रोजन तामाङ/काभ्रे –
लुक्लाबाट काठमाडौं उडेका हेलिकप्टर विभिन्न ठाउँमा रोकिएका छन्। बिहान ८ बजे आसपास यी हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो। हेलिकप्टर सोसाइटीका महासचिव योगराज शर्मा कँडेलका अनुसार अहिलेसम्म ९ वटा हेलिकप्टर आकस्मिक अवतरण गराइएको छ। काभ्रे प्रहरीले सुरुमा चारवटा हेलिकप्टर आकस्मिक अवतरण गरिएको बताएको थियो।
सोसाइटीका महासचिव कँडेलले सिम्रिक एयरका तीन तथा अल्टिच्युड, कैलाश, डाइनास्टी, श्री, मनाङ, फिस्टेल एअरका एक/एक हेलिकप्टर विभिन्न ठाउँमा रोकिएको बताए।
कँडेलका अनुसार लुक्ला विमानस्थलमा हेलिकप्टर जान नसकेपछि नजिकैको सुर्केबाट यात्रुहरू राखेर ल्याइएको थियो। तर काठमाडौंको भिजिबिलिटी कम भएपछि जुन हेलिकप्टर जहाँ छ त्यहीँ ‘रेस्ट’ उनले बताए।
यी हेलिकप्टरहरू लुक्लामै ‘नाइट स्टप’ मा थिए।
लुक्लामा ३०० यात्रु अलपत्र
शनिबारदेखि बिग्रिएको मौसमका कारण लुक्लामा करिब ३०० यात्रु अलपत्र छन्। मौसम खराबीका कारण गएको शनिबारयता लुक्ला विमानस्थलबाट उडान भएको छैन।
काभ्रे, सिन्धुली र रामेछापमा आकस्मिक अवतरण गराइएका हेलिकप्टर पनि अलपत्र परेका मध्येकै यात्रु लिन त्यहाँ पुगेका थिए।
गएको शनिबार ४ वटा मात्रै उडान भएका थिए। त्यसयता यहाँबाट आन्तरिक उडान अवरुद्ध भएको छ।
दैनिक २० वटा भन्दा बढी उडान हुने लुक्लामा नियमित उडानका कुनै पनि जहाज जान नसकेपछि यात्रुहरू रोकिएको त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए। ‘मौसमका कारण फ्लाइट भएको छैन। उडान नहुँदा यात्रुहरू थुप्रिएको अवस्था छ’, उनले भने।
सिम्रिक एयरका तीन मध्ये २ वटा काभ्रेको पाँचखालमा छन्। एउटा सिन्धुलीमा छ। अल्टिच्युडको हेलिकप्टर काभ्रेको रोसीखोलामा रोकिएको छ।
कैलाश एयरको हेलिकप्टर धुलिखेलमा छ। एयर डाइनास्टीको हेलिकप्टर लुक्लानजिकै सुर्केमा छ। श्री एअरलाइन्सको हेलिकप्टर रामेछापमा रोकिएको छ। मनाङ एयरको हेलिकप्टर पाँचखालमा रोकिएको छ। फिस्टेल एयरको हेलिकप्टर पनि पाँचखालमै रोकिएको छ।
हेलिकप्टर सोसाइटीले यात्रुहरूलाई धैर्यतापूर्वक पर्खिन अनुरोध गरेको छ। ‘यात्रुहरूलाई नआत्तिन आग्रह गर्छु, मौसम सुध्रिएपछि हामी एकै दिनमा फँसेका सबै यात्रुलाई काठमाडौं ल्याउन सक्छौँ’, कँडेलले अन्नपूर्णसँग भने।(अन्नपूर्ण )