डेंगुले अस्पतालमा ठेलमठेल


दिनेश गौतम
काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा.शेरबहादुर पुनलाई बिरामी जाँच्न भ्याइनभ्याइ छ । भन्छन्, ‘खाना खान पनि फुर्सद छैन ।’ उनी बिहान ९ बजे अस्पताल पुग्छन् । डेंगुको शंका गर्दै जाँच गर्न आएका बिरामीको लाइन हुन्छ । उपचारमा संलग्न चिकित्सक पानी पिउनै नपाई जाँच्न व्यस्त हुन्छन् । ‘बिरामीलाई सोध्ने र उनीहरूका जिज्ञासा समाधान गर्दा नै मुख प्याकप्याक हुन्छ’, अर्का चिकित्सक भन्छन् । भीडभाडले अस्पतालमा जात्रा लागेझैं देखिन्छ । ठेलमठेल हुन्छ । बिरामीको अनुहार निन्याउरो देखिन्छ । उनीहरूका आफन्त आक्रोशित भेटिन्छन् । अस्पतालनजिकै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिकट काउन्टरमा पनि यस्तै दृश्य देखिन्छ । डेंगुको आशंकामा रगत जँचाउने र रिपोर्ट लिनेको लाइन बिहानदेखि लागेको हुन्छ ।

‘बिहान ६ बजेदेखि साँझसम्म रगत जँचाउने र रिपोर्ट लिनेको भीड लाग्छ’, प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ता भन्छन् । शंकास्पद बिरामीलाई शुक्रराज ट्रपिकल अस्पतालमा रेफर गर्न साध्य नभएपछि वीर अस्पतालले शुक्रबारदेखि डेंगु परीक्षण थालेको छ । वीरका निर्देशक डा. केदार सेन्चुरी भन्छन्, ‘बिरामीलाई रेफर गर्दा रिपोर्ट आउन ढिलो हुने भएपछि यतै (वीरमा) परीक्षण गर्न थाल्यौं ।’

शुक्रराज अस्पतालमा डेंगुका बिरामीको उपचार निःशुल्क हुने घोषणापछि चाप बढेको हो । अस्पतालमा गत वैशाख र जेठमा एक÷एक जना संक्रमित उपचार गर्न आएका थिए । असारमा ९ र साउनमा २३ जना उपचार गरी फर्किएको अस्पतालले जनाएको छ । भदौमा ४४ महिला र ४१ पुरुष उपचारपछि फर्किए । जँचाउन आउनेको संख्या बढेको छ ।

डेंगुबाट संक्रमित भई सार्वजनिक र निजी अस्पताल जानेहरू बढेका छन् । सरकारसँग यकिन तथ्यांक भने छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. प्रकाश शाहका अनुसार ४८ जिल्लामा डेंगु संक्रमण भएको पाइएको छ । ७ हजार ३ सय १५ जनाको रगत परीक्षण गर्दा डेंगु पोजेटिभ देखिएको डा. शाह बताउँछन् ।

तर, डेंगु सुरु भएको धरानमा सरकारी र निजी अस्पतालमा जाँच गराएकामध्ये १० हजारभन्दा बढीमा डेंगु पोजेटिभ पाइएको छ । ‘सरकारी र निजी स्वास्थ्य संस्था एवं प्रयोगशालाबाट सबै रिपोर्ट आएको छैन’, डा. शाह भन्छन्, ‘डेंगु संक्रमितमध्ये १० प्रतिशतमा लाक्षणिक हुन्छ । बाँकी ९० प्रतिशतलाई सामान्य ज्वरो आएको हुन्छ । उपचारपछि निको हुन्छन् । यस हिसाबले ७० हजारभन्दा बढीलाई संक्रमण भएको अनुमान गर्न सकिन्छ ।’

सुनसरीबाट तीन महिनाअघि सुरु भएको डेंगु संक्रमणबाट मन्त्री, चिकित्सक, सञ्चारकर्मी, व्यवसायी, शिक्षकलगायत बिरामी परेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ग्राण्डी अस्पतालमा उपचाररत छन् । मनसुनअगावै सुरु भएको डेंगुको संक्रमण तिहारसम्म बढ्ने अनुमान चिकित्सकको छ ।

बिरामीको पीडा : उपचारमा सकस

‘के भएको हो ? ’ शुक्रराज ट्रपिकल अस्पतालको टिकट काउन्टरमा रहेका कर्मचारी सबैलाई यस्तै प्रश्न गर्छन् ।

जवाफमा बिरामी भन्छन, ‘ज्वरो आएको छ । डेंगु हो की भन्ने शंकाले जँचाउन आएको ।’

छोरा बिनीरलाई डेंगुको संक्रमणपछि जचाउन आएका रामबहादुर कायस्थ टिकट लिने र उपचार व्यवस्थापन भद्रगोल भएको देख्दा आक्रोशित भए । आइतबार मध्याह्न उनले उपप्रधान एवं स्वास्थ्यमन्त्री, स्वास्थ्य मन्त्रालयका पदाधिकारी, र अस्पतालका चिकित्सक एवं कर्मचारीप्रति रोश व्यक्त गर्दै थिए ।

काठमाडौं महानगरपालिका–२५ का कायस्थझैं चर्को घाममा घण्टौं उभिएर टिकट लिनु पर्दा रुष्ट थिए । कायस्थले भने, ‘डेंगुको प्रकोप छ । सयौं बिरामी छन् । अस्पताल बिरामीको भीडले जात्रा जस्तो भएको छ । मन्त्रीज्यू अनुगमन आउने र निर्देशन दिने गर्नु पर्दैन ? ’

उपचार गराउन आएका गुल्मीका नारायण ज्ञवाली पनि अस्पतालबाट दिइने परामर्श र उपचार व्यवस्थित हुन नसकेको गुनासो गर्छन् । उनी भन्छन्, ‘यस्तो प्रकोपको बेला त सरकारले स्वास्थ्य क्याम्प नै चलाउनुपथ्र्यो । सूचनाको व्यवस्थापन छैन । अस्पतालमा उपचार गर्न आउँदा उपचार व्यवस्थापन भद्रगोल छ ।’

विज्ञ भन्छन् : महाअभियान थालौं

घर घरमा डेंगुको संक्रमण हुँदा आफूलाई पनि डेंगु सर्ने हो की भन्ने चिन्ता देखिन्छ । तराई मधेससँगै पहाडमा पनि जोखिम बढेको चिकित्सकहरू बताउँछन् ।

शुक्रराज ट्रपिकल अस्पतालमा प्रमुख कन्सल्टेण्ट डा.अनुप बास्तोलाका अनुसार, सहरी क्षेत्रका बासिन्दा झन् बढी जोखिममा छन् । ‘टाउको र शरीर दुखेको हुन्छ । ज्यानै नजाला तर साता दिन जति बिरामी हुँदा जो कोहीलाई दिक्क लाग्छ’, डा.बास्तोलाले भने, ‘यसले प्रकोप लिइरहँदा कोही पनि सुरक्षित छैन । डेंगु नियन्त्रणलाई महाअभियानका रुपमा अगाडि बढाउन ढीला नगरौं ।’

मुलुकको राजधानीलगायत सबै क्षेत्रमा डेंगु संक्रमण देखिएकोले राष्ट्रिय एजेण्डा बनाएर अघि बढ्नु पर्ने डा.बास्तोलाको सुझाव छ । ‘डेंगु संक्रमित व्यक्ति हिँडडुल गरेको एक ठाउँबाट अर्को ठाउँमा पुगेको बेला लामखुट्टेले टोक्छ । जताततै जोखिम छ’, उनले भने ।

स्वास्थ्य सेवा विभागका निवर्तमान महानिर्देशक डा.सुशीलनाथ प्याकुरेल स्वास्थ्य मन्त्रालय एक्लैले डेंगु नियन्त्रण गर्न नसक्ने बताउँछन् । उनी भन्छन्, ‘डेंगु नियन्त्रणको प्रयास ढिलो भयो । आपसमा समन्वय र सहकार्य हुन सकेन ।’

लार्भा नष्ट चुनौतिपूर्ण

सरकारले डेंगु नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान सुरु गरेको तीन महिना नाघिसक्यो । तर, लामखुट्टेको अण्डा, प्यूपा, लार्भा नष्ट गर्नमा सफलता हात परेन । डेंगुको प्रकोप ४८ जिल्लामा देखिएको यो पहिलो पटक हो । डा.बास्तोलाका अनुसार धुवाँको संसर्गमा रहेका लामखुट्टे मात्र मर्छन् । ‘घरभित्रका गमला, कुलरलगायतमा लामखुट्टेका अण्डा, प्यूपा, लार्भा हुन्छ, त्यसलाई नष्ट गर्न सक्दैन । अहिलेको चुनौती नै लार्भा नष्ट गर्नु हो ।’

भीड थेग्न गाह्रो भो

डा. बासुदेव पाण्डे, निर्देशक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु

जचाउने आउनेको भीड कस्तो छ ?

डेंगुको लक्षण देखियो कि जचाउन टेकु अस्पताल जानुपर्छ भन्ने सन्देश सबैतिर फैलियो । यो खबर फैलने बित्तिकै सामान्य ज्वरो आए पनि शंका गरी जँचाउनेको भीड दिनहुँ बढेको छ ।

संक्रमित भएका सबैलाई डेंगु हुँदैन ?

सय जनालाई डेंगु संक्रमण भएको छ भने ९० प्रतिशतलाई त केही दिनपछि आफैं ठीक हुन्छ । बाँकी १० प्रतिशतलाई मात्र डेंगु हुने हो । यसमध्ये पनि १÷२ प्रतिशतलाई मात्र जटिल अवस्था हुने हो ।

परामर्श एवं उपचार व्यवस्थापनमा कठिनाई भएको छ कि ?

जचाउन टेकुमै जानुपर्छ भन्ने सोच सबै व्यक्तिमा भइदियो । भीड थेग्न गाह्रो भएको छ । लोड खप्न सकिएन । जँचाउन आउनेलाई सजिलो पार्न छुट्टै ज्वरो क्लिनिक स्थापना गरियो । त्यो साँघुरो भएको छ । बिरामीको भीड छ । देखिहाल्नु भयो । स्टाफलाई माइक ल्याउ भनेर अस्तिदेखि भनेको हुँ । कुपनको व्यवस्था गर्न भनेको हुँ । समयमै टक्क काम गर्न सक्ने कर्मचारी नहुँदा निर्देशन कार्यान्वयन पनि गाह्रो हुँदो रहेछ । ‘रेपिड रेस्पोन्स टिम’ पनि बनाउन सकिएन । लाइन बसेको बेला पानी पर्छ । टेन्ट राखिदिन पाए राम्रो हुन्थ्यो । स्वास्थ्य मन्त्रालयले कुरा धेरै गर्छ । तर सहयोगको पाटो धेरै सुस्त छ । यसले समस्यामा पारेको छ । उपचार व्यवस्थापनमा हाम्रो मात्र जिम्मेवारी होइन नि ।

उपचारमा व्यवस्थापनमा के चुनौति देखिएको छ ?

जनशक्ति कमी छ । पर्याप्त जनशक्ति भए उपचारमा सहज हुन्थ्यो । अन्य साधन स्रोत पनि अपर्याप्त छ ।

ज्वरो आउनेबित्तिकै आत्तिने बिरामीलाई के भन्नुहुन्छ ?

ज्वरो आउनुका साथै शरीर तथा टाउको अति दुख्ने हुन्छ । शरीरमा बिमिरा आउँछ । त्यस्तो लक्षणले जटिलता हुने होइन । आत्तिएर यहाँ आइहाल्नु पर्दैन । झोलिलो पदार्थ खाने गर्नुपर्छ । प्यारासिटामोल सेवन गर्न सकिन्छ । बजारमा गएर ब्रुफेन नकिनदिनुहोस् । गम्भीर भएको अवस्थामा अन्य संस्था वा अस्पतालमा पनि उपचार गराउन सकिन्छ ।
सबैको सहयोगले मात्र नियन्त्रण सम्भव

उपेन्द्र यादव, उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री

तीन महिना भइसक्दा डेंगु नियन्त्रण हुन सकेन नि ?

– डेंगु नियन्त्रण गर्नु भनेकै लामखुट्टे मार्ने हो । घर ’round सरसफाई गर्नुपर्छ । पानी जम्न नदिने हो । पानी संकलन गरी खुला नछोड्ने गर्नुपर्छ । सबै जनताले ससफाईमा ध्यान दिने, पानी खुला नराख्ने, फोहोरको उचित व्यवस्थापन गरे डेंगु नियन्त्रण हुन्छ ।

स्वास्थ्य मन्त्रालय एक्लैले नियन्त्रण गर्न नसक्ने हो ?

– मन्त्रालय एक्लैले के गर्न सक्छ र ? स्थानीय निकाय, प्रदेशलगायत सबै सरोकारवाला पक्ष नलागीकन केही हुँदैन । मन्त्रालय एक्लैले गरेर के हुन्छ र ? सबै पक्षको सहयोगले मात्र डेंगु नियन्त्रण गर्न सम्भव हुन्छ ।

लामखुट्टे नष्ट गर्ने अभियानमा सेना प्रहरीको सहयोग लिने चर्चा थियो नि ?

अहिले सहयोग लिने बेला भइसकेको छैन । आवश्यक परेको खण्डमा सहयोग लिन सकिन्छ । अहिले आवश्यकता परेको छैन ।(अन्नपूर्ण )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.