मुक काजी (काजी) गुरुङ, हङकङ
१ सेप्टेम्बर २०१९ का दिन जोर्डनस्थित कङ्गन रेष्टुरेन्टमा कवि डोम रानाद्वारा रचना गरिएका, लेखिएका नविनतम कविता संग्रह ” गोधूलिको किनारा ” बिमोचन समारोह सम्पन्न भएको छ।
साब्लाबुङ प्रकाशन हङकङका अध्यक्ष तथा सम्पादक राजकुमार राईको अध्यक्षतामा नेपालबाट आमन्त्रित कवि तथा गीतकार भावेश भुमरी प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष कवि/ गीतकार टंक सम्बाहाम्फे यस विमोचन समारोहका समीक्षकर्ताको रुपमा आसिन थिए। यसैगरि हङकङस्थित नेपाली भाषा तथा साहित्य परिषदका अध्यक्ष किशन राई, हङकङ साहित्य साझा श्रृङ्खलाकी संयोजक सुनिता गिरी, कवि तथा साहित्यकारहरु जे वी किराँती, चन्द्र मादेन, कमल पौडेल, बिशु सम, कानून ब्यबसायी तथा वरिष्ठ समाजसेवी देव गुरुङ, स्याङ्जा जनसेवा समिति हङकङका अध्यक्ष ईश्वर गुरुङ, भारतीय गोर्खा भूपू सैनिक संघ हङकङका अध्यक्ष मन प्रसाद गुरुङ, जनजाति महासंघका भूपू अध्यक्ष भुपेन्द्र चेम्जोङ, ईटहरी मञ्चका अध्यक्ष राजु राई, नेत्र ज्योति संघ हङकङका अध्यक्ष ईश्वर बिक्रम शाह लगायत हङकङका कवि तथा साहित्यकार र बिभिन्न संघसंस्थाका अध्यक्षहरुलाई अतिथिको रुपमा आसिन गराएका थिए।
डी बी पालुङ्गको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई कवि नवीन सुहाङगले सञ्चालन गरेका थिए। स्वागत मन्तब्य लगतै कवि डोम रानाको गोधूलिको किनारा कविता संग्रहलाई अध्यक्ष राज कुमार राई लगायत प्रमुख अतिथि भावेश भुमरी र मञ्चमा आसिन अतिथिहरुद्वारा सामूहिक रुपमा विमोचन गरिएको थियो भने स्याङ्जा जनसेवा समिति हङकङका उपाध्यक्ष मुक काजी(काजी) गुरुङ र मगर संघ हङकङकी अध्यक्ष युग माया रानाले बधाई तथा तथा शुभकामना मन्तब्य दिएका थिए। विमोचन समारोहलाई नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष कवि/ गीतकार टंक सम्बाहाम्फेले समीक्षा गरेका थिए। समीक्षा गर्ने क्रममा सम्बाहाम्फेले आलोचना, समालोचना संगसंगै पाठकीय बिचार र कवि डोम राना स्वयं आदिवासी जनजाति भएर पनि उक्त पुस्तकमा जनजातिको कुनै सुगन्ध नभएको बताउंछन र उक्त कविताहरुहरु माझधारमा रहेको र सकेसम्म कविता लेखनमा आफ्नो जातियतालाई समाबेश गर्न सके अति उत्तम हुने थियो भन्दै समीक्षा गरेका छन र स्रष्ठा कवि डोम रानालाई हार्दिक बधाई ज्ञापन ब्यक्त गरे।
यसैगरि नेपालबाट आमन्त्रित तथा प्रमुख अतिथि कवि गीतकार भावेश भुमरीले कवि डोम राना एउटा पश्चिम नेपालको लोक संस्कृतिबाट हुर्केका कवि भएको हुंदा प्रस्तुतिको स्वरुप परिमार्जन गर्दागर्दै पनि तिनै संस्कृतिका बिषयहरुलाई पस्केका बताउंछन भने भोलिका दिनमा पक्कै पनि कवि डोम रानाले कविताको बिषय बस्तुलाई केहि परिवर्तन गर्दै र परिमार्जन गर्दै उच्च स्तरका कविताहरु लेख्दै अगाडि बढ्नेमा आशावादी रहेको र कविको उपनाम पाए सके पछि कविताको स्तरमा पनि बिकास गर्नु पर्ने बताए। यदि कवि भएर एउटै स्तरको कविताहरु लेख्दै जाने हो भने त्यसको कुनै मापन नहुने बताउंछन। मन्तब्यकै क्रममा भावेश भुमरीले कवि डोम रानालाई प्रत्यक्ष देख्दा हंसिलो अनुहार, कुनै फिल्ममा खेल्ने नायक जस्तो लाग्ने तर वास्तबिकता बुझ्दै जांदा कोमल स्वभावको, प्रत्येक भावनामा बौद्दिकता बोकेको ब्यक्तित्व पाएको बताउंदै डोम रानालाई यस्तो पुस्तक सिर्जना र पुस्तकको अति सफल कार्यक्रम आयोजनाका लागि आयोजक साब्लाबुङ प्रकाशनका अध्यक्ष राज कुमार राईलाई हार्दिक बधाई साथै कृतिको पूर्ण सफलताको कामना पनि गरे।
अन्तमा, अध्यक्ष राईले कवि डोम रानाको ब्यक्तित्वप्रति आकर्षित हुंदै आफ्नै प्रकाशनबाट उक्त कविता संग्रह प्रकाशन गरेको बताउंदै कवि रानालाई हार्दिक बधाई सहित शुभकामना पनि ब्यक्त गरे। यसैगरि कवि डोम रानाले उपस्थितजन सबैलाई उपस्थितिको लागि र सल्लाह सुझाबको लागि हार्दिक धन्यवाद ब्यक्त गरे भने सबैको सल्लाह सुझाबले कविता लेखनलाई निरन्तर दिंदै अगाडि बढ्ने पनि बताए। जुन कविता आफ्नै यात्राको दौरान, आफ्नै जीवनको वरिपरि रुमलिएर तयार पारेको बताए। बिशेषत: साब्लाबुङ प्रकाशन हङकङका अध्यक्ष तथा सम्पादक राजकुमार राईको प्रेरणाले र कवि तथा गीतकार भावेश भुमरीको लालन पालनमा आज यो गोधूलिको किनारा कविता संग्रहले मूर्त रुप लिएको बताउंछन। यस प्रसंगमा वहाँहरु दुबैप्रति हार्दिक आभार ब्यक्त गरे।
हङकङमा कविता संग्रह तथा पुस्तक विमोचन समारोहमा प्राय जसो कवि तथा साहित्यकार र स्रष्टाका केही आफन्त र साथीभाईको मात्र उपस्थित रहने गरेकोमा यो कार्यक्रममा भने कङ्गन रेष्टुरेन्टको ८० जनाको सीट क्षमतालाई थेग्नै नसकिने गरि ९० जनाको हाराहारीमा साहित्यकार तथा कवि लगायत साहित्यप्रेमी र शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो। जसको कारणले विमोचन समारोह सफलता पूर्वक सम्पन्न भएको मान्न सकिन्छ। स्रष्टा डोम राना स्याङ्जा जिल्लाको भएकोले पनि औपचारिक कार्यक्रम समापन अगावै स्याङ्जा जनसेवा समिति हङकङको तर्फबाट पनि अध्यक्ष ईश्वर गुरुङ लगायत अन्य पदाधिकारीहरुले खादा लगाई फूलको गुच्छा प्रदान गर्दै बधाई तथा शुभकामना पनि ब्यक्त गरे भने अन्य थुप्रै शुभ चिन्तकरुले समेत खादा लगाई फूलको गुच्छा प्रदान गर्दै हार्दिक बधाई, शुभकामना दिए।
स्मरण रहोस, कार्यक्रम स्थलमा विमोचित पुस्तक गोधूलिको किनारा बिक्रीबाट संकलन भएको रकम नेरु १,५३,३५० ( एक लाख त्रिपन्न हजार तीन सय पचास रुपैयां) स्रष्टा तथा कवि डोम रानाले साव्लाबुङ पुस्तकालय अभियानको निम्ति साब्लाबुङ प्रकाशन हङकङका अध्यक्ष तथा सम्पादक राजकुमार राईलाई उक्त समारोहमा नै नगद हस्तान्तरण गरेका छन।
प्रस्तोता,
मुक काजी (काजी) गुरुङ