मानसरोवर प्रवेशमा तिब्बतको कडाइ


वसन्तप्रताप सिंह
बझाङ — चीनसँग सीमा जोडिएका सुदूरपश्चिम र कर्णालीका बासिन्दाको कुल पूजामा मानसरोवरबाट जल ल्याएर चढाउनु अनिवार्य मानिन्छ । तिब्बत प्रशासनले मानसरोवर प्रवेशमा कडाइ गर्न थालेपछि बझाङ, मुगु, दार्चुला र हुम्लालगायत जिल्लामा धेरैको धार्मिक कर्म रोकिएको छ । ताक्लाकोटबाट गाडीमा एक घण्टा लाग्ने मानसरोवरमा उनीहरू लुकेर मध्यरातमा गए, उज्यालो नहुँदै जल लिएर फर्किए । जयपृथ्वी नगरपालिका–१ कैलाशका चक्र विष्ट र पुष्कल विष्ट गत साउनमा त्यता गएका थिए ।

सात दिन पैदलपछि तिब्बतको ताक्लाकोट पुगेपछि चिनियाँ सुरक्षाकर्मीले सिमानाका बासिन्दालाई आउजाउमा कडाइ गरेको थाहा पाए । त्यहाँबाट करिब ४० किमि परको मानसरोवरको जल लिन गाडीमा लुक्दै, खोलानाला र अक्करे भीरपहरा छिचोल्दै जानुपरेको उनीहरूले सुनाए ।

‘चेकपोस्ट आइपुग्ने बेला ड्राइभरले सिटमुनि लुक्नु, पुलिसले देख्यो भने जेल हाल्छ भन्थ्यो,’ चक्र विष्टले भने, ‘हामी डरले कोचिएर बस्थ्यौं । १० मिनेटजति लुकेपछि फेरि सिटमा बसाउँथ्यो ।’ आउजाउमा दुईवटा चेकपोस्ट छल्न चारपटक लुक्नुपरेको उनले बताए । लुक्दा सिटको डन्डीमा ठोक्किएर पुष्कलको टाउकामा टुटुल्कोउठ्यो । सिटमुनिको डन्डीमै अड्किएर उनको ज्याकेट पनि च्यातियो । जसोतसो जल लिएर घर फर्किए ।

आफ्नो कुल धवलपुराको मन्दिरमा चढाउनका लागि जल लिन उनीहरूलाई समाजले पठाएको थियो । दुई जनाको यात्रा खर्चबापत १६ परिवारले प्रतिघर २०–२० हजार नगद उठाएका थिए । ताक्लाकोटदेखि मानसरोवरसम्म गाडी भाडा मात्र ८० हजार तिर्नुपरेको उनले बताए । संकलित बजेटभन्दा बढी खर्च भयो । ‘अर्काको देश, भाषा बुझिँदैन, कुन बेला पुलिसले देख्छ र समात्छ भनेर यात्रा गर्न साह्रै गाह्रो,’ पुष्कलले भने ।

उनीहरूको यात्रा वृत्तान्त सुनिरहेका ७० वर्षीय मिनी विष्टलाई भने पत्याउनै मुस्किल भइरहेको थियो । ०५५ मा उनी जाँदा त्यस्तो सास्ती भोग्नुपरेको थिएन न त खर्चको अंक यस्तो थियो । ‘त्यो बेला हामी ताक्लाकोटबाट हिँडेरै मानसरोवर गएका थियौं,’ उनले भने, ‘कसैले रोक्ने, दुःख दिने हुँदैनथ्यो ।’ सात जनाको टोलीमा गएका उनीहरूले त्यतिबेला सबै जनाको खर्च २५ हजार हाराहारी भएको सुनाए । उसो त उनी युवावस्थामा दर्जनौंपटक ताक्लाकोट र मानसरोवर पुगे । कहिले जल ल्याउन त कहिले नुन, ऊन र सुन ल्याउन भोटको यात्रा गरेको उनले बताए ।

भोट (स्थानीय बोलीमा पुराँस) यात्राका क्रममा सातु, टिमुर, खुर्सानी र निगालोका सामान (डोको, भकारी आदि) लिएर जाने र तिब्बतीसँग नुन, ऊन र सुन साटेर फर्कने गरेको उनले सम्झिए । ‘बझाङी कहिले आउलान् भनेर भोटेहरू कुरेर बसेका हुन्थे, बझाङका मान्छेले ल्याएको सामान साट्न हारालुछ गर्थे,’ उनले भने, ‘हामी गएनौं भने भोटेहरू खुर्सानी खानै पाउँदैनथे । यताका मान्छेसँग मीत लाउन उनीहरू मरिहत्ते गर्थे ।’

२० वर्षअघिको तुलनामा भोटयात्रा निकै कष्टकर बनेको स्थानीयको अनुभव छ । चीनसँग सीमा जोडिएका सुदूरपश्चिम र कर्णालीका बासिन्दाको कुल पूजाका लागि मानसरोवरबाट जल ल्याएर चढाउनु अनिवार्य मानिन्छ । तिब्बत प्रशासनले मानसरोवर प्रवेशमा कडाइ गर्न थालेपछि बझाङ, मुगु, दार्चुला र हुम्लालगायत जिल्लाका बासिन्दा समस्यामा परेका छन् ।

महँगो खर्च जुटाउन नसक्दा धेरैको धार्मिक कर्म रोकिएको छ । बझाङ, मुगु, दार्चुला र हुम्लाका बासिन्दाले स्थानीय प्रशासनले जारी गर्ने सीमा प्रवेश अनुमतिपत्रका आधारमा चीनको ३० किमि क्षेत्रसम्म सजिलै प्रवेश पाउँछन् । यी जिल्लाको सिमानादेखि तिब्बतको ताक्लाकोट बजार ३० किमि दूरीमा छ ।

त्यहाँबाट ४० किमि परको मानसरोवर पुग्न चीन सरकारको प्रवेशाज्ञा (भिसा) आवश्यक पर्छ । भिसा स्थानीयस्तरका उपलब्ध गराउने कुनै निकाय छैन । लिने तरिका थाहा पाएकाहरू पनि प्रक्रिया झन्झटिलो रहेको बताउँछन् । खर्च गर्न र जोखिम मोल्न सक्नेहरू अवैध तरिकाले मानसरोवर पुग्छन् । नसक्नेहरूको कुल पूजा केही वर्षयता रोकिएको छ ।

यहाँका बासिन्दा बझाङको धुलीदेखि मानसरोवरसम्मको बाटो पहिलोपटक लाँगा देवताले खोलेको विश्वास गर्छन् । त्यसैले मानसरोवर दर्शन गर्ने र त्यहाँको जल आफ्नो गाउँको मन्दिरमा चढाउन पाए देवता खुसी हुने मान्छन् । कुनै–कुनै मन्दिरमा बर्सेनि मानसरोवरको जल चढाएपछि मात्र पूजा सुरु हुन्छ । यही विश्वासका कारण हुम्ला, मुगु बझाङ, बाजुरा र दार्चुलाबाट बर्सेनि हजारौंको संख्यामा त्यहाँ पुग्ने जमर्को गर्छन् ।

‘बाजेबराजुका पालादेखि मान्दै आएको देउता पुज्न लुकेर जानुपर्ने अवस्था आयो,’ धामी जहरी सिंहले भने, ‘हाम्रो धार्मिक आस्थाको थलोमा गाडीको सिटमुनि लुकेर गयौं ।’ मुलुककै दुर्गमका यी जिल्लाका बासिन्दाले भिसाप्रक्रिया थाहा नपाउने र खर्चिलो हुने भएकाले मानसरोवर कैलाशसम्म सहजै जाने व्यवस्था मिलाउन सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ ।

यी जिल्लाबाट ३० किमिमा तिब्बतको पुराङ काउन्टीको तोय भन्ने ठाउँ छ । त्यहाँबाट मानसरोवर थप ३७ किमि पर पर्छ । लुकेर जाने तीर्थयात्रीले चलनचल्तीको भन्दा निकै महँगो भाडा तिर्नुपर्ने बाध्यता छ । ‘खुला रूपमा जान पाएको भए २ सय युआन (करिब तीन हजार ६ सय नेपाली रुपैयाँ) मा जान मिल्ने रहेछ,’ मानसरोवर पुगेर फर्किएका बझाङ पिमीका गगनबहादुर सिंहले भने, ‘यहाँ त मनपरी ढंगले भाडा लिन्छन् । घटाउन सक्नेले ४ हजार युआनसम्म तिर्छन् । भाषा नजान्नेहरूले ५/६ हजार युआन (करिब ८५ हजारदेखि १ लाख नेरु) सम्म तिरेर यात्रा गर्नुपर्छ ।’

कतिपय तीर्थयात्री ७ दिन हिँडेर ताक्लाकोट पुग्ने र त्यहाँबाट मानसरोवर जाने खर्च तिर्न नसकी पैदलै घर फर्कने गरेको उनले बताए । नेपालीलाई लुकाएर मानसरोवर लैजान लागेको त्यहाँको प्रशासनले थाहा पाए कडा सजाय र धेरै जरिवाना हुने जोखिमले भाडा स्वतः महँगो हुने यहाँका सवारीचालक सोनाम दोर्जेले बताए ।

उनले भने, ‘जोखिम मोलेर हिँड्नुपर्छ । लोकल भाडामा त को जान मन्छ र ।’ नेपाल–चीनबीचको सन्धिअनुसार ३० किमिभन्दा अगाडि जान नमिल्ने भए पनि धार्मिक आस्थाको सम्मान गर्दै तिब्बत प्रशासनले त्यहाँ लुकेर जाने यात्रुलाई देखेको नदेखे झैं गर्ने गरेको नेपाल–चीन उद्योग व्यापार संघका सचिव जगत तामाङको भनाइ छ । ‘आफ्ना नागरिकलाई सजिलो सेवा कसरी दिलाउने भनेर नेपाल सरकारले पहल गर्नुपर्ने हो,’ उनले भने, ‘कम्तीमा सीमा जोडिएका जिल्लाका बासिन्दालाई कैलाश मानसरोवरसम्म जिल्ला प्रशासनले दिने प्रवेश अनुमतिपत्रका आधारमा जान दिए ठूलो राहत हुन्छ । यस्तै भए धार्मिक परम्परा जोगाउनै मुस्किल छ ।’

मानसरोवर र कैलाश पर्वत रहेको चीनको पुराङ काउन्टीको अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने कार्यालय पब्लिक सेक्युरिटी ब्युरोका तत्कालीन प्रमुख निमा तुन्डुपले सन्धिमा तोकिएको क्षेत्रसम्म प्रवेशमा समस्या नभए पनि ३० किमिभन्दा पर जानका लागि भिसा आवश्यक पर्ने बताए ।

बाजुरेलीलाई झन् समस्या
बाजुरा बिच्छियाका साम्नेल गुरुङ ६३ वर्षका भए । १० वर्षको हुँदा उनी बाबुको भेडासँगै पहिलोपटक १२ दिन लगाएर हिँड्दै ताक्लाकोट पुगेका थिए । घरबाट लगेका टिमुर, खुर्सानी र सातुसंँग नुन साटेर ल्याएको उनलाई अझै सम्झना छ । त्यसयता कतिपटक त्यहाँ पुगे भन्ने उनले हिसाब गरेका छैनन् ।

नुनकै लागि ताक्लाकोट पुग्ने उनले पछिल्ला वर्षहरूमा भेडामा नुन मात्र नभई लत्ताकपडा, चिनियाँ जुत्ता र मदिरा बाजुरा पुर्‍याउने र यताबाट स्थानीय व्यापारीको जडीबुटी लिएर त्यहाँ पुग्ने गर्थे । सुरुको धेरै वर्ष ताक्लाकोटसम्म आफैं पुगेका उनले त्यहाँको सितिस्याङ गाउँका पेमा तुन्डुपसँग मितेरी साइनोसमेत जोड्न भ्याएका थिए ।

पछिल्लो समय तिब्बत प्रशासनले सीमा नजोडिएका जिल्लाका बासिन्दालाई ताक्लाकोट प्रवेशमा रोक लगायो । तैपनि उनी सितिस्याङ नजिकैको लुपु भन्ने ठाउँमा रहेको चिनियाँ सीमा सुरक्षा पोस्टको वारिसम्म भेडा लिएर पुग्थे । मीतले ताक्लाकोटबाट मदिरा, जुत्ता र लत्ताकपडा त्यहाँसम्म पुर्‍याइदिन्थे । त्यहाँबाट भेडामा बोकाएर उनी घर फर्कन्थे । तिब्बती भाषा दक्खल भएका गुरुङले गत वर्ष भने अप्रत्याशित घटनाको सामना गर्नुपर्‍यो ।

भेडा लिएर लुपुनजिकै पुगेका उनीलगायत बाजुराको बिच्छिया र पान्डुसैनका ११ जना भेडावाललाई चिनियाँ सीमा सुरक्षा बलका जवानले हातपात गरे । अनुमतिपत्रबिनै सीमामा प्रवेश गरेकाले उनीहरूलाई तुरुन्त भेडा फर्काउन भनियो । ‘ठूलै बिमारी भएका बेला मात्रै रोकिएँ होला, नभए प्रत्येक बर्खा ताक्लाकोट आएकै हुन्थें,’ गुरुङले भने, ‘अब त्यहाँको बाटो पनि काटियो ।’

सीमा जोडिएका जिल्ला बझाङ, हुम्ला, दार्चुला र मुगुका बासिन्दालाई स्थानीय प्रशासनले दिने सीमा प्रवेश अनुमतिपत्रका आधारमा ताक्लाकोट प्रवेश दिइए पनि परम्परादेखि भोट पुग्दै आएका बाजुराका बासिन्दालाई प्रवेशमा रोक छ ।

गत वर्ष बाजुराबाट आएका १५ भन्दा बढी भेडाका बथान रित्तै फर्कन बाध्य भएको लुपु क्षेत्रका होटल चलाएका हुम्लाका बहादुर लामाले बताए । बाजुराको बिच्छिया, रुगिन र पान्डुसैनलगायत धेरै गाउँका मानिस भेडापालनमा संलग्न भएको र उनीहरूका पुर्खादेखि भोट आउने चलन छ । उनीहरूको भेडा चराउने वनको ठूलो हिस्सा तिब्बती भूमिमा पर्छ । ‘उनीहरूसँग धेरै कुरा गर्नै मिल्दैन, पास भए जान दिन्छ, बोल्न खोजे कुट्न आइहाल्छ, त्यही भएर केही नबोली फर्कियौं,’ रुगिनका नाम्ग्याल गुरुले भने, ‘पुर्खादेखिको चलन टुट्ने भयो ।’

बाजुराका भेडापालकहरू बर्खामा चराउँदै बझाङको साइपाल हुँदै चीनको ठाडोढुंगा, बैस, भेल्क र कठानसम्म हुल पुर्‍याउने र भदौ–असोजमा ताक्लाकोटबाट घरायसी प्रयोगका सामान भेडामा राखेर घर फर्कने गर्छन् । सीमामा अवाञ्छित नियन्त्रणका लागि भन्दै तिब्बत प्रशासनले कडाइ गर्न थालेपछि पशुपालकलाई समस्या छ । सरकारले छिमेकीसँग सन्धि–सम्झौता गर्दा सिमाना जोडिएका र निकट क्षेत्रका बासिन्दाको परम्परामा असर नपार्न ख्याल गर्नुपर्ने धार्मिक सांस्कृतिक विषयका जानकार बताउँछन् ।

‘सीमा निर्धारण गर्ने बेला सीमा क्षेत्रका बासिन्दाको परम्परागत सम्बन्धहरू ख्याल नगर्दा यो स्थिति भएको हो,’ पूर्वभूमिसुधार सचिव तथा बझाङी इतिहासका जानकार विष्णुप्रसाद खत्रीले भने, ‘मानसरोवरसँग बझाङ मात्र नभएर सेती, कर्णाली र महाकाली अञ्चलका बासिन्दाको परम्परागत धार्मिक सम्बन्ध छ । आउजाउमा कडाइले धार्मिक संस्कारमै असर परेको छ ।’ सीमा निर्धारण गर्दा स्थानीयसँग सरोकार नराखी बझाङतर्फको भूभाग चीनलाई दिएका कारण यो समस्या निम्तिएको उनले बताए ।

बझाङ र मानसरोवरको सम्बन्धको इतिहास छ । बाइसे–चौबिसे राज्यका बेला पश्चिम तिब्बतमा पर्ने मानसरोवर, राक्षस र गुर्लामान्धाता हिमालसम्म बझाङको सिमाना थियो । तिब्बतसम्म फैलिएको उत्तरी सिमानाको कारण तत्कालीन समयमा बझाङ राज्यको व्यापार फस्टाएको थियो ।

तिब्बतबाट ल्याएको नुन, ऊन र सुन छिमेकी डोटी राज्य र भारतको कुमाउँ गढवालसम्म बझाङका बासिन्दाले व्यापार गर्ने गरेको खत्रीले बताए । बझाङका खाद्यान्न, काठ र निगालोका सामान तिब्बत निकासी हुन्थ्यो । त्यसबेला तिब्बतसँग हुने व्यापारमा आँखा गाडेका डोटीका राजाहरूले पटक–पटक बझाङमाथि आक्रमण गरेर आधिपत्य जमाउन खोजेको खत्री बताउँछन् ।

तिब्बतको सीमा क्षेत्रमा पर्ने नेपाली भूमिमा प्रशासन सञ्चालन गर्नका लागि पुल्ता (राजनीतिक र आर्थिक अधिकारसहितको पद) को व्यवस्था गरिएको थियो । सुरुवातमा सारी बम्म पुल्ता थिए भने पछिल्लो समय तल्कोटी राजा मेदनी सिंह र विसं १९५० तिर परिमल नामका व्यक्तिलाई पुल्ता बनाइएको विभिन्न लिखतहरूमा उल्लेख छन् ।

पुल्ताले प्रत्येक वर्ष यहाँका बासिन्दाबाट कर स्वरूप सुन संकलन गर्ने र एक ओखल सुन बझाङ राज्यलाई बुझाउँथे । बझाङ राज्यको अन्त्यसँगै उक्त चलन मासियो । (कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.