताउँछिन्।
संसदको वेबसाइटबाट महराको नाम हट्यो
संघीय संसद सचिवालयले प्रतिनिधिसभाको वेबसाइटबाट कृष्णबहादुर महराको नाम हटाएको छ। वेबसाइटको होमपेजमा सभामुख र उपसभामुखको फोटोसहितको प्रोफाइल लिंक हुन्छ।त्यहाँ सभामुखको ठाउँ खाली राखिएको छ। संघीय संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महरामाथि बलात्कारको आरोप लगाएपछि महराले सभामुख पदबाट मंगलबार राजीनामा दिएका थिए।
अघिल्लो दिन महराले दिएको राजीनामा पत्रमा छानबिन प्रक्रिया नसकिँदासम्मका लागि’ भनेर शर्त राखिएको थियो तर दोस्रो राजीनामा पत्रमा यो शर्त हटाइएको छ। मंगलबारको राजीनामा पत्र उपसभामुख तुम्बाहाङ्फेले अस्वीकृत गरेपछि महराले मंगलबारकै मिति राखेर बुधबार अर्को राजीनामा पत्र बुझाएका थिए।
‘उपसभामुखको आदेशअनुसार’ भन्दै संघीय संसद् प्रतिनिधिसभा सचिवालय सचिव डा. भरतमणि गौतमले सभामुखको राजीनामाको सूचना प्रकाशन गरेका हुन्। (अन्नपूर्ण )