केशव थापा
काठमाडौँ — दसैंका लागि आज आइतबारबाट टिकट बुकिङ खुला गरिएको छ । बुकिङ खुला गर्नु अघिल्लो दिन शनिबार नयाँ बसपार्कमा यात्रु बोक्ने गाडीको प्राविधिक पक्षको चेकजाँच गरिएको थियो । अघिपछि पनि शंका लागेको गाडीको कन्डिसन चेकजाँच गरेर मात्र गन्तव्यमा पठाइने यातायात व्यवस्था विभागले जनाएको छ ।
बुकिङ सुरु भएसँगै नयाँ बसपार्कमा घर जानका लागि टिकट बुकिङ गर्ने यात्रुहरुको ठेलमठेल भीड बढेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार असोज १० गतेबाट सुरु गर्ने भनिएको नागरिक सहायता कक्ष टिकट बुकिङसँगै सुरु हुने भएको छ । बसपार्कमा भने शनिबारबाटै उक्त कक्षको सुरुवात गरिएको महानिर्देशक हमालले जानकारी दिए । उनका अनुसार दसैंका लागि यात्रु बसको समस्या छैन । केही नयाँ बससमेत थपिएका छन् । ‘यात्रु बस पुग्दो छ, चिन्ता गर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘यात्रुलाई ठगिन नदिन चाडबाडभरि दैनिक अनुगमन गर्नेछौं ।’
उनका अनुसार टिकट बुकिङ गौशाला, नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, बल्खु, कलंकी, नागढुंगालगायत स्थानमा रहनेछ । जहाँ ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागका कर्मचारी, उपभोक्ता समाजका प्रतिनिधि रहनेछन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार आइतबार बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म टिकट बुकिङ खुला रहनेछ । ‘यात्रुको चाप र आँकडा हेरेर बसको संख्या निर्धारण हुनेछ,’ उनले भने, ‘दसैंका लागि उपत्यकाबाट यात्रु बाहिरिन थाले पनि अग्रिम टिकट बुकिङ गर्नेहरू घटस्थापनाबाट जान थाल्छन् ।’